
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा भने जस्तै अहिले एकैपटक अर्थतन्त्रको पूरा शल्यक्रिया गर्दा अफ्ठ्यारो हुने बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई उनले यस्तो बताएका हुन् ।
संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताएका हुन् ।
‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो, तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ, शुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ,’ उनले भने ।
अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताए ।
यस्तै, उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताएका छन् ।
‘अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके विदेशी लगानी विस्तार हुन्छ, विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा हाम्रो प्राथमिकतामा रहेको छ,’ उनले भने ।