सेबोनको वार्षिक आम्दानी ८२ करोड, प्रति कर्मचारी याेगदान १ करोड बढी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कार्यरत कर्मचारीले वार्षिक औषत १ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् । तथ्याङ्क अनुसार बोर्डले गरेको कूल आम्दानीलाई आधार मान्दा एक जना कर्मचारीले वार्षिक औषतमा १ करोड रुपैयाँ भन्दा बढी योगदान गरेका हुन् । बोर्डले आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । सोही आधामा एक जना कर्मचारीले एक वर्षमा औषत १ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको हो । सोही आर्थिक वर्षमा बोर्डमा ७५ जना कर्मचारीले कार्यरत थिए । गत वर्षभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा बोर्डका कर्मचारीले बढी योगदान गरेको देखिन्छ । किनभने आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ जम्मा आम्दानी गरेका थिए । यस वर्ष बोर्डमा कूल ६५ जना मात्रै कर्मचारी कार्यरत थिए । सोही आधारमा आर्थिक वर्ष २०७७/७८ मा एक जना कर्मचारीले औषत १ करोड ६५ लाख रुपैयाँ गरेका थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बोर्डमा कार्यरत कर्मचारीहरुमध्ये प्रतिकर्मचारी ६० लाख रुपैयाँ आम्दानी गरेका थिए । धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३८ करोड १२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा पनि प्रतिकर्मचारी ५८ लाख ६४ हजार रुपैयाँ कूल आम्दानी गरेको तथ्याङ्कले देखाउँछ । सेबोनले धितोपत्र कारोबार, सूचीकृत संगठित संस्थाहरुको हकप्रद तथा बोनस सेयर निष्काशन, आईपीओ निष्काशनबाट आफ्नो आम्दानी गर्दछ । साथै, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेर आम्दानी गर्ने गरेको सेबोनले बताएको छ । ‘धितोपत्र दर्ता तथा निष्काशनका लागि स्वीकृति प्रदान, सामूहिक लगानी योजना स्वीकृति, क्रेडिट रेटिङ्ग सेवा शुल्क, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी तथा धितोपत्र बजार अनुमति पत्र नवीकरण दस्तुर, मर्चेन्ट बैकिङ्ग तथा ब्रोकर प्रमाणपत्र नवीकरण दस्तुर, धितोपत्र कारोबार दस्तुर, विभिन्न आवेदन शुल्क, विवरणपत्र प्रशोधन शुल्क र अनुमति पत्र शुल्कबाट आम्दानी गर्छ,’ धितोपत्र बोर्डले भन्यो । बोर्डका अध्यक्ष रमेश हमाल सेबोन आफैंमा बलियो हुन नसकेको भएपनि कर्मचारी भने अहोरात्र खट्ने गरेको बताउँछन् । धितोपत्र बोर्डको पुनसंरचना, संस्थागत विकास, जनशक्तिको विकास, प्रविधिको विकासमा ठूलो फड्को मार्नु पर्ने उनको भनाइ छ । उनका अनुसार पूँजी बजार सञ्चालन गर्र्न चाहिने आधार सबै तयार भएका छैन । ‘थोरै जनशक्तिमा अहोरात्र खटेर बिना प्रविधि काम गर्नु परेको छ, यति धेरै काम गर्ने कर्मचारीलाई धन्यवाद नै दिनु पर्छ,’ उनले भने, ‘कर्मचारीको भत्ता वृद्धि भएपछि काम गर्ने जाँगर पनि चल्छ ।’ प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार बजार बढ्दा बोर्डको आम्दानी पनि बढ्छ भने बजार घटेको बेलामा आम्दानी पनि कम हुने गरेको छ । लकडाउनको बेलामा बोर्डको आम्दानी ह्वात्तै घटेको भएपनि पछिल्लो समय बढ्दै गएको उनको भनाइ छ ।
सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनस्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बैंकले वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथसाथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउछ भन्ने बैंकले विश्वास राखेको छ । बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो । त्यस्तै यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनप्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई ‘नो प्रिन्ट डे’ पनि घोषणा गरेको थियो । सिद्धार्थ बैंकले देशैभरी फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाइ आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
गलेश्वरको आम्दानी ११ महिनामा करोड नाघ्यो
बेनी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोड रुपैयाँ भन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् । ‘गत वर्षको असारसम्म कोषको आम्दानी दुई करोड ९० लाख ८२ हजार २३५.६० रुपैयाँ थियो’ उनले भनिन्, ‘चालु आर्थिक वर्षको हालसम्म एक करोड ५१ लाख एक हजार एक सय ३८ रुपैयाँ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार छ सय ३० रुपैयाँ खर्च भएको छ ।’ सबैभन्दा बढी मण्डप भेटी २४ लाख ७६ हजार चार सय ९९ रुपैयाँ र मेलापर्वको भेटी २६ लाख ९१ हजार छ सय ३८ रुपैयाँ आम्दानी भएको छ । आव २०७८/७९ मा ४० लाख ८५ हजार पाँच सय २२ रुपैयाँ भेटीसहित ९१ लाख ८२ हजार पाँच सय ६९ रुपैयाँ आम्दानी भएको थियो । यज्ञ दर्तामा चार लाख ३५ हजार छ सय दुई रुपैयाँ , यात्री निवासबाट छ लाख ५९ हजार १० रुपैयाँ , ब्याज आम्दानी १३ लाख २७ हजार ३९ रुपैयाँ , दान दातव्य १५ लाख १२ हजार सात सय २२ रुपैयाँ, जिन्सी बिक्रीबाट दुई लाख ९८ हजार तीन सय ७१ रुपैयाँ, स्टल भाडाबाट पाँच लाख दुई सय ६० रुपैयाँ, पार्किङ शुल्कबाट एक हजार नौ सय ५० रुपैयाँ र विविध शीर्षकमा ३७ हजार २० रुपैयाँ आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । गत वैशाख २० देखि यही जेठ २१ गतेसम्म रु छ लाख ४४ हजार छ सय ९७ भेटी सङ्कलन भएको छ । गत वैशाख महिनामा पाँच लाख २२ हजार दुई सय २५ रुपैयाँ भेटी सङ्कलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ मन्दिरको आम्दानीबाट हालै दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्चेर गलेश्वर बजारको २।५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन ३१ लाख ७५ हजार रुपैयाँ, सामुदायिक भवन बनाउन २१ लाख ९९ हजार रुपैयाँ, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन चार लाख रुपैयाँ खर्च गरेको थियो । जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक ७२ हजार रुपैयाँ, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए । विसं २०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । तेह्र वर्षअघिसम्म ३१ लाख रुपैयाँ रहेको कोषको आम्दानी हाल करिब चार करोड रुपैयाँ पुगेको छ । रासस
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
रुपन्देही । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ । सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ । यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९ छन् । कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ । त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए । उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।’ यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले बताए । रासस
आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौंको विवरणमा आज काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।
कर्जा नतिरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणीलाई कानूनी कारवाही गर्ने
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा नतिर्ने ऋणी अमृता किराना पसलका सञ्चालक सरीता देवीको तीन पुस्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेपछि ३५ दिने सूचना जारी गर्दै सञ्चालकसहति जमानीकर्तालाई समेत कालोसूचीमा राख्ने चेतावनी दिएको हो । व्यवसायिक कर्जा सुविधा वापत लिएको कर्जाको साँवा तथा ब्याज रकम तथा सोमा लाग्ने हर्जाना, जरिवाना तिर्न पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको बैंकले बताएको छ । ऋणीले कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकाले ३५ दिनभित्र ऋणकर्जाको साँवा तथा ब्याज, जरीवाना शुल्क चुक्ता फछ्र्यौट गर्न बैंकले आग्रह गरेको छ । अन्यथा, प्रचलित कानून बमोजिम कर्जा असूलीको लागि आवश्यक कानूनी कारवाही अगाडि बढाउनुका साथै ऋणी, प्रोप्राईटर, व्यक्तिगत तथा धितो जमानीकर्ताहरूको ३ पुस्ता सहित कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाईने बैंकले जनाएको छ । जमानीकर्ताहरुमा रेन्जु देवी, धितो जमानीकर्ता शम्भु प्रसाद नुनिया, जय प्रकाश महतो, नारायण प्रसाद नुनिया र जयचन्द्र प्रसाद नुनिया रहेको बैंकले जनाएको छ ।
हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले असार ८ गते काठमाडौंमा विशेष साधारणसभा बोलाएको हो । सहायक कम्पनी मार्फत निर्माण गर्न लागिएको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि विद्युत नियमन आयोगद्वारा प्राप्त सहमति बमोजिम हाल कायम रहेको सेयर संख्या १ अर्ब ५४ करोड ८९ हजार १२ कित्ता सेयर बराबर ०.५० सेयर अर्थात् विद्यमान १ कित्ता बराबर ०.५० कित्ताका दरले हुन आँउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । विशेष साधारणसभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जेठ ३१ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।
नेपाल पुनर्बीमाले गर्यो २९ करोड नाफा, जगेडा कोष ६ अर्ब १७ लाख रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल २९ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो भने जीवन बीमा व्यवसायमा ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो वर्ष कम्पनीले २९ करोड १४ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख रुपैयाँ गरी कूल २ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ र जीवन व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ गरी कूल ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले ६ महिनाको अवधिमा निर्जीवनतर्फ १ अर्ब ९९ करोड ११ लाख रुपैयाँ र जीवन तर्फ ८२ करोड ४८ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन तर्फ १ अर्ब ९८ करोड २१ लाख रुपैयाँ र जीवन बीमा तर्फ ४९ करोड ८३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ र बीमा कोष २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोष निर्जीवनतर्फ ५ अर्ब ८९ करोड १० लाख रुपैयाँ र जीवन बीमा तर्फ २८ करोड ७६ लाख रुपैयाँ गरी ६ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष निर्जीवनतर्फ ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ र जीवन बीमा तर्फ ५७ करोड ८४ लाख रुपैयाँ गरी कूल ४ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको थियो । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३३.०१ गुणा रहेको छ ।