विकासन्युज

ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा गर्यो वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवश मनाएको छ । बैंकले ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट/बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो । बैकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौंको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोेजना गरेको यस वृहत वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, स्थानीय नागरिक लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिए । यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री बस्नेतले विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिए । उनले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ । ‘अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौं, यदि ती अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गर्छौं,’ उनले भने । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताए । रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गरे । वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिए । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गरे । रासस

सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेले : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेलेको बताएका छन् ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले सेयर बजारको समस्या समाधान नभएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेलिरहेका छन्, अहिले पनि बजार घटेर सानाल किनेका छैनन्, बिअरिसमा ठूलाले नै खेलिरहेका छन्, डुब्ने साना नै हुन्,’ उनले भने । महालेखाले प्रश्न उठाएपछि आर्थिक ऐनको दफा २६ र २७ ल्याइएको उनले बताए । महालेखाले बेरुजु भयो उठाउ भनेपछि ब्याज शुल्क छुट दिएर उठाउन खोजिएको समेत उनको भनाई छ । ‘मैले छुट नदिन पनि सक्थें, तर दिएँ, अब अन्तिम निर्णयकर्ता अदालत छ, अदालतले दिनु पर्दैन भन्यो भने नउठाउँला,’ अर्थमन्त्री डा. महतले भने ।

बजेटमा अनधिकृत व्यक्ति छिराएको छैन, देशको फाइदाका लागि कर हेरफेर भएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट निर्माणमा अनधिकृत व्यक्ति नछिराएको स्पष्ट पारेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको हल्ला सत्य नभएको स्पष्ट पार्दै अर्थमन्त्री डा. महतले यस्ता कुरामा अनावश्यक हो-हल्ला गर्न नहुने बताएका हुन् । ‘मैले कोही आएपनि नआउनु भनेको थिएँ, मन्त्री दुई, सचिव, आन्तरिक राजश्व विभाग प्रमुख, भन्सार प्रमुख र दुई उपसचिव मात्रै छन्, अरु कोही छिरेका छैनन्,’ उनले प्रष्ट पार्दै भने- ‘केही नपाएर हिलो छ्यापे, यस्तै हो भने इमान्दार मान्छेले यो देशमा काम गर्नु पर्दैन ।’ साथै, उनले आफूले बजेटमा अर्थतन्त्रलाई फाइदा दिने काम गरेको बताउँदै फाइदा उठाउन नपाएकाहरु रिसाएका हुन सक्ने बताएका छन् । ‘बजेटको सकारात्मक पक्षहरु हाइलाइट भएनन्, संसदीय विकास कोष नभई संसदीय पुर्वाधार विकास कार्यक्रम हो, यसको ठेक्का सम्बन्धित मन्त्रालयले गर्छ, सांसदको काम सिफारिस मात्रै गर्ने हो र यो पुँजीगत खर्च नै हो,’ उनले स्पष्ट पारे । साथै, बजेट बिनियोजन गर्दा पनि प्रश्न उठाउने हो भने निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाउँदा हुने उनको भनाई छ । बजेटको आकार चालू आवका भन्दा कम रहेको बताउँदै उनी राजश्वको लक्ष्य हासिल गर्न सक्नेमा आफू विश्वस्त रहेको बताए । ‘बजारमा भइरहेका हल्ला अस्वीकार गर्छु, एक लयमा काम गर्न सकियो भने बजेटको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने । ‘निजी क्षेत्रको माग स्वदेशी वस्तुलाई बढी प्राथमिकता दिने सुझाव आएपछि हामीले एक तहको प्रोटेक्शन दिने विषय ल्याएका हौं । एउटा क्षेत्रले सहुलियत पाउँदा अर्को पक्कै मर्कामा पर्छ, करमा गरेको हेरफेरलाई सम्बन्धित क्षेत्रले गरेको टिकाटिप्पणी गर्नु स्वभाविक हो, भ्याट लगाएका क्षेत्रमा सोचविचार गरेर नीति बनाइएको हो,’ थप प्रष्टाउँदै उनले भने ।

बजेटको आकार ठूलो होइन, ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो नभएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले १७ खर्ब ५१ अर्बको बजेट ठूलो नभएको स्पष्ट पारेका हुन् । ‘खर्च गर्न सक्ने भएर नै बजेटको सिलिङ राखेका हौं, यो बजेटको आकार ठूलो छैन,’ उनले भने । बजेटमा केही कमि कमजोरी होलान् तर राम्रो विषयहरु पनि धेरै रहेको धारणा राखे । ‘अर्थतन्त्र समस्यामा परेको बेला सरकारले खर्च गर्नु पर्छ भनेर केही नीति अघि सारिएको हो, पुँजीगत खर्च बढाउने नीति छ, नचाहिने कार्यक्रम यो बजेटले हटाएको छ,’ कार्यक्रममा बोल्दै उनले भने । त्यस्तै, बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासल गर्न सकिने बताउँदै उनले अब आउले मौद्रिक नीतिले पनि त्यसको दिशा देखाउने बताए र

