सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ संचालक समिति गठन
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएकाे छ । बैंककाे बिहीबार बसेकाे पन्ध्रौ वार्षिक साधारणसभाले नयाँ संचालक समिति गठन गरेकाे हाे । सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा संस्थापक सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ ।
मन्त्रिपरिषद् बैठकले पारित गर्यो सरकारको नीति तथा कार्यक्रम
काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । बैठक ४ बजेका लागि बोलाइएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेलस्थित अजा डायनास्टीकबीच सम्झौता भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
लोयल्टी टापुमा ७.७ रेक्टर स्केलको भूकम्प
बेइजिङ । बेइजिङ समय शुक्रबार बिहान १० : ५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ । रासस
भरतपुर अस्पतालमा एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार
भरतपुर । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ रुपैयाँ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी पाँच करोड रुपैयाँ हाराहारी छ । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ३९ करोड १० लाख ७४ हजार चार सय ७१ रुपैयाँ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ रुपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो रकम २३ करोड ८८ लाख चार हजाार सात सय ५० रुपैयाँ थियो । आव ०७५/७६ मा १४ करोड ५७ लाख २८ हजार दुई सय २२ रुपैयाँ थियो भने पहिलो वर्ष २०७४/७५ मा एक करोड २८ लाख ९२ हजार दुई सय २० रुपैयाँ थियो । पौडेलका अनुसार अस्पतालमा दैनिक सात लाखदेखि ११ लाख रुपैयाँसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षमा ३९ करोड १० लाख ७४ हजार चार सय ७१ रुपैयाँ बीमाबाट आम्दानी हुँदा नगदबाट १७ करोड ९८ लाख रुपैयाँ मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उनले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउँछन् । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए । उनले भने, ‘हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।’ अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ । अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, ‘बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।’ अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । स्वास्थ्य बीमामा पाँचजना परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेर एक वर्षभर एक लाख रुपैयाँसम्मको सेवा लिँदै आएको छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ । रासस
बिगमार्टमा सपिङ गरी आइएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । सो छुट अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटकसम्म पाउने छन् । अफरको दोश्रो चरण असार १ गतेदेखी साउन ३२ गतेसम्म रहने छ । सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहकलाई विभिन्न किसिमका गेमहरु खेलाइ आकर्षक उपहारहरु प्रदान गर्नेछ ।
आईपीओमा बढ्यो जोखिम, ठगिन सक्छन् सर्वसाधारण
काठमाडौं । शिवम् सिमेन्टले ५ वर्षअघि प्रतिकित्ता १ सयमा २ सय रुपैयाँ प्रिमियम थप गरी ३ सय रुपैयाँमा सेयर बिक्री गर्यो । पछिल्लो समय कम्पनीको सेयर मूल्य घटेर न्यूनतम ३८९ रुपैयाँसम्म झरेको छ । झण्डै आईपीओको मूल्यमै पुग्न लागेको यस कम्पनीको सेयर अहिले बढेर प्रतिकित्ता ४ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले ३ वर्षअघि सर्वसाधारणलाई सेयर अंकित मूल्यमै सेयर जारी गर्याे । पछिल्लो पटक कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्याङ्कमा उल्लेख छ । यो कम्पनी पनि झण्डै आईपीओको मूल्यमा नै झर्न थालेको देखिन्छ । आईपीओ निष्काशन प्रक्रियामा रहेका घोराही सिमेन्ट र नेपाल रिपब्लिकाको सेयर पनि विवादमा परेको छ । यी दुई कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता जोखिममा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणबाट पुष्टि हुने लगानीकर्ता बताउँछन् । घोराही सिमेन्टले अंकित मूल्यमा आयोजना प्रभावितलाई ३ सय रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरी ४ सय र ४३५ रुपैयाँमा आईपीओ बिक्री गरिरहेको छ । यस्तै, नेपाल रिपब्लिकाको सेयर भने अंकित मूल्यमा नै बिक्री गरिरहेको छ । यी माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्यासँगै नयाँ कम्पनीको प्रवेश पनि बढ्दो छ । आईपीओमा लगानीकर्ता आकर्षित भइरहँदा चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १६५ अर्ब ५६ करोड रुपैयाँ बराबरको आईपीओ पूँजी बजारमा आएको छ । अझै ६ अर्ब ५ करोड बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डको पाइप लाइनमा छ । पूँजी बजारले ३२ सय अंकको ऐतिहासिक रेकर्ड बनाएको बेला लगानीकर्ताको आकर्षण बढेको थियो । सो समयमा आईपीओ जारी गर्ने एउटै कम्पनीमा २५ लाखसम्म आवेदन परेको थियो । जसले लगानीकर्ताको उत्साहसँगै बजारमा नयाँ कम्पनी थप्न उत्प्रेरित गर्याे । तर, पछिल्लो समय एकपछि अर्काे कम्पनीको आईपीओ बजारमा आउन थालेपछि जोखिम पनि बढ्दै गएको लगानीकर्ताहरु बताउँछन् । सामान्यतया अंकित मूल्य १ सय रुपैयाँमै सेयर जारी गर्ने परिपाटी भएपनि पछिल्लो समय भने प्रिमियम मूल्यमा पनि आईपीओ निष्काशन गर्दा जोखिम बढ्दै गएको लगानीकर्ताहरुको बुझाइ छ । सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता कतिपय आफै जानेर आवेदन दिन्छन् भने कतिपय आफन्त वा साथीभाईको सल्लाहका आधारमा पनि आईपीओ भर्छन् । जोखिम कम र फाइदा बढी हुने हुँदा सर्वसाधारणको आकर्षण आईपीओमा देखिन्छ । तर, जोखिम भएका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछि जोखिम बढ्न थालेको एक लगानीकर्ताले विकासन्युजसँग बताए । नेपालको पूँजी बजारमा आईपीओमा जोखिम छैन भनिएपनि जोखिम रहेको उनको भनाइ छ । उनले घोराही सिमेन्टको सेयर बिक्री नभएर अण्डरराइटरले साकार गर्नु पर्ने अवस्था आउन सक्ने बताए । साथै, नागरिक दैनिकको सेयर बिक्री पनि अन्यौल रहेको उनको भनाइ छ । ‘विदेशमा आईपीओमा पनि जोखिम हुन्छ, अब लगानीकर्ताहरुले आईपीओमा जोखिम देख्छन्, प्रिमियम मूल्यमा आईपीओ जारी भएपछि त झनै जोखिम हुन्छ, विदेशमा आईपीओ भन्दैमा हत्तपत खरिद गर्दैनन्, उनीहरुले विश्लेषण गरेर मात्रै आईपीओ भर्ने की नभर्ने भनेर निर्णय गर्छन्,’ उनले भने । लगानीकर्ता अम्बिर बोगटी नियामकले आईपीओ निष्काशन प्रक्रियामा कडाइ गर्नु पर्ने बताउँछन् । ५० रुपैयाँ पर्ने सेयरलाई १०० रुपैयाँमा बिक्री गर्दा १० कित्ता सेयर खेर फाले सरह भएको उनको भनाइ छ । नयाँ कम्पनीको आईपीओ आउने क्रम बढ्दो भएपनि बजारमा खरिदबिक्री गर्ने संख्या नरहेको उनले बताए । ‘एकै जनाले सम्पूर्ण सेयर खरिद गर्न सक्दैन, स–साना टुक्रा भएर १० कित्ते नीतिले मात्रै सेयर बिक्री भइरहेको छ, एक÷एक हजारका दरले १ लाख जनाको १ करोड रुपैयाँ डुब्छ, १० लाखले भरेका छन् भने १ अर्ब रुपैयाँ डुब्छ, सेयर बजारमा दैनिक नयाँ कम्पनीको सेयर थप्ने काम मात्रै भएको छ,’ उनले भने, ‘यसरी सेयर थपिरहँदा खरिद गर्ने लगानीकर्ता भने बजारमा छैनन्, उत्पादन मात्रै गरेर हुँदैन, त्यो उत्पादनको खपत गर्ने मान्छे पनि बजारमा चाहिन्छ ।’ उनका अनुसार सिमेन्ट कम्पनीहरु सबै एकै पटक सञ्चालनमा आउँदा उत्पादन भएको वस्तु बिक्री नहुँदा समस्यामा परेका छन् । त्यस्तै, अवस्था अहिले सेयर बजारमा छ । सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको अभाव हुँदा बजारमा गिरावट आएको उनको भनाइ छ । ‘बजारमा सेयरको आपूर्ति बढाउने काम निरन्तर भैरहेको छ भने अर्को तिरबाट खरिद गर्ने लगानीकर्तालाई निरुत्साहित गर्ने काम भइरहेको छ, फलस्वरुप आजभन्दा २० वर्ष अघि १ सय रुपैया मूल्यमा आईपीओ जारी गरेका कम्पनीको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ,’ उनले भने । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कमजोर अवस्थाका कम्पनी बजारमा आइरहेको बताए । अहिले ६०÷७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैले पनि गुनासो नगरेको उनको भनाइ छ । ‘६०/७० रुपैयाँ नेटवर्थ भएका कम्पनीलाई १ सय रुपैयाँमा जारी गर्दा कसैको पनि गुनासो छैन, यहाँ पनि अण्डरभ्यालूएसन गरेर ७० को भ्यालूएसनलाई १०० रुपैयाँमा जारी गर्दा ओभर भ्यालूएसन भइसक्यो, यो पनि सही होइन,’ उनले भने, ‘हामी (धितोपत्र बोर्ड)ले सबैलाई सही बनाउनु पर्नेछ, विगतमा एउटा आईपीओको फाइल स्वीकृत हुनका लागि २० महिना लाग्थ्यो तर, म आएपछि महिनामा ४ वटा भन्दा बढी फाइल स्वीकृत दिइरहेका छौं, यदि फाइल सही छ भने स्वीकृत दिने र सही छैन भने फिर्ता पठाउने काम भइरहेको छ ।’ लगानीकर्ता राजन लम्साल नेटवर्थ १ सय रुपैयाँ भन्दा कम भएका कम्पनीको आईपीओमा जोखिम रहेको बताउँछन् । पछिल्लो समय आईपीओ जारी गरिरहेका कुनै कम्पनीले ३० वर्षसम्म पनि प्रतिफल दिन नसक्ने अवस्था रहेको उनको भनाइ छ । यदि सर्वसाधारणले सेयर खरिद गरेनन् भने पनि अण्डरराइटर खरिद गर्न तयार हुन्छु भन्यो भने वित्तीय अवस्था कमजोर रहेका कम्पनीले आईपीओ बिक्री गर्नु स्वभाविक रहेको उनले बताए । ‘३० वर्षको सम्झौता गर्दा पनि बिजुली बिक्री गरेर प्रतिफल दिनै नसक्ने कम्पनी आईपीओ बिक्री गरिरहेका छन्, ती कम्पनीहरुको लागत नै उच्च देखिन्छ, त्यसैले अब आईपीओमा लगानी गर्दा पनि कम्पनी छनोट गरेर मात्रै आवेदन दिनु पर्छ,’ उनले भने, ‘खरिद गर्ने ग्यारेन्टी छ भने हामी किन नबेच्ने भनेर ती कम्पनीले आईपीओ बिक्री गरिरहेका छन्, समग्रमा आईपीओमा लगानी गर्दा त्यति धेरै फाइदा भने छैन ।’ उनका अनुसार लगानीकर्ता आफै सचेत हुनु पर्ने बेला आएको छ । आईपीओ भन्दैमा अन्धाधुन्दा फाइदा हुन्छ भनेर लगानी गर्न नहुने उनको राय छ । पछिल्लो समय वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरुले सेयर जारी गर्दा लगानी गर्नेको संख्या पनि घटेको उनले बताए । ‘लगानी गर्नु पूर्व कस्तो कम्पनी हो ? कति प्रतिफल दिन सक्छ ? कहिलेबाट प्रतिफल दिन्छ ? जलविद्युत कम्पनी हो भने कति मेगावाटको हो ? संस्थापक सेयरधनी कस्ता छन् ? कति लागतमा बनेको छ ? र, पे ब्याक रिटर्न कहिलेसम्म छ ? हेरेर मात्रै लगानी गर्नु पर्छ,’ उनले भने, ‘अन्धाधुन्द लगानी गर्नु हुँदैन, पहिला २६÷२७ लाख आवेदन पथ्र्याे भने अहिले १०÷११ लाखमा झरेको छ किनभने देखेका छैनन् ।’ एकथरी लगानीकर्ता आईपीओ परेपछि २÷३ सयमा बेचेर उम्किन्छु भन्ने रहे पनि त्यो अवस्था नरहने उनको भनाइ छ । पछिल्लो समय पूँजी बजारमा नियामक निकाय नै नभएका कम्पनी आउँदा समस्या निम्तिएको उनले बताए । ‘अब आउने कम्पनी (घोराही)को आईपीओ सेयर मूल्य न्यायोचित छ की छैन भनेर हेर्नु पर्छ, घोराही सिमेन्टले कति उत्पादन गर्छ, कति प्रतिफल दिन सक्छ, प्रिमियम मूल्य सही छ की छैन भनेर विश्लेषण गरेर मात्रै लानी गर्नु पर्छ,’ उनले भने, ‘पहिला बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ आउँदा ठिकै थियो, यी संस्थाहरुको नियामक निकाय बलियो छ, जलविद्युत कम्पनीको नियामक भएपनि राम्रोसँग नियमन गर्न सकेको छैन, सिमेन्ट कम्पनीको नियामक नै छैन, त्यसैले नियामक बलियो भएका कम्पनीमा लगानी गर्दा ठिकै हुन्छ, नभएका कम्पनीमा लगानी गर्नु ठगिनु सरह हो ।’ क्रेडिट रेटिङ्ग गरेर सही मूल्य भएका कम्पनीलाई मात्रै धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिनु पर्ने उनले बताए । लगानीकर्तालाई प्रतिफल दिन नसक्ने कम्पनीलाई आईपीओ बिक्री गर्न दिन नहुने उनको भनाइ छ ।
कुश्मिसेरा–राङ्खानी सडक : २ वर्षको काम चार वर्षमा आधा
बागलुङ । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो । निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लागदा आधा मात्रै काम भएको छ । एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुँदा अलपत्र सडकमा यात्रुलाई सास्ती भएको नारायणदत्त पाध्यायले गुनासो गरे । ‘अहिले बरेङमा कालोपत्र भइसक्यो तर कुश्मिसेराबाट राङ्खानीसम्म आउने सडक कालोपत्र नहुँदा हामीलाई सास्ती भएको छ’, उनले भने, ‘सडक कालोपत्रको जिम्मा पाएर काम नगर्नेलाई काराबाही गर्न आवश्यक छ ।’ बागलुङ जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि नाम्दुक राङ्खानी हुँदै बरेङ शान्तिपुर जोड्नका लागि पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमी सडक कालोपत्रका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो । कुश्मिसेरादेखि राङ्खानी पुग्ने १० किमी सडक विसं २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी ठेक्का लगाए पनि ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दा १० किमी सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर गणेश सुवेदीले जानकारी दिए । राङ्खानीदेखि बरेङसम्मको ११ किमी सडक भने दुई वर्ष नपुग्दै ८० प्रतिशत प्रगति भइसकेको छ । ‘दक्षिण बागलुङको मेरुदण्डका रुपमा रहेको उक्त सडक कुश्मिसेरादेखि बरेङ पुग्ने २१ किमी सडकमा पहिलो खण्ड १० किमी २०७६ असोज र दोस्रो खण्ड ११ किमी २०७८ कात्तिकमा ठेक्का सम्झौता गरेर अगाडि बढेको हो, पहिलो खण्ड २०७८ असोजमै सकिनुपर्ने थियो, तर अहिलेसम्म ५० प्रतिशत भौतिक प्रगति देखिएको छ, हामीले निरन्तर ताकेता गरेका छौँ, निर्माण व्यवसायी एक वर्षपछि अहिले काममा फर्किएको छ, असार अन्तिमसम्म म्याद छ, कालोपत्र सक्नेगरी कामलाई तीव्रता दिन भनेका छौँ’, प्रमुख पौडेलले भने, ‘तल्लो सडक यस्तो हालतमा हुँदा उपल्लो सडक सुरुको ठेक्का मितिमै धमाधम कालोपत्र भइरहेको छ, असारसम्म सडक कालोपत्र नथाले कुश्मिसेरादेखि राङ्खानी सडक निर्माणको जिम्मा पाएको शर्मा क्याराभान कम्पनीलाई कारबाहीको प्रक्रियामा जानेछौँ ।’ एक वर्षदेखि सम्पर्कविहीन भएको निर्माण व्यवसायी अहिले काममा फर्केर कटिङ, नाली तथा ग्राभेलको काम थाले पनि असारसम्म कालोपत्र सक्ने कुनै लक्षण देखिँदैन । निरन्तरको ताकेतापछि निर्माण व्यवसायीले एक वर्षदेखि सम्पर्कविहीन भएकामा अहिले काम थाले पनि तीव्रता पाउन नसकेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुजन देवकोटाले जानकारी दिए । २४ करोड ५८ लाख रुपैयाँमा दुई वर्षमा सक्नेगरी विसं २०७६ असोजमा शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि फेरि विसं २०८० असार मसान्तसम्म म्याद थप गरे पनि उक्त समयमा समेत सडकको कालोपत्र गर्न नसक्ने अवस्था देखिएको देवकोटाले जानकारी दिए । कोरोना कहर र मूल्यवृद्धिका कारण समयमै काम गर्न नसकेको निर्माण व्यवसायीको भनाइ छ । समस्या भए पनि पछिल्लो समय कामलाई निरन्तरता दिएको शर्मा क्याराभान जेभीका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले बताए । ‘मूल्य वृद्धिका कारण समस्या भयो, कोरोना कहरले एक वर्ष काम गर्न सकिएन, अहिले काममा फर्केका छौँ, ग्राभेल गर्ने काम थालेका छौँ, असारसम्म सन्तुष्ट हुनेगरी कार्यप्रगति दिने योजनामा छौँ ।’ रासस