विकासन्युज

बैंक तथा वित्तीय संस्था विरुद्ध क्रियाकलाप गरे सीबिफीनले मुद्दा चलाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गर्ने ब्यक्ति तथा समूहलाई मुद्दा चलाइने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबिफीन) ले बैंक तथा वित्तीय संस्था विरुद्ध क्रियाकलाप गर्नेलाई मुद्दा चलाउने बताएको हो । ‘कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज तिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिइनेछ,’ सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघको बैशाख १४ गते बसेको चौंथो बैठकले बैंक तथा वित्तीय संस्थाको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरूले विगत केही समयदेखि निरन्तर रूपमा गैरकानूनी गतिविधिहरू गरेको हुँदा आगामी दिनमा पनि यस्त घटना भए कानुनी बाटो रोज्ने बताएको हो । ‘बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्, प्रतिबद्ध र दृढ संकल्पित रहेका छन्,’ सिबिफिनले भनेको छ ।

ईङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख १७ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानियलाई बिक्री गर्दा बाँकी रहेको २ लाख ९३ हजार १६० कित्ता थप गरी कूल १४ लाख ९३ हजार १६० कित्ता सेयरमा सर्वसाधारण लगाीकर्तालाई बिक्री गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २९ हजार ८६३ कित्ता कर्मचारी र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, बीमितले ५१ रुपैयाँ पाउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत भई बीमा लेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दसर तोकेको छ । बीमा योजनाको अवधिमा बिमीले सो बोनस दर प्राप्त गर्न सक्नेछन् । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजना, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

आरबिबि म्युचुअल फण्ड २ बिक्री खुला, १ करोड २० लाख इकाई आवेदन दिन पाइने

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्गले आज बैशाख १७ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरबिबि म्युचुअल फण्ड २ बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको सो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र बाँकी १० करोड २० लाख इकाईका लागि सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा बैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन भर्न समय थप गरिनेछ । उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट फण्डको इकाई खरिद गर्न सक्नेछन् ।

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए। ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने। अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो । मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । ‘देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौँ भने धेरै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेको र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्नुभएको स्मरण गरे । उनले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताए । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै उनले लेखकले जनमत निर्माण गर्नुपर्ने बताए । सम्मानित व्यक्तित्व काइँलाले दिवसका अवसर पारेर लेखकलाई पुरस्कृत गर्न सुरु गरिनु सराहनीय काम रहेको बताए । लेखक सदाको प्रतिपक्ष हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री खड्काले सङ्घले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गरेका थिए ।

काठमाडौं सहित देशका अधिकांश स्थानमा वर्षा

फाइल तस्बिर काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए । रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय छ – गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताए । आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।’ बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरे। बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए ।

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले हकप्रद सेयर पारित गरेको हो । हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड।द्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ । भव्य र सभ्यरुपले सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ । त्यसै गरी सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीका अध्यक्ष सुवेदीको कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए भने संचालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तिय अवस्थाको जानकारी दिएका थिए । कम्पनी सचिव अनिल पौडेलले संचालन गरेको साधारण सभामा सेयरधनीको उल्लेखनीय उपस्थिति रहेको थियो ।