पाथीभरा जाने पदमार्गमा ‘फाइबरको छहारी’
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस छाहारी लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट ५० लाख रुपैयाँ र पाथीराभरा क्षेत्र विकास समितिको ४० लाख रुपैयाँ गरी ९० लाख रुपैयाँ खर्च हुने भएको उनको भनाइ छ । पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा मन्दिरदेखि छ सय मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले चार सय मिटरका लागि काम भइरहेको हो । यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थललगायतका संरचनासमेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा धामदेखि माथिल्लो फेदी बजारसम्मको दुई किलोमिटर दूरीमा ट्रस लगाउने योजना छ । पाथीभरा धाम तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेकाले हिउँद मौसममा बाक्लो हिमपात हुने गरेको छ । पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन् । पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्री सहज हुने भएको छ । रासस
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए । ‘दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ’, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिनुभएका उनले भने–’आर्थिक अभावका कारण इनावरी श्रीमतीलाई पढाउन सकिन ।’ इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउँछन् । यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गरेका थियो । त्यहाँ उनले माछा काटकुटको काम गर्थे । त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाएका थिए । सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थालेका हुन् । पछि उनीसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाले । ‘उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ’, इन्द्रले भने– ‘दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।’ धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उनले अनुभव सुनाए । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । ‘केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै पर्यो’, रानाले भने–’अगरबत्ती बेच्न जाँदा डोर्याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।’ महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आएका थिए । अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडौं, धनकुटालगायत सहर पुगिसकेका छन् । हाल इनावरी अगरबत्ती बेच्न काठमाडौं गएका उनले बताए । ‘म महेन्द्रनगर आएँ, इनावरी काठमाडौंतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौं जाँदै छु ।’ राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गरे । स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् । दिनभरी अगरबत्ती बिक्री गर्दा पाँच सय रुपैयाँसम्म कमाउने गरेको इन्द्र बताउँछन् । ‘अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ’, उनले भने–’यसबाट जेनतेन गुजारा चलेको छ ।’ एक प्याकेट अगरबत्तीको मूल्य ५० देखि एक सय ५० रुपैयाँसम्म रहेको छ । रासस
ह्वाटस् एपमार्फत चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने तीन पक्राउ
उदयपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए । उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा ठगी गर्नेलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । चिट्ठा परेको नाममा सम्बन्धित व्यक्तिले करस्वरुप तोकिए बमोजिमको रकम बुझाउनुपर्नेे भन्दै पहिला नै रकम असुल गरेर झुक्याउने गरेको गुनासो बढेपछि पटकपटकको खोजी र अनुसन्धानपछि ती अभियुक्तलाई पक्राउ गरिएको थियो । पक्राउपर्नेमा जिल्लाको कटारी नगरपालिका–३ निवासी उज्वल थापामगर, चितवन जिल्ला रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका १० बुद्धनगरमा लुकछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेकोे प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । उनीहरू बिरुद्ध ठगी सम्बन्धित मुद्दासमेत दर्ता गरिएको छ । ती अभियुक्तले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ स्थायी घर भई हाल उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने वर्ष २९ का उदय राईलाई २५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै कीर्ते कागजात देखाएर पहिला कर तिर्नुपर्छ खातामा पैसा बुझाउनु भन्दै तीस हजार ठगी गरेका थिए । यसैगरी अन्य व्यक्तिलाई पनि चिट्ठा परेको