महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई दियो स्कुल ब्याग
काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको हो । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । राउन्ड टेबल नेपालले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको छ ।
४६३ जनाले लिए सगरमाथा आरोहणको अनुमति, ७४ करोड राजश्व संकलन
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । रासस
कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्थामा छैनौं : अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्ताे बताएका हुन् । ‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै दिन नसक्ने अवस्था होइन, सबैले तलबभत्ता पाउँछन्, यस्तै सामाजिक सुरक्षा भत्ता घटाउन थाल्यो भनेर प्रचार भएको छ त्यो होइन,’ उनले भने । उनले तलब र सामाजिक सुरक्षा भत्ता बाहेकका साधारण खर्चभित्र पनि गाडी, फर्निचर मसलन्द लगायतका खर्च घटाउनेतर्फ लागिएको बताए । यस्तै, उनले विगतमा जग्गाको कित्ताकाट रोकिँदा पुँजी चलायमान हुन नसकेको, सेयर बजार घटेको लगायत कारणले पनि अर्थतन्त्रमा शिथिलता थपिएको बताका छन् ।
पाँच प्याकेजको व्यवस्था हटाए निर्माण व्यवसायीहरू आन्दोलनमा जाने
काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्था’ लाई हटाउनुपर्ने आवाज उठेको थियो । ‘समय सापेक्ष रुपमा नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जगजाहेर नै छ,’ महासंघकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त प्रावधान लागु भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्यांकन समेत सार्वजनिक भइसकेको बताउँदै महासंघले उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने समेत बताएकाे छ ।
प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको कार्यालय थापाथलीमा
काठमाडौं । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसले नेपाल स्थित आफ्नो मुख्य कार्यालय काठमाडौंको थापाथलीमा शुरुवात गरेको छ । सर्भिसेसले बुधबार एक समारोहको आयोजना गरी कार्यालयको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन लोकप्रिय नायिका स्वस्तिमा खड्काले रिवन काटेर गरेकी थिइन् । कार्यक्रममा अनिल केसरी शाह, वर्षा राउत लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । सञ्चालक निशान्त शर्माले सर्भिसेसको यो चौथो शाखा रहेको बताएका थिए । उनले विद्यार्थीहरुलाई सही सूचना दिएर गुणस्तरीय र भरपर्दो आप्रवासन सम्बन्धी शिक्षा दिने काममा सर्भिसेसले महत्वपूवर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उद्घाटन समारोहमा बोल्दै अनिल केसरी शाहले सर्भिसेसले विद्यार्थीहरुलाई उचित परामर्श दिएर अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भूमिका निर्वाह गर्ने बताएका थिए । उनले नेपालमा आफूहरुको पुस्ताले राम्रो वातावरण बनाउन सकेको भए नयाँ पुस्ता विदेश जानपर्ने परिस्थिति नआउने बताउँदै नयाँ पुस्ताले राम्रो शिक्षा लिएर नेपाल फर्केर राम्रो गर्न सक्ने बताएका थिए । अस्ट्रेलियाको सिड्नी, क्यानबेरा र हबर्टमा पनि सर्भिसेसको कार्यालय रहेका छन् ।
एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडी किन्न सजिलै कर्जा दिने
काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाईएको छ । बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् । यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले बताए । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले बताए ।
जीवन बीमाबारे जानकारी दिन मेटलाईफले ल्यायो कमिक्स भिडियो
काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू र तेस्रो शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारी दिइएको छ । मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले नेपालमा धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिँदे आएको बताए ।
एनएमबि बैंकका नारी बचत खाताका ग्राहकलाई वासिङ मसिन किन्दा २३ प्रतिशत छुट पाइने
काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ । एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप १ हजार ५०० सम्म छुट पाइनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।