सुरु हुन सकेन प्रतिनिधिसभाको बैठक
काठमाडौं । विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि बैठक सुरु हुन नसकेको हो । सत्तारुढ प्रतिपक्षी दलहरुको यही विवाद र छलफल लम्बिएका कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन । सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ । उनीहरुले यो विषयको लागि छानबिन समिति नै बनाउनुपर्ने अडान लिइरहेका छन् । अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।
कृषि व्यवसायबाट राम्रो आम्दनी गर्दै भोजपुरका युवा
भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन् । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन् । करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाएका छन् । हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख रुपैयाँ बढी लगानी गरिसकेको उनको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेती समेत गर्दै आएका छन् । दाँवाली कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषिमा लागेका उनी समाजको एक उदाहरणीय पात्र समेत हुन् । विगतमा आफ्नो फार्ममा उत्पादन भएको दूध बजारका दुग्ध उद्योगमा बेच्दै आएका उनले अहिले आफँ उद्योग सञ्चालन गरेर स्वरोजगार समेत बनेका छन् । विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने कृषक विष्टको भनाइ छ । ‘सानैबाट कहिले पनि विदेशप्रतिको मोह आएन’, उनले भने, ‘आफै उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षबाट कृषिमा लागेको हुँ । सुरुआती चरणमा धेरै दुःख पाएँ । उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो । तर अहिले आफैले दुग्ध डेरी सञ्चालन गरेको छु । यहीँ मेहनत गरे आम्दानी गर्न सकिन्छ ।’ उनी उठेदेखि साँझसम्मको समय कृषिमा लगाउँछन् । गाउँघरका किसानलाईसमेत पशुपालनमा लाग्नका लागि प्रोत्साहन थप्दै आएका छन् । कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन् । सानै उमेरमा व्यवसायमा लागेका विष्ट बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन् । हिउँदको समयमा दूध सङ्कलनमा सहज रहे पनि वर्षात्मा कच्ची बाटो हिलाम्य बन्दा समस्या हुने गरेको उनको भनाइ छ । कृषक विष्टले आफ्नो फार्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट सङ्कलन गरेर दूध ल्याउने गरेका छन् । उनले अहिले भोजपुर बजारमा दुर्गा दुग्ध डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आएका छन् । ‘व्यवसाय सञ्चालनका क्रममा धेरै समस्या झेलें’, कृषक विष्टले भने, ‘जो मानिस समस्याको सामना गर्नसक्छ त्यो सफल बन्ने रहेछ । मैले धेरै सङ्घर्ष गरेको छु । आफ्नो फार्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध सङ्कलन गर्छु । ती किसानलाई पनि केही राहत पुगेको छ । मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन ।’ सिजनमा आफ्नो फार्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट सङ्कलन भएको गरी दैनिक एक सय ८० देखि दुई सय लिटरसम्म दूध बिक्री गरिरहेको उनको भनाइ छ । दुग्धजन्य परिकार बनाउने उपकरण नहुँदा समस्या रहेको किसान विष्टले बताए । दूधलाई चिस्याउनका लागि आवश्यकपर्ने उपकरण नहुँदा गर्मीको समयमा बढीमात्रामा दूध फाट्ने सम्भावना हुने उनको भनाइ छ । राज्यकोतर्फबाट दुग्धजन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उनले बताए । ‘बढी मात्रामा दूध सङ्कलन गरेर भण्डारण गर्न समस्या छ’, उनले भने, ‘त्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ । यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो ।’ व्यवसायी विष्टले दाँवा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारीभञ्ज्याङलगायत ठाउँका एक सय ५० बढी कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताए । आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उनको भनाइ छ । ‘हामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छ’, कृषक घिमिरेले भने, ‘बजार टाढा भएकाले विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए । उनीहरुले घरयासी प्रयोग मात्र गर्दै आएका थिए । गाउँमा नै दूध सङ्कलन केन्द्र हुँदा सहज छ । अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौँ ।’ कृषक विष्टले आंशिकरुपमा अन्य मानिसलाई रोजगारी समेत दिएका छन् । दुग्ध व्यवसायसँगै उनले नौ वटा टनेलमा व्यावसायिकरुपमा तरकारी खेती समेत गर्दै आएका छन् भने व्यावसायिकरुपमा १५ रोपनी बढी क्षेत्रमा सुन्तला खेती पनि गरेका छन् । कृषि व्यवसायबाट भविष्यमा वार्षिकरुपमा रु १५ देखि २० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको किसान विष्टको भनाइ छ । आफूले आर्गानिक तरकारी उत्पादनमा जोड दिएको उनले बताए । ‘कृषि व्यवसाय गरेर सफल बन्दैन भन्ने धेरै थिए’ उनले भने, ‘इलामबाट गाई किनेर ल्याएर व्यवसाय थाल्दा यो डुब्यो भन्ने पनि थिए । अहिले मैले यहाँ उत्पादन भएको मलको सदुपयोग गर्दै आर्गानिक तरकारी खेतीमा जोड दिएको छु । यस वर्ष मात्र नौ वटा टनेल विस्तार गरेको छु । त्योसँगै १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको छु ।’ कृषिमा योजनाबद्धरुपमा लागेको देखेर राज्यले तरकारी खेतीका लागि केही सहयोग गरेको कृषक विष्टको भनाइ छ । राज्यको सहयोगले व्यवसायमा लाग्न हौसला मिलेको उनले बताए । ‘सुरुमा राज्यकोतर्फबाट खास सहयोग भएन’, उनले भने, ‘आफैले ऋणपान गरेर आवश्यकता पूरा गर्दै गएँ । अहिले तरकारी खेतीका लागि केही सहयोग पाएको छु । कृषि ज्ञान केन्द्रको सहयोगमा टनेल विस्तार गरेको छु ।’ आफ्नै ठाउँमा मेहनत गर्नसके विदेशमा हुने कमाइ यही गर्न सकिने उनको भनाइ छ । आफूले कृषि क्षेत्रमा पाएको सफलता देखेर धेरै युवाले यसप्रति रुचि देखाएको उनको भनाइ छ । उनीहरुलाई आफूले सिकेको सीप सिकाउँदै कृिष पेसामा लाग्न प्रोत्साहन गर्दै आएको उनले बताए । ‘स्वदेशमा कृषिमा सम्भावना देखेर कृषिमा लागेको हुँ’, उनले भने, ‘पशुपालनबाट निस्किएको मलको प्रयोग गरेर बेमौसमी तयार खेतीको अवधारणाअनुसार काम गरिरहेको छु । मैले आर्गानिक कृषि उत्पादनमा जोड दिएको छु । यो लाग्न रुचि देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको छु ।’ रासस
अनुगमनका लागि छुट्याइएको बजेट सकिएपछि विभागले बजार डुल्न छोड्यो, महँगीको मारमा जनता
काठमाडौं । बजार अनुगमन तथा नियमन गर्ने सरकारी निकाय हो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग । बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, अनुचित व्यापार गर्ने व्यवसायिक फर्म तथा उद्योगलाई कारवाहीदेखि त्यस्ता उद्योगी व्यवसायीलाई जेलसम्म पठाउन सक्ने अधिकार विभागसँग छ । अनुचित कारोबार गर्नेलाई जेलसम्म पठाउने अधिकार भएको विभागले पछिल्लो समय हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेको छैन । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट पश्चात दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते संसद्को दुवै सदन (प्रतिनिधि तथा राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै विभिन्न १७० भन्दा बढी नयाँ वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागूको घोषणा गरेका थिए । उनले बजेटमा भ्याटको घोेषणा गरेसँगै पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो । बजेट पश्चात् दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदा नियामक निकायको रुपमा रहेको विभाग भने बजार अनुगमन र सवारीसाधन मर्मत गर्न बजेट अभाव भएको बताउने गरेको छ । बजार अनुगमनका लागि छुट्टाइएको रकम सकिएपछि गाडीमा तेल राख्न समेत समस्या भएको विभागका अनुगमन अधिकृत बताउँछन् । गाडीमा तेल राख्ने समेत रकम नभएपछि बजार अनुगमन सुस्त भएको उनको भनाई छ । ‘बजार अनुगमनका लागि छुट्टाईएको रकम सकियो, अहिले हामी अन्य शिर्षकमा भएका रकमहरु तानेर जेनतेन बजार अनुगमन गर्दै आएका छौँ, पहिला दैनिक ४/५ वटा समूहबाट बजार अनुगमन हुने गरेकोमा हाल १/२ वटा समूहबाट मात्रै अनुगमन गर्ने गरेका छौँ’, ती अधिकृतले भने । यसअघि वस्तुको गुणस्तर र मूल्यलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेको विभागले पछिल्लो समय गुनासोलाई केन्द्रीत गरेर अनुगमन गर्दै आएको उनले बताए । ‘जेठसम्म अन्य शिर्षकबाट रकम तानातान गरेर जेनतेन अनुगमन गरिरहेका छौँ, असार लागेपछि पेट्रोलपम्मसँग पछि रकम भुक्तानी गर्ने सम्झौता गर्ने हाम्रो तयारी छ’, ती अधिकृतले भने, ‘बजार अनुगमन रोक्ने कुरा भएन, साउन लागेपछि रकम निकासा हुन्छ, त्यो बेलासम्मको सम्झौता गरेर उधाराेमा भएपनि तेल राख्ने हाम्रो तयारी हो ।’ तर, विभागका निर्देशक होमनाथ लुइटेल नियमित रुपमा बजार अनुगमन भैरहेको बताउँछन् । उनले विभागमा बजार अनुगमनका लागि न्यून जनशक्ति रहेको भन्दै भएका जनशक्तिबाटै नियमित रुपमा बजार अनुगमन गरिरहेको बताए । बजार अनुगमनका लागि छुट्टयाइएको रकम अपुग भएको उनले पुष्टि गरे । रकम अभाव भएपनि बजार अनुगमन प्रभावित नभएको उनको दाबी छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिना उपभोक्ताले तीन तहका सरकार भएको अनुभव गर्नै नसकेको बताउँछन् । ‘बजार अनुगमन गर्ने निकाय धेरै छन्, तर उपभोक्ताले सरकार भएको अनुभनसम्म गर्न सकेका छैनन्’, उनले भने, ‘बजेटमा दैनिक उपभोग्य वस्तुमो भ्याट लगाउने निर्णयपछि बजार अस्तव्यस्त भैसक्यो, अनुगमन गर्ने नियमाकिय निकाय तेल छैन भन्दै पन्छिन थाल्यो ।’ उनले विभिन्न बाहानामा उपभोक्ताको अनुहार हेरेर मूल्य लागु गर्ने गरिएको भन्दै उपभोक्ताको हितका लागि बजेट नआएको बताए । ‘सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट उपभोक्ता हितका लागि आएन, बजार अनुगमनलाई प्रभावकारी बनाउने, प्रयोगशाला पूर्ण रुपमा सञ्चालन गर्ने तथा स्रोत साधनको उचित परिचालन गर्नुपर्ने लगायतका कुराहरु बजेटमा समावेश हुनुपर्ने थियो, तर बजार अनुगमनका विषयमा बजेटमा केही आएन’, उनले भने । बजेटमा नै केही उल्लेख नभएपछि सरकारी निकायहरु उम्कने परिपाटीको वृद्धि हुने उनको भनाई छ । सम्बन्धित समाचार : ३५ रुपैयाँमा पाइने प्याजको मूल्य ६० पुग्यो, भ्याट लगाउँदाको असर
शुक्लाफाँटामा खानेपानी समस्या हट्दै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताए । ‘खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ’, उनले भने । वडमा नगरको गौरवको योजनाअन्तर्गत छ करोड आठ लाख ९८ हजार आठ सय ६९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इञिजनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ । खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगामी आवको असार १८ गते भित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाका लागि दुई सय २५ घनमिटरको टङ्की निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताए । ‘निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं ।’ खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ । खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ । खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताए । खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन् । नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्दै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताए । वडावासीको मागअनुसार शुद्ध पेयजल घरघरमा पु¥याउने सपना साकार बनाउनका लागि आयोजना निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए । ‘खानेपानी आयोजना निर्माणको पूरा भएपछि आइरन र आर्सेनिकको समस्या हटेर जान्छ’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘शुद्ध पेयजल उपलब्ध हुने भएपछि वडाका बासिन्दा पानीजन्य रोगबाट पनि मुक्त हुन्छन् ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताए । यसअघि गैरसरकारी संस्थाको सहयोगमा वडामा सिँचाइका लागि ३० डिपट्युबवेल जडान गरिएको छ । रासस
राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्यो
काठमाडौं । राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।
एकैदिन ९ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको हो । ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ, सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्छ’, महानगरले जारी गरेको सूचनामा भनिएको छ । पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो । महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुनः सूचना जारी गर्दै जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । तोकिएको समयभित्र विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमतिपत्र वा स्वीकृति नै रद्द गर्ने महानगरले चेतावनी दिएको छ ।
टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त छन् । वर्षायाम सुरु हुनै लाग्दा उहाँलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए । ‘बर्सेनि बाढीबाट बच्नका लागि पूर्वसावधानीका उपायका बारेमा जानकारी दिइँदै आएको छ । यसले हामीलाई बाढी आउँदा सुरक्षित स्थानमा स्थानान्तरण हुन र भएको धनमाल जोगाउन मद्दत पुगेको छ’, उनी भन्छन्, ‘सिकाइ भएको कुरालाई स्थानीयले कार्यान्वयनमा नल्याउँदा भने कहिलेकाहीँ समस्या हुने पनि गरेको छ । समयमा विपद्को जानकारी हुँदा पनि हुने लापरबाहीले ठूलो क्षति बेहोरेको इतिहास हाम्रा अगाडि छ ।’ वडा नं ८ सोमती चौधरीलाई पनि बढी पीडा बाढीकै छ । उनलाई बर्सेनी बाढीको समस्याका कारण वर्षायाम सुरु भएपछि चिन्ता बढ्दै जान्छ । ‘कर्णाली नदीको किनारमै घर छ । कतिबेला के हुन्छ ? थाहा छैन’, सोमती भन्छिन्, ‘समयम तटबन्धको काम सम्पन्न भएको भए पनि यो चिन्ताबाट बच्न सकिन्थ्यो होला । बर्सेनि बाढीबाट बच्न कृत्रिम अभ्यास गरिरहनुपर्ने थिएन होला ।’ बाढी प्रभावित क्षेत्रमा लामो समयदेखि प्रक्टिकल एक्सन नेपाल र सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको साझेदारीमा नेपाल बाढी उत्थानशील परियोजना सञ्चालन हुँदै आएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकलाई जोखिम बचाउनका लागि र त्यस क्षेत्रका नागरिकको जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ । कैलालीका दुई पालिका र बर्दियाको तीन पालिकामा परियोजनाले काम गर्दै आएको कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताए । उनका अनुसार कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा काम गर्दै आएको छ । त्यस्तै बर्दियाको राजापुर र मधुवन नगरपालिका साथै गेरुवा गाउँपालिकामा काम गरिरहेको छ । प्रक्टिकल एक्सन नेपालका कार्यक्रम व्यवस्थापन विक्रम रानाले कुनै पनि जोखिमलाई पूर्णतया निर्मूल गर्न नसकिने जनाउँदै त्यसलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने भएकाले त्यसमा व्यवस्थापनको काम परियोजनाले गर्दै आएको बताए । उनले विपद्को जोखिममा रहेका नागरिकलाई स्थानीय सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण भूमिका खेलेको बताए । टीकापुर नगरपालिका नगरप्रमुख रामलाल डँगौरा थारुले प्राकृतिक प्रकोप कोही कसैलाई नभनी आउने भएकाले त्यसको समाधान गर्नाका लागि सम्पूर्ण समुदायका पूर्वतयारी अवस्थामा रहन आग्रह गरे । उनले घटना अभ्यास एउटा अभ्यास मात्र नभई प्रकोपका बेला आइपर्ने घटना भएको जनाउँदै त्यसलाई त्यसैअनुसार अनुसरण गरेर कार्यान्वयनका लागि तयारी अवस्थामा बस्न भने । ‘प्रकोपसँग लड्नसक्ने क्षमता कसैसँग छैन’, नगर प्रमुख थारुले भने, ‘त्यसको समाधान गर्न सकिने भएका कारण समाधानको बाटोतिर जानुपर्छ ।’