भन्दै पटकपटक गरेर उनीहरुले २२ लाख २० हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । ठगी गर्ने गिरोहले भारतीय नागरिक प्रकाश वर्माको नाममा रहेको एक कम्पनीबाट चिट्ठा परेको भनेर जिल्लाका सोझासाझा जनतालाई ह्वाटस् एपमार्फत उक्त कम्पनीको छापसमेतको कागजात देखाएर सुरुमै २० हजारदेखि एक लाखसम्म कर लिएर आफ्ना खातमा रकम सङ्कलन गर्न लगाउने गरेको खुल्न आएको जानकारी दिइयो । पक्राउ परेकाहरूले गाउँगाउँमा गएर पहिला आफ्ना मान्छेमार्फत पैसा भएका सोझासाझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरुको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरुका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको कीर्ते कागजात देखाउने गरेका थिए । प्रहरी प्रमुख फुयाँलले भने, ‘चिट्ठाको नाममा ठगी गर्ने आपराधिक समूमध्येको पक्राउ गरिएका तीन जना त समान्य बाहिर भूमिका निर्वाह गर्ने मात्र हुन्, बास्तविक नाइकेको खोजी भइरहेको छ, प्रहरीले चाँडै उनीहरुसम्म पुग्नेगरी अनुसन्धान सुरु गरेको छ, र अब चाँडै मुख्य नाइके पक्राउ पर्नेछ । पक्राउपर्नेहरूका आधारमा नै मुख्य नाइकेको पनि तीव्र खोजीकार्य सुरु गरिएको छ।’ पक्राउ गरिएकाहरू बिरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको हो । रासस
विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
काठमाडौं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ’, जारी सूचनामा भनिएको छ, ‘अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन ।’ यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ । यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो ।
सात महिना यताकै न्युन विन्दुमा नेप्से, ९० करोडको कारोबार
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज १६.९६ अंकले घटेको छ । आज नेप्से घटेर १८२१.६४ विन्दुमा पुगेको छ । जुन करिब ७ महिना यताकै न्युन विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५.१३ विन्दुमा पुगेको थियो । यसरी बजार घट्दा ९० करोड रुपैयाँको २७ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी नागरिक लगानी कोषकले ५ करोड बढीको कारोबार गरको छ । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएका छन् । लघुवित्तको सेयरधनीले प्रतिकित्ता ६६.१० रुपैयाँ कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा राष्ट्रिय उत्थान लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । लघुवित्त्का सेयरधनीले प्रतिकित्ता ४१ रुपैयाँ गुमाएका छन् ।
सेयर बजारमा वर्चश्व जमाउँदै बीमा कम्पनी
काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै तल्लो विन्दुमा झरेको भएपनि बीमा कम्पनीहरुको वर्चश्व छ । ३२ सय अंकको उचाइबाट नेप्से सूचक १८ सय अंकमा कारोबार हुँदा बीमा क्षेत्रले वर्चश्वता कायम राखेको छ । नेप्सेका अनुसार बिहीबारसम्म जीवन बीमा समूह परिसूचक ९ हजार २३८ अंक छ भने निर्जीवन बीमा समूह परिसूचक ८ हजार ४५३ अंक छ । यो परिसूचक अरु समूहको भन्दा उच्च हो । अन्य समूहको परिसूचक ४ हजार अंकभन्दा तल नै रहेको अवस्थामा बीमा कम्पनीहरुको भने उच्च देखिन्छ । यसले सेयर बजारमा बीमा प्रति लगानीकर्ताको विश्वास बढ्दो रहेको बुझिन्छ । नेपाल स्कटक एक्सचेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत रहेकोमा बीमा क्षेत्रका जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह (रिइन्स्योरेन्स)का कम्पनीहरु सूचीकृत छन् । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बीमा क्षेत्रका कम्पनीहरुको योगदान धेरै देखिन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजय बहादुर शाह बीमा क्षेत्रमा पारदर्शीता र सूचनाहरु विश्वसनीय हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । बीमा कम्पनीहरु चुक्ता पूँजी वृद्धि गर्ने क्रममा रहेकाले लगानीकर्ताको चाम हुनु स्वभाविक रहेको उनको भनाइ छ । ‘कम्पनीहरु मर्जर र हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धि गरिरहेका छन्, हकप्रद सेयर आउँछ भन्ने लगानीकर्ताले मनसाय बनाएका हुन सक्छन्, विगतमा बैंक तथा वित्तीय संस्थाप्रति आकर्षण थियो, सो संस्था जत्तिकै नियमन र पारदर्शीता बीमा कम्पनीहरुको हुन्छ, त्यसैले लगानीकर्ताको आकर्षण बढेको हो,’ उनले भने । देशको अर्थतन्त्रलाई विभिन्न तत्वले प्रभाव पार्ने भएकाले भविष्यमा बीमामा लगानीकर्ताको आकर्षण के हुन्छ भनेर भन्न नसकिने उनले बताए । यद्यपी नियमन भित्र रहने भएकाले कम्पनीमा आकर्षण बढ्ने उनको भनाइ छ । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बैंक, वित्तीय तथा बीमा क्षेत्रमा नियमन बलियो भएकाले यस क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै बढ्नुपर्ने उनले बताए । ‘अन्य क्षेत्रमा पनि नियमन हुन्छ तर, यो क्षेत्र जत्तिकै नियमन हुँदैन, बीमा कम्पनीहरु पारदर्शी, विश्वसनीय सूचना प्रवाह गर्छन्, अन्य कुनै क्षेत्र पारदर्शी र विश्वसनीय भएन भने लगानीकर्ता अर्काे क्षेत्रमा प्रवेश गर्छन्, आगामी दिनमा पनि यो चाम रहन्छ,’ उनले भने ‘लगानीकर्ताहरुले अनेक कोणबाट विश्लेषण गर्छन्, लगानीकर्ताले सबै क्षेत्र तुलना गरेर लगानी गर्छन्, मूल्याङ्कन गर्छन्, त्यसैले बीमा कम्पनीको सेयर मूल्य स्वभाविक हो ।’ प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईं बीमा कम्पनीको पूँजी र सेयर संख्या कम भएका कारण लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । पूँजी बजारमा राम्रो प्रतिफल दिन सक्ने क्षेत्र बीमा पनि भएकाले पूँजी बजारमा लगानीकर्ताको वर्चश्व बढेको उनको भनाइ छ । ‘१० वटा लाइफ इन्स्योरेन्स कम्पनीबाट १९ वटा कम्पनी पुर्याइयो, अहिले मर्जर गराएर १४ वटा झरेका छन्, केही कम्पनीको आईपीओ आउन बाँकी छ, सुरुवातमा सेयर संख्या कम भयो, प्रतिफल धेरै दिन सक्छ भनेर आकर्षित भए, सुरुमा बैंकहरु आउँदा पनि राम्रो प्रतिफल दिन्छ भनेर आकर्षित भएका थिए, राम्रो प्रतिफल पनि दिए,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बीमा कम्पनीमा बढ्दै गएको छ, बैंकहरु ठूला हुँदा अधिकांशको सेयर मूल्य २ सय तल झरेको छ तर बीमा कम्पनीको सेयर मूल्यमा यसरी गिरावट आएको छैन ।’ बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्छन् भन्ने अवधारणा बनाएर लगानीकर्ता बीमा क्षेत्रमा आकर्षित भएको हुन सक्ने सीईओ प्रसाईंले बताए । ‘४२ प्रतिशत मान्छेले बीमा गरेका छन्, अझै ५८ प्रतिशत बीमा गर्न बाँकी छ, जीडीपीमा बीमा क्षेत्रका ३.७४ प्रतिशत योगदान छ, क्रमिक रुपमा बीमा क्षेत्रको सुधार हुँदै जाँदा व्यवसाय पनि बढ्न थालेको हुँदा प्रतिफल पनि बढ्न सक्ने भएकाले लगानीकर्ताको आकर्षित भएका हुन्,’ उनले भने । पूजी वृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियारले छोटो समयमा पूँजी वृद्धि गर्न मर्जरको बाटो रोजेको हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको बताए । साथै बीमा कम्पनीहरुको नाफा पनि वृद्धि भएको हुँदा प्रतिफल धेरै आउने अपेक्षाले लगानीकर्ताको रोजाइमा बीमा कम्पनी परेको उनी बताउँछन् । पछिल्लो समय बजार घटेको बेला मूल्य न्यून भएकाले लगानीकर्ताले खरिद गरेको हुन सक्ने उनको भनाइ छ । ‘बीमा कम्पनी धेरै चाँहिदैन, मर्जर जाउ भनेर निर्देशन दिएको छ, बीमा कम्पनीहरु धमाधम मर्ज भइरहेका छन्, यो पूँजी बजारका लागि पनि सकारात्कम पक्ष हो, बीमा कम्पनीको पूँजी बढ्दा काम गर्ने दायरा पनि बढ्छ,’ उनले भने, ‘मूल्य पनि कम छ, कम्पनीको ईपीएस पनि बढ्दैछ, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १२ हजार रुपैयाँ भन्दा बढी भएका कारण पनि बजारमा वर्चश्व बढेको हो ।’ बीमा कम्पनीको लाभांश वितरण दर राम्रो रहेको र आगामी दिनमा पनि प्रतिफल बढ्ने स्थिसत बन्दै गएको उनको बुझाइ छ । साथै अनिवार्य बीमा गर्नु पर्ने प्रावधानले व्यवसाय पनि वृद्धि हुँदै गएकाले प्रतिफल पनि बढ्ने उनले बताए । अन्य क्षेत्रमा भन्दा बीमा क्षेत्रमा बढी बोनस सेयर पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । जीवन बीमा एक वर्ष अघि जीवन बीमा समूह परिसूचक ११ हजार ८९७ अंक थियो । तर, पछिल्लो समय बजार ओरालो लागेपछि ९ हजार २३८ अंकमा झरेको छ । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल), एशियन लाइफ, सूर्यज्योति लाइफ, प्रभु लाइफ, प्राइम लाइफ, गुँरास लाइफ, यूनियन लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सूचीकृत छन् । अब यी ११ वटा कम्पनीमध्ये केही कम्पनी मर्ज सम्पन्न भइसकेको हुँदा ८ वटा कम्पनी मात्रै कायम रहन्छन् । तैपनी पूँजी बजारमा जीवन बीमा समूहले आफ्नो वर्चश्व कायमै राखेको देखिन्छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको भने रिलायन्स लाइफ र सानिमा लाइफ मर्जर भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । त्यसैले अब पूँजी बजारमा सूचीकृत कम्पनीको संख्या ८ वटामा झर्ने छन् । प्राधिकरणका अनुसार बीमा कम्पनी मर्जर भएर १४ वटा कायम हुने छन् । हालसम्म मेटलाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, राष्ट्रिय