बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…..
फाइल फोटो काठमाडौं । जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौं उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज काठमाडौंबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको कर्णले बताए ।
नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला नीति कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ । नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन, आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।’ नीति तथा कार्यक्रमले आंशिकरुपमा भए पनि निजी क्षेत्रका माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन्, उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।’ नीति तथा कार्यक्रममा महत्वाकाङ्क्षी योजना घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ । नीति तथा कार्यक्रम ‘कनिका छरेजस्तो’ बनाउने भन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ । सरकारद्धारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्ययिता कायम गर्न खोज्नु सकारात्मक भएको चेम्बरको भनाइ छ ।
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, काठमाडौंमा घर जित्न सकिने
काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ । इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खातावा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुईतलाको घर दिने घोषणा गरेको थियो । ७ असोज देखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू मध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्बजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले अभियानअवधिभर हरेकमहिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर प्रदान गर्ने कम्पनीले जनाएको छ । अभियानका विषयमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने, ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो, यस अभियानले डिजिटल रेमिट्यान्सलाई बढाउन हामीलाई थप हौसला मिलेको छ ।’
प्रतिबन्धित इनर्जी ड्रिंक्स बजारमा, थाहा नै छैन नियामकलाई
काठमाडौं । सरकारले ०७६ जेठ १० गतेदेखि विदेशी मुलुकबाट आयात हुने रेड बुल लगायतका इनर्जी ड्रिंक्सलाई आयातमा प्रतिवन्ध लगाएको थियो । तर, नेपाल समुद्रपार निकासी पैठारी संघले ती वस्तुहरु नेपाली बजारमा प्रशस्त पाइने गरेको दाबी गरेको छ । आयातित इनर्जी ड्रिंक्सहरुको राजस्व भन्सार छली गरेर ठूलो मात्रामा आयात भइरहेको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई जानकारी गराउँदा उनले समय स्वीकार गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष बिनोद कुमार सेठियाले विकासन्युजसँग कुरा गर्दै काठमाडौं एयरपोर्टमा नै सरकारी निकायको आँखा अगाडि ती वस्तुहरुको खरिद बिक्री भइरहेको बताए । त्यस्तै, उद्योगमन्त्री रिजालले बुधबार संघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रतिबन्ध लगाएपनि चोरी पैठारी कायम रहेकोले ठूलो परिमाणमा राजस्व गुमिरहेको बताएको संघले जनाएको छ । ‘विश्व व्यापार संगठनले पनि आयात रोक्न दिँदैन,’ उनले भने, ‘अवैध रुपमा आयात भइरहेको मलाई थाहा छ, प्रतिबन्ध हटाउन प्रयास गर्छु’, उनले भने । संघका अनुसार ०७६/७७ पछि नेपालमा आधिकारिक रुपमा इनर्जी ड्रिंक्स आयात भएको छैन, तर देशभरका बजारमा विदेशी ब्राण्डका इनर्जी ड्रिंक्स सजिलोसँग खरिद गर्न सकिन्छ, जसबाट सरकारले ठूलो मात्रामा राजस्व गुमाएको छ । सरकारले इनर्जी ड्रिंक्सको आयात गर्दा आर्थिक वर्ष ०७५/०७६ मा सरकारले १ अर्ब ६७ करोड ६६ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो । २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरेर प्रतिबन्ध लगाइएको इनर्जी ड्रिंक्स (क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ), फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स लगायतका वस्तुहरु बजारमा प्रशस्त छन भन्ने मन्त्रीकै बुझाई हुँदा राजस्व र उपभोक्ता सम्बन्धित निकायले आफूहरु बेखबर भएको बताएका छन् । विकासन्युजसँग कुरा गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुख गजेन्द्रकुमार मिश्रले सो विषयमा आफूहरुलाई जानकारी नभएको बताए । काठमाडौंमा मात्रै पचासौं हजारको संख्यामा व्यवसाय रहेकाले विभागको जनशक्तिले सबैमा नियमित अनुगमन गर्न नसक्ने बताए । साथै उनले अन्तर्राष्ट्रिय एयरपोर्ट जस्तो ठाउँमा पटक–पटक छापा मार्ने काम गर्दा अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो सन्देश जानसक्ने बताए । साथै उनले जानकारी प्राप्त भएमा प्रतिबन्धित वस्तुको खरिद बिक्री रोक्ने विषयमा विभाग तत्पर रहेको बताए । त्यस्तै, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्सार छली गरेर आयात गरिएका इनर्जी ड्रिंक्सबाट आन्तरिक राजस्व समेत छली गरेर बिक्री भइरहेको सन्दर्भमा विभागलाई थाहा नभएको तर, सोसँग सम्बन्धित अन्य निकायले आवश्यक अनुसन्धान गर्न चाहेमा विभाग सहभागी हुने विकासन्युजलाई बताए । सरकारले विदेशी इनर्जी ड्रिंक्समा प्रतिबन्ध लगाएपछिका पछिल्ला वर्षमा नेपालमा नै केही त्यस्ता पेय पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योग सञ्चालनमा ल्याएका छन् । पछिल्लो समयमा नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमन्त्री रिजाललाई प्रतिबन्ध लगाउँदा चोरी पैठारी बढेको र राजस्वमा सरकारलाई घाटा भएको भन्दै विदेशी ब्राण्डका वस्तुको आयात खुलाउन दबाब दिएको छ । साथै सो विषयमा मन्त्री रिजालले समेत विश्व व्यापार संगठनको नियमअनुसार रोक्न नमिल्ने भन्दै आँफूहरुको मागमा मन्त्री सकारात्मक भएको संघले दाबी गरेको छ । संघका अध्यक्ष सेठियाले ब्रिटनिया बिस्कुटलाई सरकारले आयातमा प्रतिबन्ध गरेपनि बजारमा ठूलो मात्रामा बिक्री भइरहेको दाबी गरेका छन् ।
मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना
काठमाडौं । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ । काठमाडौँ उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । यसैगरी, आज कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अबका तीन दिन नै देशको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संविधानको पुर्नमूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए । उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे । उनले भने, ‘संविधानलाई पुनर्मूल्यांकन गर्ने बेला भएको छैन, यसलाई लागू गर्नेतिर हामी जाऔँ, एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ, यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ, हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले भने, ‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु, हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौँ ।’ उनले शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए । प्रधानमन्त्री दाहालले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।
विश्वविद्यालयलाई गुणस्तरीय बनाई शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह
काठमाडौं । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकार गरे। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोसिस भइरहेको बताए । हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्तालमुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए। शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९÷०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा ४३ अर्ब ६७ करोड बाहिरिएको थियो ।