विकासन्युज

व्यवसायीलाई सस्तोमा जग्गा दिने कार्यक्रम ल्याउँदै सरकार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले व्यवसायीलाई सस्तोमा जग्गा दिने कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् । सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने तयारीमा सरकार लागेको बताए । उद्योगी व्यवसायीको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताए । ‘बैंकको ब्याज घटाउन सरकार लागिपरेको छ, व्यवसायीको बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेका छौं,’ उनले भने । आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए ।

मिटर ब्याजी पीडित भन्छन् : माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटर ब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको शान्ति बाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटर ब्याजी पीडतले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए । अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरुको रहेको बताए । उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए ।

भृकुटीमण्डपमा जेठ ४ गतेबाट चेम्बर एक्स्पो हुने 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को आयोजना गर्ने भएको छ । चेम्बरले भृकुटीमण्डपमा जेठ ४ देखि ८ गतेसम्म सो  एक्सपो गर्ने भएको हो । मुलुक आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गई रहेको परिपेक्षमा राष्ट्रको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिताका लागि उक्त एक्स्पोको आयोजना गर्ने भएको चेम्बरले बताएको छ । छैटौं संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको बताइएको छ । एक्स्पोमा मिनिस्ट्रिी अफ कमर्श एण्ड इएपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने बताइएको छ । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज, हाइड्रो लजेस्टिक, सामग्रीको प्रदर्शनी गरिने छ । यस्तै, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स्, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरी प्रडक्ट लगायत सामग्री पनि प्रदर्शनी हुने बताइएको छ । चेम्बरका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल हुने छन् ।

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिनुपर्ने

काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको हो । यसअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।

हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ । दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

संखुवासभा हेलिकप्टर दुर्घटनामा मानविय क्षति भएन, पाइलट सामान्य घाइते

काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा मानविय क्षति नभएको पाइएको छ । हेलिकप्टरका पाइलट क्यापटेन सुरेन्द्र पौडेल सामान्य घाइते भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । पौडेलको स्थानीय स्वास्थ्य चैकीमा उपचार भैरहेको उनले बताए । दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालकसहित ४ जना रहेका थिए ।

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार माथिल्लो अरुण जलविद्युतकाे सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले सिम्रिक एयरको होलिकोप्टर सम्पर्कविहीन भएको जनाएको छ । दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालक दलका दुई सदस्य सहित ४ जना रहेको बताईएको छ । के सामान बोकेर गएको हो भन्ने जानकारी आइनसकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

एसियाका तारा गौतम बुद्ध

काठमाडौं । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए । यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन धर्मदेशनाका माध्यमबाट बाँडेका थिए । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण मृत्यु प्राप्त गरे । विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको हो । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति १८७९’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म १९५७’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ १९२२’ प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ ९१९५००, ‘विश्वमा बुद्ध’ ९१९०६०, फ्रान्सका डा। वाल्पोला राहुलको ‘बुद्धको विचार’ ९१९५९०, इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ ९१९६९० आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर ९एमए० को अध्ययन अध्यापन गर्दै आएका छन् । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले इ पू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ । तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो । बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन २०७० सालको अन्तिमतिर अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्यान्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई धेरै देशले समर्थन गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन् । बुद्ध जयन्ती वा यस्तै अन्य अवसरमा प्रस्ताव गर्ने तर त्यसको कार्यान्वयनका लागि काम हुन नसकेको टिप्पणी हुने गरेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेका हुन् । रासस