बैंकहरुलाई हकप्रद सेयर नदिइने, व्यवसाय विस्तार गर्न नसक्ने अवस्थामा दर्जन बढी बैंक
काठमाडौं । वाणिज्य बैंकहरुले नियामक नेपाल राष्ट्र बैंकसँग हकप्रद सेयरको माग गरेपनि राष्ट्र बैंकले सो मागलाई ‘इग्नोर’ गरेको छ । वाणिज्य बैंकहरुको पुँजी कोष अनुपात कसिलो बन्दै गएपछि पुँजी सहज बनाउन हकप्रदको माग गरेपनि राष्ट्र बैंकले सोको अनुमति नदिने बताएको हो । बैंकरहरुले विभिन्न समयमा राष्ट्र बैंक पुगेर हकप्रद सेयरको माग राख्दै आएका थिए । विभिन्न छलफलमा पनि उनीहरुको पहिलो माग हकप्रद सेयरको अनुमति हुन्थ्यो । पुँजी कोष टाइट बन्दै गएको र लगानी गर्न सक्ने अवस्था नभएकोले पुँजीवृद्धिको विकल्पका रुपमा हकप्रद सेयर जारी गर्न पाउनु पर्ने माग उनीहरुको थियो । तर, सो मागलाई राष्ट्र बैंकले अस्वीकार गरेको हो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार बैंकहरुले माग गरे अनुसार अहिले हकप्रदको अनुमति दिन सकिँदैन । ‘हामीले हेर्ने पुँजी हो, अहिले सबै बैंकको पुँजी नियामकीय सीमाभन्दा बढी नै छ, धेरैले मर्जर गररेर पनि पुँजी बढाएका छन्, यो अवस्थामा पुनः हकप्रद सेयरको अनुमति दिन सकिँदैन होला,’ राष्ट्र बैंक स्रोतले भन्यो । तथापि, हकप्रद सेयर जारी गर्न पाउनु पर्ने अडानमा बैंकरहरु अझै पनि छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आफुहरुले हकप्रद सेयरको माग गरेपनि राष्ट्र बैंक त्यसमा सकारात्मक नभएको बताए । ‘हामीले लामो समयदेखि हकप्रद सेयरको माग गरिरहेका छौं, तर राष्ट्र बैंकले मानिरहेको छैन, यसअघि विकास बैंक र फाइनान्स कम्पनीले पनि पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न दिनु पर्ने माग गरेका थिए, उनीहरुको माग पनि सम्बोधन भएन, हामीले पनि छलफल गरिरहेका छौं,’ ती बैंकरले विकासन्युजसँग भने । अहिले पुँजी कोष अनुपातकै कारण करिब एक दर्जन बैंकहरु व्यवसाय विस्तार गर्न सक्ने अवस्थामा छैनन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पुँजीकोष कसिलो हुँदा व्यवसाय विस्तार गर्न समस्या भएको बताए । गत सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा आफुहरुले राष्ट्र बैंकसँग हकप्रद सेयरको माग गरेको जानकारी गराउँदै उनले राष्ट्र बैंकले सोको अनुमति दिनु पर्नेमा आफुहरुको अडान रहेको धारणा राखे । उनले हकप्रद सेयर नभए पनि त्यसको विकल्प पनि खोज्नु पर्ने बताए । उनले आफुहरुले पहिलो प्राथमिकतामा हकप्रद सेयर राखेपनि राष्ट्र बैंक त्यसमा सकारात्मक नभए पनि कुनै विकल्पहरु दिनु पर्ने धारणा राखे । पछिल्लो तथ्यांक अनुसार माछापुच्छ्रे, कुमारी, सनराइज, प्रभु र एनआईसी एशिया बैंक पुँजी कोषको चापमा देखिएका छन् भने यी सहित करिब एक दर्जन बैंक प्राथमिक पुँजी कोषको चापमा छन् । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात साढे ८ प्रतिशत हुनु पर्छ । हाल आधा दर्जन बैंकको प्राथमिक पुँजी कोष अनुपात सोही हाराहारीमा छ । ११ वटा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशतको हाराहारीमा छ । जेठमा ऋण विस्तार भएमा अझै पुँजी कोष घट्ने र व्यवसाय नै विस्तार गर्न नसकिने चिन्तामा बैंकर छन् । एक बैंकरका अनुसार अहिले १४ वटा बैंक पुँजी कोषको चापमा परिसकेका छन् । जेठ र असारमा थोरै व्यवसाय विस्तार भएमा आगामी आर्थिक वर्षदेखि ती बैंकहरु थप समस्यामा पर्न सक्छन् । राष्ट्र बैंकका अनुसार माछापुच्छ्रे, कुमारी, सनराइज, प्रभु, एनआइसी, सिटजन्स, सिद्धार्थ, लक्ष्मी, हिमालयन, नेपाल एसबिआई र सानिमा बैंकको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । पछिल्लो सार्वजनिक तथ्यांक अनुसार हिमालयन बैंकको प्राथमिक पुँजी कोष ९.५८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.९३ प्रतिशत, एनआइसी एशियाको ९.१२ प्रतिशत, माछापुच्छ्र बैंकको ८.६४ प्रतिशत, कुमारी बैंकको ८.९१ प्रतिशत र सिद्धार्थ बैंकको ९.१८ प्रतिशत छ । यस्तै, सिटिजन्सको ९.६० प्रतिशत, सनराइजको ९.३० प्रतिशत र प्रभु बैंकको ८.९० प्रतिशत प्राथमिक पुँजी कोष रहेको छ । पुँजी कोष कम भएपनि राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरणमा समेत रोक लगाउँछ । टायर वान क्यापिटल कम भएको भन्दै दुई आर्थिक वर्षमा एआईसी एशिया बैंकलाई राष्ट्र बैंकले लाभांश घोषणामा रोक लगाएको थियो । नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि काउन्टर साइक्लिकल बफरको व्यवस्था लागू गर्दैछ । त्यसपछि झन बैंकहरु समस्यामा पर्ने र लगानी नै गर्न नसक्ने अवस्था हुने चिन्तामा बैंकरहरु छन् । नेपाल राष्ट्रका सूचना अधिकारी नारायण पोखरेले पनि बैंकहरुले हकप्रद सेयरको माग गरेपनि यस विषयमा राष्ट्र बैंकले अहिले नै नसोचेको बताए । ‘राष्ट्र बैंकले आवश्यकताको आधारमा निर्णय गर्ने हो, हकप्रद भनेको पुँजी पुर्याउनका लागि हो, अहिले सबै बैंकको पुँजी सीमा भन्दा बढी छ । तर, नियामकीय कम्पलायन्सहरु पुरा गर्न सकेको अवस्थामा राष्ट्र बैंकले सोच्ला, त्यसको विकल्प पनि हेर्न सकिन्छ,’ पोखरेलले भने । स्थायी ऋणपत्रको विषयमा चर्चा हकप्रद सेयरको अनुमति दिन नसकिने भएपनि बैंकहरुलाई बोण्डको अनुमति दिने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बुझिएको छ । नेपाल बैंकर संघले कहप्रद सेयरको विकल्पमा बण्डलाई राखेको छ । सोही विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको हो । नेपाल बैकर्स संघले हकप्रद सेयरको विकल्पमा राष्ट्र बैंकसँग परिवत्र्य ऋणपत्र र स्थायी ऋणपत्र जारी गर्न दिन माग गरेको छ । अहिले परिवत्र्य ऋणपत्र भन्दा पनि चिरस्थायी ऋणपत्रको विषयमा बढी छलफल भइरहेको स्रोतको दाबी छ । परिवत्र्य ऋणपत्र निश्चित अवधीपछि सेयरमा परिणत हुन्छ भने चिरस्थायी ऋणपत्रको समयसीमा तोकिएको हुँदैन । यसको लागि निश्चित प्रतिशत ब्याजदर तोकिएको हुन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान
फाइल फाेटाे काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि बयान सुरु हुने भएको छ । उक्त प्रकरणमा हालसम्म पक्राउ परेका १६ जना प्रतिवादीहरुको आजदेखि अदालतमा न्यायाधीश समक्ष बयान सुरु हुन लागेको हो । न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ । थुनछेकको बहस सकिएपछि मात्र प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जारी हुनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । उक्त प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको छन् । उनिहरुमाथि नेपाली नागरिकराई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै २९ करोड रूपैयाँभन्दा बढी रकम उठाएको आरोप लागेको छ ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री जवाफ दिइसकेपछि नीति तथा कार्यक्रमका लागि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा पेस गरेका थिए । प्रधानमन्त्रीले यसअघि नै नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको राष्ट्रिय सभामा जवाफ दिइसकेका छन् ।
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण, रमाउँदै पर्यटक
बेनी । अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् । पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताए । ‘सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ’, पुनले भने । नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए । यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए । पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुंगे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उनले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ। रासस
हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।
कुमारी बैंकले १५ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सो सेयरमा जेठ १९ गतेसम्म आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
घरको नक्सा पास नगरे सेवा कटौती
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ । उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए । उपमहानगरले पक्की घरको १ हजार रुपैयाँ, कच्ची घरको ५ सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि १ सय रुपैयाँ, भूमिहीन दलितका लागि ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि ५० रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ । ‘ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ,’ घर्तीले भने । असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवाशुल्क फरक–फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ । प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ । यस्तै बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको छ । नौ सामुदायिक र चार संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिएको प्रवक्ता वलीले जानकारी दिए ।
समीट लघुवित्तको साधारण सभा स्थगित
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा स्थगित गरेको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो । लघुवित्तले कारणबस स्थगित गरेको बताउँदै अर्काे सूचना जारी नभएसम्म वार्षिक साधारण सभा स्थगित गरेको जनाएको छ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०।७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव गरेको थियो । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८/७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । संस्थाको अधिकृत पूँजी ७० करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव, समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान प्रस्ताव थियो ।