बीमा संस्थान, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म सर्वसाधारणलाई आईपीओ जारी गरेका छैनन् । यदि यी कम्पनीले आईपीओ जारी गरे भने पूँजी बजारमा जीवन बीमा कम्पनीको वर्चश्व थप बढ्ने जानकारहरु बताउँछन् । सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफले प्रिमियम मूलयमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीमध्ये महालक्ष्मी लाइफ मर्जर प्रक्रियामा रहेकाले मर्जर पछि नै सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछ । नेशनल लाइफको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । एक वर्ष प्रतिकित्ता ७८७ रुपैयाँ रहेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण २६ अर्ब ५४ करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारण समूहको ३५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, मर्जर बिनै जीवन बीमा कम्पनीहरुलाई टक्कर दिइरहेको नेपाल लाइफमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एक वर्ष अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७५ रुपैयाँ भन्दा बढी थियो भने अहिले घटेर प्रतिकित्ता ६५७ रुपैयाँमा कारोबार भइरहेको छ । सेयर बजार उच्च विन्दुमा पुगेका बेला प्रतिकित्ता ५ हजार रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ९६ करोड ७३ लाख ८० हजार रुपैयाँ छ । भारतीय ज्वाइन भेञ्चर रहेको लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सेयर मूल्य प्रतिकित्ता १ हजार २७५ रुपैयाँ रहेको छ । ३ अर्ब ८२ करोड रुपैयाँ बजार पूँजीकरण रहेको यस कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । यस्तै, प्रतिकित्ता ५३७.९० रुपैयाँ मूल्य रहेको एशियन लाइफको एक वर्षअघि ८५१ रुपैयाँ थियो । बिहीबारको मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बनेको सूर्यज्योति लाइफको सेयर मूल्य प्रतिकित्ता ४१४.९० रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १८ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, महालक्ष्मी लाइफसँग मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको सेयर मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । निर्जीवन बीमा जीवन बीमापछि नेप्से सूचक धेरै हुनेमा निर्जीवन बीमा समूह दोस्रोमा छ । बिहीबारसम्म निर्जीवन बीमा समूहको नेप्से सूचक ८ हजार ४५२ अंक रहेको छ । एक वर्ष अघि सो समूहको सूचकाङ्क १० हजार भन्दा धेरै थियो । यस समूहमा १५ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये केही कम्पनी मर्जर प्रक्रियामा छन् । नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सको सेयर कारोबार भइरहेको छ । यस्तै, सगरमाथा र लुम्बिनी, आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरका कारण सेयर कारोबार रोक्का भएको छ । यी चार कम्पनी मर्ज भएर २ कम्पनीमा सीमित हुनेछन् । नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५२४ रुपैयाँमा कारोबार भइरहेको छ भने बजार पूँजीकरण ७ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व छ । यस्तै, सरकारी कम्पनीका रुपमा सञ्चालन भइरको राष्ट्रिय बीमा कम्पनीको बिहीबारसम्म सेयर मूल्य प्रतिकित्ता १२ हजार ५४० रुपैयाँ रहेको छ । पूँजी बजारको हट केकका रुपमा लिइएको यस कम्पनीको सेयर मूल्य एक वर्षअघि साढे १६ हजार रुपैयाँ भन्दा बढी थियो । कम्पनीको बजार पूँजीकरण ३३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भइ बनेको हिमालयन एभरेष्टको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ छ भने बजार पूँजीकरण ९ अर्ब ८९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता ४३३ रुपैयाँ छ भने बजार पूँजीकरण ४ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरको प्रतिकित्ता ५७५ रुपैयाँ छ भने बजार पूँजीकरण १६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ रहेको छ भने बजार पूँजीकरण ६ अर्ब १३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७०८ रुपैयाँ छ भने बजार पूँजीकरण १८ अर्ब ७९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६ सय रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ७७ करोड रुपैयाँ र सानिमा जिआईसीको सेयर मूल्य प्रतिकित्ता ४३४.२० रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यी कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, नेको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२२.६० रुपैयामा पछिल्लो समय कारोबार भएको छ । सो मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण १४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ भने बजार पूँजीकरण ३ अर्ब ९९ करोड रुपैयाँ छ । यस कम्पनीमा संस्थापक समूहको ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।
एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी
फाइल फाेटाे बलेवा । जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् । यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान भए पनि यातायात व्यवस्था कार्यालयले समयमा अगुवाइ नगर्दा भाडादर तोक्न सकिएको छैन । एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि जिल्लास्थित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भाडादरमा एकरुपता कायम गराउन पहल गरेको छ । ‘हामीले मात्रै भाडादर कायम गर्न सक्दैनौँं, सिडियोसापको निर्देशनपछि डिजेलको मूल्य र सडकको अवस्थासमेतको अध्ययन गरी भाडादरका विषयमा छलफल थालेका छौँ,’ स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘हामीले तयार पारेको प्रस्तावित भाडा जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै छौंँ, त्यसपछि थप छलफल हुन्छ ।’ यातायात व्यवस्था कार्यालयले भने एम्बुलेन्सको भाडादर तोक्ने बिषयमा स्वास्थ्य कार्यालयलेनै अगुवाइ गर्नुपर्ने बताएको छ । जिल्लास्तरीय भाडादर निर्धारण समितिले निर्णय गर्नुपर्ने भए पनि त्यसको अगुवाइ स्वास्थ्य कार्यालयले नै गर्नुपर्ने कार्यालय प्रमुख पारसिंह थापाले बताए । ‘हामीले अन्य सवारी साधनको भाडादरको विषयमा स्थानीयतहसँग समन्वय गरिरहेका छौँ, एकै पटक एम्बुलेन्सको पनि भाडादर तोक्नेगरी तयारी गरेका छौँ,’ उनले भने । अन्य सवारी र एम्बुलेन्सको भाडादर तोक्दा आधार भने फरक–फरक हुने थापाको भनाइ थियो । जिल्लामा हाल १३ एम्बुलेन्स सञ्चालनमा छन् । सबै एम्बुलेन्सले आफ्नै तरिकाले भाडा लिने गरेकाले बिरामी मर्कामा परेका हुन् । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि बागलुङ बजार आउँदा एम्बुलेन्सले छ हजारसम्म र गलकोट नगरपालिकाको मुकाम हटिया बजारदेखि बागलुङ बजार बिरामी ल्याउँदा आठ हजारसम्म भाडा लिने गरेका छन् । स्थानीय तहले सञ्चालन गरेका र सामाजिक सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्सका बीचमासमेत भाडादर फरक छ । जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा र बरेङमा सञ्चालनमा रहेका एम्बुलेन्समा पनि भाडाको एकरुपता छैन् । कुश्मीशेरादेखि बागलुङ बजारसम्म २१ किलोमिटर पक्की सडकमा रू चार हजार भन्दा धेरै भाडा लिने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका धौलागिरि अस्पताल र तमानखोला गाउँपालिकाले सञ्चालन गरेका दुईवटा एम्बुलेन्स मात्रै तोकिएको मापदण्ड पूरा गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताए । ‘जिल्लाभर ‘ग’ वर्गका एम्बुलेन्स धेरै छन्, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सलाई ‘ख’ वर्गमा रुपान्तरण गर्न भनेको छ,’ उनले भने, ‘नयाँ खरिद भएकाले मापदण्ड पूरा गरेका छन्, पुरानाले नवीकरणका बेला मापदण्ड पूरा गर्नुपर्छ ।’ स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार एम्बुलेन्समा अक्सिजन, जिपिएस प्रणाली, बिरामी र कुरुवा राम्रोसँग सुत्न मिल्ने दुई शय्या, इसिजी मोनिटर, लगायतका २१ उपकरण तथा संरचना अनिवार्य हुनुपर्ने भनिएको छ । सरोकारवालासँग समन्वय गरेर एम्बुलेन्सको स्तरोन्नतिका लागि कार्यालयले पहिलो चरणमा स्थानीयतहसँग विवरण मागेको छ । विवरण सङ्कलन भएपछि स्तरोन्नतिका लागि पत्राचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए । यहाँ बागलुङ नगरपालिकामा पाँच, काठेखोला गाउँपालिकामा दुई, वडिगाड गाउँपालिकामा दुई र अन्य स्थानीय तहमा एक/एक एम्बुलेन्स छन् । निसीखोला गाउँपालिकाले भने एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको छ भने जैमिनी नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गर्दै छ । बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका एक÷एक एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । रासस
भुटानी शरणार्थी प्रकरणमा बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । थापा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रतीकले यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई भने फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ ।