आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम जेठ ३ गते देखि १० गतेसम्म ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत १३५ जना फिल्ड कर्मचारीको सहभागीता रहेको थियो । उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए । साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी सहित विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ, राजिव डंगौरा लगाएत सुदिप श्रेष्ठ र रुपेश घिमिरेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गरेका थिए ।
आर्थिक सङ्कट समाधानमा सहकार्य गर्न विकास साझेदारलाई महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन् । बिहीबार ढकालले नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरसँगकाे भेटमा यस्ताे आग्रह गरेका हुन् । उनले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरे । भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो । अध्यक्ष ढकालले महासङ्घको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासङ्घ महत्वपूर्ण साझेदार हुनसक्ने बताए । आवासीय संयोजक हाना सिङ्गरले महासङ्घका अध्यक्षले राखेकाे विषयलाई आफूले महत्वका साथ लिएको बताइन् । उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राखेकी थिइन् । दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उनको भनाइ छ । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उनले बताए । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।
भ्रष्टाचारीमाथि अनुसन्धान गर्ने निकायका प्रमुख नै भ्रष्टाचारको बाटोमा
काठमाडौं । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा छ । यो प्रकरमा ‘हाई प्रोफाइल’हरु मुछिएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त पनि यो प्रकरमा संलग्न भएको बयान अभियुक्तहरुले दिएका छन् । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम लिएको विषय पनि अहिले ब्यापक बहसमा आएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा संग्लन भएकोे भन्दै प्रहरीले पक्राउ गरेका अभियुक्तले उनी गृहसचिव हुँदा एक करोड रुपैयाँ गाडीमा राखेको बताएपछि राईमाथि प्रश्न उठेको हो । सो प्रकरणको गिरोहका नाइके सानु भण्डारी र केशवप्रसाद दुलालले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानका क्रममा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इद्रजित राई मार्फत् सिंहदरबारमै सचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिएको बताएका थिए । उनीहरुले सचिवको गाडीमा नगद राखेर उनलाई भेट्न कार्यकक्षमा समेत गएको बताएका थिए । नगद राखेर उनलाई भेट्न जाँदा काम हुन्छ तपाईहरु ढुक्क हुनुस् भनेपछि हामीहरु फर्किएको उनीहरुले प्रहरीलाई बयानका क्रममा भनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तहरु भ्रष्टाचारको मुद्दामा मुछिने विषय भने नयाँ होइन । विभिन्न समयमा आयोगका प्रमुख नै भ्रष्टाचारमा मुछिने गरेका समाचारहरु बाहिरिने गरेपनि उनीहरुमाथि अनुसन्धान भने फितलो हुने गरेको छ । संवैधानिक परिषद्बाट सिफारिस भई २०७० साल वैशाख २५ गते लोकमान सिंह कार्कीलाई अख्यितारको प्रमुख आयुक्तका रूपमा नियुक्ति लिए । उनले नियुक्ती लिएसँगै आयुक्तका लागि उच्च नैतिक चरित्र र ख्याति प्राप्त नभएको भन्दै उनकोे नियुक्तीविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भयो । अधिवक्ता ओमप्रकाश अर्यालले उनको नियुक्ती विरुद्ध मुदा दर्ता गरेका थिए । २०७० को वैशाखमा मुद्धा दर्ता भएकोमा सर्वाेच्चले २०७३ को पुसमा उनको नियुक्त बदर हुने ठहर ग¥यो ।सर्वोच्चको आदेशसँगै लोकमानसिंह कार्कीको नियुक्ति बदर भयो र उनी पदमुक्त भए । तर, नियुक्ति भएको करिब एक वर्षपछि मात्रै उनी अयोग्य ठहरिए । यद्यपि नियुक्ति भएको ४ वर्ष उनले अख्तियारमा एकछत्र राज चलाए र धेरैलाई त्राहीमाम बनाए । उनीमाथि भ्रष्टाचार मुद्दा चलेको र सफाइ पाएको, जनआन्दोलनका क्रममा शक्ति र पदको दुरूपयोग गरेको, मानव अधिकारको उल्लङ्घन गरेको लगायतका विभिन्न आरोप उनीमाथि लगाइएको थियो । यस्तै, तत्कालीन प्रमुख आयुक्त राजनारायण पाठक पनि भ्रष्टचारको मुद्दामा दोषी ठहर भएका छन् । भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै अख्तियारका आयुक्त पाठकले लम्बोधर न्यौपानेमार्फत् ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो । घुस लेनदेन गरेको स्वीकारोक्तिको भिडियो बाहिरिएपछि अख्तियार आफैले पूर्व आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपानेविरुद्ध २०७५ चैत १२ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । करिब ४ वर्ष चलेको मुद्दामा २०७८ को पुस २८ गते विशेष अदालतले अख्तियारकै पूर्व आयुक्त पाठक र कलेजका अध्यक्ष न्यौपानेलाई भ्रष्टाचारको उद्योग गरेको भन्दै जनही तीन वर्ष ३ महिनाको कैद सजाय र भ्रष्टाचार उद्योगमा घुस बार्गेनिङको आधा रकम अर्थात् जनही ३९ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ । यस्तै, आयोगमा प्रमुख आयुक्त बनिसकेका दीप बस्न्यातविरुद्ध पनि अख्तियारले नै भ्रष्टाचारको मुद्दा दायर ग¥यो । लामो समयको अनुसन्धानपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १ सय ७५ जनालाई आरोपी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । बस्न्यात भूमिसुधार मन्त्रालयको सचिव हुँदा सरकारी जग्गा व्यक्तिका नाममा सार्ने गरी भौतिक पूर्वाधार मन्त्रालयबाटै टिप्पणी उठेको थियो । विशेष अदालतको आदेशपछि उनी हाल डिल्लीबजार कारागारमा छन् । राजनीतिक दलहरुले भागबण्डा गरे आयोगको प्रमुख आयुक्त नियुक्त गर्दा अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठ्न थालेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । उनले अख्यितारका आयुक्त नियुक्तीमा राजनीतिक भागबण्डा हुँदा अख्तियारको छवि नै खलबलिएको टिप्पणी गरे । राजनीतिक भागबण्डाकै कारण लोकमानसिंह कार्कीदेखि प्रेमकुमार राईमाथि चलिरहेको मुद्दा हेर्दा पनि त्यो विषयको छनक पाउन सकिन्छ । भ्रष्टाचार र अनुचित कार्यको छानबिन गर्ने र दोषी भेटिए कारबाहीका लागि मुद्दासमेत दायर गर्ने अख्तियारकै प्रमुखहरु भ्रष्ट हुँदा आम जनताले अख्तियारलाई हेर्ने नजर समेत गुमेको उनको भनाइ छ । ‘पछिल्ला घटनाले हाम्रो देशको फेलर देखाउँछ, हामी नैतिक रुपमा कति पतन भएका छौँ भन्ने ज्वलन्त उदाहरण अख्तियारका आयुक्तहरु हुन्’, उनले भने । उनले अख्तियारको वि बचाउनैका लागि प्रेमकुमार राईमाथि लगाईएको आरोपको छिटो छानवि हुनुपर्नेमा जोड दिए । यस्तै, उनले राईमाथि आरोप लागेपछि सवैधानिक नियुक्तीबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नु पर्नेमा जाड दिए । ‘चिनीले आफ्नो गुलियोपना सखाएपछि गुलियो खोज्न कहाँ जाने भने जस्तो हो, भ्रष्टाचारको छानविन गर्ने निकायकै प्रमुख भ्रष्ट हुँदा अख्तियारको विश्वसनियता माथि नै प्रश्न उठ्यो’, उनले टिप्पणी गर्दै भने ।
रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा
काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफीको निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ । टिकापुरमा २०७२ भदौमा भएकाे हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको हाे । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी हिंसात्मक घटना भएकाे थियाे । संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।
स्टुडेन्ट भिसामा विदेश जान चाहनेले कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?
काठमाडौं । पछिल्ला वर्षहरुमा कक्षा १२ को पढाइ सकिएपछि विदेश जाने विद्यार्थीहरुकाे संख्या बढेकाे छ । विदेश गएर पढ्ने कमाउने विषयमा लाखौं नेपाली विद्यार्थीहरुको आकर्षण पनि देखिन्छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ८१ हजार पाँच सय विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर- एनओसी) विद्यार्थीले लिएका छन् । विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा एनओसी लिने विद्यार्थीको संख्यमा वृद्धि हुँदै गएको छ । सामान्यतया अध्ययनको लागि विदेश जाने धेरै विद्यार्थीहरु ती मुलुकमा पढ्दै कमाउँदै गर्न सकिने अपेक्षा राखेर गएका हुन्छन् । नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको प्रवृत्तिलाई हेर्दा उनीहरुको पहिलो रोजाई अस्ट्रेलिया, जापान, युके, अमेरिका, न्युजिल्यान्ड लगायतका देशहरुमा देखिन्छ । ती मुलुकहरुमा अध्ययन गर्न जानको लागि निश्चित भाषा परीक्षामा तोकिएको अंक ल्याउनुपर्ने व्यवस्था त छँदैछ त्यसको अलावा खासगरी पढ्दै कमाउने अपेक्षा राखेर विदेश जाने विद्यार्थीहरुले कस्तो सीप सिकेर जाँदा उनीहरुलाई सहज हुन्छ ? अल्फाबिटा एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष तथा सञ्चालक द्विराज शर्माले अमेरिका बाहेक अस्ट्रेलिया, युके, क्यानडा लगायतका मुलुकमा विद्यार्थीले पढ्दै गर्दा काम पार्ट टाइम काम पाउने हुँदा केही कामहरु सिकेर जाँदा सहज हुने बताएका छन् । शर्माले विदेशमा विद्यार्थीहरुले खासगरी कफी बनाउन, क्लिनिङ गर्न, वेटर गर्न, आइटी लगातका क्षेत्रमा काम पाउने हुँदा सो सम्बन्धी तालिम लिएमा उनीहरुलाई सहज उनको शर्माको भनाइ छ । ‘अन्डरग्रयाजुएटको विद्यार्थीले विदेशी मुलुकमा गएर गर्ने भनेको कफीसप, बेकरी, कुकिङ, क्लिनिङ, सेक्युरीटी गार्ड लगायतका क्षेत्रमा हो’, उनले भने, ‘यदि उनीहरुको स्कुलको अध्ययन एकदमै राम्रो छ भने उनीहरुले आइटीको कोडिङ गर्ने काम पनि पाउन सक्छन् ।’ मास्टर्स पढ्न जाने विद्यार्थीहरुसँग क्षमता हुने भएकाले उनीहरुले ती मुुलुहरुमा नै गएर अध्यापन गर्ने सम्बन्धी सर्टिफिकेट लिएर काम शुरु गर्न सक्ने शर्माले बताए । पछिल्लो समयमा अस्ट्रेलियामा कन्सल्टेन्सी धेरै खुलेकोले विद्यार्थीहरुले कन्सल्टेन्सीहरुमा परामर्श दिने पनि काम पाउन सक्ने शर्माको भनाइ छ । त्यसको लागि विद्यार्थीले नेपालमा नै तालिम लिएर सर्टिफाइड भएर जानसक्ने उनले बताए । ‘ती देशहरुमा कफी बनाउने, क्लिनिङ गर्ने, टायल लगाउने जस्ता कामहरुमा धेरै पैसा हुन्छ, जुन काम अस्ट्रेलियन मान्छेहरुले कम गर्छन्’, उनले भने, ‘यहाँ काम सिकेर गएको विद्यार्थीले त्यहाँ गएर काम गरेपछि केहि समयमा नै सर्टिफिकेट पाउँछ, सर्टिफिकेट र तालिम हुनु र नहुनुमा पनि फरक पर्छ नी त ।’ त्यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका कोशाध्यक्ष अनिल शर्मा पौडेलले जापानमा अन्डरग्रयाजुएट अध्ययन गर्न चाहने विद्यार्थीहरुले भाषा अध्ययन गरेर जानुपर्ने तर काम भने त्यहीँ गएर नै सिक्नुपर्ने बताउँछन् । उनले विद्यार्थीलाई पार्ट काम दिने जापानको कम्पनीले शुरुको समयमा तालिम दिएर नै काम गर्न लगाउने हुँदा काम सिकेर जान नपर्ने उनको भनाइ छ । ‘भाषा मात्रै राम्रोसँग पढे हुन्छ, त्यहाँको कम्पनीले काम लगाउँदा एक महिना आँफै तालिम दिन्छ, चाहे उसलाई काम गर्न सबै आओस वा नआओस, उसलाई शुरुदेखि नै सिकाइ सहित काममा लगाउँछ’, शर्माले भने । रेष्टुरेन्टमा नै काम गर्दा पनि तरिका र परिकारमा फरक हुने भएकाले तालिमको काम नहुने उनी बताउँछन् । तर, आइटी सेक्टरमा काम गर्ने क्षमता भएको विद्यार्थीले भने त्यहाँको मापदण्डअनुसार भाषाको कोर्ष पूरा गर्ने वित्तिकै काम गर्ने भिसा प्राप्त गर्नसक्ने उनले बताए । ‘यदि आइटीमा पर्फेक्ट छ र उ भाषामा १.३८ देखि १.२८ सम्मको भाषामा जाँदा उसले भाषा सक्ने वित्तिकै उसले वर्किङ भिसामा आवेदन गर्नेवित्तिकै प्राप्त गर्नसक्छ’, उनले भने, ‘आइटी, मेकानिकल, अटोमोबाइल, केयर नर्सिङ जस्ता प्राविधिक क्षेत्र धेरै राम्रो छ ।’ त्यस्तै, डाइरेक्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिबु रानाले युके कफी, पिज्जा, बेकरी बनाउन, हाउस किपिङ लगायतका काम सिकेको र कार तथा बाइक ड्राइभिङको लाइसेन्स भएमा विद्यार्थीहरुलाई आफ्नो पढाइसँगै पार्ट टाइम काम गर्न सजिलो हुने बताउँछन् । नेपालको ड्राइभिङ लाइसेन्स भएमा युके लगायतका केही मुलुकमा एकवर्ष सम्म काम गर्न सकिने उनले बताए ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे ।
नविनतम् ‘ब्रान्डिङ’ सेवा प्रदान गर्ने प्रदायकलाई आवेदन आह्वान
काठमाडौं । ‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ अन्तर्गत नविनतम ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक शुभारम्भ गरिएको जानकारी दिएको हो । कार्यक्रममा स्वीस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का समूह नेता रिक भ्यान डर क्याम्पले स्वीस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिए । एनएएमडीपीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फण्ड, यसका विभिन्न चरण र फण्डले गर्दै आएको कामको बारेमा जानकारी दिएका थिए । प्राक्टिकल एक्सन कन्सल्टिङ्गका तर्फबाट सहज च्यालेन्ज फण्डका समूह नेता अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फण्डले काम गर्ने कार्य क्षेत्र, सहयोगको प्रकार, आवेदन प्रक्रिया र सहयोग रकमबारे जानकारी दिए । फण्डले पाँच लाखदेखि ५० लाखसम्म सहयोग गर्ने आयोजकले जनाएको छ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ । उपकरण तथा मेसिनेरी खरिदका लागि भने फण्डले सहयोग नगर्ने व्यवस्था छ । फण्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिविभ भक्त श्रेष्ठले आफ्ना क्षेत्रमा रहेका बाधा, अवरोध तथा चुनौतीबारे जानकारी दिए । च्यालेन्ज फण्डका लागि यही असार ५ सम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिने र सफल आवेदकलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिने सम्मेलनमा जानाकारी दिइएको थियो । पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्याङ्कनपछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउने छन् । आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवामा पहुँच बढाउदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा स्वीस कन्ट्याक्ट, सिप्रङ, र प्राक्टिकल एक्सन कन्सल्टिङ्गका प्रतिनिधिलगायतको सहभागिता थियो ।
आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे गर्दा छुट
काठमाडौं । आइएमई पे मार्फत ‘केटिएम बबल टि’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट हुने भएको छ । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । आइएमई पे ले केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको जनाएको छ ।