बजेटबाट खुसी भएनन् शिक्षक, विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटप्रति शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । बजेटले शिक्षकहरुको मागलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । बजेटले आफ्ना मागहरुलाई सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनको समेत घोषणा गरेको छ भने निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संस्था विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति (इस्टु)ले पनि आन्दोलनमा जाने बताएको छ । बजेटले शिक्षकहरु खुसी नभएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् । विषम परिस्थितिमा आएको बजेटमा शिक्षकका धेरै अपेक्षा नरहेको भएपनि विद्यालयका कर्मचारीको सुविधामा सम्बोधन नगरेको हुँदा आफूहरुलाई दुःख लागेको उनको प्रतिक्रिया छ । ‘विद्यालय कर्मचारीहरुको लागि बजेटले केही बोल्दिएन, यो बेठिक भयो’, उनले भनिन्, ‘बजेट अत्यन्त कसिलो भएको भएपनि कम्तिमा नीति तथा कार्यक्रममा आएको इसिजी र विद्यालय कर्मचारीलाई थोरै मात्रै सम्बोधन गरिदिएको भए खुसी हुन्थ्यौं हामी ।’ नीति तथा कार्यक्रममा इसिजी र विद्यालय कर्मचारीलाई हेर्छौं भन्ने तर बजेटमार्फत् सम्बोधन नै नगर्ने जस्तो नीति एकातिर काम एकातिर भएको अध्यक्ष तुलाधरको भनाइ छ । ऐनमा हुने व्यवस्था समेत अर्थमन्त्रीले बोल्ने नमिल्दो काम पनि भएको उनले बताइन् । ‘स्थानीय तहलाई सबै अधिकार दिएर प्रधानाध्यापक प्रतिस्पर्धा गराएर छान्नेदेखि लिएर सबै गर्ने व्यवस्था लगायतका कुराहरुमा हामी सन्तोष छैनौं’, उनले भनिन् । त्यस्तै, निजी शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुको पेशागत मागलाई पनि बजेटले कहिँकतै सम्बोधन नगरेको निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति (इस्टु)का अध्यक्ष होमकुमार थापाले विकासन्युजलाई बताए । अध्यक्ष थापाका अनुसार बजेटमा विद्यालयमा सेनेटरी प्याड, दिवा खाजा लगायतका राम्रा कार्यक्रम भएको तर आँफूहरुको पेशागत विषयसँग सम्बन्धित मागमा सरकारसँग गरेको सम्झौताको कुनै पनि विषय नसमेटिएकोले आन्दोलन अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको बताए । ‘बजेटले हामीलाई कहीँ कतै सम्बोधन गरेन, पेशागत मुद्दाहरुलाई कहीँ छोएन’, उनले भने, ‘शैक्षिक मुद्दाहरुको हकमा सेनेटरी प्याड, दिवा खाजा, सबै पढेकाले शिक्षकको लाइसेन्स लिन पाउने विषय लगायत सकारात्मक पनि छन् । निजी विद्यालयमा काम गर्ने शिक्षकहरुको निम्ति सरकारले लगानी गर्न नपर्ने तर सामाजिक सुरक्षा कोषमा समेट्ने विषयमा विशेष ढंगले सम्बोधन नगरिएकोमा आफूहरुको गुनासो रहेको अध्यक्ष थापाको भनाइ छ । ‘निजी विद्यालयमा काम गर्ने शिक्षकहरुको निम्ति सरकारले केही गर्नुपर्दैन, पैसा हाल्नुपनि पर्दैन, सामाजिक सुरक्षा कोषलाई अलिकति कडा बनाएर लेख्नपर्यो भन्ने मात्रै हामीहरुको माग थियो, त्यो वाक्य नै आएको छैन’, उनले भने, ‘विद्यालय कर्मचारी, इसिजीमा काम गर्ने शिक्षकहरुको विषयमा केही आएको छैन, समग्रमा हामीसँग सरकारले जे कुरामा सम्झौता गरेको थियो, त्यो कहिँकतै सम्बोधन गरेको छैन ।’ अब शिक्षकका घटक संगठनहरुको बैठक बसेर शिक्षक महासंघलाई आन्दोलनको नेतृत्व गर्नका लागि दबाब दिने तयारीमा लाग्ने अध्यक्ष थापाले बताए । बजेटले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले भने आन्दोलनको घोषणा गरिसकेको छ । परिषदले जेठ १८ गते एक विज्ञप्ति जारी गर्दै जेठ २० गतेदेखि माग पुरा नभएसम्मका लागि भनेर विभिन्न चरणका आन्दोलनको घोषणा गरेको छ । ‘सामुदायिक विद्यालयहरुमा न्यून वेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायीत्वको विषयक नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको’ भन्दै परिषदले आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य भएको जनाएको छ । परिषदले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, रिले अनसन गर्नेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्नेसम्मको कार्यक्रम घोषणा गरेको छ ।
पाँच महिनामा ४ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक भित्रिएका थिए । तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् । बङ्गलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ । रासस
कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी
कर्णाली । कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको हो । सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ मध्ये २४ प्रतिशत अर्थात चार लाख पाँच हजार दुई सय १९ जना अहिले पनि निरक्षर छन् । प्रदेशमा साक्षरता दर ७६ दशमलव एक प्रतिशत पुगेको छ । पुरुष साक्षरता दर ८३ दशमलव छ प्रतिशत छ भने महिला साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ । जनगणनाको तथ्याङ्कमा विद्यालयमा टिकाउ दर पनि कमजोर देखिएको छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव नौ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ । विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेका तथ्याङ्कमा उल्लेख छ । नतिजा सार्वजनिक गर्दै तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले कर्णाली प्रदेशमा कूल जनसङ्ख्याको तीन दशमलव एक प्रतिशत अर्थात ५२ हजार तीन सय ४१ जनामा कुनै न कुनै अपाङ्गता रहेको बताए । ’नौ लाख २६ हजार तीन सय ४० जना काम गर्न सक्ने उमेर समूहका व्यक्ति छन् । जसअन्तर्गत ७३ दशमलव सात प्रतिशत जनसङ्ख्या कृषि पेसामा, थोक तथा खुद्रा व्यापारमा सात दशमलव नौ प्रतिशत, निर्माण कार्यमा पाँच दशमलव नौ प्रतिशत, शिक्षामा दुई दशमलव छ प्रतिशत र सार्वजनिक प्रशासन तथा सुरक्षाको क्षेत्रमा दुई दशमलव तीन प्रतिशत जनसङ्ख्या संलग्न रहेका छन्’, उनले जानकारी दिए । तथ्याङ्क अधिकृत सापकोटाका अनुसार ४२ दशमलव पाँच प्रतिशत छ महिना मात्रै काम गर्छन् भने २६ दशमलव सात प्रतिशतले छ महिनाभन्दा कम काम गर्ने गरेका छन् । त्यसैगरी ३० दशमलव आठ प्रतिशत नागरिकले कुनै पनि आर्थिक क्रियाकलापमा संलग्न नरहेका तथ्याङ्कमा उल्लेख छ । जनगणनाअनुसार प्रदेशका ६२ हजार सात सय २८ घरपरिवारबाट ९४ हजार तीन सय २० जना अर्थात १७ दशमलव एक प्रतिशत नागरिक विदेशमा छन् । जसमध्ये पुरुष ७७ हजार दुई सय ७८ छन् भने महिला १७ हजार ४२ छन् । विसं २०६८ को जनगणनाअनुसार १५ दशमलव नौ प्रतिशत जनसङ्ख्या विदेशमा बस्ने तथ्याङ्क थियो । विसं २०६८ मा १५ लाख ७० हजार चार सय १८ रहेको कूल जनसङ्ख्या १० वर्षको अवधिमा शून्य दशमलव ७० प्रतिशतले वृद्धि भएको छ भने दैलेख र सल्यानको जनसङ्ख्या ऋणात्मक देखिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्क पोख्रेलले जनगणनाका क्रममा केही समस्या भएको हुन सक्ने भन्दै आगामी जनगणना गर्दा यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । ’जनगणना गर्दा केही त्रुटीहरु पनि भएका हुन सक्छन् । त्यस्ता त्रुटी हटाउँदै जानुपर्छ’, उनले भने । समग्र विकास निर्माणका योजना जनगणनाबाट आउने तथ्याङ्कअनुसार निर्माण हुने भएकाले आगामी १० वर्षपछि हुने जनगणनामा कमी कमजोरी हटाउँदै जानुपर्ने उनको सुझाव थियो । रासस
अब नेपालबाट भारत जानेलाई पैसाको कारोबार गर्न सजिलो हुने
नयाँदिल्ली । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर गरेका छन् । एनपिसिआई भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो । उक्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएको जानकारी दिए । उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उनको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ । भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।
१६ अंकले बढ्याे नेप्से, प्रभु बैंकको प्रमोटर सेयर सबैभन्दा बढी काराेबार
काठमाडौं । बिहीबार सेयर बजार १६.५४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार बढेर १८६६.३४ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा कुला ६१ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ जसमा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँको किनबेच भएको छ । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको ११ करोड रुपैयाँका कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावरका सेयरधनीहरु रहेका छन् । संस्थाका सेयरधनीले प्रतिकित्ता १८.६० रुपैयाँ कमाएका छन्। यस्तै, सबैभन्दा बढी गुमाउनेमा सनराइज इक्विटी फण्डाका सेयरधनीहरु रहेका छन् ।
सहकारीको ८ कराेड रकम हिनामिना गर्ने छ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्थाको आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनले उक्त संस्थाका बचत कर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । ‘उनीहरुले सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाइ बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम तोकिएको मितिभित्र भुक्तानी नगरेको उजुरीका आधारमा पक्राउ गरिएको हो’, ब्यूरोका प्रवक्ता थापाले भने । पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
दूध उत्पादनबाट विदेशभन्दा राम्रो कमाइ, मासिक ४ लाख आम्दानी हुने
गलेश्वर । आज विश्व दूध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायको उपस्थितिमा विश्व दूध दिवसका अवसरमा कार्यक्रम गर्दैछ । विश्वमा दूध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ । हिमाली जिल्ला म्याग्दीमा पनि पछिल्लो समय व्यावसायिक पशुपालन र दुग्ध व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्केका युवा धेरैजसो व्यावसायिक पशुपालनमा लागेका छन् । म्याग्दी जिल्ला दूध र दुग्धजन्य पदार्थले आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । दश वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँ फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–सात कुरिलाखर्कका ३९ वर्षीय युवा सुरेश ढुङ्गाना पेसा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशकोभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल भएका छन् । ’प्रायः नेपाली युवा विदेश जानका लागि मरिहत्ते गर्छन्, विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिन्छन्, गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी भ्रममा आफ्नो जिन्दगीका उर्वर दिन खेर फालिरहेका हुन्छन्’, ढुङ्गानाले भने, ’तर, परिश्रम गर्ने हो भने विदेशकोभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौं ।’ स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीले अमेरिका जान उचाले पनि उनले अमेरिका जाने होइन गाउँमै त्यहाँभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाए । नौ वर्ष पहिले कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ढुङ्गानाको फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् । ती भैँसी र गाईबाट दैनिक एक सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको उनी बताउँछन् । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँको हाराहारीमा बचत हुने उनको भनाइ छ । फार्ममा अहिले ५० लाख रुपैयाँजति लगानी भइसकेको उनले बताए । भैँसीलाई चाहिने घाँसका लागि उनले सार्वजनिक पाखो जग्गा भाडामा लिएका छन् । ’बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु, समय गएको पत्तै हुँदैन, साँझपख बजारमा दूध पु¥याउन जान्छु, सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक एक सय ५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फुर्ति आउँछ’, ढुङ्गानाले भने । प्रतिलिटर ९० रुपैयाँमा दूध बिक्री हुने गरेको उनले बताए । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउँनु हुन्छ । ’बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ, तर गुणस्तरलाई खस्कन दिनुहुँदैन’, उनले भने । पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाए । उनले पाँच रोपनी जग्गामा फार्म बनाएका छन् भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन् । भैँसीको स्याहारसुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताए । ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिँदैन । फापेको भैँसीपालनसँगै उहाँले कुखुरा पालन पनि सुरु गरेका छन् । अहिले उनको फार्ममा दुई हजार तीन सय सय ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक आठ लाख रुपैयाँ पुग्छ । गाई, भैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उनको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ । म्याग्दीमा बढ्यो दूधको मूल्य यसैबीच म्याग्दीमा गत असारदेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुँदा कृषक मर्कामा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषक खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू एक सय १० र व्यापारीले अधिकतम एक सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी दूधको मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य ९० रुपैयाँ प्रतिलिटर र डेरीले उपभोक्तालाई एक सय २० रुपैयाँमा बिक्री गर्ने गरेका थिए । त्यस्तै गाईको दूध प्रतिलिटर ८० रुपैयाँकायम गरिएको छ । मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर २० रुपैयाँ र डेरी व्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी व्यवसायीले किसानबाट खरिद गरेको भन्दा २० प्रतिशत बढी लिन नपाउने बताए । दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताए । ’हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्बोधन भएको छ’, पौडेलले भने । यता उपभोक्ताले दूध आमउपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन् । उपभोक्ताले तिर्ने मूल्यअनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवासहित सरोकारवाला निकायले दूध सङ्कलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्याकेजिङ, बजारसम्म ढुवानी, बिक्रेता कमिसनसम्म ध्यान दिँदा दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्ने उपभोक्ताको माग छ । रासस
अब आइएमई पे मा जम्मा १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका
काठमाडौं । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखी असार ३० डेढ महिना सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउने छन् । आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।