नख्खु-भैँसेपाटी सडक जेठभित्र सम्पन्न हुने
काठमाडौं । निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु–भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ । नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको बताए । उनले भने, ’केही सहायक कामबाहेक मुख्य काम सकिने देखिएको छ ।’ सडक निर्माण केही समय पहिले नै सम्पन्न गर्न लागिएको भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइपका कारण ढिलाइ भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताउँदै आएको छ । खानेपानी लिमिटेडले अहिले पनि पाइपको काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अझै छेउपट्टिको पाइप चुहावट भएर निर्माणमा बाधा पुग्ने गरेको बताए । पछिल्लो समय निर्माणमा प्रगति भएको र त्यसले गर्दा अब सडकका बाँकी काम छिट्टै सम्पन्न हुने देखिएको उनले जानकारी दिए । नख्खु–भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ । यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पटकपटक स्थलगत निरीक्षण गरेका थिए । अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि दुई पटक सो सडकको निरीक्षण गरिसकेका छन् । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस
स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण
स्याङ्जा । गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन् । गत वैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने छ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पङ्गेनीले बताइन् । गत चैत २५ गतेसम्म छ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये वैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको उनले बताइन् । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उनले जानकारी दिइन् । ’कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन’, उनले भने, ’व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।’ व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत सङ्घसंस्था, जिल्लास्थित उद्योग वाणिज्य सङ्घमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उनले बताइन् । समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले सङ्ख्या घट्दै गएको छ । उनका अनुसार वैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका एक हजार आठ सय ८९, पुतलीबजार नगरपालिकाका एक हजार तीन सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका पाँच सय ७९, गल्याङ नगरपालिकाका छ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन् । आँधीखोला गाउँपालिकाका दुई सय २६, फेदीखोला गाउँपालिकाका दुई सय ५८, बिरुवा गाउँपालिकाका एक सय ३५, अर्जुनचौपारी गाउँपालिकाका एक सय ७४, कालीगण्डकी गाउँपालिकाका दुई सय एक र हरिनाश गाउँपालिकाका दुई सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ । रासस
श्रम रोजगार बैंक स्थापना गर्दै गाउँपालिका
बलेवा । बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ । उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो । चालु आर्थिक वर्षमा एउटा ऐन र पाँच कार्यविधि पारित गरिएको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि–२०७९, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको छ । यस्तै सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सार्वजनिक सुनुवाइसम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए । शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ शहीद परिवारलाई प्रतिमहिना एक हजारका दरले आठ महिनाको एकमुष्ट आठ हजारका दरले दुई लाख १६ हजार जीवन निर्वाह भत्ता वितरण गर्नाका साथै गाउँपालिकामा बसोबास गरी सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गराउन सुरुवात गरिएको जनाइएको छ । कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक लागू गरेको पालिकाले कक्षा ३ को पाठ्यपुस्तक छपाइ भइरहेको जनाएको छ । स्वास्थ्यतर्फ अमरभूमि र ताराखोला स्वास्थ्यचौकीमा प्रसूति प्रतिक्षा घर, भुस्कात र साँघुबोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको जनाइएको छ । पालिकाले बितेको एक वर्षमा फलफूल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किबीलगायत छ हजार फलफूलका बिरुवा चार सय ५० किसानलाई वितरण गरेकोे र किसान परिचयपत्र वितरण अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक सङ्ग्रहालय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना निर्माण, सात विद्यालयको भवन निर्माण, औद्योगिक ग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये छ वटा निर्माण गरिएको, सात निर्माणाधिन र सात आयोजना ठेक्का प्रक्रियामा रहेका छन् । यस्तै उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भई रकम भुक्तानी गरिएको छ । रासस
पश्चिमी वायुको प्रभावले वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ । मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताए । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताउँदै उनले भने,’देशमा भ्रष्टाचारको जालो व्यप्त छ, कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन सक्दैन, देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य हुँदैन ।’ यस्तै, उनले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि बताए ।
हुन्डाईले ईभी इकोसिस्टम विकास गर्न २० हजार करोड लगानी गर्ने
काठमाडौं । हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड रुपैयाँ लगानी गर्ने भएको छ । दक्षिण कोरियाली अटो कम्पनी ‘हुण्डाई’ले भारतको तमिलनाडु राज्यमा दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० वर्षको अवधिमा चरणबद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरण गर्नेछ। थङ्गम थेनारसु, अर्थमन्त्री टीआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्रीस कृष्णन एस, आईएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीहरूकोपनि उपस्थिती थियो। उन्सू किमले भने, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ।’ कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने जनाएकाे छ। साथै, हुन्डाईले १ लाख ७८ हजार ब्याट्रीहरू जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । ५ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० ईभि चार्जिङ स्टेशनहरू स्थापना गर्नेछ। यसमा ५ डुअल अल्ट्रा फास्ट चार्जिङ स्टेसनहरू सिंगल फास्ट चार्जिङ स्टेशनहरू र एकल फास्ट चार्जिङ स्टेशनहरू समावेश छन् । हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्नेछ।
सानिमा जीआईसीले पुनर्बीमा कमिशनबाटै कमायो ६३ प्रतिशत बढी, अधिकांशको बढ्दा ५ कम्पनीको घट्यो
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उक्त शीर्षकमा सो मात्राको वृद्धि गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्ममा २२ करोड ५४ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशन आर्जन गरेको छ । यसपछि प्रतिशतको आधारमा सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेमा साविकको प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसले समीक्षा अवधिमा पुनर्बीमा कमिशनमा २७.२७ प्रतिशतले वृद्धि गरी १५ करोड २६ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, राष्ट्रिय बीमा कमपनीले १३.१० प्रतिशत, ओरियन्टलले ६.५४ प्रतिशत, युनाइटेडले ४.५१, सिद्धार्थ प्रिमियरले ४.३१ प्रतिशत, आइएमई जनरलले ४.२४ प्रतिशत, प्रभुको ४ प्रतिशत, अजोड इन्स्योरेन्सले २.७० प्रतिशत र नेकोले १.७५ प्रतिशतले पुनर्बीमा कमिशन बढाएका छन् । रकमको आधारमा सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेको सूचीमा शिखर इन्स्योरेन्स छ । जसले समीक्षा अवधिमा ४८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले घटी हो । इन्स्योरेन्सले गत आवको सोही अवधिमा ४९ करोड ८० लाख रुपैयाँ कमिशन आर्जन गरेको थियो । त्यस्तै, सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेको दोश्रोमा एनएलजी र तेश्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको क्रमशः २५ करोड ५४ लाख र २५ करोड १९ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशन संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा भने क्रमशः ७.०३ र १५.०१ प्रतिशतले घटी हो । पुनर्बीमा कमिशन घट्नेको सूचीमा शिखर, एनएलजी, सगरमाथा लुम्बिनीसहित हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्सले क्रमशः १३.७९ प्रतिशत र ३.७६ प्रतिशतले पुनर्बीमा कमिशन आय घटेको छ । पुनर्बीमा कमिशनबाट सबैभन्दा कम रकम आम्दानी गर्नेको सूचीमा ओरियन्टल इन्स्योरेन्स रहेको छ । गत २०७८ चैतमा ९ करोड ४८ लाख रुपैयाँ कमाएको उक्त इन्स्योरेन्सले २०७९ चैतमा १० करोड १० लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको छ । जुन प्रतिशतको आधारमा ६.५४ प्रतिशतले बढी हो । समग्रमा मर्जपछि बनेका कम्पनी, मर्जरको क्रममा रहेका कम्पनीसहित मर्जरमा नगएका कूल १५ वटा कम्पनीले कूल ३ अर्ब २ करोड ७६ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशनबाट आम्दानी गरेका छन् । जुन २.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीहरुले उक्त शीर्षकमा २ अर्ब ९६ लाख ४ हजार रुपैयाँ कमाएका थिए । कुनको कति बढ्यो/घट्यो ?
पृथ्वीराजमार्गको १७ सयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकार सरकारसमक्ष माग
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको हो । पृथ्वीराजमार्ग अन्तर्गत यस खण्डमा दुर्घटना भइरहने भएकाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको चुमानले बताए । अस्पताल निर्माणका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । गाउँपालिकाले मार्कीचोकमा स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टर र आँबुखैरेनी अस्पतालका लागि डायलासिस सेवा सञ्चालनका लागि उपकरण माग गरेको छ । गाउँपालिकाले वडा नं ३ मा पालिकास्तरीय अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन भइसकेको छ भने मिर्गौला पीडितका लागि डायलासिस सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको चुमानले बताए । मन्त्री सिङ्खडासमक्ष चिकित्सकको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ । यस्तै गाउँपालिकाभित्रका विद्यालयमा विज्ञान प्रयोगशाला, विद्यालय बस, स्वास्थ्य संस्थादेखि सङ्घसंस्था र अस्पतालका लागि औषधि र ल्याब सामग्री व्यवस्थापन गरिदिन माग गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रम थप विद्यालयमा लागू गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानले बताए । मन्त्रालयकै कार्यक्रम अनुसार गाउँपालिका–३ रामशाह माविमा यो कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रम अन्य विद्यालयमा पनि आवश्यक रहेकाले कार्यक्रम विस्तारका लागि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानले बताए । यसैगरी आँबुखैरेनी अस्पतालको स्तरोन्नतिका लागि पनि ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाले हाल पन्ध्र शय्यामा अस्पताल सञ्चालन गरिरहेको छ । मन्त्री सिङ्खडाले उक्त मागहरुमा आफू सकारात्मक रहेकाले आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस