विकासन्युज

११ प्रतिशत ब्याज पाइने लुम्बिनी विकास बैंकको ऋणपत्र खरिद गर्ने समय लम्बियो

काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले जेठ ३० गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट सूचिकृत भई कारोबार हुनेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

असारदेखि बसपार्कबाट यात्रुवाहक सवारी साधन सञ्चालन नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले यात्रुवाहक सवारी साधन बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ । काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने बताएको हो । ‘काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको छ,’ महानगरले भनेको छ । बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरको भनाइ छ । निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ । धुलिखेल, बनेपा, साँखु सम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले बताएको छ । सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

एलसी खुला भइसक्यो, संसद् भवन समयमै निर्माण हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधिन भवनको बिहीबर स्थलगत अवलोकन गर्ने क्रममा उनले निर्माणका लागि अनुकूल वातावरण रहेको बेला काममा ढिलाई नगर्न निर्देशन दिए । ‘अब यस भवन निर्माणले गति लिन्छ, लिनुपर्छ, हिजोको प्रतिकूलता आज अनुकूलतमा परिवर्तन भएको छ, निर्माणका लागि पेमेन्ट, एलसी खुल्नेदेखि सामानको अर्डर गर्ने अनुकूलत वातावरण बनेको छ, यस कारण पनि निर्धारित समयमै निर्माण हुनुपर्छ,’ उनले भने । अवलोकनका क्रममा सहरी विकासमन्त्री सीता गुरुङले निर्धारित समयमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् । ‘हामी हिउँदे अधिवेशन यहीबाट सुरुआत गर्नुपर्छ भन्ने अठोटका साथ यहा म आएपछि निरन्तर फलो गरिरहेको छु, म्याद थप गर्ने रहर छैन, समस्याको समाधान हैन,’ उनले भनिन् । मन्त्री गुरुङले निर्माण कम्पनीलाई आवश्यक जनशक्ति थपेर कामलाई तीव्र गति दिनसमेत निर्देशन दिइन् । उनले मन्त्रालयबाट भुक्तानी र नीतिगत कुरामा कमीकमजोरीलाई भए आवश्यकताअनुसार निर्णय गर्न तयार रहेको बताइन् । यस्तै, उपसभामुख इन्दिरा रानाले पनि निर्धारित समयमा अनिवार्यरुपमा निर्माण सम्पन्न गर्नुको विकल्प नभएको बताइन् ।

खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल विन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे । निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दै सँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको तथा सोहीअनुसारको वातावरणसमेत बनाएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलको बारेमा जानकारी गराए । नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं जनस्तरको सम्बन्धले थप सहज बनाउने बताए । भारतीय कम्पनीको लगानी रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए । उनले बिहीबार बिहान आफ्ना भारतीय समकक्षीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरेका थिए । समग्र विषयमा खुला हृदयका साथ छलफल भएको र त्यसबाट दुई देशबीच रहेका साझा विषयमा समाधान धारणा बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । नेपाल र भारतबीचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पियूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताए । उनले भारतीय प्रधानमन्त्रीले अगाडि सारेको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबीच साझा दृष्टिकोणका साथसाथै समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले व्यापार र वाणिज्यका लागि बिहीबार भएको सहमति आफैँमा महत्वपूर्ण भएको बताए । उनले नेपाल सरकारले वैदेशिक लगानीका लागि अधिकतम सहज वातावरण बनाएकाले नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए । उनले नेपालको ऊर्जा, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानीका लागि भारतीय व्यवसायीलाई आग्रह गर्दै लगानी बोर्डमार्फत आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीको सफल उदाहरण पेश गर्दै नेपाल र भारतका उद्योगी व्यवसायीको साझा सहकार्यका लागि आग्रह गरे । उनले नेपालमा लगानी गरिरहेका डाबर, एभरेष्ट बैंक, एसबीआई बैंक, युनिलिभरलगायतका संस्थाले कमाएको नाफा सहजरुपमा भारतमा ल्याउन पाएको र नेपालमा समेत उत्कृष्ट सेवा प्रदान गरेर ठूलो करदाताका रुपमा समेत रहेको भन्दै अध्यक्ष ढकालले सम्पर्क सञ्जालको विस्तार तथा वर्तमान सरकारले लिएको नीतिका कारण पनि लगानीको थप वातावरण बनेको बताए । भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबीच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्ने उद्देश्यका साथ आज महत्वपूर्ण छलफलको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा नेपाल र भारतका उद्योगी व्यवसायीको सहभागिता थियो ।रासस

१ लाख कित्ता किन्न पाइने अप्पर स्याङ्गेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १ गते बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख २ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. १ र २, खुदी गा.वि.स. ३, ताघ्रिङ गा.वि.स.४, घेरमु गा.वि.स. ५, बाहुन डाँडाँ गा.वि.स.६, भुलभुले गा.वि.स.७ र ८, सिमपानी गा.वि.स.९) का बासिन्दाहरुलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । स्थानीय लगानीकर्ताले आयोजना स्थल, सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कृषि विकास बैंकको विज्ञापन आह्वान, माग्यो १७९ जना कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । बैंकले विभिन्न पदमा रिक्त रहेकोमा १७९ जनाका लागि आवेदन आह्वान गरेको हो । आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख (८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत ¬(सिए, ७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ । यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आज जेठ १९ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानीय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयर १० वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानीय बासिन्दालाई बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छटोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ढिलोमा असार १७ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।