विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा बैंकका कार्डबाहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

भारतसँग महत्वपूर्ण ७ सम्झौता : आर्थिक विकासमा नयाँ आयाम ल्याउने विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चार दिने औपचारिक भारत भ्रमणको क्रममा भारत सरकारसँग नेपालको आर्थिक विकासमा महत्वपूर्ण मानिने सम्झौताहरु भएका छन् । नेपालमा उत्पादनको व्यापक उत्पादनको सम्भावना भएको विद्युत व्यापारदेखि गौतमवुद्ध विमानस्थलमा आइएलएस सञ्चालनसम्मको सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणको दोस्रो दिन आज नेपाल भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएर महत्वपूर्ण सम्झौता भएका हुन् । भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा भएको वार्तापश्चात दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा उक्त सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता भएको छ । त्यस्तै, भारत नेपालको बिजुली बंगालादेश निर्यात गर्न दिन पनि सहमत भएको छ । यो सम्झौता नेपालको विद्युतीय क्षेत्रको विकासका लागि अति महत्वपूर्ण विषय हो । सीमापार पेट्रेलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) टर्मिनल निर्माण गर्ने महत्वपूर्ण सम्झौता भएको छ । नेपालले २१ प्रतिशत बिजुली पाउनेगरी तल्लो अरुण (६६९ मेगावाट) निर्माण गर्ने सम्झौता भएको छ । सुदुरपश्चिम सीमाना चाँदनी दोधारामा एकीकृत जाँच चौकी निर्माण गर्ने र कर्णाली फुकोट हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने सम्झौता भएको छ । सीमापार भुक्तानी सम्झौता (नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच) दुबै देशमा क्यु आर सञ्चालन हुने सम्झौता भएकाे छ भने  पारवहन सम्झौता पनि नवीकरण भएको छ । २४ वर्षपछि संशोधनसहित नवीकरण भएको पारवाहन सम्झौता पश्चात अब नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालन गर्ने बाटो समेत खुलेको छ । सम्झौता भएका मुख्य सात बुँदा १. नेपाल–भारत पारवहन सम्झौता नवीकरण ।  २. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।  ३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी । ४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने  ५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति  ७. नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता । नेपालले ठूलो ऋण लगानीमा निर्माण गरेको तर पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम जडान सञ्चालन गर्ने गरी सहमति पनि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पत्रकारहरुलाई जानकारी दिएका छन् । सो सिस्टम जडानगरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु लागेको बेलामा समेत जहाजले ल्यान्डिङ गर्न सक्छन् । नेपालले लामो समयदेखि पहल गर्न खोज्दै आएको पञ्चेश्वर आयोजनाको तीन महिना भित्र टुंगो लगाएर एक वर्ष भित्र लगानीको प्रारुप टुंगो लगाउने समहति भएको प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । महाकाली सन्धि भएको २७ वर्षपछि पनि पञ्चेश्वरमा निर्माण कार्य प्रारम्भ हुन सकिरहेको थिएन यसपटकको सम्झौताले त्यसलाई पनि कार्यान्वयनमा ल्याउन सकिने अपेक्षा गरिएको छ । महत्वपूर्ण सम्झौता भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिने विषयमा भने भारत सहमत हुन सकेन । सो विषयलाई पुनः छलफलमा अगाडि बढाइने सहमति पनि भएको छ । त्यस्तै, लामो समयदेखि चर्चामा रहेको नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे दुई देशबीचका प्रधानमन्त्रीबीचमा कुराकानी नभएको भारतीय विदेश सचिवले बताएका छन् ।

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई

नयाँदिल्ली । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो । पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । गत फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताएका थिए । बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ । त्यस्तै, भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उनीहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरुपमा व्यापार प्रवद्र्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएकोे छ । नेपाल र भारतबीचको व्यापार प्रवद्र्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ । यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किड., सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए । यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका थिए । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए । यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ ।

