प्रतिबन्धित इनर्जी ड्रिंक्स बजारमा, थाहा नै छैन नियामकलाई

<p>काठमाडौं । सरकारले ०७६ जेठ १० गतेदेखि विदेशी मुलुकबाट आयात हुने रेड बुल लगायतका इनर्जी ड्रिंक्सलाई आयातमा प्रतिवन्ध लगाएको थियो । तर, नेपाल समुद्रपार निकासी पैठारी संघले ती वस्तुहरु नेपाली बजारमा प्रशस्त पाइने गरेको दाबी गरेको छ । आयातित इनर्जी ड्रिंक्सहरुको राजस्व भन्सार छली गरेर ठूलो मात्रामा आयात भइरहेको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री [&hellip;]</p>

काठमाडौं । सरकारले ०७६ जेठ १० गतेदेखि विदेशी मुलुकबाट आयात हुने रेड बुल लगायतका इनर्जी ड्रिंक्सलाई आयातमा प्रतिवन्ध लगाएको थियो । तर, नेपाल समुद्रपार निकासी पैठारी संघले ती वस्तुहरु नेपाली बजारमा प्रशस्त पाइने गरेको दाबी गरेको छ । आयातित इनर्जी ड्रिंक्सहरुको राजस्व भन्सार छली गरेर ठूलो मात्रामा आयात भइरहेको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई जानकारी गराउँदा उनले समय स्वीकार गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष बिनोद कुमार सेठियाले विकासन्युजसँग कुरा गर्दै काठमाडौं एयरपोर्टमा नै सरकारी निकायको आँखा अगाडि ती वस्तुहरुको खरिद बिक्री भइरहेको बताए । त्यस्तै, उद्योगमन्त्री रिजालले बुधबार संघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रतिबन्ध लगाएपनि चोरी पैठारी कायम रहेकोले ठूलो परिमाणमा राजस्व गुमिरहेको बताएको संघले जनाएको छ । ‘विश्व व्यापार संगठनले पनि आयात रोक्न दिँदैन,’ उनले भने, ‘अवैध रुपमा आयात भइरहेको मलाई थाहा छ, प्रतिबन्ध हटाउन प्रयास गर्छु’, उनले भने ।

संघका अनुसार ०७६/७७ पछि नेपालमा आधिकारिक रुपमा इनर्जी ड्रिंक्स आयात भएको छैन, तर देशभरका बजारमा विदेशी ब्राण्डका इनर्जी ड्रिंक्स सजिलोसँग खरिद गर्न सकिन्छ, जसबाट सरकारले ठूलो मात्रामा राजस्व गुमाएको छ । सरकारले इनर्जी ड्रिंक्सको आयात गर्दा आर्थिक वर्ष ०७५/०७६ मा सरकारले १ अर्ब ६७ करोड ६६ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो ।

२०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरेर प्रतिबन्ध लगाइएको इनर्जी ड्रिंक्स (क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ), फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स लगायतका वस्तुहरु बजारमा प्रशस्त छन भन्ने मन्त्रीकै बुझाई हुँदा राजस्व र उपभोक्ता सम्बन्धित निकायले आफूहरु बेखबर भएको बताएका छन् ।

विकासन्युजसँग कुरा गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुख गजेन्द्रकुमार मिश्रले सो विषयमा आफूहरुलाई जानकारी नभएको बताए । काठमाडौंमा मात्रै पचासौं हजारको संख्यामा व्यवसाय रहेकाले विभागको जनशक्तिले सबैमा नियमित अनुगमन गर्न नसक्ने बताए । साथै उनले अन्तर्राष्ट्रिय एयरपोर्ट जस्तो ठाउँमा पटक–पटक छापा मार्ने काम गर्दा अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो सन्देश जानसक्ने बताए । साथै उनले जानकारी प्राप्त भएमा प्रतिबन्धित वस्तुको खरिद बिक्री रोक्ने विषयमा विभाग तत्पर रहेको बताए ।

त्यस्तै, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्सार छली गरेर आयात गरिएका इनर्जी ड्रिंक्सबाट आन्तरिक राजस्व समेत छली गरेर बिक्री भइरहेको सन्दर्भमा विभागलाई थाहा नभएको तर, सोसँग सम्बन्धित अन्य निकायले आवश्यक अनुसन्धान गर्न चाहेमा विभाग सहभागी हुने विकासन्युजलाई बताए । सरकारले विदेशी इनर्जी ड्रिंक्समा प्रतिबन्ध लगाएपछिका पछिल्ला वर्षमा नेपालमा नै केही त्यस्ता पेय पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योग सञ्चालनमा ल्याएका छन् ।

पछिल्लो समयमा नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमन्त्री रिजाललाई प्रतिबन्ध लगाउँदा चोरी पैठारी बढेको र राजस्वमा सरकारलाई घाटा भएको भन्दै विदेशी ब्राण्डका वस्तुको आयात खुलाउन दबाब दिएको छ । साथै सो विषयमा मन्त्री रिजालले समेत विश्व व्यापार संगठनको नियमअनुसार रोक्न नमिल्ने भन्दै आँफूहरुको मागमा मन्त्री सकारात्मक भएको संघले दाबी गरेको छ ।

संघका अध्यक्ष सेठियाले ब्रिटनिया बिस्कुटलाई सरकारले आयातमा प्रतिबन्ध गरेपनि बजारमा ठूलो मात्रामा बिक्री भइरहेको दाबी गरेका छन् ।

Share News