विकासन्युज

देशभर इभीका चार्जिङ स्टेशन राख्ने कार्यक्रम ल्याउनु पर्छ : सीईओ श्रेष्ठ

काठमाडौं । टाटा मोटर्सको नेपाली आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले आगामी बजेटमा देशभर इलेक्ट्रिक भेइकल (इभी) सवारीका चार्जिङ स्टेशन बनाउने योजना ल्याउनु पर्ने बताएका छन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा इभी सवारीको प्रोत्साहनका लागि चाहिने पूर्वाधार तयार गर्नु पर्ने र त्यसका लागि देशभर चार्जिङ स्टेशनहरु निर्माण गर्नु पर्ने कार्यक्रम ल्याउनु पर्ने बताएका हुन् । ‘हामी सबैलाई देशको विकराल अवस्था बारे थाहा नै छ, सरकारी तबरबाट पनि त्यही कुरा भइरहेको छ, हामी पनि अहिले गाह्रो अवस्थामा छौं, त्यसैले अटो सेक्टरलाई आगामी बजेटले सकारात्मक तरिकाले हेर्न आवश्यक छ,’ उनले भने । श्रेष्ठले अहिले अर्बौं रुपैयाँको गाडी भन्सारमा थुप्रिएको विषयलाई बताउँदै दैनिक लाखौं रकम पार्किङमै खर्च भइरहेको बताए । उनले ती गाडी छुटाउन सकिने किसिमको राहत ल्याउनु पर्ने पनि बताए । इभीका सवारीमा सरकारले प्रोत्साहन गरे पनि नीति चाँडो परिवर्तन भएको उनको गुनासो छ । ‘इभीका सवारीको लागि लगानी धेरै चाहिन्छ, इभीका गाडी ल्याएर बेच्ने मात्र होइन, यसमा जुन इको सिस्टम छ, त्यसमा धेरै ठूलो लगानी हुन्छ, यसमा आयातकर्ताले धेरै लगानी गरिसकेका छन्, ‘उनले भने, ‘चार्जिङ स्टेसन, जनशक्ति र पूर्वाधारमा ठूलो लगानी छ, नीति स्थीर भयो भने यो क्षेत्रमा व्यवसायीहरू लगानी गर्न तत्पर हुन्छन् ।’ पछिल्लो समय बैंकले गाडीमा कम लगानी गरेको उनको भनाइ छ । बैंकले सहज तरिकाले गाडीमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । बैंकको ब्याज घटाउनु पर्ने विषयलाई पनि श्रेष्ठले जोड दिए । ‘अहिले कतिपय व्यवसायी साथीहरूले डिलर बन्द गरेर पलायन भइसके, नेपालको लागि सडक यातायात विकासको मेरुदण्ड भनिन्छ, त्यसैले सोही अनुरूप सरकारले के–के चिजमा सहजता गर्न सक्छ, त्यसमा सहज गरेर यो उद्योगलाई उकास्न तर्फ लाग्नु पर्छ,’ उनले भने । इभीका सवारी मर्मत सम्भारमा चाहिने उपकरणमा सहुलियत दिन सक्यो भने यस क्षेत्रलाई अझै प्रवद्र्धधन गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस्तै, गाडी आयात गरेर ल्याउँदा फिर्ता लैजाने प्रावधान मिलाउनु पर्ने श्रेष्ठले बताएका छन् । आयात गरेर ल्याइएका गाडी फिर्ता हुने र आगामी बजेटबाट फिर्ता लैजाने प्रावधानको कार्यक्रम समावेश गर्नुपर्ने उनको धारणा छ ।  

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए । इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । रासस

गणेशखोलाको पुल भासिदा पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका ६ धार्के स्थित गणेश खोलामा रहेको पुल भासिदा सवारी आवागमनमा प्रभावित भएको छ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो। पृथ्वी राजमार्ग भएर चल्ने दुबै तिरको सवारी साधन यतिबेला रोकिएका छन् । पुल मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आर्थिक संघ र अर्थ मन्त्रीबीच भेटघाट, जनतालाई आशा जाग्ने किसिमको बजेट ल्याउने

काठमाडौं । नेपाल आर्थिक संघ र नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको संघको टोलीले माननीय अर्थ मन्त्री डा प्रकाश शरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ। अगामी आर्थीक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने कुरामा जोड दिइएको थियो । माननिय अर्थ मन्त्री डा प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको कुरा बताएका छन् । आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा बताए । सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए । उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए । त्यसैगरी, नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारी देश विभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघ सँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उयोगी बजेट आउन सक्छ । तेसैले अनुसंधानमा आधारित प्रतिवेदनहरू जसले देसको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्ने र त्यस्मा अर्थ मन्त्रालयले राम्रोसंग अध्यान गरि बजेटमा समावेश गर्न सके वस्तुपरक हुने डा तिवारीले बताए । अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोश राज पांण्डेले नेपाल आर्थिक संघसँग सरकार पहिले देखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागि परेको जनकारी दिए ।

बैंकको ब्याज फेरि घट्छ, ठूलो मेहेनत गरेपछि अर्थतन्त्रमा सुधार देखियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् । सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताए । ‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए,अहिले त्यसमा क्रमशः सुधार आउँदैछ, बैंकको ब्याजदर केही घटेको छ, यो महिनाभित्र थप केही घट्छ,’ उनले भने । उनले आफुले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै रहेको बताउँदै अहिले ठूलो मेहेनत गरेपछि सुधार धारणा राखे । उनले आफ्नै पहलमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको बताए । ‘उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन, त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौं, अर्थतन्त्र लयमा फर्किन थालेको छ, यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु, अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ,’ उनले भने ।

रास्वपाको कार्य विभाजन, अर्थ नीति विभागमा वाग्ले, कसलाई कुन विभाग ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुखहरु तोकेको हो । ३६ वटा विभागमध्ये डा.स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् । यस्तैगरी, मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन गरेको छ ।

कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ

काठमाडौं । पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ । सिप्रदी ट्रेडिङ्गले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ । बिक्रि सुरुभएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ । उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ्ग सहन सक्ने भरपुर क्षमता छ । कम्पनीको अनुसार ‘विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ । म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ । त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ ।’ विशेष खालको पॉलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन । फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने बताइन्छ । एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभरि रहेका डिलरहरु मार्फत खरिद गर्न सकिन्छ । साथै, ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सकिनेछ ।

अर्थमन्त्रीमा स्वर्णिमको चर्चा, गृहमा रविको अडान

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएसँगै पुनः सत्तासमीकरणको विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ–१ बाट स्वर्णिम वाग्ले निर्वाचित भएसँगै सरकारको नयाँ समीकरणको विषयमा चर्चा हुन थालेको हो । अहिले नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु सरकारमा छन् । रास्वपाले पनि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपनि सरकारमा मन्त्रीहरु पठाएको छैन । अहिले पुनः रास्वपा सरकारमा जाने या नजाने भन्ने विषयमा बहस भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन राखेका माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल तयार रहेको बुझिएको छ । शुक्रबार बसेको रास्वपाको बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाल तयार रहेको बताएका थिए । प्रधानमन्त्री दाहाल रास्वपालाई पनि सरकारमै ल्याउन चाहन्छन् । अहिले रास्वपाले गृह मन्त्रालय र अर्थ मन्त्रालयसहित चार मन्त्रालय माग गरेको बुझिएको छ । रास्वपाले साबिकका मन्त्रालय पाउनुपर्ने र नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग पनि अघि सारेको छ । चितवन–२ मा भएको उपनिर्वाचनबाट सांसद बनेपछि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका थिए । रास्वपाले गृह, अर्थ, श्रम र शिक्षा मन्त्रालय मागेको छ भने नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ । तर, सरकारमा सहभागी हुने या प्रतिपक्षमा जाने भन्ने विषयमा रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय लिने बताइएको छ । रास्वपाका सासंद मनिष झाले एक टेलिभिजनसँगको कुराकानीमा गृह, अर्थसहित चार मन्त्रालय पाएमा आफुहरु सरकारमा जाने धारणा राखेका छन् । प्रधानमन्त्री दाहालले रास्वपाको माग सम्बोधन गरेमा गृहमा रवि लामिछाने, अर्थमा डा. स्वर्णिम वाग्ले बन्ने निश्चित प्रायः छ । रास्वपाका प्रवक्ता डा.ढकालले वाग्लेलाई अर्थमन्त्री बनाउने विषयमा पार्टी सकारात्मक भएको धारणा राखेका छन् । अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा. वाग्ले अर्थमन्त्री बनेमा धेरै समस्या समाधान हुने उनको धारणा छ । अहिले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् ।