विकासन्युज

एमालेको युवा संगठनद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दोहन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दोहन गरेको छ । शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता, कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दोहन गरेको हो । त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए । ‘आम नेपालीहरुको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाै रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ, यो अयोग्य लडाकुहरुको नाममा अर्बौ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौं, हिजो ज्ञापन पत्र बुझाएका थियौं । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधिबेहरी ल्याएर यो सरकारलाई घुडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ’, उनले भने । राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

एयर इन्डियाको जहाज ‘ओभरसुट’

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

बालकुमारी वन क्षेत्र सरसफाइ कार्यक्रम सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिका–१८ सैबु भन्ज्याङ स्थित श्री बालकुमारी सामुदायीक वन उपभोक्ता समुहले सल्ला वन क्षेत्रको सर सफाई कार्यक्रम आयोजना गरेको छ । डिभिजनल वन कार्यालय र मच्छिन्द्र सव डिभिजनल वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाई कार्यक्रममा २ हेक्टर सल्लाको बनक्षेत्रको सफाई गरिएको थियो । सरसफाई कार्यक्रममा डिभिजनल वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सव डिभिजनल वन कार्यालयका प्रमुख अनुपा घिमिरे, वडा नं १८ का अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको सरसफाई कार्यक्रममा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सहयोग गरिहेको नेप्से म्याकले फोहोर ढुवानी र व्यवस्थापन गरेको थियो । सफाइ कार्यक्रममा बोल्दै डिभिजनल वन कार्यालयका प्रमुख भण्डारीले महानगर क्षेत्रमा रहेको बालकुमारी वनक्षेत्रको संरक्षण गर्न आह्वान गरे । उनले पर्यापर्यटन क्षेत्र विकासको लागि कार्यालयले सक्दो सहयोग गर्ने धारणा राखे । ‘हामीलाई अक्सिजन दिएर बचाउने वनक्षेत्रको संरक्षण गर्नु हामी सबैको कर्तब्य र दायित्व हो’, उनले भने । करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रमध्य शनिबार २ हेक्टर क्षेत्रको पुर्ण सरसफाई गरेको थियो । सफाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले ललितपुर महानगरपालिकको गौरबको रुपमा रहेको वनक्षेत्रलाई संरक्षण गर्न वडाको दायित्व भएको बताएका थिए । ‘हाम्रो वडाको गौरबको रुपमा रहेको यस क्षेत्रमा पर्या पर्यटन विकास गर्न वडाले सबै सहयोग गर्नेछ’, उनले भने । उनले वन क्षेत्रमा पर्यटन भित्र्याउन विभिन्न योजना अघि बढाउने बताए । ‘बालकुमारी वन क्षेत्रमा पर्यटन प्रवर्दन गर्न योजना सहित बजेटको व्यवस्था गरिनेछ’, उनले भने । सफाई कार्यक्रममा श्री वालकुमारी श्रृजना क्लब, बालकुमारी आधारभुत विद्यालय, निर्मल , अस्मिता र श्रीकुल बोर्डिङ स्कुलका शिक्षक र विद्यार्थीको सहभागिता थियो । त्यस्तै स्थानीय सिद्देश्वर र वत्सलादेवी महिला समुह, श्री बालकुमारी सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारी , विभिन्न गुठी, वाल कुमारी क्लबका पुर्व अध्यक्ष लगायतको उपस्थिति थियो । सरसफाई कार्यक्रममा करिब २ ट्रक फोहोर संकलन भएको वन समुहका अध्यक्ष किशोर कुँवरले जानकारी दिए । उनका अनुसार ५ हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रको विकास गर्न डिभिजनल वन कार्यालय, मच्छिन्द्र सव डिभिजनल वन कार्यालय, वडा कार्यालय, स्थानीय बालकुमारी क्लब, विद्यालयको पुर्ण सहयोग रहेको बताए । उनले सरसफाइ कार्यक्रममालाई निरन्तराता दिने जानकारी दिए । वन क्षेत्रलाई पर्यापर्यटनमा विकास र बिस्तार गर्ने योजना अनुसार सरसफाई कार्यक्रम आयोजना गरेको उनले बताए । बालकुमारी सामुदायिक वन उपभोक्ता समुहले सफाई भएको क्षेत्रमा साइकल ट्रेल निर्माण सम्पन्न गरेको छ । साइकल ट्रेलको सोमबार उद्घाटन हुने अध्यक्ष कुँवरले जानकारी दिए ।

भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्विकार्य हुँदैन – महामन्त्री शर्मा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने प्रस्तावलाई स्वीकार्य नहुने बताएका छन् । सरकारले संसदमा पेश गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरुलाई स्विकार्य नहुने उनको अडान थियो । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव सिंगै देशलाई मान्य नहुने पनि बताए । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि पटकपटक दोहो¥याए । उनले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए । ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने, राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं, तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाही देखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ, मैले सार्वजनिक रुपमा पनि के भन्न चाहन्छु भने सरकारलाई यो भ्रष्टाचार निवारण ऐनमा जुन राखिदै गरिएको अवस्था छ, पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ, यो हामीलाई स्विकार्य छैन, यो देशले स्विकार गर्दैन, कडिकडाउनका साथ यसमा जानु पर्छ राज्य’, महामन्त्री शर्माले भने । महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

चिया निर्यात वृद्धि, आम्दानी भने घट्यो

काठमाडौं । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७/७८ मा ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भई रु तीन अर्ब ७९ करोड ७१ लाख कारोवार भएकामा आव २०७८/७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिकटन पुगेको छ । कारोबार भने घटेर रु तीन अर्ब ४३ करोड ४३ लाख पुगेको हो । बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईका अनुसार भारतलगायत अन्य मुलुकमा चिया पाँच सय ७४ मेट्रिकटन निर्यात वृद्धि हुँदा ३६ करोड २८ लाखले कारोबारमा कमी हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा यही वैशाख १४ देखि आजसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका क्रममा नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणालीबाट चिया उत्पादक कम्पनीको उत्पादनलाई बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोटमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाका बारे आवश्यक सूचना बारकोटबाट प्राप्त गर्ने हुँदा गुणस्तर र तौलमा ठगी हुन पाउँदैन । चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्नसकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्नेछ । अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यपार घाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरणमा सहयोग पुग्नेछ । दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसायी, बिक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरिएको हो । दिवसअन्तर्गत इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ । यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ । त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा त्यस क्षेत्रमा बडाहाकिमका रुपमा कार्यरत रहँदा चियाखेती सुरु भएको इतिहास छ । त्यसको केही वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । सरकारले विसं २०३९ मा झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरेको पाइन्छ । हाल नेपालका पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत चिया खेती गर्न थालिएको बोर्डका निर्देशक दिपक काफ्लेले जानकारी दिए। विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्याएको थियो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको व्यवसायीको भनाइ छ । चिया किसान विकास लामाले चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन नसकिरहेकाले सरकारले उचित नीति निर्माण गर्नुपर्ने बताए । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त छ । यहाँको जैविक चियाको गुणस्तर राम्रो भएकाले विश्वबजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसान लामाको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा सरकार, निजी क्षेत्र र किसानको समन्वय तथा सहकार्यको खाँचो रहेको बताइन्छ ।

मुक्तिनाथको बृहत वित्तीय साक्षरता तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न

काठमाडौं । विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियान सँगै मुक्तिनाथ विकास बैंक लि.ले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु को साथमा शुक्रबार र शनिबारका दिन ग्राहक वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैला कार्यक्रम को आयोजना भने देशभरका विभिन्न विद्यालयहरु/कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ’ भन्ने मुलनारा बोकेको यस बंैक लि.ले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको सहभागिता रहेको थियो । यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

काठमाडौं महानगरले उठायो छ अर्ब बढी राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको । उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो । चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ । विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ । यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ । कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारेको सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।

चैतमा साढे ३३ अर्ब रकमान्तर, २७ अर्ब बराबर आन्तरिक ऋण तिर्न

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो । यो अवधिमा अर्थ मन्त्रालयले २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ । सङ्घीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई चार करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छ करोड बराबर निकासा दिइएको छ । चैत महिनामा दुई वटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुज्रे सडक आयोजनाका लागि रू सात करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी, पालुङटार–कुण्डुटार सिँचाइ आयोजनाको तीन करोड ६४ लाख र सिँचाई पुनःस्थापना आयोजनाको तीन करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र २५ करोड रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै २० करोड समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रमका लागि र छ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तर–दक्षिण राजमार्गको नौ करोड घटाएर काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनालाई रकमान्तर गरिएको छ । राप्ती लोकमार्गको छ करोड ५० लाख रकमान्तर गरेर स्थानीय सडक पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको १० करोड रकमान्तर गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई दिइएको छ । रासस ।