खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छ : ‘गम्भीर छौँ’
काठमाडौं । विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् । जलवायु तथा विपद् विज्ञ डा। धर्म उप्रेतीले यस पटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए । उनले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए । उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए । यस वर्षको वर्षायाममा औषत भन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरु घट्ने बताए । उनले दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आँकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए । विज्ञ डा। उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गरे । विज्ञ डा। उप्रेतीले भने, ‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । अत्यन्तै न्युन वर्षा हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ । धेरै हुनु पनि जलवायु परिवर्तनको असर हो । समुन्द्रको सतहको तापक्रम कतै तातो छ, कतै चिसो छ, नर्मल अवस्था छैन । ३० वा सो भन्दा बढी समयको अवस्थाको परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । वर्षा समयमा नेपालमा यसको असर पर्छ । जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा नै उत्पादकत्व घट्ने हुन्छ ।’ यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । बिहीवार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा।गोवन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको बताए । उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताए । उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिंचाईमा विशेष जोड दिनुपर्ने देखिएको बताए । उनले भने, ‘रेनफल पहिलाको भन्दा जुन हाम्रो प्रडिक्टेभ एभ्र्रेज छ, त्यो भन्दा स्टाब्लिस एभ्रेज डेटा त्यो भन्दा बढी हुन्छ भनेको छ, त्यो ४५ देखि ५५ प्रतिशत भनेको छ । केही भुगोलहरुमा ३५ देखि ४५ प्रतिशत हायर हुन्छ, समग्रमा भनिएको छ । एभ्रेज टेम्पे्रचर हायर हुन्छ र एभ्रेज मिनिमम टेम्प्रेचर पनि विगतको हायर हुन्छ भनेपछि अब किसानलाई धान रोप्ने समयमा आकाशे खेती गर्नेहरुलाई थोरै हिट गर्छ । पूर्वसूचना प्रणालीको विकास सबै पालिका स्तरमा हुन जरुरी छ ।’ सचिव शर्माले सरकारले सबै पालिकाहरुमा मौसमबारे पूर्वसूचना प्रणाली बिस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए ।
अब सशस्त्र प्रहरीले सरुवा हुँदा गुन्टा बोकेर जानु नपर्ने
काठमाडाैं । सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी सरुवा भएर जाँदा आफ्नो विस्ताराका लागि प्रयोग हुने सरसामानसमेत बोकेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । ‘अब त्यो बाध्यता हटेको छ, त्यसरी गुन्टा बोकेर जानुपर्ने अवस्था अन्त्य गरिएको छ, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले भने, ‘ससस्त्र प्रहरीका धेरै गतिविधिमा सुधार गर्दै लगिएको छ ।’ उनका अनुसार एक जवान एक बेडिङको अवधारणाअनुसार ८५ प्रतिशत कर्मचारीका लागि शय्या तयार भइसकेको छ । बाँकीका लागि पनि तयारीको अवस्थामा राखिएको छ । प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरीका विभिन्न ७० युनिटमा शिशु स्याहार केन्द्रसमेत स्थापना गरिएको र त्यहाँ एक सशस्त्र कर्मचारीले रेखदेख गर्ने तथा अरूभने कार्यक्षेत्रमा खटिने गरी व्यवस्था गरिएको छ । यस्तै आधारभूत आवश्यकतालाई ध्यानमा राखेर विशेष सुधारका काम पनि गरिएको उनले बताए । प्रवक्ता खड्काका अनुसार विभिन्न ६५ वटा मेसको स्तरोन्नति गरिएको छ । जनशक्तिको अनुपातमा शौचालय तथा स्नान गृहको निर्माण पनि गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । इन्डक्सन चुल्होको प्रयोग बढाउँदै लगिएको र अन्य सुधारात्मक कामलाई तीव्र गति दिइएको जनाइएको छ । रासस
सूचनाको हक प्रजातन्त्रको प्राण हो : देवराज घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित एक कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताए । ‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन’, उनले भने, ‘सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ ।’ उनले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताए । सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र नागरिकले सहजरूपमा सूचना पाउने बताए । सरकार पारदर्शी, सुशासन र सेवाप्रवाहका विषयमा गम्भीर रहेको र त्यहीअनुरूप काम गर्दै आएको स्पष्ट पारे । ‘संविधान र कानुन कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ’, मन्त्री शर्माले भनिन्, ‘सरकारका कामकारबाही गल भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ ।’ उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताए । मन्त्री शर्माले नेपाली नागरिकको सूचनाको हक प्रचलन गर्नका लागि सरकारले आयोगको गठन गरेको स्मरणसमेत गराए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताए । उनले सरकारको कम प्राथमिकतामा राखिएको जस्तो महसुस भएको उल्लेख गर्दै लोकतन्त्रको सुन्दर उपहार जनता र सरकारलाई जोड्ने सूचनाको हक नै भएको स्पष्ट पारे । आयोगका अध्यक्ष महेन्द्रमान गुरूङले जनआन्दोलनपछिको उपलब्धि सूचनाको हकसम्बन्धी अवधारणा आएको र कानुन कार्यान्वयन प्रभावकारी भएमा राज्यका काम कारबाहीमा पारदर्शी र सुशासन कायम हुने बताए । उनले सूचनाको हक कार्यान्वयन गर्ने निकाय सरकारी निकायहरू नै भएको हुँदा ती निकायले प्रभावकारीरूपमा काम गर्नुपर्नेमा जोड दिए । विश्वमा एक सय ३६ राष्ट्रमा सूचनाको हकको कानुन बनेर कार्यान्वयनमा रहेको र नेपालीको कानुन २२औँ स्थानमा रहेको जानकारीसमेत अध्यक्ष गुरूङले दिए । रासस
अदालतले रोके पनि सुन्दर काठमाडौं बनाउने काम रोकिँदैन : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अदालतले तार हटाउने काम नगर्ने भन्न आदेश दिए पनि रोके पनि सुन्दर काठमाडौं बनाउने काम नरोकिने बताएका छन् । शुक्रबार सामाजिक संजालमा एक स्टाटस राख्दै साहले यस्तो बताएका हुन् । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि क्रियशिल रहको बताउँदै यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्ने बताउँदै उनी लेख्छन्,’तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ ।’ भौतिकरुपमा तारले शहरलाई अव्यवस्थित बनाउनुको साथै आगलागीको जोखिम पनि बढाएका उनी बताउँछन् । ‘गतवर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ,’ उनी लेख्छन् । ‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ, यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो,’ उनी लेख्छन् ।
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताए । उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए । उनले सन्देशमा भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।’ उनले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घन्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको समेत सन्देशमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएको भन्दै बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको समेत बताए ।
गैरआवासीय नेपाली सङ्घको युरोप सम्मेलन हुँदै
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका तीन सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । सम्मेलनको व्यवस्थापनको जिम्मा सङ्घको चेक रिपब्लिक शाखाले लिएको छ । सम्मेलन सम्पन्न गर्न क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनको सञ्चार संयोजन सङ्घका सञ्चार संयोजक चिरन शर्माले गर्नेछन् । सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार सम्मेलनमा सङ्घका नियमित एजेन्डालगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुनेछ । यस्तै, सम्मेलनमा सङ्घको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५औँ विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले नेपालमा जति पूँजीको लगानी छ त्यति नै सीप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताए । सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनेछन् । यस्तै, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय पदाधिकारीहरु सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ, सङ्घ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्षहरु, पूर्वअध्यक्षहरु र संस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथि प्राग पुगिसकेका छन् । यस्तो छ तीन दिनको मुख्य कार्यक्रम सङ्घका उपमहासचिव रामशरण सिम्खडाका अनुसार शुक्रबार दिउँसोदेखि सङ्घको औपचारिक कार्यक्रम सुरु हुनेछ । पहिलो दिन, शुक्रबार बिहानदेखि प्रतिनिधिहरुको दर्ता प्रारम्भ हुनेछ । दिउँसो २ बजेदेखि संस्थागत गतिविधिहरु हुनेछन् । २ देखि साँझ ५ बजेसम्म स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको सञ्जालका बारेमा छलफल हुनेछ भने साँझ ५ बजेदेखि उद्घाटन शत्र सुरु हुनेछ । सम्मेलनको दोस्रो दिन, शनिबार राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप एकता एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोसन लगायतका कार्यक्रम तय गरिएको छ । यस्तै, सम्मेलनको तेस्रो दिन, आइतबार नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्सफर लगायतका विषयमा छलफल हुनेछ । सोही अवसरमा प्राग घोषणपत्र जारी गरिनेछ । रासस
मिटर ब्याजीलाई ७ वर्ष कैद हुने
काठमाडाैं । सरकारले मिटर ब्याजीलाई सजाय बढाएको छ । मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटर ब्याजीलाई सजाय बढाएको हो । याेसँगै अब पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन् । [pdf id=407544]
संकटबाट पार पाउन लिवर्टी इनर्जीले खोज्यो बैंकबाट ऋण, हकप्रद सेयर र मर्जको बाटो
काठमाडौं । पटक पटक बाढी पीडित बनेकाे लिवर्टी ईनर्जी कम्पनीले संकट टार्न अनेक विकल्प अगाडि सारेकाे छ । उसले बैंकबाट ऋण लिने, हकप्रद सेयर निष्काशन गरेर सेयरधनीबाट पुँजी संकलन गर्ने र उपयुक्त कम्पनीसँग मर्ज पनि गर्ने विकल्पहरू अगाडि सारेकाे छ । कम्पनीले ११ औँ, १२ औँ र १३ औँ गरी तीन वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ । बैशाख २५ गते बाेलाइएकाे कम्पनीको वार्षिक साधारण सभामा चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने, चुक्ता पूँजी र सञ्चित मुनाफाभन्दा बढि हुने गरी लिएको ऋण अनुमोदन गर्ने र थप ऋणका लिने विशेष प्रस्ताव पेस गर्दैछ । साथै, जलविद्युत कम्पनीहरु गाने/गाभिने तथा प्राप्ति, खरीद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने र हाल कम्पनीको स्वामित्वमा रहेका निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरुको निर्माणका लागी आवश्यक पूँजी व्यवस्थापन गर्ने प्रस्ताव गरेको छ । लिवर्टी ईनर्जी कम्पनीले ३ वर्षअघि सर्वसाधारणलाई ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँको सेयर जारी गरेपछि चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याएकाे थियाे । याे कम्पनीले हालसम्म सेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन । ३ अर्ब ५० करोड रुपैयाँ अनुमानित लागत रहेकाे याे परियाेजना सम्पन्न हुँदा ५ अर्ब रूपैयाँ लागत परेकाे थियाे । सन् २०१९ र सन् २०२१ मा आएको बाढीले आयोजनामा पुनः क्षति पुर्याएकाेले लागत बढेकाे कम्पनीका अधिकारीहरूले बताएका छन् । निर्माण लागत बढेकाे कारण कम्पनीले पुनः सर्वसाधारण लगानीकर्ताबाटै रकम उठाउने योजना बनाएको छ । कम्पनीले लमजुङको दोर्दी गाँउपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो ‘दोर्दी ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत मंसिरदेखि विद्युत उत्पादन पनि गरिरहेको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको कम्पनीले अन्य आयोजना निर्माण गर्न थप ऋण उठाउने तयारी गरिरहेको बताएको छ । कोरोना महामारी र बाढी पहिरोका कारण थला परेकाले बैंकबाट ऋण उठाउने र सर्वसाधारणबाट हकप्रद सेयरमार्फत् रकम संकलन गर्न लागिएकाे सञ्चालक राम बहादुर पाण्डेयले बताए । कम्पनीले ‘दोर्दी ए’ आयोजना निर्माणका लागि बैंकबाट ३ अर्ब रुपैयाँ कर्जा लिएको थियाे । सो कर्जाको १२/१३ प्रतिशतसम्म ब्याजदर तिरिरहेको कम्पनीले जनाएको छ । बैंकको ब्याजसहित आयोजनाको लागत बढेर ५ अर्बको हाराहारी पुगेको उनले बताए । गत मंसिरमा बत्ति बाल्न थालेपछि आयोजनाबाट उत्पादन भएको विजुली बिक्री गरेको आम्दानीले अहिले बैंकको कर्जा तिरिरहेको छ । कम्पनीले ७५ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेर ३ अर्ब पूजी पुर्याउने योजना बनाएकाे उनले बताए । उनका अनुसार ७५ करोड रुपैयाँको हकप्रद सेयर जारी गरेर १.६ मेगावाटको लमजुङ्गको लोदो खोला आयोजना र २४.६ मेगावाटको बागलुङको बडिगाड खोला आयोजना निर्माण गर्ने योजना रहेको उनले बताए । सञ्चालक पाण्डेयका अनुसार लोदो खोला आयोजनाको अनुमानित लागत ३३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयर जारी गरेर सो आयोजनाका लागि पहिलो चरणमा ८ करोड रुपैयाँ मात्रै छुट्याइने छ । पीपीए गर्न बाँकी रहेकाले कूल लागत कति हुने भनेर सबै हिसाब आउन बाँकी रहेको उनको भनाइ छ । साथै, बडिगाड खोला आयोजनाको डिपीआर सम्पन्न भइसकेको भएपनि पीपीएको लाइनमा रहेको उनले बताए । पीपीए सम्पन्न हुने बित्तीकै आयोजना अघि बढ्ने उनको भनाइ छ । पीपीए भइसकेपछि बजार मूल्य हेरेर मात्र आयोजनाको स्पष्ट लागत आउने उनले बताए । ‘हकप्रद सेयर बिक्री गरेर रकम आउन अझै एक डेढ वर्ष जति लाग्छ, त्यो बेलामा ब्याजदर, डलर लगायतको मूल्यका आधारमा आयोजनाको कूल लागत निकाल्छौं, आयोजनामा हामीहरु प्नि लगानी गर्छाैं,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक (एमडि) डा. आत्माराम घिमिरेका अनुसार नेपाल विद्युत प्राधिकरणले समयमै ट्रान्समिसन लाइन नबनाएकाले कम्पनीले ठूलाे क्षति बेहाेरेकाे बताए । अबको तीन महिनापछि उत्कृष्ट कम्पनीका रुपमा लिवर्टी ईनर्जी बन्ने उनको दाबी छ । उनले हकप्रद सेयर निष्काशन गरेर ऋणको ब्याज तिर्ने उनले बताए । साथै, कुनै राम्रो कम्पनी आयो भने मर्ज गर्न तयार रहेको उनको भनाइ छ । ‘सुख्खा सिजनमा पनि १५/२० प्रतिशत विद्युत उत्पादन भइरहेको छ, बाढीका कारण मात्रै आयोजना विबग्रिएको हो, हामीले नियन्त्रण गर्न नसक्ने भएकाले पनि ठूलो क्षति पुर्यायो, बैंकको ब्याजले पनि सताएको थियो, अब बैंकको ब्याज पनि धमाधम तिरिरहेका छौं,’ उनले भने, ‘बैंकबाट ऋण उठाउने तयारी छ, कम्पनीले २०९२ साल सम्ममा बैंकको ऋण चुक्ता गर्ने लक्ष्य छ ।’