विकासन्युज

इप्पानको साधारण सभा जेठ ३२ गते हुने

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को वार्षिक साधारण सभा जेठ ३२ गते हुने भएको छ । इप्पानको आइतबार बसेको कार्यसमितिको बैठकले जेठ ३२ गते साधारण सभा बोलाएको हो ।बैठकले यहि साधारणसभामा नयाँ कार्यसमितिको निर्वाचन गर्ने समेत निर्णय गरेको छ । यस्तै, निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गतेभित्र सदस्यता नविकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने समेत बैठकले निर्णय गरेको छ । साथै, बैठकले साधारणसभाका तयारीको लागि उपाध्यक्ष मोहन कुमार डाँगीको संयोजक रहने गरी सचिव राम प्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मुल तयारी समिति र संस्थाको हालको स्वरुपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउने सम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरत बहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरको छ ।

बैंकहरुको निक्षेप ५५ खर्ब नजिक, सीडी रेसियो ८४.८२ प्रतिशतमा झर्याे

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सहज बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन पनि बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुगेको छ । गत जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुको ७ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो दिन अर्थात् जेठ ३ गते बैंक तथा वित्तीय संस्थाहरुसँग ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप थियो । अघिल्लो दिनको तुलनामा बैंकहरुले एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको ७ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । अघिल्लो दिन बैंकहरुसँग ४८ खर्ब ३८ अर्ब रुपैयाँ थियो । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ४९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुले एक अर्ब रुपैयाँ कर्जा बढाएका छन् । गत जेठ ४ गते ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३ गते ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरुले ४२ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने ५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको निक्षेप संकलनमा वृद्धि भइ कर्जा प्रवाहमा कमी आउँदा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि सहज हुँदै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको सीडी रेसियो ८४.८२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बुद्ध एयरको जहाजमा फेरी भेटियो मुसा

फाइल फोटो काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ । बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो । आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।

