विकासन्युज

सुकुम्बासी भन्छन् : ‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् । कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी कार्य प्रगतिबारे जिज्ञासा राखे । उनले जिल्लाका अन्य पालिकामा काम भइरहे पनि बिर्तामोडमा आयोगले काम गर्न र लगत उठाउन ढिलो किन ? गरेको जनाउँदै प्रश्न गरे । अर्का सहभागी बिर्तामोड–१० का मानबहादुर श्रेष्ठले सुकुम्बासीलाई नगरवासी बनाइदिन आयोगका सदस्यलाई आग्रह गरे । पूर्व–पश्चिम रेलमार्गले धेरै सुकुम्बासीको उठिबास हुनलागेको जनाउँदै उनले चिन्ता व्यक्त गरे । ‘मुआब्जाका लागि हामीसँग धनीपुर्जा छैन’, उनले भने, ‘घरबास नै उठ्ने अवस्था छ, धनीपुर्जा छैन, हाम्रो उठीबास हुने भयो ।’ कम्युनिष्ट पार्टीले सर्वहाराको पक्षमा काम गर्ने भन्ने गरिए पनि बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै जना कम्युनिष्ट भए पनि सुकुम्बासीको समस्या समाधानमा चासो नदिएको उनको गुनासो छ । सहभागीको प्रश्नको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको सूची नै नपठाएको बताए । समस्या लिएर नगरपालिका जाने सुकुम्बासीलाई आयोगमा जानु भनेर पठाउने तर आयोगमा कुनै कागजात नपठाउँदा धेरै मानिसले दुःख पाइरहेको उनको भनाइ छ । साविकमा वन जनिएको जग्गा एकपटकलाई भए पनि जो बसेको छ उसलाई धनीपुर्जा दिनु भन्ने नियमावलीमा उल्लेख भएको उनले बताए । ‘स्थानीय पालिकाले निस्सा नबाँडी अन्य प्रक्रिया नै सुरु हुँदैन’, उनले भने । कार्यक्रममा उपस्थित अधिकांशले बिर्तामोडमा निस्सा नपाएको बताएका छन् । कार्यक्रमका नेकपा माओवादी केन्द्रीका केन्द्रीय सदस्य धर्मशीला चापागाईँले सुकुम्बासीको समस्या जटिल भएको जनाउँदै आफूले २०४८ सालदेखि समस्या समाधान गर्न पहल गरिरहेको बताए । रासस

छात्रालाई साइकल र १ लाख रुपैयाँ वितरण

सिन्धुली । यहाँको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र एक लाख रुपैयाँ नगद वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उनले भने, ‘हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने पाँच जनालाई एक लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरेका छौँ ।’ पालिकाभित्र दुई उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए । मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना एक सय एक महत्वपूर्ण उपलब्धिसमेत सार्वजानिक गरेका थिए । रासस

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

रुकुम । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । रासस

नेप्सेमा ७ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत बैशाख ३१ गते आइतबारदेखि जेठ ५ गते शुक्रबारसम्म मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक, फरवार्ड लघुवित्त, कृषि विकास बैंक, साल्ट ट्रेडिङ्ग, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस वापतको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल बैंकको २ प्रतिशत बोनस वापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, फरवार्ड लघुवित्तको २५ प्रतिशत बोनस वापतको २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, कृषि विकासको २ प्रतिशत बोनस वापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस वापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस वापतको २ लाख ४३ हजार ५६४.३० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस वापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

राष्ट्रिय बीमा संस्थानले हकप्रद बिक्री गरेर पूँजी वृद्धि गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ २२ गते प्रधान कार्यालयमा अपरान्ह ४ बजे बोलाएको हो । संस्थानको सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थानको पूँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नृपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकले आफ्नो लगानीको हिस्साबापत हकप्रद सेयर मार्फत थप गर्नु पर्ने पूँजी रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । यस्तै, संस्थानको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक सीए राजकुमार शिवाकोटीलाई नियुक्तलाई अनुमोदन सभाले गर्नेछ ।

ब्वाई फ्रेण्डलाई उपहार दिन ग्राहकको खाताबाट डेढ करोड चोरी, दिन नपाउँदै हतगढी

काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार ग्राहकको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जना पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एभरेष्ट बैंक गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल रहेका छन् । रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए । प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् ग्राहकको रकम झिकेर हिनामिना गरेका थिए । १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म गरी ५९ पटक कनेक्ट–आईपीएसमार्फत् ग्राहकको रकम झिकेका थिए । यस्तै, बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निस्क्रिय खातालाई सक्रिय गराइ ३५ लाख ४८ हजार १५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको पनि प्रहरीले बताएको छ । एभरेष्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज प्रधानलाई प्रहरीले गत चैत २२ गते, धनुषाका भुजेललाई वैशाख १० र भक्तपुरका खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा एभरेष्ट बैंकको इटहरी शाखाका इञ्चार्जको समेथ संलग्नता देखिएपछि उनीहरुलाई जेठ ५ गते पक्राउ गरिएको हो । स्रोतका अनुसार ईटहरी शाखामा कार्यरत पवित्रा कटुवालले ब्वाइफ्रेन्डको बर्थडेमा बाइक उपहार दिन ग्राहकरुको खाताबाट रकम चोरिको योजना बनाएकी थिइन् । तर, उनले उपहार दिन नपाउँदै पक्राउ परेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए । यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो । वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो । त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो । पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ । परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ । छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो तर सो कार्यदलको प्रतिवेदनमा नै अनुसूची थपेर नेपाली नागरिकको समेत नाम थपी अमेरिका लैजाने गिरोहको योजनामा यो घटना भएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

घरबार बेचेर घाटामा मोबाइल व्यवसाय चलाउँदै, ५० हजार बढी समस्यामा

 काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताएका छन् । महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताए । ‘व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन, यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ,’ अध्यक्ष भट्टराईले भने । वैधानिकरुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिन विना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए । महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिए । महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ । महासङ्घका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफै स्मार्ट बन्नुपर्ने सुझाव दिए । कोशी प्रदेश कमिटी गठन कोशी प्रदेशका १४ जिल्लाबाट धरानमा जम्मा भएका व्यवसायीको भेलाले जीवन शाक्यको अध्यक्षमा सात पदाधिकारीसहित २७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र सङ्खुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सह कोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका छन् । साथै सदस्यमा पुण्य बराल, लोकेन्द्र बुढाथोकी, दीपेश गुप्ता, बजिन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामाङ, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशीषराज यादव निर्वाचित भएका छन् ।