सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा छुट
काठमाडौं । सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच समझदारी भएको छ । बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहकले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल ब्यूटी सलुन सेन्टर गरी १८ वटा पसलहरुमा ३० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : पर्यटनमन्त्री
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज (मंगलबार) सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गरे । उनले भने, ‘नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवद्र्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवद्र्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।’ यस्तै प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए । संविधानसभाका सदस्य यज्ञ सुनुवारले खिजी देम्बा क्षेत्र गल्फ र पर्यटनका लागि नयाँ गन्तव्य भएकाले विकास र समृद्धिका मुद्दामा जिल्लाका सवै राजनीतिक दलबीच एउटै मत हुन आवश्यक रहेको बताए । पर्यटक व्यवसायी आङछिरिङ शेर्पाले गल्फलगायत खेल पर्यटनकका लागि खिजीदेम्बा क्षेत्र उपयुक्त नयाँ गन्तव्य भएकाले त्यहाँको प्राकृतिक छटालाई कुनै नोक्सान नगरी पर्या–पर्यटनसमेत विस्तार गर्न सकिने धारणा व्यक्त गरे । खिजी देम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गरे । जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोबास रहेको खिजी देम्बो क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रुपमा रही आएको छ । समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ । साहित्य र राजनीतिक परिवर्तनका लागि भएको क्रान्तिका हिसाबले ओगलढुङ्गा देशकै उर्वर भूमि मानिँदै आएको छ । युवाकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले ओखलढुङ्गाको गरिमा र ओजलाई विश्वभर फैलाउन सफल भएका छन् । सो अवसरमा मन्त्री किराँतीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोवाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्डहिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गरेका हुन् । रासस
राष्ट्र बैंकको निर्देशनले लक्ष्मी र सनराइज बैंकलाई सकस
काठमाडौं । राष्ट्र बैंकको एकीकृत निर्देशनले लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्र एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको छ । राष्ट्र बैंकले वि.सं.२०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेसँगै लक्ष्मी सनराइज बैंकलाई असार मसान्तभित्रै एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको हो । ‘वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिने छ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकको सो सुविधा तथा छुट प्राप्त गर्न मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने छ । यसअघि मर्जरपछि लक्ष्मी सनराइज बैंकले सुविधा तथा छुट पाउने की नपाउने भनेर दुविधा रहेकोमा अब भने सुविधा प्राप्त गर्ने स्पष्ट भएको सञ्चालक दिनेश पौड्यालले बताए । सुविधा तथा छुट प्राप्त गर्नकै लागि भएपनि असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने उनको भनाइ छ । राष्ट्र बैंकको एकीकृत निर्देशनले हामी पनि स्पष्ट भएका छौं, हामीले राष्ट्र बैंककोसुविधा तथा छुट पाउने की नपाउने भन्ने थियो, अब स्पष्ट भइयो, मर्जरपछि बैंकलाई सहज हुने भयो,’ उनले भने । राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । ‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । साथै, एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ । दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न असार ३ गते साधारण सभा बोलाएका छन् । सनराइज बैंकको १५ औं वार्षिक साधारणसभा र लक्ष्मी बैंकले विशेष साधारणसभाले मर्ज गर्ने विशेष प्रस्ताव पारित गर्ने छन् । सञ्चालक पौड्याल असारमसान्तभित्रै एकीकृत कारोबार गर्ने तयारी रहेको बताउँछन् । ‘असार ३ गते दुवै बैंकले साधारण सभा बोलाएका छन्, साधारणसभाले पारित गरेपछि तुरुन्तै (असार ४ गते) राष्ट्र बैंक पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, एकीकृत कारोबारका लागि स्वीकृति पाएपछि असारभित्रै एकीकृत कारोबार गर्छाैं,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष लक्ष्मी बैंकले नै पाउँछ, बाँकी रहेका आन्तरिक कामहरु तिव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको छ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस स्किम ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक सहमति भएको छ । मर्जरपश्चात् लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्चराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
२३ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार
काठमाडौं । सेयर बजार मंगलबार २३.१२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार मंगलबार सेयर बजार बढेर १९२५.१२ विन्दुमा पुगेको छ । आज ५३ लाख ८२ हजार ३४२ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेको हो भने सनराइज इक्विटी फण्डको मूल्य प्रतिकित्ता ०.७३ रुपैयाँले वृद्धि भएको हो ।
भोटाहिटीको आरके स्विट्समा महानगरको ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्समा ताला लगाएकाे छ । बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरे पनि अटेर गरेकोले आरके स्विट्समा ताला लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा ताल्चा लगाएको हो । नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ ।
मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै
गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको छैन तर अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न मध्यपहाडी राजमार्ग निर्देशनालयमा पठाउने तयारी गरिएको उक्त कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिए । ‘निर्माण व्यवसायीको चरम लापरबाही भयो, तल्लो खण्डमा चार पटक र उपल्लो खण्डमा पाँच पटक म्याद थप्दासमेत कालोपत्र भएन, अब रद्द गर्नुको विकल्प रहेन, उपल्लो सूर्य कन्स्ट्रक्सनको बोलपत्र रद्दका लागि तेस्रो प्रक्रियामा पुगेका छौँ, तल्लो भारत सिद्धसाई कम्पनीको नाममा पनि मङ्गलबार सूचना निकालेका छौँ’, आयोजना प्रमुख अधिकारीले भने, ‘दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दासमेत नसक्नु भनेको चरम लापरबाही हो दुवै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।’ दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्न नसक्दा उक्त कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरिएका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘निर्माण कम्पनीको ढिलाइले सीमा नाघ्यो, नागरिक स्तरबाट समेत आन्दोलन भइरहेका छन्, असारसम्म कालोपत्र सक्ने कुनै सङ्केत देखिएन फिल्डमा कामदार देखिएनन् उपल्लो १२ किमी सडकको सूर्य कन्स्ट्रक्सनविरुद्ध पत्रिकामा सूचना प्रकाशित गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाउन थालिएको छ, तल्लो भारत सिद्धिसाईको ठेक्का रद्द गर्ने विषयमा पत्रिकामा सूचना प्रकाशित गरिएको छ’, उनले भने, ‘आगामी असारको २० सम्म तल्लो खण्ड र असार ५ गतेसम्म उपल्लो खण्डको सम्झौता म्याद छ तर काम नसक्ने भएपछि म्याद अगावै ठेक्का रद्दको प्रक्रियामा गएका हौँ ।’ उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवीसँग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । यस्तै बिहूँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारसम्म भए पनि ठेक्का रद्द गर्न लागिएको हो । काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गर्ने छ । बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किलोमिटर सडक कालोपत्र भए पनि पाँच पटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ । यस सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको छ । अहिले बिहूँमा दैनिकजसो निर्माण व्यवसायीविरुद्ध स्थानीयवासीले विरोध जनाएर आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको स्थानीयवासी खिमानन्द कँडेलले जानकारी दिए । जिल्लाको गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलामा सडक कालोपत्र भइसक्दासमेत जिल्ला सदरमुकाम खण्ड कालोपत्र हुन नसक्दा यहाँका जनता निर्माण व्यवसायी विरुद्ध आन्दोलनमा उत्रेको उनको भनाइ थियो । रासस
करको दर हामीले हेरफेर गरेका हौं, रामकृष्णले इन्ट्री मात्र गरे : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताएका छन् । उनले यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको बताए । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको पनि बताए । उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेकोले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन, निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो,’ अर्थमन्त्रीले भने ।
वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार
काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार याेजना ल्याएकाे छ । कम्पनीले वुलिंगकाे इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल नि:शुल्क पाउने उपहार याेजना ल्याएकाे हाे । इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ । जेठ २३ गते मंगलबारबाट सुरु भएकाे याे याेजना वुलिंग इलेक्ट्रिककाे नक्साल, भक्तपुर राधेराधे र भैसेपाटीमा भएकाे शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ । बज्र ग्रुपले नेपालमा ३१ वर्षदेखी विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड बिक्री तथा वितरण गर्दै आएकाे छ ।