काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताएका छन् । उनले यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको बताए ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको पनि बताए ।
उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेकोले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे ।
‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन, निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो,’ अर्थमन्त्रीले भने ।