पदबहाली गरेको एक वर्ष : सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका हुन् । विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नसमेत उनले पत्रमार्फत आग्रह गरेका छन् । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ । गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा बधाई कार्यक्रम आयोजना गरेको थियो । जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरुले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो ।
गण्डकीमा १९ हजार ८०३ मेगावाट विद्युत् उत्पादनको सम्भावना, कानुनका कारण समस्या
काठमाडौं । गण्डकी प्रदेशमा हाल सञ्चालनमा रहेका ३३ आयोजनाबाट ५७१ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी, उत्पादन लाइसेन्स जारी भएका ८० आयोजना सम्पन्न हुँदा थप २ हजार ३ सय मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । हाल उत्पादनका हिसाबले देशमै पहिलो स्थानमा रहेको गण्डकी प्रदेशमा १९ हजार ८०३ मेगावाट जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहे पनि ऐन कानुनका कारण कतिपय आयोजना सञ्चालनका लागि समस्या भएको सरोकारवालाहरुले बताएका छन् । जलविद्युत् क्षेत्रको विकासका लागि समयसापेक्ष जलविद्युत् ऐन संशोधनको माग गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा आजदेखि पोखरामा सुरु भएको नेपालमा ऊर्जा उत्पादनको सम्भावना र गण्डकी प्रदेशको दिगो विकासका लागि ऊर्जा विषयक छलफल कार्यक्रममा सरकारले जलविद्युत्मैत्री ऐन तथा कानुन निर्माणको खाँचो औँल्याइएको हो । वि.सं २०४९ मा जारी भएको ऐनलाई समयानुकूल परिर्वतन गरी विद्युत् उत्पादन, वितरण र प्रसारणलाई सक्षम, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने जलविद्युत् क्षेत्रका लगानीकर्ताहरुले बताएका छन् । विद्युत् ऐनका केही प्रावधानका कारण बिजुलीको आन्तरिक बजार व्यवस्थापनदेखि उत्पादन भएको विद्युत् बिक्री वितरणसम्म कठिनाइ भएको बताइन्छ । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालको पानी समृद्धिको खानी भएकाले जलविद्युत्मैत्री अभियान सञ्चालन गर्नुपर्ने बताए । वि.सं २०४९ देखि हालसम्म ३० वर्षको अवधिमा जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरेको उनले बताए । ‘ऊर्जाका क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर पुरानो जलविद्युत् ऐन संशोधन नहुँदा थुप्रै अप्ठ्याराहरु भोग्नु परेको छ । सरकारले ऐन समयसापेक्ष परिमार्जन गर्नु जरुरी छ,’ उनले भने । वर्षौँ पुरानो ऐनका कारण स्थानीय, प्रदेश र सङ्घ सरकारसँगको समन्वय सहकार्यको अभावमा धेरै आयोजनाहरु प्रभावित भएको बताइएको छ । इप्पानका सदस्य प्रकाशचन्द्र दुलालले देशमा हाल विद्युत्को उच्चतम माग १ हजार ८५६ मेगावाट रहेको बताए । हालम्म निजी क्षेत्रबाट ६८५ मेगावाट, नेपाल विद्युत् प्राधिकरणबाट ३८३ मेगावाट, प्राधिकरणको सहायक कम्पनीबाट २९५ विद्युत् मेगावाट उत्पादन गरी आपूर्ति भइरहेको बताइन्छ । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महसुल निःशुल्क गराउने बताए । गण्डकीका अझै २ हजार ८८४ घरधुरीमा विद्युत् सेवा पुग्न बाँकी रहेको बताउँदै उनले सरकारले उज्यालो गण्डकी प्रदेशको अभियान सुरु गरेको जानकारी दिइन् । सरकारले उज्यालो प्रदेश अभियानलाई निजी क्षेत्रले समेत सहकार्य गरी सामाजिक उत्तरदायित्व बोध गर्न आग्रह गरिन् । गण्डकीका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले खोला ओगट्ने प्रवृत्ति अझै पनि कायमै रहेकाले त्यस्ता व्यक्ति तथा संस्थालाई निरुत्साहित गर्नुपर्ने बताए । इप्पान गण्डकीका अध्यक्ष जगत पोखरेलले प्रदेश र स्थानीय सरकारबाट सहयोगी वातावरण बनाउन सकेको खण्डमा जलविद्युत् क्षेत्रमा लगानी वृद्धि हुने बताए । जलविद्युत् प्रवद्र्धकहरुलाई काम गर्न अझै सहज वातावरण नभएकाले सरकारले समस्या समाधान गर्नु पर्ने बताए । जेठ १२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा प्रदेशसभभा सदस्यहरु, प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख, जलविद्युत् प्रवद्र्धक तथा विषय विज्ञहरुको सहभागिता रहेको छ ।
पक्राउ परेका अभियुक्त जेलबाट मुक्त भइसके, १७ वर्षदेखि थन्कियो रक्तचन्दन
काठमाडौं । १७ वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका ६ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कार्यालयको भुइँतलाको साविक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर रक्तचन्दन थुपारिएको छ । कोठाबाहिर २ वन रक्षकले अहोरात्र सुरक्षा दिइरहेका छन् । ओसारपसार र बिक्रीमा विश्वव्यापी प्रतिबन्ध भएका कारण रक्तचन्दनलाई लिलाम (बिक्री) गर्न मिल्दैन । अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने हुन्छ । ‘वन विभागबाट यहाँ राखिएको रक्तचन्दनलाई के गर्ने भन्ने कुनै निर्देशन आएको छैन, हामीले यसलाई लिलाम बिक्री गर्ने, नष्ट गर्ने वा फिर्ता पठाउने आफूखुसी निर्णय गर्न सक्दैनौँ,’ जिल्ला वन कर्यालय झापाका प्रमुख राईले भने । भारतबाट आउँथ्यो रक्तचन्दन विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको हो । तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पुर्याउने गर्दथे । यही क्रममा वि.सं २०६४ साउन १३ गते राति ११ बजे जिल्ला वन कार्यालय झापाको टोलीले दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाउँ विकास समितिको वडा नं ४ स्थित उपेन्द्र चौधरीको घरमा छापा मार्दा ११ हजार सात सय ७० केजी रक्तचन्दन लुकाइराखेको अवस्थामा बरामद गरेको थियो । त्यसपछि वि.सं २०६३ पुस २ गते दक्षिण झापाकै कुमरखोदको कामाटोलीमा सुरक्षा गस्तीले घेरेपछि ट्रक चालकले रक्तचन्दन सडकमै छाडेका थिए । त्यस घटनामा ६ हजार ३७५ केजी रक्तचन्दन बरामद भएको थियो । वि.सं २०६४ साउन १२ गते थप एक हजार ६८७ केजी रक्तचन्दन बरामद भएको थियो । रक्तचन्दन बरामद हुँदा पक्राउ परेका ६ जना आरोपी सबै छुटिसकेका छन् । रक्तचन्दन बरामद भएको एउटा वटा ट्रक लिलाम भइसकेको छ । सिद्राले छोपेर रक्तचन्दन ल्याइएको थियो । भारतको चेन्नाईबाट आन्ध्रप्रदेश, उडिसा हँुदै विहारको किसनगञ्ज जिल्लाको डिगलबैंक नाकाबाट लुकीछिपी आएको एपी २७ डब्लूओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद थियो । कामाटोलीमा सुरक्षाकर्मी र स्थानीयवासीले ट्रकलाई सडकमै रोकेका थिए । उक्त ट्रक हेर्दा रक्तचन्दनका काठलाई समुद्री माछाबाट बनाइएका सिद्रा र धानको भुसले छोपिएको पाइएको थियो । रक्तचन्दनको बासना नआओस् भनेर ट्रकमा सिद्राको गन्ध राखिएको थियो । ट्रकबाट भारत चेन्नाई निवासी यम भाष्कर र राजु शर्मासमेत पक्राउ परेका थिए । झापा जिल्ला अदालतले वन ऐन, २०४९ को दफा ४९ (घ) को कसुरमा सोही वन ऐन, २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम पक्राउ परेका ४ जनालाई १ करोड ८८ लाख ३२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । सोही मुद्दामा पक्राउ परेका अन्य २ जनालाई भने जनही ३ लाख १८ हजार ७६३ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकेको थियो । रक्तचन्दन भण्डारण गरिएको कोठाको सिलबन्दी नखोलिएको कारण काठको अवस्था के कस्तो छ यकिनसाथ भन्न सकिने अवस्था छैन । उक्त कोठाभित्र कार्यालयका पुराना विभिन्न मुद्दाका फाइल थुनिएको बताइएको छ । बरामद भएको बेला गरिएको मुचुल्कामा रक्तचन्दनको मूल्य प्रतिकेजी २५ रुपैयाँ निर्धारण गरिएको थियो । बजारमा रक्तचन्दनको मूल्य अहिले प्रति केजी १ हजार रुपैयाँभन्दा बढी नै छ ।रासस
६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न ३ पक्राउ
काठमाडौं । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रपैयाँ मूल्य बराबरको सामानसहित ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा ६१ लाख रुपैयाँ बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट ८ जनाको टोली परिचालन गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । निजहरूलाई जेठ १० गते राति १ बजे विराटनगर–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, ८ ग्राम सुन, २ थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । चोरीको घटनामा अनुसन्धानमा खट्ने ७ जना प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
भाेटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता
काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् । चिडियाखाना अवलोकनकै लागि अन्य दिन दुई सय तिर्नुपर्ने भए पनि आज ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताए । कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उनका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । ‘यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो,’ अधिकारी कोइरालाले भने । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि सात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । अवलोकनका लागि तीर्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यहाँ निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।
डा. ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज, विन्दावासिनी नै बन्ने भइन् सांसद
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व सांसद ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका श्रेष्ठको रिटमा यसअघि जारी भएकाे अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । कारबाहीपछि सांसद पद गुमाएका श्रेष्ठ सर्वोच्च पुगेका थिए । रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित विन्दावासीनी कंसाकारलाई सांसद नियुक्त गर्न सिफारिस गरेको थियो । निर्वाचन आयोगले कंसाकारलाई सांसद मनोनयन गरिएको जानकारी गराए पनि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएको थियो । सर्वोच्चले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि कंसाकारलाई शपथ गराउने बाटो खुलेको हो ।
एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो । यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, ¥याली र कोणसभा गरिने छ । सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ । यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।
बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता
ढोरपाटन । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ । निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौँदेखि गइरहनछन् । पहिरोकै कारण वर्षै जसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जङ्गलतर्फ लाग्छन् । गाउँका करिब एक सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् । हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन् । निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानीयमा पर्छ । पालिकामा दुई सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। ती घरहमध्ये दुई सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्याङ्कमा छ । वडा नं ४ का तीन घर वडा नं ५ का आठ घर, वडा नं ६ का चार घर र वडा नं ७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताए । ‘यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो दुई/चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन’, सूचना अधिकारी गौतमले भने । यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । यसवर्षको बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उनले जानकारी दिए । मौसमजन्य विपद् अन्तर्गत केन्द्र सरकारले दिएको चार लाख रुपैयाँबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ । निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताए । ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उनको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उनको भनाइ छ । सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उनको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जालीले बताए । ‘फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छेनै पुरिन्छन्, ५/६ वर्ष अगाडि घरमा सुतिराख्नु भएको मेरो आमानै पहिरोले पुरिदियो’, सिञ्जालीले भने । स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताए । ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको मल्लको भनाइ छ । पहिरोले कहिले पशुचौपाय कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उनको भनाइ छ । ‘गाउँपालिकामा धेरै पटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ’, उनले भने, ‘पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ ।’ निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताए । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्तीनै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उनले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागि रहेको बताए । रासस