विकासन्युज

महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ । महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर डा. पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ । धर्ना स्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघ केन्द्रिय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दिपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो । आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासंघले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताए । महासंघका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा महासंघको टोलीलाई धन्यवाद दिंदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताए । उनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने आफ्नो माग दोहोर्याए ।

गणेश पाण्डेको ‘को–हजबेण्ड’ फिल्मले जापानमा पायो एक करोड ३० लाख

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंयाको सहयोग प्राप्त गर्न सफल भएको छ । फिल्मले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको हाे । गणेश पाण्डे निर्देशित को–हजबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैंया बराबर)को फिल्म फण्डिङ जितेको हो । यसका साथै, को–हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो ।’– निर्देशक पाण्डेले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ ।’– उनले भने । यसैगरी, को–हजबेण्डले आज नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेण्डले उत्कृष्ट पुरस्कार पाएको हो । ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । यसअघि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट को–हजबेण्ड निर्माण गरेका हुन् ।  

ब्रोकर लाइसेन्स अनुमतिका लागि ७ वाणिज्य बैंक योग्य, कुनले पाए एलओआई ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न ७ वटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । बोर्डले सोमबार नबिल बैंक, साविक मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्र सम्बन्धि कारोबार गर्न आशयपत्र प्रदान गरेको हो । धितोपत्र बोर्डका अनुसार नबिल बैंकले धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको छ । यस्तै, साविक मेगा बैंकले धितोपत्र सम्बन्धि पूर्ण कार्य गर्न मेघा स्टक मार्केट लिमिटेडको नामबाट एलओई प्राप्त गरेको हो । यस्तै, सिटिजन्स बैंकले सहायक कम्पनीका रुपमा सिविआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केविएल सेक्युरिटिज लिमिटेड, एनएमबि बैंकले एमएमबि सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिामा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्र सम्बन्धि सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन् । हिमालयन ब्रोकेज कम्पनी, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस, एसपीएसएस सेक्युरिटिजलाई सिमित कार्य गर्ने धितोपत्र दलाल सम्बन्धि आशयपत्र प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ । एलओआई प्राप्त गरेका कम्पनीहरुले कर्मचारीदेखि सबै पुर्वाधार तयार पार्नुपर्ने बताएको छ । ‘धितोपत्र सम्बन्धि कारोबार गर्न योग्य भएर आशयपत्र प्रदान गरेको हो, आशयपत्र भनेको अनुमति प्राप्त सरह नै हो, अनुमति प्राप्तका लागि योग्य भएका हुन्, अब ६ महिनाभित्र कारोबार गर्नका लागि पुर्वाधारदेखि कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ, सबै मेकानिज्म खडा गरेपछि लाइसेन्स प्राप्त गर्छन्,’ उनले भने । यदि ६ महिनासम्म नियमानुसरा पुर्वाधार तयार गर्न सकेन भने अनुमति नदिने धितो बोर्डले जनाएको छ ।

नेपाल र यूएईबीचको खेल मंगलबार हुने

काठमाडौं ।  नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल मंगलबार हुने भएको छ । सोमबार वर्षाले खेल बिथोलिएपछि अब बाँकी खेल मंगलबार हुने भएको हो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । मंगलबार यूएईले यही स्थितिबाट मंगलबारको खेल सुरु गर्नेछ ।

एशियन लाईफ इन्स्योरेन्सको ८.९४ प्रतिशत लाभांश पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको  पन्ध्रौंं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश सेयर र ०.४४७ प्रतिशत(कर प्रयोजनका लागी) नगद लाभांशको प्रस्ताव साधारण सभाले पारित गरेको हो । यस कम्पनीले हाल कायम चुक्ता पूँजी दुई अर्ब ९० करोड ८१ लाख ११ हजार रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ बराबरको बोनश सेयर वितरण गर्नेछ । साधारण सभाले कर प्रयोजनको लागि रु.१ करोड ३० लाख ९ हजार ९७० नगद लाभांश(कर प्रयोजनका लागी) वितरणको समेत पारित गरेको छ । साथै बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न समेत साधारण सभाले स्वीकृत गरेको छ । यसैगरी कम्पनीको अधिकृत पूँजीलाई ५ अर्बबाट ६ अर्ब कायम गर्न प्रबन्धपत्रको दफा ६.१(क) मा संशोधनको प्रस्ताव समेत पारित भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले पेश गर्नुभएको संचालक समितिको प्रतिवेदनको साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष.२०७८/७९ (एनएफआरएस) बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि अनुुसूचिहरु माथी छलफल सहित पारित गरेको छ । आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव सभाबाट पारित भएको छ । विशेष प्रस्ताव अन्तर्गतको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाबाट पारित भएको छ । यसैगरी कम्पनीले व्यवसायीकरुपमा बहालमा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ । यस कम्पनीको चालू आ.व. २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड र कूल लगानी ३९ अर्ब ८ करोड छ । कम्पनीको फागुन मसान्तसम्मको कूल बीमाशुल्क आम्दानी ४० अर्ब ८५ करोड रहेको छ ।

प्रधानमन्त्रीले गरे मौलाकाली केबलकारको औपचारिक उद्घाटन

काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए । ‘तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको छ, यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्छ,’ उनले भने । त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिव्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबलकार समेतले प्रस्तुत गरेको बताए । ‘मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जान्छ,’ उनले भने ।  मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तिव्र पारेको बताउदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी पनि अध्यक्ष ढकालले दिए । ‘मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ, यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो, नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएका छाैं,’ उनले भने । करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् । परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

‘सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको हो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले वैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताए । उनले महावीर पुनले आफूसँग केही मँग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताए । उनले भने, ‘महावीर पुन माईतीघर मण्डलामा बस्ने अघिल्लो दिन मसँग आउनुभएको थियो, बालुवाटारमा । केही माग गर्नुभएको छ । म त माईतीघरमा बस्छु है कस्तो हुँदो रहेछ भनेर भन्नुभएको थियो, मैले नै भन्न त मिलेन, तर तपाई बस्नुभए सजिलो हुन्छ बजेट बनाउन भनेको थिएँ, सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । सरकारसँगै छलफल गरेर, सल्लाह भएर उहाँ बस्नुभएको हो ।’ प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । उनले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र काँग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताए । उनले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि बताए ।

निकले विद्युत प्राधिकरणलाई दियो ३२ लाखको ट्रान्सफर्मर

काठमाडौं । ट्रान्सफर्मर उत्पादक नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले नेपाल विद्युत प्राधिकरणलाई ५०० केभिएको वितरण ट्रान्सफर्मर हस्तान्तरण गरेको छ । करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने सो ट्रान्सफर्मर आइतबार हस्तान्तरण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको निकले जानकारी दिएको छ । कार्यकारी निर्देशक घिसिङले यो ट्रान्सफर्मर उत्पादन तथा जडान कार्यले स्वच्छ ऊर्जा आपूर्तिमा ठूलो योगदान पुर्‍याउने बताए। जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए। निकले गत वर्ष नै यस्तो खालको ट्रान्सफर्मर उत्पादन गर्ने विषयमा प्राधिकरणसँग समझदारी गरको थियो । हाल यो ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्क केन्द्रीय कार्यालय मातहतमा जडान गरिएको छ । प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ। यो ट्रान्सफर्मरले विद्युत आपूर्तिमा हुने उतारचढाव तथा भोल्टेजको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने जोशीले बताए । ‘विद्युत हुँदा पनि भोल्टेजकै कारणले पटक–पटक आपूर्तिमा समस्या आउने वा आपूर्ति विच्छेद भइरहने समस्यालाई यो ट्रान्सफर्मरले सन्तुलन मिलाउँछ,’ उनले भने, ‘यसले वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।’ निकमार्फत ट्रान्सफर्मर उत्पादनको उद्योगमा नयाँ प्रविधि भित्र्याउन मुख्य भूमिका निर्वाह गरेकोमा प्राधिकरणले एमआर जर्मनी र कारगिल अमेरिकालाई यस्तै सहयोग जारी राख्न आग्रह गरेको छ । विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने यस खालको ट्रान्सफर्मर जर्मनीमा उत्पादन भएको एक वर्षभित्रै निकले सोही प्रविधिलाई नेपालमा भित्र्याएको जनाएको छ । जोशीका अनुसार प्राधिकरणको केन्द्रीय कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । नेपालमा ट्रान्सफर्मर उत्पादन गरी भुटान, बंगलादेश जस्ता देशमा निर्यातसमेत गर्दै आएको निकले पछिल्लो समय नयाँ प्रविधिमा आधारित वातावरणमैत्री र स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्‍याउने ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ ।