काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् ।
‘अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि,आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको हो,’ उनले भने ।
उनले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम रहेको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताए ।
अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको पनि बताए ।
बजार संकूचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउँदै उनले भने,’अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक औजारहरु प्रयोग गरी सेयर बजार,अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ ।’
यस्तै, उनले अर्थमन्त्री भएर आएको एक महिना मात्र भएकाले तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता उनले जनाए ।