विकासन्युज

नेपालगञ्जका उपमहानगरले सहकारीलाई नियमन गर्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए । उनका अनुसार, सहकारी ऐन र प्रलचित नियम कानुनबमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटि र सुधारका लागि आवश्यक सल्लाह सुझाव दिँदै सहकारीलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न अनुगमन गरिएको छ । उपमहानगरपालिकाको कार्य क्षेत्रभित्र रहेका सहकारीको नियमित अनुगमन गर्दै आएको सहकारी शाखाको अनुगमन टोलीले आइतबार नेपालगञ्ज–१८ कारकाँदोस्थित पशुपति बहुउद्देश्यीय सहकारी संस्था र सहारा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । अहिलेलाई सुझावसहित सच्चिन आग्रह गरिएको तर अर्को पटक अनुगमन गर्दा नसच्चिएको पाइए कार्वाहीको प्रक्रिया अगाडि बढाइने सहकारी शाखा प्रमुख रानाले बताए । पशुपति र सहारा दुबै सहकारीले प्राप्त सुझाबका आधारमा त्रुटि सच्चाउँदै आगामी दिनमा सुव्यवस्थित र सृदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रियालगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको अनुगमन टोलीका सदस्य एवं जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले जानकारी दिए । रासस

विद्युत्‌को बक्यौता रकम नतिरेका २७० ग्राहक कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार आठ सय ८१ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ । ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए । उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।’ यस वितरण केन्द्रअन्तर्गत एक लाख रुपैयाँभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए । उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् । रासस

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुन्जे गाउँमुनिको पहाडको फेदी र काली गण्डकी नदीको किनारमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी काली गण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए । ‘बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो’, उनले भने, ‘एक पटकमा तीन–चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौँ ।’ जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा बेँसी र बेनी–जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ । दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । तातोपानी स्नान गर्न आउनुभएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताइन् । ‘सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो’, उनले भनिन् ‘५५–६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।’ दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ गर्दथे । तातोपानीको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् । अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए । ‘तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्’, उनले भने, ‘अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकै पटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रुपमा प्रयोग भएका छन् । रासस

नेप्सेमा एकै दिन ५ कम्पनीको बोनस सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शांग्रीला डेभलपमेन्ट बैंक, एलएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनीटी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । शांग्रीला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनस वापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस वापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस वापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, इन्फिनीटी लघुवित्तको २० प्रतिशत बोनस वापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, सबैको लघुवित्तको १८ प्रतिशत बोनस वापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड लगानी गर्ने

काठमाडौं । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो । जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युत्को उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए । बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरु भइरहेको उल्लेख गरे । उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीं खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे । प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब ८ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए । उनले निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाइनु पर्नेमा जोड दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारीले आयोजनाको निर्माण चारभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको बताए । तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । तामाकोशी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ । माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रोमेकानिकल काम बाँकी रहेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ । आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ । आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।

२ सहकारी संस्थाले काठमाडौंमा घरजग्गा बेच्दै

काठमाडौं । दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका ६ महाँकाल स्थित सिट नम्बर १०२१०२८-११, कित्ता नम्बर ६३९, ६४१, ६४३, ६४५ को क्रमशः ०-१-०-३, ०-१-०-२, ०-३-१-२, ०-१-१-०, गरी जम्मा क्षेत्रफल ०-६-३-३ भएको जग्गा बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । सहकारी संस्थाको केन्द्रिय कार्यालय धुम्बाराही काठमाडौंमा बोलपत्र पेश गर्नु पर्नेछ । यस्तै, आइएमई कोअपरेटिभ सर्भिसले पनि आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको नाममा मालपोत कार्यालय चावहिल काठमाडौंमा दर्ता कायम साविक जोरपाटी गा.वि.स. ६ स्थित सिट नम्बर १०२१०२९१० को कित्ता नम्बर १९ को ३३०.४० वर्गमिटर क्षेत्रफल भएको जग्गा र सो जग्गामा बनेको ३३७८.२७ वर्ग फुटको घर, कम्पाउण्ड सहितको चर्चको सम्पूर्ण सामान बिक्री गर्ने भएको हो । ३५ दिन अर्थात् असार १० गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु असार ११ गते खोलिने बताएको छ ।

बिहे नगरी ‘बिए’ गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँ

कमलामाई । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप १ लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन् । विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । उनका अनुसार गाउँपालिकाकोे शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ । स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ । सोही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका ५ जना किशोरीलाई जनही १ लाख हस्तान्तरण गर्यो । मरिण–७ का ४ जना र वडा नं ६ की १ जना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो । अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट १ लाख बुझेकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताइन् । उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने बताउने उनी आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा थिइन् । ‘गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ । मैले परिवारको सहयोगमा स्नातक पास गरेँ, अब आफैँ कमाएर पढ्नु पर्ने, जागिर पाएकै छैन,’ उनले भनिन् । मरिण महेश्वरताकी मनमाया कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर तेस्रो सेमिस्टार पढ्दै छिन् । विसं २०७६ मा स्नातक तहको पढाइ मरिण बुहुमुखी क्याम्पसबाट पूरा गर्नुभएकी उनी र बहिनी चित्रकुमारी कँडेलले एकैसाथ गाउँपालिकाबाट एक÷एक लाख प्रोत्साहन रकम पाइन् । चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षामात्र पास गरेका छन् । भाइले १० कक्षा उत्तीर्ण गरेर पढाइ छोडेका छन् । बहिनी चित्रकुमारीको साथमै रहनुभएकी मनमायाले भनिन्, ‘दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ, गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ, पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन, यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।’ वि.सं २०७८ मा स्नातक उत्तीर्ण गरेकी मरिण–६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै छिन् । उनलाई मरिणको प्रोत्साहन कार्यक्रम राम्रो लाग्यो । जागिर नपाएर लोकसेवा पढ्न थालेको बताउने उनले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाइन् । एक लाख प्राप्त गरेकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता रहेको बताउँछिन् । सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनी बताउँछन् । यो कार्यक्रमको ठूलो महत्त्व रहेको र अरू पालिकाले पनि लागू गर्नु पर्ने उनको भनाइ छ । यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका÷हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उनको धारणा छ । ‘सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनुपर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनुपरेको छ, स्थानीय सरकारले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । मरिणका विद्यालय तथा क्याम्पसको तथ्याङ्कलाई आधार मान्दा जति जति कक्षा पढ्दै जान्छ, विभिन्न समस्याका कारण उतिउति पढाइ छोड्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ । मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालले भने, ‘स्नातक तहको पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए, चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन् ।’ गाउँमै रोजगारी भएका विद्यार्थी स्थानीय क्याम्पसमा पढ्ने र बेरोजगार भएकाहरू बीचैमा पढाइ छोडेर कमाउन सहर जाने गरेका उनको भनाइ छ । उनका अनुसार स्थानीय क्याम्पसबाट स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप एक लाख दिने मरिण सरकारको कार्यक्रम स्वागतयोग्य छ । यस कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँठाउँको विद्यालय पढ्न फर्कनेछन् । अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बालविवाह न्यूनीकरण हुनेछ । बीचैमा पढाइ छोडेकाले पढ्न सुरु गर्ने छन् । ‘यो सबैथोक हो तर, पूर्ण होइन, पूर्ण बनाउन यस कार्यक्रमको प्रचारप्रसारसहित अभिभावक शिक्षा दिन पनि आवश्यक छ, अन्य कार्यक्रमलाई पनि सँगैसँगै लैजानुपर्छ,’ उनले भने । रासस

भूटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भूटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन् । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एकवर्षे उपलब्धि कार्यक्रममा उनले भ्रष्टाचार देशद्रोही कदम भएको र भूटानी शरणार्थी प्रकरणमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए । राजनीतिक कार्यकर्ताहरुले कसैको दबाब र प्रभावमा काम गर्दा देश नै दुर्घटनाग्रस्त हुने बताउँदै अध्यक्ष बिजुक्छेँले नेपाल विदेशी शक्तिसामु झुके साम्राज्यवादीहरुको जालोमा फस्ने बताए । विदेशका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था देशको हित विपरीत हुने बताउँदै उनले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्नु नै राजनीतिको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर मौलिकता जोगाउन सफल संसारकै एक आकर्षक सहरका रुपमा अगाडि बढिरहेको बताउँदै यहाँको शैक्षिक अभियान पनि विशिष्ट रहेको चर्चा गरे ।