करिडोर खुलेपछि आसपासमा पक्की घर निर्माण भएका छन् भने बाच्छा, कर्नास, बरौचौर, रानीपानी, फलेवासलगायतका ठाउँमा बजारसमेत विस्तार भएका छन् । ‘पहिले लत्ताकपडा, खाद्यान्न, नुन, मट्टितेल, चिनीलगायत घरायसी सामान चाहिए पैदलै हिँडेर बटौली जानपथ्र्यो, अहिले भने जे खोज्यो त्यही दैलोमै ल्याएर गाडिले झार्दिन्छ’, बाच्छा स्थानीय भीमबहादुर खड्काले भने, ‘अहिले धेरै सुविधा भएको छ ।’
कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने ५३ किलोमिटरमध्ये हालसम्म २० किलोमिटर कालोपत्र भइसकेको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीवेणीसम्मको १० किलोमिटर सडक भौगोलिक अवस्थाका कारण दु्रतगतिमा निर्माण हुन नसके पनि अन्य खण्डमा भने धमाधम काम भइरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
करिडोरका अधिकांश ठाउँमा स्तरोन्नति भई कालोपत्र हुने चरणमा रहेको छ भने बाँकी काम ट्र्याक खुलेर फाउन्डेशनको काम भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डका आयोजना प्रमुख शङ्कर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किमी सडकमा अझै तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्मको सडक कालोपत्र गर्न बाँकी रहेको हो ।
आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर तयारी अवस्थामा रहेको छ भने खबरको भिरमा ढलानको काम भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा एक किलोमिटरबाहेकको काम पनि कालोपत्रको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ ।
कुर्घाको भिरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि जेठभित्रमा कर्नास खोलादेखि कुर्घा भिरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए ।
आयोजनाका अनुसार छिटो काम सक्न धेरै निर्माण कम्पनीलाई खण्डखण्डमा काम गर्न बोलपत्र आह्वान गरिएको हो । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफिक जलजला जेभीले कालोपत्रको काम सुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ । यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकखण्डमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम गरिरहेका छन् ।
सो खण्डको रानीपानीदेखि खबरको भिरसम्म छ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्डवाइड ओमबुद्ध जेभीले स्तरोन्नति र कालोपत्र गर्ने काम गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडक खण्ड यसै आर्थिक वर्षमा नै कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीवेणीसम्मको भागमा ट्र्याक खोलेर केही स्तरोन्नतिका काम भए पनि अन्य फाउन्डेशनको काम हुन नसकेको आयोजनाले जनाएको छ ।
करिडोरको मिर्मी, मोदीवेणी र सेतीवेणीमा मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माणको काम भइरहेको छ । सरकारले आगामी आव २०८०/८१ को बजेटमा समेत यो करिडोरलाई प्राथमिकतामा राखेकाले बजेटको समस्या नहुने आयोजनाले जनाएको छ । रासस