विकासन्युज

नीति तथा कार्यकम : न्यून आय भएका व्यक्तिको लघुबीमा गरिने

काठमाडौं । आगामी आर्थिक वर्षमा न्यून आय भएका व्यक्तिहरुको लघुबीमा गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै स्थानीय सरकारमार्फत लघुबीमाको प्रवर्द्धन गरिने बताएका हुन् । साथै, उनले देशभर बीमाको पहुँच विस्तार गरिने समेत बताएका छन् ।

नीति तथा कार्यक्रम : कर प्रणाली पुनरावलोकन गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणालीलाई पुनरावलोकन गर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले राजश्व प्रशासनलाई थप सदृढ र चुस्त बनाइने बताए । राजश्वको दायरा विस्तार गर्दै राजश्व चुहावट, न्यून विजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजीलाई पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने उनको भनाइ छ ।

नयाँ सरकार बनेपछि आर्थिक क्षेत्रमा सुधार देखियो : राष्ट्रपति

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वर्तमान सरकारले नेतृत्व सम्हालेपछि सबै क्षेत्रमा सकारात्मक नजिदा देखिन थालेको बताएका हुन । ‘पछिल्लो समय आर्थिक परिसुचक सकारात्मक भएको छ, अर्थतन्त्र पुरानै अवस्थामा फर्कन थालेको छ, विप्रेषण आप्रवाह बढेको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, विदेशमा रहेका लाखौ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्धको तयारी गरिएको छ, सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ’, उनले भनेका छन् ।

राष्ट्रपतिद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गरेका हुन् । बैठकको प्रारम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे सुरु भएको सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका छन् । सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय संसद्मा उहाँको यो पहिलो सम्बोधन हो । संसदीय लोकतान्त्रिक शासन प्रणाली अभ्यास गरेका मुलुकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत हुने र त्यसमाथि छलफल भई पारित गर्ने अभ्यास रही आएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको अवलोकनका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसद् भवन आएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना साथमा छन् । राष्ट्रपतिको सम्बोधन समारोहमा राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि,  सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी छन्  । यसअघि राष्ट्रिपति पौडेललाई संसद् भवनमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनी संसद् भवनको मूलद्वारबाट औपचारिक कार्यक्रममा सहभागी हुँदा प्रयोग हुने ‘कारगेड’सहित कार्यक्रममा सरिक भए । बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्नेछन् । प्रधानमन्त्री प्रचण्डले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । प्रतिनिधिसभामा सभामुख घिमिरेले र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । छलफलमा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् । नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनसमक्ष आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।

आइएमई ईण्डियाको नयाँ शाखा भारतको राजधानी नयाँ दिल्लीमा

काठमाडौं । आइएमई इण्डियाले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा।शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन् । आइएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ । शाखा उद्घाटन गर्दै राजदुत डा शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिए । नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने उनले बताए । सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकाल बताउँछन् ।

हिमालयन लाइफको सीईओ बने कर्ण, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् । प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको हो ।

गरिमा विकास बैंकले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो

काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । उक्त बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ । बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ’, उनले भने, ‘सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।’ अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन दिए । उनले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण माग गरे । ‘विदेश भ्रमण मन्त्रालयमा रोगकारुपमा देखिएको छ । दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषयविज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ,’ उनले भने । सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानैपरे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उनको भनाइ छ ।