विकासन्युज

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

चितवन । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गरे। समारोहमा मन्त्री रिजालले स्वदेशी लघु, घरेलु उद्योगलाई प्रबद्र्धनका लागि औद्योगिक प्रदर्शनी पनि महत्वपूर्ण माध्यम बनेको बताए। ‘यस्ता प्रदर्शनीले साँच्चै स्वदेशी उद्योगको प्रबद्र्धनमा टेवा पुग्छ’ उनले भने, ‘प्रदर्शनीको माध्यमबाट उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्दछ ।’ औद्योगिक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने प्रविधिहरुको अवलोकन गर्न विदेशी प्रदर्शनीमा जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले प्रदर्शनीका माध्यमबाट स्वदेशी र विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट तथा छलफल गरी औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानबाट लाभ लिन उद्योगीहरुलाई आग्रह गरे। मन्त्री रिजालले यस्ता प्रदर्शनीहरुको माध्यमबाट सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने बताए । प्रदर्शनीमा रहेका प्रविधिहरुको अनुशरण गरेर स्वदेशी उत्पादन वृद्धिका लागि उद्यमीलाई प्रेरणा दिने समेत बताए । प्रदर्शनी बारे जानकारी गराउनुहुँदै औद्योगिक प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मागमा आएको उच्च संकुचनका बाबजुद आर्थिक गतिविधिलाई चलायमान बनाउने, उत्पादन बृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको बताए । प्रदर्शनीमा स्वदेशी सहित भारतका उद्योग तथा प्रविधिहरु रहेको उनले जानकारी गराए । उनले प्रदर्शनीमा स्वदेशी उद्योगीहरुलाई विभिन्न निकायको प्रबद्र्धन सहयोगमार्फत पूर्ण तथा आँशिक छुट सहितको स्टलहरु उपलब्ध गराईएको समेत बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्यमशिलतामा सुस्तता छाएको वर्तमान अवस्थामा चितवन उद्योग संघले प्रदर्शनीको माध्यमबाट प्रेरणा जगाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस स्वरुप प्रदर्शनीको आयोजना गरेकोमा प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न सरकारलाई आग्रह गरे । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत निजी क्षेत्रको समस्या सम्बोधन हुने विश्वास आफुहरुको रहेको समेत उनले बताए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रमा सिथिलता छाई उद्यमशिलता नै पलायन हुन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुलाई एउटै छानामुनी ल्याई आयोजना गरिएको यो प्रदर्शनीको माध्यमबाट उद्यमशिलतालाई जीवन्त राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लाखौं रुपैयाँ खर्च गरेर प्रविधि अवलोकनको लागि विदेशीनु पर्ने अवस्थाको अन्त्य गर्नको लागि प्रदर्शनीको ठूलो योगदान रहेको समेत बताए । प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’का विषय र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने र गोष्ठी तथा सेमिनारमा औद्योगिक समस्या र समाधानका विषयमा केन्द्रीत भई सञ्चालन हुने हुँदा दिगो उद्यमशिलताको लागि सहयोगी हुने आयोजकको विश्वास छ । स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादन एवं अन्य सेवामूलक समेत गरी ११० वटा स्टल राखिएको छ । औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रालि तथा फुट्रेक्स ट्रेड फेयर एन्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनी बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिए कांग्रेस नेता बालकृष्ण खाँण

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए । गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् । बुधबार जडीबुटीरपेप्सिकोला क्षेत्रबाट पक्राउ परेका सचिव पाण्डेको मोबाइल तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पाण्डेको मोबाइल ‘फर्म्याट’ गरेर खाली बनाएको भेटिएको छ । त्यसलाई प्रयोगशाला पठाएर विवरण ‘रिकभर’ गर्न लागिएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरीका अनुसार सचिव पाण्डेको मोबाइल विवरण तत्काल नभेटिए पनि पक्राउ परेका अन्य केही आरोपितका मोबाइलबाट यो गिरोहमा पाण्डे पनि सामेल भएको विवरण भेटिएको छ । यो विवरणअनुसार पाण्डे गिरोहसँग निरन्तर सम्पर्कमा थिए । ‘उनीहरूबीच फोन र म्यासेज आदानप्रदान भएको देखिन्छ, कुराकानी नक्कली शरणार्थी बनाउने विषयमा केन्द्रित छ,’ अनुसन्धानमा रहेका एक प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकबाट ।

घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

काठमाडौं । इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले ४ जनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए । उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ ।

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

काठमाडौं । प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए । यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन । ‘अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ, अहिलेसम्म ८ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने । पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् । सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै जनभावना र जनमतको कदर गर्दै समर्थन फिर्ता लिएको बताए । यस पटकको उपनिर्वाचनले दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने रहेको उनको भनाइ छ । सभापति लामिछानेले अबका दिनमा पार्टीको सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्षका रूपमा काम गर्ने प्रस्ट पारे । ‘गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ,’ उनले भने । उनले प्रदेश संरचना नेता÷कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ । सभापति लामिछानेले वर्तमान सरकारले नक्कली शरणार्थी काण्डमा सङ्लग्न व्यक्तिलगायत भ्रष्टाचारमा सङ्लग्न व्यक्तिलाई कारबाही गरेकोप्रति धन्यवाद व्यक्त गर्दै भ्रष्टाचारका मुद्दामा सङ्लग्न अन्य व्यक्तिलाई कारबाहीका लागि आग्रह गरे । पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनको भनाइ छ ।

काठमाडौंलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाडौं । सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौं महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौं महानगरले दिने बजेटबाट काठमाडौंका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सिसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सिसीटिभी) क्यामेरा जडान गर्न छ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । काठमाडौंलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सिसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसीटिभी जडान गर्ने महानगरको योजना छ । काठमाडौंमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार काठमाडौं उपत्यकाभर दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सिसीटिभी जडान गर्न प्रहरीलाई पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ । रासस

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

जनकपुरधाम । बटेश्वर गाउँपालिका-२, धनुषाका रामवृक्ष महराले स्थानीय साहुबाट आफ्नो गर्जो टार्न लिएको चार लाख सात वर्ष नपुग्दै ५२ लाख ५० हजार रुपैयाँ पुग्यो । विभिन्न समयमा ब्याज र सकेजति रकम तिर्दा पनि ऋण घट्नुको सट्टा प्रत्येक वर्ष १३ लाख रुपैयाँका दरले कसरी बढ्यो भनेर महरालाई थाहा छैन । लक्ष्मीनियाँ-१ धनुषाका श्यामकुमार मिश्रले पनि केही वर्ष पहिले स्थानीय साहुबाट १० लाख रुपैयाँ ऋण लिएकि थिए । मिश्रले लिएको ऋण केही वर्षमै साहुले ३२ लाख रुपैयाँ पुर्याइदिए । ‘जसको बिहे उसैलाई देख्न नदिए’ भने जस्तै ऋण तिर्नुपर्ने मिश्रलाई नै त्यति धेरै रकम कसरी पुग्यो भन्ने जानकारी छैन । १० लाख र त्यसैको ब्याज तिर्न हम्मेहम्मे भएका मिश्रले ३२ लाख रुपैयाँ साँवा र त्यसको ब्याज तिर्न सक्ने कुरै भएन । यस्ता-यस्तै समस्या लिएर धनुषाका मिटरब्याजपीडितहरू जिल्ला प्रशासन कार्यालय धाउन थालेको धेरै पहिलेदेखि नै हो । मिटरब्याजपीडितले आन्दोलन गरेर सरकारसँग पाँच बुँदे सहमति हुनुभन्दा पहिले नै गुनासो गर्नेहरूको संख्या तीन सय नाघिसकेको थियो । यही वैशाख १७ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना र सोही दिन जिल्ला प्रशासन कार्यालय धनुषाले पीडितलाई सहायता कक्षमा उजुरी दिन आग्रह गरेपछि त्यो संख्या बिहीबारसम्म चार सय ७३ पुगेको छ । वैशाख ३१ गतेसम्म उजुरी दिने समय रहेकाले यो संख्या निकै बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अनुमान छ । ‘बिहीबारसम्म चार सय ७३ उजुरी दर्ता भएका छन्, वैशाख ३१ गतेसम्म पहिलो चरणको उजुरी निवेदन लिने र सोही आधारमा विस्तृतरूपमा बुझेर अनलाइन दर्ताको काम पनि सहायता कक्षाबाट हुन्छ,’ भण्डारीले भने । भण्डारीका अनुसार पीडितले त्यसरी उजुरी दिएका आधारमा पीडित पक्षलाई बोलाएर सुरुदेखि नै सहमतिमै विवाद ‘मिल्ने हदसम्म’ मिलाउने प्रयास गरिएकामा हालसम्म एक सय ९५ मुद्दामा मिलापत्र भएको छ । ‘चार सय ७३ मध्ये एक सय ९५ विवादमा मिलापत्र गरिएको छ, ३८ वटा मुद्दामा अदालतले निषेधाज्ञा (केही नगर्नु भनेको) जारी गरेको छ, ‘भण्डारीले भने, ‘बाँकी मुद्दामा दुवै पक्षलाई बोलाएर पनि विभिन्न चरणमा सोधपुछ गर्ने काम भइरहेको छ, कतिपय मुद्दामा दुवै पक्ष स्वस्फूर्तरूपमा त कतिपयमा हामीले मिलनविन्दुको खोजी गरिदिने गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालयको यही प्रयासले गर्दा अदालतले साहुको दसीप्रमाणका आधारमा कानूनमा टेक्दै ६५ लाख तिर्नु भनेर दिएको फैसलाका बाबजुद दुवै पक्षबीच १२ लाख रुपैयाँ लिनेदिने गरी सहमति भएको छ । वर्षौंदेखि बन्धकी रहेका करिब ५० जना पीडितको घरजग्गा पनि फुकुवा भएका छन् । ‘हामीले चरम अत्याचार गर्ने पीडकलाई पक्राउ गरेर थुनामा राख्ने, करकापबिना सामान्य सहजीकरण गर्दा मिल्नसक्ने प्रकृतिका उजुरीमा मिलापत्र, कागज फिर्ता, घरजग्गा फुकुवासम्मको प्रयास गरिरहेका छौं, ‘प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भने, ‘वास्तविक पीडितलाई थप पीडा नहुने गरी हामीले न्यायको प्रयास गर्छौं, त्यसो गर्दा पनि निकास ननिस्केमा अरु कानूनी बाटो छँदैछ ।’ बटेश्वर गाउँपालिका-२ धनुषाका महराको मुद्दामा पीडितले १२ लाख रुपैयाँ तिर्ने र पीडक साहुले जग्गा फकुवा गर्ने गरी सहमति भई कार्यान्यनमा समेत आइसकेको छ । त्यसैगरी लक्ष्मिनियाँ-१ निवासी मिश्रको उजुरीमा सोधपुछका क्रममा हिसाबकिताब गर्दा दुई पक्षबीच १४ लाख ५० हजार रुपैयाँमा मिलापत्र भएको थियो । तर यो कार्यान्वयन हुन बाँकी छ । त्यसैगरी सहिदनगर-६ हरिपुरका सुवासकुमार यादवले पनि विसं २०७५ असारमा स्थानीय साहुले केही पैसा दिएर सात लाख ५० हजारको कागज गरेको भन्दै उजुरी दिएपछि अहिले एक लाख ५० हजार रुपैयाँ लिनेदिने गरी मिलापत्र भएको छ । कतिपय उजुरीमा उजुरीकर्ताको दर्दनाक अवस्था र लेनदेनको कागजातको प्रकृति हेरेर पीडितले स्वीकारेको रकमभन्दा पनि कम रकममा सहमति भएको छ । त्यसको उदाहरण छन् धनुषाकी शौलकुमारी यादवनी । विवरणअनुसार उहाँले केही वर्षअघि ८० हजार ऋण लिएकामा साहुको मागदाबी दुई लाख ५० हजार रुपैयाँ थियो तर अहिले ५० हजार रुपैयाँ लिनेदिने गरी मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सहायता कक्षको विवरणमा ३८ जना उजुरीमा पक्ष र विपक्ष नै सम्पर्कमा छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले सम्पर्कमा आउन नचाहने र बहानाबाजी गर्नेलाई मुद्दाको प्रकृति र संवेदनशीलताका आधारमा पक्राउ गरिएको बताए । ‘अटेर गर्ने र पीडितलाई थप पीडा दिने तीन जनालाई हामीले पक्राउ गर्यौं, त्यसमध्ये एक जनालाई धरौटीमा छाडिएको छ, बाँकी दुईमध्ये एउटाको घरबाट विभिन्न व्यक्तिसँग गरिएका १५ थान र अर्कोको घरबाट १३ थान तमसुकसहितका संवेदनशील सामग्री फेला पारेर राखेका छाैं, भन्नुको अर्थ जुन माध्यमबाट समस्याको समाधान हुन्छ त्यो उपाय अपनाएर हामीले तदारुकताकासाथ काम अगाडि बढाएका छौं,’ उनले भने मिटरब्याजपीडित संघर्ष समिति धनुषाका अध्यक्ष पुरुषोत्तम अधिकारीले वर्षौंदेखि नक्कली प्रमाण, तमसुक र झुक्याएर बनाइएका कागज देखाएर अनुचित र अस्वाभाविक शोषण गर्ने साहु महाजन अहिले अत्तालिएको बताए । उनले द्विपक्षीय समझदारीमा समाधानको बाटो खोज्नु सराहनीय भए पनि चरम अत्याचार र शोषणपछि कानूनी फन्दामा पर्ने त्रासले पीडकले मिलापत्रको बहाना गर्न सक्नेतर्फ भने सचेत रहनुपर्ने पनि बताए । ‘मेरै परिवारविरुद्ध ९५ हजार ऋणको पटक-पटक गरी २९ लाख तिर्दा पनि ४५ लाख बाँकी छ भनेर मुद्दा हालियो, ५० हजारको ऋणको ११ लाख र अर्कोले २५ लाख रुपैयाँ लिनुछ भनेर मुद्दा हाले, एकै परिवारका तीन जना पेसेवर मिटरब्याजीको फन्दामा परेर हाम्रो परिवार नै तहसनहस भयो, अदालतले पनि पीडककै पक्षमा फैसला गरिदिएको छ, करिब ९० प्रतिशत पीडितसँग प्रमाण छैन, त्यही बहानामा थप पीडा दिने काम भइरहेको छ,’ अधिकारीले गुनासो गरे । यसअघि वैशाख १७ गते जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन गर्न जनकपुरधाम आउनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पनि अनुचित प्रमाण, शक्ति र स्रोत देखाएर पीडक उम्किनसक्नेतर्फ सचेत रहन प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए । तत्कालीन सरकारले गठन गरेको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले २०७९ भदौ ७ गते सरकारका गृहमन्त्री बालकृष्ण खाणसमक्ष बुझाएको प्रतिवेदनअनुसार सातै प्रदेशमा भदौ ५ गतेसम्म प्राप्त एक हजार नौ सय ३७ उजुरीमध्ये मधेस प्रदेशमा मात्रै एक हजार तीन सय ३० अर्थात ६९ प्रतिशत उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको थियो । रासस

खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न पूर्व अर्थमन्त्रीहरुको सुझाव

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीहरुसँग छलफल गरेका छन् । महतले पूर्व अर्थ मन्त्रीलाई बोलाएर आगामी बजेटको विषयमा छलफल गरेका हुन् । छलफलमा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा रहेको बताए । पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आफू लागि परेको पनि महतले जानकारी दिए । यसै गरी उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने पनि बताए । अर्थमन्त्री महतले अन्य पूर्व अर्थमन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त अपेक्ष व्यक्त गरे । छलफलमा पूर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको सहभागी थियो । पूर्व अर्थमन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझावहरु दिएका छन् ।