
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको बजेटका सिद्धान्त तथा प्राथमिकता विधेयक २०८० ‘गरिनेछ’ भन्ने शब्दावली राखेर विगतको जस्तै कर्मकाण्डी भएको बताएका छन् । लामिछानेले आजा संसदमा आफ्नो भनाइ राख्नै विगतका केही वाक्य र शब्दहरुको हेरफेर गरेर नियमित कर्मकाण्डी दस्ताबेजको रुपमा आएको उनले बताएका छन् ।
अहिले अर्थतन्त्र असाधारण अवस्थामा भएको तर, सरकारको प्रक्षेपण गर्ने क्षमता निकै कमजोर देखिएको उनले बताएका छन् । ‘आठ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनिएकोमा दुई प्रतिशत पनि नहुने देखियो, देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने प्रक्षेपण गर्ने हाम्रो क्षमता समेत कमजोर देखिएको छ’, सभापति लामिछानेले बताए ।
यस्तो असाधारण अवस्थामा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विगतकै जस्तो कर्मकाण्डी योजनाले के होला भन्ने प्रश्न लामिछानेले संसदमा गरेका छन् । ‘संधै एउटै कुरा गर्ने नतिजा अलग गर्ने हाम्रो बानी हो की, जनतालाई झुक्याउने खेल हो ?’, लामिछानेले भने । असफल नीति र प्रकृयालाई निरन्तरता दिने की नयाँ र सिर्जनात्मक प्रकृया अगाडि बढाउने भनेर लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।
‘वर्षेनी गरिनेछ भनिने तर, पुरा नगरिने बजेटले जनताको विश्वास कसरी बढाउँछ ?’, सभापति लामिछानेले भने । उनले नेपालको अर्थतन्त्रमा देखिएको समस्या धेरै आन्तरिक कारणले धेरै बाह्य कारणले भएको बताएका छन् । राजनीतिक वेथिति, विसंगती र संगठित राजनीतिक भ्रष्टाचारको कारण मुख्य भएको उनले बताएका छन् ।
समयमा काम नहुनु, काम भएकाले पनि अपेक्षित परिणाम नदिनु, करछली नरोकिनु जस्ता कुराहरु सरकारको असक्षमता र बेइमानीको कारण भएको लामिछानेले बताएका छन् ।