
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरिएको हो । पौडेल रायमाझीका अर्घाखाँचीका छिमेकी र माओवादीमा सँगै लागेका थिए । प्रहरी प्रधान कार्यालयको विशेष टिमले पौडेललाई पनि पक्राउ गरेको बताइएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनले आफू काठमाडौं आउने भने पनि नआएपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पिए नरेन्द्र केसी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ुबादलुका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।