रुवाबासी गर्ने समय छैन, पाएको जिम्मेवारी पूरा गर्नुपर्छ : महामन्त्री थापा

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे चिन्ता गर्नेभन्दा पनि पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने बेला आएको बताएका हुन् । ‘आम निर्वाचन आउन [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे चिन्ता गर्नेभन्दा पनि पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘आम निर्वाचन आउन बाँकी ४ वर्षमा कांग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्छ, पनिर्वाचनको परिणामले पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होइन कि सरकार यसरी पो चलाउनुपर्छ भन्ने हिम्मत बटुल्नुपर्छ,’ उनले भने ।

उनले जो जहाँ छौँ त्यहीँ राम्रो काम गर्नुपर्छ भन्दै पार्टीका नेताहरूले अर्को पटक मौका पाउँला/नपाउँला भनेर चिन्ता गर्नुभन्दा पनि अहिले पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौँ भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

‘अहिलेको आर्थिक सङ्कटको बेला गजबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्छ, कांग्रेसले अहिले नेतृत्व गरेको हजारौँ वडा छन्, केन्द्रको सरकार छ, ७ वटा प्रदेशको सरकारमा कहीँ सहभागी भएका छौँ, कहीँ नेतृत्व गरिरहेको छौँ, तिनमा अझै चार वर्षको समय छ, त्यहाँ प्रतिबद्ध भएर काम गरौँ,’ महामन्त्री थापाले भने ।

सरकारमा हुँदा काम नगरेर नागरिकको मन जित्न नसक्ने हो भने फेरि सरकारमा दोहोर्याएर किन जाने भन्नेमा चिन्ता गर्नुपर्यो भन्दै उनले भने, ‘देशका ३२९ वटा पालिकामा कांग्रेसले जितेको छ, त्यहाँ आत्मविश्वासका साथ ४ वर्ष राम्रो काम गर्न सकेनौँ भने फेरि हामीले काम गर्ने मौका किन पाउने ?’

परिणाम देखाउने गरी सुशासनका साथ काम गरौँ रुवाबासी गर्नै पर्दैन भन्दै उनले हामी कहाँनिर चुक्यौँ सच्याउनका लागि पार्टीमा छलफल, समीक्षा र आत्ममूल्याङ्कन गरिरहेको बताए । नेतृत्वलगायत पार्टीमा बस्ने सबैले कमजोरी सच्याएर अगाडि बढे पार्टी ठीक ठाउँमा आउने भन्दै उनले पार्टीभित्रको समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको बताए ।

Share News