भिभो प्रविधी संवादको प्रथम भर्चुअल कार्यक्रम सम्पन्न

काठमाडौं । भिभोद्वारा बुधबार ‘भिभो ५जी टक’ भर्चूअल कार्यक्रमको समुद्घाटन गरीयो जसमा नेपाल तथा पाकिस्तानका उद्योग विशेषज्ञलाई यस क्षेत्रमा ५जी को वर्तमान अवस्था तथा निकट भविष्यमा व्यापार र दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रुपान्तरण बारे संवाद गरियो । यस कार्यक्रमले भिभोको टेक–टक पहलको निम्ति मंच तयार गरेको छ, जून दुरसंचारको उन्नतिको निम्ति अर्थपुर्ण संवाद गर्ने उद्देश्यले योजित छ । ‘असीमित बुद्घिमान संसार’ मा विषयतित उक्त कार्यक्रम तथा प्यानल छलफल दुरसंचार पारिस्थितिक प्रणाली का विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निमित्त मंच सिर्जना गर्नेमा केन्द्रित रह्यो । भिभोको ५जी टक भर्चूअल कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरुको सहभागिता रह्यो । कार्यक्रममा निरज भूषालः गैर राजपत्रित–अर्थ मन्त्रालय, नेपाल ; मूहम्मद अदिल इसरारः आजियाटा एनसेलका प्रमूख प्रविधि तथा उद्यम व्यापार अफिसर र आजियाटा नेपालका प्रमूख प्रविधि अफिसर ; मिनू प्रधानः नेपाल टेलिकमका निर्देशक ; पर्भेज इफ्ितखारः सूचना र संचार प्रविधि निति तथा नियमनका अन्तर्राष्ट्रिय सल्लाहकार, पाकिस्तान ; खलीद खानः केद्रिय एसियाली सेलूलर मंचका संस्थापक तथा अध्यक्ष, पाकिस्तान र आसिफ अजिजः प्रमूख व्यापार अफिसर, ज्याज पाकिस्तान सहित ६ जना विशेषज्ञहरुको उपस्थिती रह्यो । नेपाल तथा पाकिस्तान जस्ता उदयमान अर्थतन्त्रमा ५जी का फाइदाहरुबारे छलफल गर्दै प्यानलिष्टहरुले परिष्किृत संचारले पुर्वाधार निर्माणका चूनौतीहरुका समाधानहरु प्रदान गर्ने निष्कर्ष निकाले, जस्तै– दूर स्वास्थ्यसेवा, शिक्षा तथा नव व्यापार नमूना जसले यी राष्ट्रका कूल उत्पादन वृद्धिमा बढावा पूर्याउन सक्दछ । आवश्यक पुर्वाधारका साथै सहायक नियमन नितीहरुको कार्यान्वयनद्वारा ५जी विस्तारका प्रमूख बाधकहरु, जस्तै भौगोलिक अवरोध तथा स्पेक्ट्रम उपलब्धतालाई पन्छाउँदै नवपवर्तन तथा उद्यमशीलताको निमित्त अनूकुल वातावरण निर्माणको महत्वमा प्यानलको विशेष जोड रह्यो । वक्ताहरुले नेपाल र पाकिस्तान लगायतका देशहरुमा ५जी को अधिकतम संभावनाको प्रयोगको निमित्त व्यावसायिक व्यवहार्यता तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यको आवश्यकता पनि आँैल्याए । ‘दह्रीलो वृद्धि अनूभव गर्दै गरेको एसिया क्षेत्रले ५जी को पुर्ण लाभ उठाउन बाँकी नै छ । हाम्रो क्षेत्रले (संचार प्रविधीले) ५जी कार्यान्वयन गर्न तर्फ विशाल पाइलाहरु चाल्दै छ र आजको छलफलले यस क्षेत्रमा (नेपाल र पाकिस्तानमा) आगामी दिन र डिजिटल रुपान्तरणको झलक दिएको छ ,’ भिभो संचार अनूसन्धान संस्थानका अग्रणी विशेषज्ञ राकेश ताम्राकारले भने । ‘भिभोमा हामी ५जी स्मार्टफोनलाई अझ छरीतो र पहूँचयोग्य बनाउँनमा समर्पित छौँ जसले समूदायहरुलाई सशक्त बनाउन र नयाँ डिजिटल भूगोलमा फस्टाउन सहयोग पूर्याउनेछ ।’ यस क्षेत्रमा व्यापक अनूसन्धान र विकासका पहल सहितका हाम्रा अथक प्रयासहरुले उन्नत नवप्रवर्तनहरुको नतिजा निकालेको छ जून हाल विश्वव्यापी ५जी मापदण्डका हिस्सा छन् । नवप्रवर्तन तथा सहकार्यलाई बढावा दिएर हामी असीमित बूद्धिमान संसारलाई आकार दिन योगदान पूर्याउन सक्नेमा विश्वस्त छौँ, जहाँ सबैले उन्नत संचार प्रविधिको लाभ उठाउन सक्दछन् । ५जी अनूसन्धानमा केन्द्रित १०० जना विशेषज्ञहरुको टोली रहेको भिभो ३ जी पी पी मापदण्डको प्रमूख योगदानकर्ता हो । साथै १०,००० भन्दा ज्यादा ५जी प्रस्तावहरु र ५,००० अधिक ५जी आविस्कार पटेन्टहरुका पनि । सबैभन्दा ठुला स्मार्टफोन निर्माता तथा ५जी अग्रगामीहरुमध्ये एक भिभो यस्तो नवप्रवर्तन पालनमा कटिबद्ध छ जसले प्रयोगकर्ताका आवश्यकताहरु र उन्नत प्रविधीलाई अघि सार्दै विश्वव्यापी ग्राहकहरुको दैनिक अनूभव सुर्धाक्ष । भिभोले आगामी पिढीका संचार प्रविधीलाई उपयूक्त विस्तृत उत्पादनहरु तयार पारेको छ, जसले उपभोक्ताका भिन्न आवश्यकता पूरा गर्दछन् । उदाहरणको लागि, शक्तिशाली एक्स र वाइ सिरीजका फोनहरु, जुन भिभोको अभिनवी ‘३डी स्ट्याकिंग’ प्रविधीको कारण बजारकै सबैभन्दा पातला ५जी फोनहरु मध्ये पर्दछन् ।

१० वर्षमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

काठमाडौं । निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ । लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०/७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए । उनले भने, ‘अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।’ मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । ‘यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ’, इन्जिनियर भण्डारीले भने । वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ । इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । ‘तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा–पिपलटार ३३ दशमवलव ६९ किमी गरेर झण्डै ५५ किमी लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ’, उनले भने । रासस

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए । उनका अनुसार उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त वृद्ध भत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ ।

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

भरतपुर । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताए । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उहाँले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताए । महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिए । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो । महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उनले बताए । सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ । यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए । उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गरे । रासस

खोटाङको विद्यालयमा कम्प्युटर ल्याब स्थापना

खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो । कक्षा १२ सम्म आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराउने उद्देश्यले ईडियु टेक नेपाल फाउन्डेसन र हिमाली ट्रस्ट नेपालले कम्प्युटरका साथै विद्युतीय उपकरण उपलब्ध गराएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिए । उक्त दातृ निकायले १६ थान कम्प्युटर, त्यसका लागि आवश्यक ब्याकप, इयरफोन, विद्युतीय सामग्रीलगायत १८ लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेको उनले बताए । ‘विद्यार्थीका लागि लक्षित गरेर स्थापना गरिएको कम्प्युटर ल्याब सञ्चालनका लागि दातृ निकायले सोही विद्यालयका शिक्षकलाई दुई महिने निःशुल्क तालिमसमेत दिने छन्’, वडाध्यक्ष कठेतले भने । ल्याबका लागि स्थानीय सुनिल राई, नवराज राई शशीकला राई, जयबहादुर राई तथा विसं २०६३ मा एसएलसी दिने विद्यार्थीबाट दुई लाख ५० हजार रुपैयाँ सङ्कलन गरी आवश्यक फर्निचर खरिद गरिएको उनले बताए । विसं २०४५ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय सात विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कक्षा एकदेखि नै कम्प्युटर कक्षामा सहभागी गराउने गरी ल्याब स्थापना गरिएको प्रधानाध्यापक पञ्चकुमार राईले जानकारी दिए । बिहान/बेलुका समुदायमा कम्प्युटर सिक्न चाहनेका लागि र दिउँसो विद्यार्थीका लागि कम्प्युटर कक्षा सञ्चालन गरिने उनले बताए । विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याब केही समयपछि औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याउने विद्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर ल्याब सञ्चालन गरिएको हो । रासस