सेल्सबेरीले सञ्चालनमा ल्यायो ‘इकमर्स’, होमडेलिभरी नि:शुल्क

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्नै अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलमान प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ लञ्च गरेका हुन् । यससँगै सेल्सबेरीले भौतिक सेवासँगै अनलाइन डेलिभरीको पनि सेवा प्रदान गर्ने भएको छ । अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने सीईओ प्राधानाङ्गले जानकारी दिए । उनका अनुसार अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरिएको छ । काठमाडौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्गाबाट होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए । होमडेलिभरीबाट सेवा उपभोग गर्दा ग्राहकहरुले फोन पे, इसेवा, कार्ड पेमेन्ट, क्यास एण्ड डेलिभरीबाट भुक्तानी गर्न सक्ने उनको भनाइ छ । ‘इकमर्स लञ्चको अवसरमा निशुल्क डेलिभरीको सुविधा रहेको छ, रिफर एण्ड फण्ड अन्तर्गत सेल्सबेरी लग इन गरी रिफर कोड प्राप्त गरी क्वाइन संकलन गर्न सकिनेछ, ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्नेलाई विशेष छुटको पनि व्यवस्था रहेको छ,’ उनले भने । सेल्सबेरी सन् १९९३ मा सानो एउटा स्टोरबाट सुरु भएको हो । पोखरामा सफलता प्राप्त गरेपछि सन् २००४ मा काठमाडौं प्रवेश गरेको थियो । कोरोना महामारीपछि अनलाइनको माग बढेपछि सेल्सबेरीले पनि अनलाईनबाटै सेवा प्रवाह सुरु गरेको उनको भनाइ छ । ‘अनलाइनभन्दा पनि भौतिक व्यवसाय गर्न व्यवसाय सुरु भएको हो तर, कोरोना महामारी पछि अनलाइन मै जानू पर्ने बाध्यता आएको छ, अनलाइनमाध्यमबाट ग्राहकलाई सर्वसुलभ मूल्यमा उत्कृष्ट सेवा उपलब्ध गराउन सेल्सबेरी प्रयासरत रहनेछ,’ उनले भने । ५ सय भन्दा बढी कर्मचारीहरू कार्यरत रहेको सो कम्पनी पोखरामा सेलवेज डिपार्टमेन्टको रूपमा सुरु भएको थियो । २५ लाख रुपैयाँ लगानी र ५ जना कर्मचारीबाट आफ्नो व्यवसाय यात्रा सुरु गरेको यस कम्पनीले व्यवसायीक सफलता बढाउँदै लगेको छ ।

ब्याजदर घट्न सक्छ, स्थिति सहज भएन भने पीडा त सहनै पर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्थिति सहज भएमा बैंकको ब्याजदर घट्न सक्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट – अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् । ‘बैंकदर अझै घट्छ, समयले साथ दियो भने थप घटाउन सकिन्छ,’  उनले भने- ‘तर स्थिति सहज भएन भने फेरि पीडा सहनै पर्छ ।’ बजेटको सिलिङमा हस्ताक्षर गर्ने व्यक्ति आफू पनि रहेको जानकारी गराउँदै उनले बजेटको आकार व्यापक छलफलपछि आएको बताए ।बजेटमा रिफर्मका विषय पनि आएका बताउँदै उनले त्यसमा निजी क्षेत्रको सहकार्यका विषय रहेको जानकारी गराएका छन् । ‘सहकारीमा परेको समस्या समाधानका लागि पनि केही कुरा बोलेको छ, विशिष्टिकृत नियामकको धारणा आएको छ, यसले सहकारीको प्रभावकारी नियमनमा भुमिका खेल्छ,’ उनले भने । त्यस्तै, उनले अनावश्यक संस्था खारेज तथा गाभ्ने विषय सुधारको संकेत रहेको व्यक्त गरे ।  आगामी वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने र सन् २०२४ मा मुल्यवृद्धि घट्ने ग्लोबल रिपोरेटले देखाएको गर्भनर अधिकारले बताए । ‘६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ, साउनभित्रै कार्यविधि आउने भनिएको छ, यसले पनि खर्च बढाउन भूमिका खेल्छ होला,’ गर्भनर अधिकारीले भने । त्यस्तै, आगामी साउन १५ गतेभित्र मौद्रिक नीति आउने बताउँदै उनले बजेट कार्यान्वयन गर्न मौद्रिक नीतिले भूमिका खेल्ने समेत बताए ।

बजेट वितरणमुखी भयो, वृद्धभत्ता खारेज गर्नु पर्थ्यो : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि टिप्पणी गर्दै अध्यक्ष मल्लले सो बताएका हुन् । अध्यक्ष मल्लले यो बजेटले वृद्धभत्ता खारेज गर्नु पर्ने समेत बताएका छन् । ‘वृद्ध हुने संख्या वर्षेनी बढ्छ, ऋण लिएर चालू खर्च गर्ने प्रवृति अन्त्य आवश्यक छ, यसले देशलाई थप संकट उत्पन्न गर्न सक्छ,’ उनले भने । त्यस्तै, उनले विद्युतीय सवारी साधान (ईभी) आवश्यक रहेको बताउँदै सरकार र मन्त्री परिवर्तन हुने बित्तिकै नीति फेर्नु नहुने भनाई राखे । बजेटले करको दरभन्दा पनि दायरा बढाउनु पर्ने अध्यक्ष मल्लले बताए ।