अब सेयर बजार ५४३० को बिन्दुमा पुग्छ : लगानीकर्ता अम्बिर बोगटीको विश्लेषण

वि.सं.२०७२ सालदेखि सेयर बजारमा अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आयो । अनलाइनबाटै घरमा बसेर कारोबार गर्न पाउने व्यवस्था मिल्यो । सेयर बजार परिसूचक १०९८ अंकबाट बढेर ३२ सय अंकमा पुगेको बेला विद्यार्थी, गृहणी, कर्मचारी लगायत सबै सेयर बजारमा प्रवेश गरे । सेयरमा लगानी गरेपछि फाइदा पनि मनग्य हुने अवस्था थियो । ५६ लाखभन्दा बढी लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । ३२ सय अंकमा पुगेको सेयर बजार १८ सय अंकमा झरेपछि सक्रिय लगानीकर्ताको संख्या पनि घटेर २० लाख कायम भएको छ । वि.सं.२०६३ चैत्र २८ गते सम्पन्न पहिलो संबिधान सभाको चुनाबपछि वि.सं.२०६४ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीको सरकार बन्यो । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि देशमा आर्थिक गतिविधि बढे । बैंक तथा वित्तिय संस्थाहरु पनि धमाधम खुल्न थाले । घरजग्गा व्यवसाय पनि चम्कियो र सेयर बजार परिसूचक बढेर वि.सं. २०६५ भदौमा ११७५ अंकमा पुगेको थियो । सेयर बजारमा लगानी गर्नेले धेरै नाफा गरेको चर्चा थियो । मैले पनि सोही वर्षको माघदेखि सेयर बजारको अध्ययन गर्न थालें । जतिबेला म तत्कालीन सिभिल बैंकको संस्थापक थिएँ । ६ महिनामा सेयर बजार झण्डै ५० प्रतिशतले बढ्यो । एक वर्षमा १ सय प्रतिशतले बढ्ने देखियो । अन्य क्षेत्रमा वार्षिक १५÷२० प्रतिशत मात्रै नाफा हुन्छ । सेयर बजारमा लगानी गर्दा १ वर्षमा शतप्रतिशत नाफा हुन्छ भने १० वर्षमा १ हजार प्रतिशत फाइदा गर्न सकिन्छ भन्ने सोच बनाएर सेयर बजारमा प्रवेश गरेको थिएँ । त्यतिबेला बाबुराम भट्टराई अर्थमन्त्री हुनु हुन्थ्यो । विद्रोही पृष्ठभूमिबाट आएको हुँदा उहाँले सेयर बजार भनेको जुवा घर हो, यसमा लगानी गर्दा सजग भएर लगानी गर्नु होला भन्नु भयो । सेयर बजार यति सेन्सेटिभ हुने रहेछ कि सरकारमा रहेका जिम्मेवार ब्यक्ति तथा नीति निर्माताहरुले बोल्दाखेरी बहुत सोच विचार गरी बोल्नु पर्ने रहेछ । तत्कालीन समयमा उहाँले बोलेको सानो कुराले सेयर बजारलाई ठूलो असर पर्न गयो । बाबुराम भट्टराईले सो धारणा राखेपछि भदौमा ११७५ अंक रहेको सेयर बजार परिसूचक वि.सं.२०६६ साउनमा ७५० अंकमा झर्याे । झण्डै ३६ प्रतिशतले सेयर बजार परिसूचक घटेको थियो । मैले पनि सेयर बजार नेप्से परिसूचक ७५० अंक हुँदा लगानी गर्न सुरु गरेको थिएँ । वि.सं.२०६८ चैत्रमा नेप्से परिसूचक २९२ अंकमा झरेपछि मैले सुरुमा आफूसँग भएको पैसा र स्थीर सम्पति बेचेर आएको रकम झण्डै २० करोड जति लगानी गरेको रकम ६÷७ करोडमा झर्याे । १ सय रुपैयाँको लगानी ३९ रुपैयाँमा सीमित भयो । त्यसपछि सेयर बजारले डुबाउने रहेछ, जुवा घर नै रहेछ भन्ने लाग्यो । तर, २०६९ बैशाखदखि सेयर बजार बढेर वि.सं.२०७३ असारमा नेप्से परिसूचक १८८१ अंकमा पुग्यो । लगानी गरेको रकम तेब्बरले बढ्यो । त्यसपछि बजारमा रस बस्न थाल्यो । लगानी बढाउँदै पोर्टफोलियो पनि बढाउन थालेँ । सेयरमा लगानी गर्नका लागि कर्जा पनि लिन थालेँ । १५ वर्षको अवधिमा सेयर बजारको ट्रेण्ड वि.सं.२०६५ भाद्र मा नेप्से परिसूचक ११७५ को उच्चतम अंक रहेको सेयर बजार वि.सं.२०६६ साउनमा ३६ प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटेर ७५० अंक हुदै २०६८ चैत्रमा २९२ न्युनतम अंकमा झर्याे । नेप्से परिसूचक वि.सं.२०६५ भदौको ११७५ अंकलाई आधार मान्दा १६० प्रतिशत बढेर २०७३ असारमा नेप्से परिसूचक १८८१ अंक पुग्यो । १८८१ अंक रहेको सेयर बजार ४०÷४२ प्रतिशत घटेर वि.सं.२०७६ फागुनमा १०९८ अंकमा झर्याे । वि.सं.२०७३ सालमा १८८१ अंक हँदा लगानी गरेका लगानीकर्ताको सम्पत्ति ५८ प्रतिशतमा सीमित भयो । सोही फिगर वि.सं.२०७८ सालमा ३२०० अंक पुग्यो । वि.सं.२०७३ असारमा ११७५ अंकलाइ आधार मान्दा १८० प्रतिशत र वि.सं.२०७६ फागुनको न्यूनतम बिन्दु १०९८ लाई आधार मान्दा झण्डै ३ सय प्रतिशत सेयर बजार बढ्यो । यसरी बढेको नेप्से परिसूचक ३२ सय अंक पुगेको बजार वि.सं.२०८० बैशाखमा १८०८ अंकमा झरेको थियो । अहिले लगानीकर्ताको लगानी ४२÷४३ प्रतिशतले घटेको छ । लगानीकर्ताहरुले ३२ सय अंक हुँदा १ सय रुपैयाँ लगानी गरेको थियो भने अहिले घटेर ५७÷५८ रुपैयाँ मात्रै बाँकी रहेको छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा ४÷५ वर्षमा बजारको फिगर घट्ने र बढ्ने गरेको देखिन्छ । यस्तै, सेयर बजार ३ वर्ष घट्ने र २ वर्ष बढ्ने वितगको तथ्याङ्कले देखाउँछ । त्यसैले अब नेप्से परिसूचक ३२ सय अंकको फिगरलाई आधार मान्दा वि.सं.२०८२ असारमा सेयर बजार १६०÷१७० प्रतिशत बढेर नेप्से परिसूचक ५४०० अंक सम्म पुग्ने देखिन्छ । वि.सं.२०८० बैशाखको नेप्से परिसूचक १८०८ अंकलाई आधार मान्दा ३०० प्रतिशत फिगर बढ्न सक्ने देखिन्छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा बजार बढ्दाखेरी न्यूनतम विन्दुबाट ३ सय प्रतिशतसम्म बढेको देखिन्छ भने उच्चतम अंकलाई आधार मान्दा ४०÷४५ प्रतिशत सम्म घटेको देखिन्छ । जस्तो सेयर बजार नेप्से परिसूचक ११७५ अंक हुदै २९२ अंकमा झर्दा ६२ प्रतिशत र १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत सम्म घटेको थियो । १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत घटेर १०९८ अंकमा झरेको थियो । नेप्से परिसूचक १०९८ अंकलाई अन्तिम घटेको विन्दु मान्ने हो भने ३२ सय अंक पुग्दा बजार २९१ प्रतिशत बढेको थियो । अब नेप्से परिसूचक ३२ सय अंकलाई आधार मान्दा ४३.५ प्रतिशत घटेर १८०८ अंकमा झरेको देखिन्छ । हाल बजारमा नेप्से परिसूचक १८÷१९ सय अंकमा नै कारोबार भइरहेको छ । सबै उद्यमी ब्यबसायी लगानीकर्ताहरु ब्याजदर घट्नु पर्छ भनेर आवाज उठाईरहेका छन् । केहीले आन्दोलन पनि गरिरहेका छन् । सरकारको इच्छाशक्ती, नेपाल राष्ट्र बैकको केही नितिगत संशोधन, सुधार तथा बैक तथा वित्तीय संस्थाहरुको चाहना अनि सरोकारवालाहरुको सहयोग भएमा अहिलेको बैक कर्जा तथा ब्याजदर सम्बन्धी समस्या सहजै समाधान हुन सक्छ । नीति नियममा राष्ट्र बैंकले पनि सहजीकरण गर्नु पर्छ । समय परिस्थिती अनुसार देशको अर्थव्यवस्था, अन्तर्राष्ट्रिय प्रचलन, देशको ब्यालेन्स अफ पेमेन्ट, विदेशी मुद्रा सञ्चिती हेरेर राष्ट्र बैंकले कडाइ गर्नु स्वभाविक हो । सेयर बजारलाई धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सरकार लगायत सबै निकायले लगानीमैत्री नीति नियम बनाई सेवा सुबिधा दिनु पर्छ । सरकारले करका सिलिङलाई समय सापेक्ष बनाई सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर तिर्न सक्ने वातावरण बनाउनुपर्छ । नेपाल राष्ट्र बैंकले कर्जामा लगाउने क्यापिटल चार्ज÷जोखिमभार र कर्जा प्रवाहमा सहजीकरण गर्याे भने सेयर बजारमा सकारात्मक प्रभाव पर्छ । नेपाल धितोपत्र बोर्डले पनि नीति नियम बनाउँदा सरलीकृत र लगानीमैत्री बनाउनु पर्छ । सेयर बजार भनेको ब्यबस्थापन गर्न सक्ने एउटा उच्च जोखिमले भरिएको व्यवसाय हो । जोखिमको व्यवसाय भन्दैमा वित्तीय विवरण बिग्रीएका, संस्थापक÷संस्थापक,संचालक÷संचालकहरुमा दन्द्ध भएका, समस्यामा परेका, सस्थागत सुशासन राम्रो नभएका, लाभांश इतिहास राम्रो नभएका कम्पनीलाई बजारमा प्रवेश रोक लगाउनु पर्छ । राम्रा कम्पनी, संस्थागत सुशासन राम्रो भएका, लाभांशमा अब्बल, अनुभवी संस्थापक, सञ्चालक उच्च ब्यबस्थापन तथा कर्मचारी बीच सहकार्य राम्रो भएका, आर्थिक अनुसाशन अब्बल भएका÷गरेका कम्पनीहरुलाई पूँजी बजारमा ल्याउनु पहल गर्नुपर्छ । लगानीकर्ताहरुले पनि सबै सुचकहरु राम्रो भएका कम्पनीहरु छनोट गर्न सक्नु पर्छ । सेयर बजार घटेको बेला सबै कम्पनीको मूल्य घटेको हुँदैन । बजार बढेको बेलामा पनि सबै कम्पनीको मूल्य बढेको हुँदैन । केही त्यस्ता कम्पनीहरु छन्, जुन घट्दा थोरै घट्छन्, अनि बढ्दा धेरै बढ्छन् । ती कम्पनी छनोट गरेर लगानी गर्ने हो भने हामी सुरक्षित हुन सकिन्छ । हल्लाको भरमा लगानी गर्ने हो भने बजारमा जहिले पनि डुबिन्छ । सेयर बजार फुटबल जस्तै हो । बललाई जति तल बजार्याे त्यति नै माथि जान्छ । वि.सं.२०६५ भाद्रमा ११७५ अंक हुदा १ सय रुपैयाँ लगानी गरेको रकम २०६८ चैत्रमा २९२ अंक हुदा घटेर सो लगानी २५ रुपैयाँ मात्रै बचेको थियो त्यस्तै वि.सं. २०६८ सालमा २९२ अंकमा झरेको बजार ५ वर्ष अर्थात् वि.सं. २०७३ सालमा १८८१ अंक पुग्यो । अहिलेको असर भनेको कोरोना महामारी कै प्रभाव हो । सन् २०१९ देखि सुरु भएको कोरोना महामारी २०२१÷२०२२ सम्म रह्यो । जसले होटल÷पर्यटन व्यवसायमा अहिलेसम्म पनि असर गरिरहेको छ । साथै, रुस र यूक्रेनको युद्धले खाद्यान्न लगायत इन्धन तथा कच्चा पदार्थको अभाव भई अन्तराष्ट्रिय रुपमै मुल्य बृद्दि भयो र बिश्बब्यापी आर्थीक मन्दि भई उद्योग व्यवसायमा नकारात्मक असर पर्याे । अन्तर्राष्ट्रिय आर्थीक चेन नै खलबल्याएको छ । दक्षिण एशियाका राष्ट्रहरु श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स लगायतका देशको आर्थीक अबस्था बिग्रिएर टाट पल्टिने अवस्थामा पुगे । नेपालमा भारतीय रुपैयाँसँग स्थीर विनिमयदर भएका कारण कम असर पर्याे । डलरको मूल्य तलमाथि हुँदा पनि भारतीय रुपैयाँमा कारोबार गर्न सकिन्छ नेपालको झण्डैलदुईतिहाइ आर्थीक कारोबार भारतसँग हुन्छ । हामी भारतीय रुपैयाँ दिएर पनि उक्त कारोबार गर्न पाउँछौं । यदि भारतीय रुपैयाँको दर पनि स्थीर नहुने र भारतसँग पनि डलरमै कारोबार गर्ने हो भने नेपाललाई साह्रै गाह्रो हुन्छ ।भारतको अर्थव्यवस्थाले नेपालको अर्थव्यवस्था पनि सहयोग पुर्याउँदै आएको छ । भारु र डलरको दरमा जब तलमाथि हुन्छ तब मात्रै नेपालमा असर देखिन थाल्छ । नेप्से परिसुचक ५४०० अंकसम्म पुग्ने आधार बिगत १५ बर्षको शेयर बजारको उतारचढाबको आधारमा वि.सं.२०८२ असारमा सेयर बजार नेप्से परिसुचक ५४०० अंक सम्म पुग्न सक्ने आकलन गरिएको हो । किनकी हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाउँछ । कोरोना महामारीको असर कम हुँदै गएको छ । अहिले कोरोनालाई सामान्य रुघाखोकीका रुपमा लिने गरिएको छ । ब्यापार व्यवसाय चलायमान भइरहेको छ । सर्वसाधारणको दैनिकी पनि पुरानै अवस्थामा फर्किरहेको छ । रुस र यूक्रेन युद्ध पनि समाधान उन्मुख हुँदै गएको भएर इन्धनको मूल्य पनि घटिरहेको छ । सरकारले पनि आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गैह्र आवासीय नेपालीहरुलाई सेयर बजारमा लगानी खुल्ला गराउने र पूँजी बजारको संरचनागत सुधार गर्ने तथा लगानीमैत्री नीति नियमहरु सहज बनाउन तदारुकता देखाएको छ । देशमा स्थानिय, प्रदेश तथा संघिय तहको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । नेपाल राष्ट्र बैकले हालै गरेको तेश्रो त्रैमासिक मौद्रिक नितिको समिक्षामा पनि बैंकदर घटाएको र बैंक तथा वित्तीय संस्थाहरुको लगानी रकम बृद्धि हुने गरी समय थप गरेको छ । विगत ३ महिनादेखी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर २ प्रतिशत भन्दा बढी बिन्दुले घटिसकेको र आगामी दिनहरुमा अझ घट्न सक्ने देखिएको छ । देशमा आर्थिक गतिविधि बढ्दै गइरहेको छ । उद्योगधन्दाहरु चलायमान भइरहेका छन् । यी सबै कुराहरुलाई हेर्ने हो भने बजार अवश्य बढ्छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढेको विगतको इतिहास छ । ब्याजदर र बजारको सम्बन्ध उल्टो छ । ब्याजदर बढेपछि बजार जहिले पनि घटेको देखिन्छ । आर्थिक वर्ष २०६६÷६७ सालमा निक्षेपको दर १३ प्रतिशत पुगेको थियो । सेयर बजारमा जाने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म थियो । यस्तै, २०७२ सालको भुकम्प जानु भन्दा अघि पनि ब्याजदर बढेको थियो । भूकम्प अघि पनि तरलता अभाव भएको थियो । वि.सं.२०७६ मा भारतबाट नाकाबन्दी भएको थियो । नाकाबन्दी भएपछि सेयर बजार बढ्यो । कोरोना महामारी न्यूनिकरण गर्न सबै क्रियाकलाप बन्द भए तर, सेयर बजार बढ्यो । जब ब्याजदर घट्दो ट्रेण्डमा जान्छ तब सेयर बजार बढेको इतिहास छ । सेयर बजार ब्यक्तिगत लगानीले मात्र धान्न सकिदैन । अन्तर्राष्ट्रिय बजारमा ३५ प्रतिशत बढी संस्थागत लगानी हुने गर्छन । सेयर बजारमा आईपीओ धमाधम आइरहेका छन् । नियामकले पनि जस्तो पायो त्यस्तै कम्पनीलाई आईपीओ निस्कासन गर्न अनुमति दिनु हुँदैन । कम्पनीहरुले कर्जा तथा ब्याज भुक्तानी गर्नको लागी आईपीओ निस्कासन गर्न अनुमति दिने परिपाटीलाई कडाई गर्नुपर्छ । केही कम्पनीहरुको आईपिओ निस्कासन पछि कारोबार सुरु भएको केही दिनमै मूल्य ७÷८ सय रुपैयाँ पग्ने गर्छ । जस्तै चन्द्रागिरी हिल्सको कारोबार सुरु भएको केही दिनमै २८ सय रुपैयाँ सम्म पुगेको थियोे । के यी कम्पनीको सेयर मूल्य स्वभाविक हो ? यस्ता कम्पनीको सेयरमा जोखिम बढ्दै गएको देखिन्छ । लाभांश पनि दिन सकेका छैनन् । बैंकको सेयर किन्दा जहिले पनि सुरक्षित छन् । राष्ट्र बैंकले राम्रोसँग मोनिटरिङ गरिरहेको छ । बैंक तथा वित्तीय संस्थालाई सुक्ष्म निगरानीमा राखेर राष्ट्र बैंकले अनुगमन गरिरहेको छ । बैंकहरुले जहिले पनि १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने क्षमता राख्छन् । तर, त्यहि बैंकको सेयर मूल्य हेर्ने हो भने बिगत २० वर्षअघि १ सय रुपैयाँमा आईपीओ जारी गरेको बराबर मुल्यमै पुगेको छ । अहिले पनि केही बैंकको सेयर १५० रुपैयाँ पाइन्छ ।हाल नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ता नगन्य मात्रामा छन्, ब्यक्तिगत लगानीकर्ता मात्रै छन् । २२ अर्बमा भएको कारोबार ६२ करोडमा झरेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप लगाएको छ । राष्ट्र बैंकले १२ करोडको क्याप लगाउनु उचित छैन । कुनैपनि बैकले कर्जा दिदा कुनैपनि ऋणिको उद्यमशीलता गर्ने क्षमता, जोखिम मोल्न सक्ने क्षमता र क्यास फ्लो तथा टर्नओभर मिलाउन सक्ने क्षमता र, कति जनशक्तीलाई रोजगारी दिएको छ यी सबै कुरा जाँच गरेर मात्रै कर्जा दिनु पर्छ । १२ करोडको क्याप लगाउनु हुदैन । कहिलेदेखि बढ्छ ? जब तरलता अभाव हुन थाल्यो, बैंकले निक्षेपको ब्याजदर बढाउन थाले, बैंकका कर्मचारी घरघर पठाएर निक्षेप उठाउन थाले भने अब बजार घट्छ भनेर अनुमान गर्नु पर्छ । जब कर्जा लिन आउनुहोस् भनेर बैंकहरुले भन्न थाल्छन् तब बजार बढ्छ । अहिले पनि २ प्रतिशतभन्दा बढी ब्याजदर निक्षेपमा घटिसकेको छ । २ प्रतिशत घट्नु भनेको ९० प्रतिशत लगानी गर्न पाउँछन् । कर्जामा १.८० रुपैयाँ जति ब्याजदर असार मसान्तपछि घट्न सक्छ । ब्याजदर घटाउने अन्य तरिकाहरु पनि छन् । अहिले निक्षेपको ब्याजदर बढाउनु पर्याे भनेर कसैले पनि आन्दोलन गरेका छैनन् । अहिलेसम्म निक्षेपको ब्याज कम भयो भनेर कसैले पनि गुनासो गरेका छैनन् । अहिले त कर्जामा ब्याज बढि लियो भनेर गुनासो गरेका हुन् । अब ब्याजदरका कारण बजार प्यानिक हुँदैन । बजारको अन्तिम विन्दु भनेको यहि हो । अन्तिम विन्दु यहि हो भन्दैमा जुनसुकै कम्पनीको पनि सेयर खरिद गर्नु हुँदैन । जुन पायो त्यहि कम्पनीको सेयर किन्नु भनेको अँध्यारोमा ढुंगा हान्नु जस्तै हो । अहिले सरकारले घरजग्गाको कित्ताकाट पनि खुकुलो बनाइरहेको छ । सरकार पनि अहिले सिरियस भएर काम गरिरहेको छ । अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ब्याजदर घटाउन सार्वजनिक रुपमा बोल्नु भएको छैन । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै ब्याजदर घटाउन तदारुकता देखाउनु भएको छ । उहाँले उद्योगी व्यवसायी र लगानीकर्ताहरुलाई ब्याजदर घटाउने भनेर आश्वासन दिँदै आउनु भएको थियो । केही घटाएर देखाउनु पनि भयो । नेप्से परिसुचक २९२ अंकमा बजार झर्दा असाध्यै मनोबल कमजोर भएको थियो । नेप्से परिसुचक ११७५ अंकबाट २९२ अंकमा झर्दा सेयर लगानीकर्ता आत्तिएका थिए । तर, अहिले उनीहरुको लगानी ६ सय गुणा भन्दाले बढेको छ । उनीहरु घाटामा छैनन् । ३२ सय अंक हुँदा प्रवेश गरेका लगानीकर्तालाई भने समस्या परेको छ । जसले व्यवसाय र पेशा गरेर लगानी गर्ने लगानीकर्ताहरु भने समस्यामा परेका छैनन् । सरकारले नीति नियम बजार बढेको बेला अमैत्री र घटेको बेला मैत्री बनाउनु हुँदैन । नीति नियमलाई समय सापेक्ष राख्नुपर्छ । बजार बढेको बेला कर बढाउने र घटेको बेला घटाउने गर्न हुँदैन । लगानीकर्ताको कर तिर्नसक्ने क्षमता बढाउनु पर्दछ । बजार बढेपछि सरकारको राजश्व पनि बढ्छ । नेप्से परिसुचक ३२ सय अंक पुगेका बेला बार्षिक १५ अर्ब जति राजश्व सेयर बजारको कारोबारबाट उठेको थियो तर, अहिले १ अर्ब पनि मुस्किलले संकलन भएको देखिदैन । त्यसैले सरकारले राजश्व पनि गुमाएको छ । एउटा नीति ल्याएपछि ५÷१० वर्षसम्म परिवर्तन गर्न हुँदैन । पूँजी बजार भनेको देशको अर्थतन्त्रको ऐना हो, ठूलठूला उद्योग व्यवसाय स्थापना तथा सञ्चालनका लागि पूँजी संकलन पूँजी बजारबाटै गर्न सकिन्छ । जनतामा छरिएर रहेको पूँजी यही बजारबाट संकलन गर्न सकिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले पनि कर्जामा सहजीकरण गर्ने व्यवस्था गर्नु पर्छ । मौद्रिक नीति ल्याउँदा धितोपत्र बजारमा पर्ने असरलाई पनि ख्याल गर्नु पर्छ । राष्ट्र बैंकले नियन्त्रण गर्ने भन्दैमा एउटा क्षेत्रलाई पुरै अप्ठ्यारो पार्नु हुँदैन । ४० खर्ब पूँजीकरण पुगेको बजार अहिले २८ खर्बमा झरेको छ । सेयर बजार जहिले पनि देशको जीडीपीको हाराहारी हुनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसैले सेयर बजारलाई सबैले माया गरिदिनु पर्याे । सेयर बजारलाई सट्टेबाजी, जुवाघर, अनुत्पादक क्षेत्र भनेर देशका सरकार तथा राजनितिक पार्टीका जिम्मेवार ब्यक्तिहरुले सार्वजनिक अभिब्यक्ति दिनु भएन र सरकारले पनि यस्तो कार्यमा रोक लगाउनु पर्छ ।

सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो । बैंकले विशेष ग्राहकलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिनेछ । यसै गरि बैंकले, आफ्नो एप मार्फत नेपालपे को क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकले फोनपेका अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । यसका साथै, बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

पाँच रुपैयाँमा किन्न आए बन्दागोभी

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएकाे बन्दागोभी बिक्री नहुँदा मारमा पारेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन । चौधरीले घोराही–६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ । एक विघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ । बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उनको भनाइ छ । ‘घरखर्च धान्न सकिएला की भनेर एक विघामा बन्दागोभी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ’, चौधरीले भने–’खरिद गर्न कोही पनि आएका छैनन् ।’ प्रतिकिलो पाँचका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ । चौधरीले ७० हजार खर्च गरेर एक विघा जमिनमा बन्दागोभी लगाएको बताए । उनले भने, ‘बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु ।’ प्रतिकिलो पाँचमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उनको भनाइ छ । हाल पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउँछन् । ‘व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाए’, उनले भने । यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ–धौ भएको उनले बताए । विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिएका थिए । ‘बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन’, उनले भने । तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउँछन् । ‘अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ’, उनले भने । जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन् । रासस

सहकारीका बचतकर्ताको पैसा तिर्न नसकेपछि मेयर नै फरार, खोजी गर्दै प्रहरी

काठमाडौं । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि मेयर नै फरार भएका छन् । सहकारीबाट लिएको ऋण र्ति नसकेपछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनी सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको बुझिएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ । पछिल्लो समय विभिन्न सहकारीमा सममस्या सिर्जना भएको छ । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर सञ्चालकहरु फरार भइरहेका छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । व्यवसायीका नामले पनि परिचित उनले बुर्तिबाङमा एउटा फेन्सी पसलबाट व्यवसाय सुरु गरेका थिए । अहिले उनले काठमाडौं, पोखरा, बागलुङ र बुर्तिबाङमा व्यवसाय गरिरहेको बताइएको छ । उनले व्यवसायमा सफलतासँगै राजनीतिमा पनि प्रवेश गरेका थिए भने सँगै सहकारी पनि सञ्चालन गर्दै आएका थिए ।

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिनले गर्यो सम्झौता

काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुटै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविधालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी लागू गरिने भएको हो । उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयकोतर्फबाट उपकुलपति प्रा।डा। यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादनमा गर्ने उक्त सम्झौता गरिएको सिबिफिनले जानकारी दिएको छ । सिबिफिनले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई व्यवहारिकतारउत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्ने उक्त पाठ्यक्रम निर्माण गर्ने लागिएको बताएको छ । उक्त सम्झौताले बैंकिङ बजारको आवश्यकताको परिपूर्ति मात्र नभइ स्तरीय शिक्षाका लागि ठूलो धनराशीलाई रोक्दै शिक्षाका लागि विदेशी विद्यार्थीलाई आकर्षित गर्न र नेपाललाई शैक्षिक पर्यटनकोरुपमा विकास गर्न पनि यस संम्झौताको कार्यान्वयनले महत्वपूर्ण टेवा पुग्ने सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बताए । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले निर्माण हुने पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा लागू गर्ने बताएका छन् । उक्त पाठ्यक्रमले बैकिङ क्षेत्रका व्यवहारिक विषयहरुमा ज्ञान दिनुका साथै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादनमा ठोस योगदान पुग्ने उनको भनाइ छ ।