विकासन्युज

आजदेखि प्रभु र सेञ्चुरीको एकीकृत कारोबार, स्वाप रेसियो १:१

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभेर प्रभु क्यापिटलले आज जेठ १ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभेर आजदेखि एकीकृत कारोबार गर्ने भएको हो । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गरेको हो । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरिसकेको छ । साथै कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभुलाई अनुमति प्रदान गरेको थियो । सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल बन्नेछ । क्यापिटलका अनुसार क्यापिटलको पूँजी १ अर्ब भन्दा बढी पुग्नेछ ।

आजदेखि २ हप्ता मेलम्चीको पानी काठमाडौंमा नआउने

काठमाडौं । मेलम्चीको पानी दुई हप्ता काठमाडौंमा नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साता रोकिने भएको हो । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।

५० हजार कित्ता खरिद गर्न मिल्ने अप्पर स्याङ्गे हाईड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले आज जेठ १ गते आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख २ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स.१ र २, खुदी गा.वि.स.३, ताघ्रिङ गा.वि.स.४, घेरमु गा.वि.स.५, बाहुन डाँडाँ गा.वि.स.६, भुलभुले गा.वि.स.७ र ८, सिमपानी गा.वि.स.९) का बासिन्दाहरुलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय वासिन्दाले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरिएको हो । पौडेल रायमाझीका अर्घाखाँचीका छिमेकी र माओवादीमा सँगै लागेका थिए । प्रहरी प्रधान कार्यालयको विशेष टिमले पौडेललाई पनि पक्राउ गरेको बताइएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनले आफू काठमाडौं आउने भने पनि नआएपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो । यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पिए नरेन्द्र केसी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ुबादलुका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।

कामना सेवा विकास बैंकको लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०।२३२१ प्रतिशत लाभांश  प्रस्तावत गरेको हो । सभाले आ।व। २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले टिसर्ट जिन्स लगाउन नपाइने भएकाे छन् । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोक्दा यस्ताे नियम बनाएका हुन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार सांसदहरु मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको हाे । अधिकारीका अनुसार संसद बैठकमा उपस्थित हुँदा लोगो पनि अनिवार्य लगाउनुपर्नेछ।

डिग्रीसँगै सीप र दक्षता प्रदान गर्दै आइआइएमएस कलेज

काठमाडौं । सन् २०१० मा आइआइएमएस कलेज सविन्द्र महर्जनसहित पाँच जनाको समूहले स्थापना गरेका थिए । कलेजले शुरुवातमा भारतको पंजाबमा रहेको लभ्ली प्रोफेसनल युनिभर्सिटीबाट सम्बन्धन लिएको थियो । कलेजका सीइओ महर्जनका अनुसार शुरुवातमा कलेजले बिबिए, एमबिए र बिसिएस आइटी विषयहरुको पठनपाठन सञ्चालन गर्यो । सन् २०१६ मा आइपुग्दा विश्वविद्यालयले आफ्नो मुलुकभन्दा बाहिरका कलेजहरुलाई सम्बन्धन नदिने नीति लिएपछि आइआइएमसका सञ्चालकहरुले मलेसियाको लिंकन युनिभर्सिटी कलेजसँग बिबिए र एमबिएको स्वीचिङ गरेर लिंकन इन्टरनेशनल कलेज शुरुवात गरे । त्यस्तै, आइआइएमस कलेजमा चाहिँ मलेसियाकै युसिएसआई युनिभर्सिटी बिएचएम र बिआइटी कार्यक्रम सम्बन्धन लिएर शुरुवात गर्ने काम भयो । सन् २०२१ मा फेरि आइआइएमसले युसिएसआई विश्वविद्यालयको सम्बन्धन छाडेर मलेसियाकै टेलर्स विश्वविद्यालयमा स्वीचङ गरेर बिसिएस आइटी र बिएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । टेलर्स युनिभर्सिटीले विश्वमा गुणस्तरको उच्च श्रेणी पनि प्राप्त गरेको छ । जुन विश्वविद्यालय हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रममा १६ औं स्थानमा रहेको सीइओ महर्जन बताउँछन् । आफूहरुले गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्नकै लागि सो विश्वविद्यालयमा स्वीचिङ गरिएको उनले बचाए । आइआइएमसले टेलर्स युनिभर्सिटीबाट सम्बन्धन लिएर बिएचएम र बिसिएस कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वीडेनबाट आइटीमा स्नातकोत्तर तहको अध्ययन सकेर फर्किएका महर्जनले त्यसभन्दा अगाडि पनि विभिन्न कलेजहरुमा अध्यापन गर्ने काम शुरु गरिसकेका थिए । पहिलेदेखि नै शैक्षिक क्षेत्रमा रुची राख्दै आएका र विदेशमा स्तरीय विश्वविद्यालय र कलेजको अवस्था देखेका उनीसहित केही साथीहरुले नेपालमा नै स्तरीय कलेज सञ्चालन गर्ने सोँच बनाए । सोही सोँचका आधारमा नै आइआइएमएस कलेज स्थापना भएको हो । सीइओ महर्जनसहित ५ जनाको समूह रहेकोमा केही व्यक्तिहरु परिवर्तन भएपनि अधिकांश भने अहिले पनि व्यवस्थापन समूहमा कायमै रहेका छन् । कलेजले विषयगत आधारमा भिन्न–भिन्न विभाग र नेतृत्व जिम्मेवारीको बाँडफाँड गरेर शैक्षिक कार्यक्रम सञ्चालनको अभ्यास गरेको छ । सीइओ महर्जनका अनुसार कलेजले डिग्री बाँड्ने भन्दापनि सिप र दक्षता प्रदान गर्नेगरी पठनपाठन गर्ने गर्छ । कलेज सञ्चालनको शुरुवात समय सन् २०१० तिर झण्डै एकसय भन्दा कम विद्यार्थीबाट शुरु भएको कलेजमा अहिले झण्डै १५ सय भन्दा धेरै विद्यार्थीले पढ्ने गरेका छन् । पछिल्लो समयमा अन्य कलेजमा विद्यार्थी संख्या घट्दै गएपनि आइआइएमएसमा भने विद्यार्थी संख्या बढ्दै गएको छ । कलेजमा विद्यार्थी संख्या बढ्दै जानुमा शिक्षाको गुणस्तर नै मुख्य रहेको सीइओ महर्जनको धारणा छ । ‘हामीले विद्यार्थीलाई नै ब्राण्ड एम्बेस्डरको रुपमा बुझ्ने गर्छौं, हामीसँग भएका विद्यार्थीहरुलाई नै गुणस्तरीय शिक्षा दिन सक्दा नै कलेजमा अध्ययनको लागि थप विद्यार्थी आउँछन्’, उनले भने, ‘अर्को विषय भनेको अहिलेका विद्यार्थीहरु किताबको पढाइ भन्दा बाहिर गएर धेरै नयाँ कुरा एक्सप्लोर गर्न खोज्छन्, सोही ढंगको शैक्षिक क्रियाकलाप गर्न सक्दा नै कलेजको सकारात्मक विषय विद्यार्थीहरुमाझ पुगेको हो ।’ उनका अनुसार कलेजमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीहरुको ठूलो संख्या विद्यार्थीले नै सिफारिस गरेका आधारमा आउने गर्छन् । शैक्षिक गुणस्तर कायम गर्ने विषयमा विश्वविद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको छ । किनकी विद्यालयको सञ्चालन, व्यवस्थापन, गुणस्तर र नियमित अनुगमनमा विश्वविद्यालयले तालिकावद्ध उपस्थिति जनाउने गर्छ । पूर्व तालिकामा पुरै कक्षाको पढाई टेलर्स विश्वविद्यालयले एउटा तह अन्तर्गत हुने शैक्षिक कार्यक्रम, परीक्षा तालिका र नतिजाको विषयमा अग्रिम क्यालेन्डर नै निर्माण गरेको हुन्छ । जसकारणले आइआइएमएसमा कुनै विषयमा अध्ययन प्रारम्भ गरेको विद्यार्थीले आफ्ना परीक्षाहरु कुन–कुन मितिमा हुन्छन र नतिजा कहिले आउँछ भन्ने तालिका समेत शुरुमै प्राप्त गर्छ । जुन सुविधा सामान्यतया नेपालका कुनैपनि विश्वविद्यालयले अहिलेसम्म शुरुवात गर्न सकेका छैनन् । कलेजले पढाउने बिसिएस (ब्याचलर अफ कम्प्युटर साइन्स) चारवर्षे कोर्ष हो । विश्वविद्यालयको मापदण्ड अनुसार यो कोर्षलाई वर्षमा तीनवटा सेमेस्टर बनाएर पढाउने गरिएको छ भने अन्तिम वर्षमा विद्यार्थीहरुले परियोजना र इन्टर्नसिपको गर्नुपर्ने हुन्छ । सिइओ महर्जनका अनुसार सो कोर्षमा चारवटा विशेष कोर्षहरु रहेका छन् । जसमा, साइबर सेक्युरिटी, एआई, डाटा साइन्स र मोबाइल कम्प्युटिङ छन् । तर, विद्यार्थीहरुले कलेजमा भर्ना हुनेवित्तिकै भने विशेष कोर्ष रोज्नुपर्दैन । पहिलो वर्ष विद्यार्थीहरुले साधारण कोर्षहरु अध्ययन गरेर दोस्रो वर्षबाट विशेष कोर्ष छान्न सक्छ । जसले गर्दा विद्यार्थीहरुलाई विषय रोज्न पनि सजिलो हुने गरेको सिइओ महर्जन बताउँछन् । त्यस्तै, बिएचएम अर्थात (ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट) कोर्षको अध्ययन पनि वर्षमा तिनवटा सेमेस्टर प्रणालीमा अध्ययन हुने, अन्तिम वर्ष फिल्डमा जानुपर्ने र इन्टर्नसिप गर्नुपर्ने सिइओ महर्जनको भनाइ छ । विश्वमा हस्पिटालिटी म्यानेजमेन्टको अध्ययनमा टेलर्स युनिभर्सिटी १६ औं स्थानमा भएकाले कोर्ष समय सापेक्ष अप टु डेट भइरहने उनले बताए । कलेजको शैक्षिक कार्यक्रम तालिका पनि कलेजमा विद्यार्थी आकर्षण गर्ने एउटा महत्वपूर्ण कारण हुनसक्ने सीइओ महर्जनको भनाइ छ । सैद्धान्तिक पढाइसँगै कलेजले प्रयोगात्मक विषयलाई पनि थप महत्व दिएर सँगसँगै लैजाने गरेको छ । जसको लागि शैद्धान्तिक कक्षाको पाठयोजना निर्माण गर्दा र कार्यान्वयन गर्दा सोसँग सम्बन्धित प्रयोगात्मक कक्षाहरुलाई पनि सँगसँगै सञ्चालन गर्ने गरिन्छ । ‘हामीले कुनैपनि विषयको लेक्चर प्लस टुटोरियल भनेर कम्बाइन नै गरिरहेका हुन्छौं, जहाँ कोर्षसँग सम्बन्धित लेक्चर हुन्छ, टुटोरियलमा घट्ना अध्ययन, सामूहिक छलफल, प्रस्तुती र अतिरिक्त क्रियाकलापमा हुने गर्छ’, सिइओ महर्जनले भने, ‘त्यसैले लेक्चर र टुटोरियलको प्लानिङ गर्दाखेरी हाम्रो प्रत्येक विभागले कुन हप्तामा के गर्ने भनेर पहिले नै परिभाषित गरेर गएको हुन्छ ।’ यो बाहेक विद्यार्थीको व्यक्तित्व विकास र उसको प्राविधिक क्षमतामा वृद्धि गर्नको लागि कलेजले विद्यार्थीहरुको सहभागितामा विभिन्न प्रकारका क्लबहरुको निर्माण पनि गरेको छ । जसमा आइआइएमएस टोस्ट मास्टर क्लब, बी जब क्लब, स्पोट्र्स क्लब लगायतका क्लबहरु छन् । जसमा आइआइएमएस टोस्ट मास्टर क्लबलाई कलेजले कानुनी रुपमा दर्ता नै गरेर सञ्चालन गरेको छ । भने बी जब क्लबले उद्यमीसँग सम्बन्धित क्रियाकलापहरु कार्यान्वयन गर्ने गर्छ । कलेजले ग्रोथ एन्ड डेभ्लोप्मेन्ट सर्भिस भनेर नयाँ विभागीय अभ्यास गरेको छ । जुन विभागले विशेषगरी दक्षता, व्यक्तित्व विकास, लगायत नियमित शैक्षिक कार्यक्रम भन्दा बाहिरको विषयमा ह्यान्डिल गर्छ । कलेजका सीइओ महर्जनका अनुसार अध्ययन अध्यापन क्रियाकलापको सन्दर्भमा कलेजले विद्यार्थीलाई परीक्षा केन्द्रीत गर्दैन । तर, सामान्यतया शैक्षिक क्यालेन्डरमा सहभागी भएका ९० प्रतिशत भन्दा धेरै विद्यार्थीहरु नियमित रुपमा उत्तिर्ण हुने गर्छन् । अधिकांश विद्यार्थीहरु रोजगारीमा आइआइएमएस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये अधिकांश विद्यार्थीहरु बेरोजगार नभएको कलेजका सीइओ महर्जनको भनाइ छ । उनका अनुसार कलेज अध्ययन गरेको विद्यार्थी मध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरु रोजगारमा सहभागी भएका छन् । आइटी विषय अध्ययन गरेका दक्ष कामदारको अहिले विश्वव्यापी रुपमा नै अत्याधिक माग भएको छ भने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धित कामदारहरुको पनि उत्तिकै माग रहेको अवस्था छ । सीइओ महर्जनका अनुसार आइटी अध्ययन गरेका विद्यार्थीहरुमध्ये पहिलो सेमेस्टर पढेर दोस्रो सेमेस्टर शुरु गर्नेबेलासम्म नै झण्डै ९० प्रतिशतले आंशिक रोजगार पाइसकेका हुन्छन् । तर, आइटी गरेकामध्ये अधिकांश विद्यार्थीहरु भने अध्ययन वा रोजगारको लागि विदेश जाने गर्दछन् । त्यस्तै, हस्पिटालिटी म्यानेजमेन्ट विषयको स्कोप भने नेपालमा नै रहको तर, पछिल्लो कोभिड महामारीको कारणले गर्दा भने सो क्षेत्रमा केही प्रभाव परेको महर्जनको भनाइ छ । ‘कतिपयमा के बुझाइ छ भने बिएचम पढ्नु वा हस्पिटालिटी म्यानेजमेन्ट पढ्नु भनेको मैले कुकिङ वेटर मात्रै गर्नु हो, तर हस्पिटालिटी म्यानेजमेन्ट पढ्नु भनेको भिन्न कोर्ष हो’, सीइओ महर्जन भन्छन्, ‘यसमा हस्पिटालिटीलाई स्पेसलाइज्ड गरेर अध्ययन गर्ने कोर्ष हो ।’ आइआइएमएसमा अध्ययन सकिएपछिको विद्यार्थी शुरुको अवस्थाको भन्दा भिन्न व्यक्तित्व भएर निस्कने गरेको सीइओ बताउँछन् । ‘हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थी एकेडेमिक डिग्री नभएर व्यक्तित्व विकासका हिसाबले भिन्न भएर उत्तिर्ण हुन्छ, जस्तै भर्ना हुँदाको विद्यार्थी पछि सकिँदा भिन्न व्यक्तित्व सहित निस्कन्छ’, उनले भने, ‘जसले गर्दाखेरि विद्यार्थीको अध्ययन पछाडि प्लेसमेन्ट पनि राम्रो छ ।’ कलेजले विद्यार्थीहरुलाई रोजगारमा जोडनका लागि आफै पहलमा जब प्लेसमेन्ट कार्यक्रम पनि सञ्चालन गर्ने गर्छ । सोही प्रकृयामार्फत पनि ५० प्रतिशत भन्दा धेरै विद्यार्थी रोजगारमा जोडिने गरेको सीइओ महर्जनको भनाइ छ । त्यस्तै, आइआइएमस कलेजले टेलर्स युनिभर्सिटीसँग सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गरेकाले कलेजमा पढेका क्रेडिट ट्रान्सफर गर्न चाहने विद्यार्थीहरुले अमेरिका, युके र अस्ट्रेलियका विभिन्न कलेजमा अध्ययनको लागि सो सुविधा पनि लिनसक्छन् । तर, अधिकांश विद्यार्थीहरु कलेजमा पढ्न शुरु गरेपछि कक्षा उत्तिर्ण नहुनेबेलासम्म ट्रान्सफर हुन नचाहेको सीइओ महर्जनको भनाइ छ । कलेजको