काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कार्यरत कर्मचारीले वार्षिक औषत १ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् । तथ्याङ्क अनुसार बोर्डले गरेको कूल आम्दानीलाई आधार मान्दा एक जना कर्मचारीले वार्षिक औषतमा १ करोड रुपैयाँ भन्दा बढी योगदान गरेका हुन् ।
बोर्डले आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । सोही आधामा एक जना कर्मचारीले एक वर्षमा औषत १ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको हो । सोही आर्थिक वर्षमा बोर्डमा ७५ जना कर्मचारीले कार्यरत थिए । गत वर्षभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा बोर्डका कर्मचारीले बढी योगदान गरेको देखिन्छ । किनभने आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७ करोड ४९ लाख रुपैयाँ जम्मा आम्दानी गरेका थिए । यस वर्ष बोर्डमा कूल ६५ जना मात्रै कर्मचारी कार्यरत थिए । सोही आधारमा आर्थिक वर्ष २०७७/७८ मा एक जना कर्मचारीले औषत १ करोड ६५ लाख रुपैयाँ गरेका थिए ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बोर्डमा कार्यरत कर्मचारीहरुमध्ये प्रतिकर्मचारी ६० लाख रुपैयाँ आम्दानी गरेका थिए । धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३८ करोड १२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा पनि प्रतिकर्मचारी ५८ लाख ६४ हजार रुपैयाँ कूल आम्दानी गरेको तथ्याङ्कले देखाउँछ ।
सेबोनले धितोपत्र कारोबार, सूचीकृत संगठित संस्थाहरुको हकप्रद तथा बोनस सेयर निष्काशन, आईपीओ निष्काशनबाट आफ्नो आम्दानी गर्दछ । साथै, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेर आम्दानी गर्ने गरेको सेबोनले बताएको छ ।
‘धितोपत्र दर्ता तथा निष्काशनका लागि स्वीकृति प्रदान, सामूहिक लगानी योजना स्वीकृति, क्रेडिट रेटिङ्ग सेवा शुल्क, सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी तथा धितोपत्र बजार अनुमति पत्र नवीकरण दस्तुर, मर्चेन्ट बैकिङ्ग तथा ब्रोकर प्रमाणपत्र नवीकरण दस्तुर, धितोपत्र कारोबार दस्तुर, विभिन्न आवेदन शुल्क, विवरणपत्र प्रशोधन शुल्क र अनुमति पत्र शुल्कबाट आम्दानी गर्छ,’ धितोपत्र बोर्डले भन्यो ।
बोर्डका अध्यक्ष रमेश हमाल सेबोन आफैंमा बलियो हुन नसकेको भएपनि कर्मचारी भने अहोरात्र खट्ने गरेको बताउँछन् । धितोपत्र बोर्डको पुनसंरचना, संस्थागत विकास, जनशक्तिको विकास, प्रविधिको विकासमा ठूलो फड्को मार्नु पर्ने उनको भनाइ छ । उनका अनुसार पूँजी बजार सञ्चालन गर्र्न चाहिने आधार सबै तयार भएका छैन ।
‘थोरै जनशक्तिमा अहोरात्र खटेर बिना प्रविधि काम गर्नु परेको छ, यति धेरै काम गर्ने कर्मचारीलाई धन्यवाद नै दिनु पर्छ,’ उनले भने, ‘कर्मचारीको भत्ता वृद्धि भएपछि काम गर्ने जाँगर पनि चल्छ ।’
प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार बजार बढ्दा बोर्डको आम्दानी पनि बढ्छ भने बजार घटेको बेलामा आम्दानी पनि कम हुने गरेको छ । लकडाउनको बेलामा बोर्डको आम्दानी ह्वात्तै घटेको भएपनि पछिल्लो समय बढ्दै गएको उनको भनाइ छ ।