काठमाडौं । विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि बैठक सुरु हुन नसकेको हो ।
सत्तारुढ प्रतिपक्षी दलहरुको यही विवाद र छलफल लम्बिएका कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन ।
सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ । उनीहरुले यो विषयको लागि छानबिन समिति नै बनाउनुपर्ने अडान लिइरहेका छन् ।
अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।