आफ्नै होटेल कलेजले हस्पिटालिटी अर्थात बिएचएम अध्ययनकालाई व्यवस्थित गर्नको लागि आफ्नै होटेल सञ्चालनमा ल्याएको छ । सीइओ महर्जनका अनुसार कलेजले गत फागुनदेखि हात्तिसारमा रहेको आरएनए बुटिक होटेलको ९० प्रतिशत सेयर खरिद गरेर आँफै सञ्चालन गरेको हो । कलेजमा बिएचएम अध्ययन गरिरहेका विद्यार्थीहरुलाई वास्तविक समयमा वास्तविक अभ्यास गराउने उद्देश्यले सो होटल लिइएको सीइओ महर्जनको भनाइ छ । ‘बिएचएम भनेको वास्तविक व्यवहारिक कोर्ष हो, पढ्नको लागि हामीसँग उत्कृष्ट प्रकारको ल्याब छ, तर, ल्याबमा सिकाउने भनेको क्लासमा सिकाएजस्तै हो, विद्यार्थीहरुले वास्तविकतामा अभ्यास गर्नपर्यो भने कहाँ गएर गर्ने भन्ने विषयलाई हेरेर हामीले होटेल लिएका हौं’, उनले भने । विद्यार्थीहरुलाई नै होटेल सञ्चालन गर्न दिनेगरी होटेल टेकओभर कार्यक्रम पनि कलेजले सञ्चालन गर्ने अभ्यास गर्न खोजेको छ । जसले गर्दा विद्यार्थीले तालिम भन्दापनि वास्तविक जिम्मेवारी सहित होटेल सञ्चालनको अभ्यास गर्न सक्छन् । ‘हामीले विद्यार्थीहरुको ग्रुपलाई नै होटेलमा लैजान्छौं, एक, दुई तीन हप्ताको लागि, जहाँ उनीहलाई जनरल, हाउस किपिङ, फ्रन्ट अफिस म्यानेजर लगायतका जिम्मेवारी दिएर उनीहरुले नै चलाउने गरी सिमुलेसन शुरु गर्छौं’, सीइओ महर्जनले भने । त्यसो गर्दा विद्यार्थीले सिक्ने मात्रै नभएर वास्तविकतामा आउने समस्यासँग मुकाविला र समाधान गर्नसक्छन् भन्ने कलेजले मान्यता राखेको छ । आरएनए बुटिक होटेलमा कोठा, रेष्टुरेन्ट, बैंकट हल, सेमिनार हल लगायतका सुविधा रहेको छ । जसले गर्दा आइआइएमएसमा बिएचएम अध्ययन गर्ने विद्यार्थीहरुले एउटा आधुनिक होटेल सञ्चालन गर्ने व्यवहारिक अनुभव एकैपटक लिनसक्छन् । कलेजमा एकसय भन्दा धेरै व्यक्तिहरुले विभिन्न शिक्षण पेशा देखि अन्य कामहरुमा पूर्णकालिन रोजगार पाएका छन् भने आंशिक रुपमा झण्डै एकसय पचास जतिले रोजगार पाएको सीइओ महर्जनले बताए । आफ्नै भवन र नयाँ कोर्ष थपको तयारीमा पुतलीसडक धोविधारा मार्गमा रहेको आइआइएमएस कलेज अहिलेसम्म भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । तर, सञ्चालनमा भएको १३ वर्षमा कलेजले आफ्नै होटेलको समेत शुरुवात गर्न सफल भएको छ । भाडामा भएतापनि आधुनिक डेकोरेसन सहित सञ्चालन भएको आइआइएमएस कलेजको आगामी दुईवर्षभित्रमा आफ्नै आधुनिक भवन निर्माण गर्ने योजना रहेको सीइओ महर्जनको भनाइ छ । ‘हामी अबको दुई वर्षमा यो होटेल र कलेजलाई लिंक गरेर आफ्नै जग्गा लिएर भवन निर्माण गर्ने योजनामा छौं’, महर्जनले भने । उनका अनुसार कलेजले नयाँ शैक्षिक कार्यक्रम पनि थप्ने तयारीमा अगाडि बढेको छ । आगामी दिनमा बिबिए र एमबिए कार्यक्रम थप्नको लागि विश्वविद्यालयमा निवेदन गरिसकेको उनले बताए ।

जेठ ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आईतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो । बैठकपछिसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागि हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए । ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ, त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरु प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ,’ उनले भने । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे ।