विकासन्युज

बंगलादेशी पर्यटक बढाउने उदेश्यले होटल संघ नेपालको प्रतिनिधिमण्डल बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गर्यो । उक्त कार्यक्रम होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा आयोजना गर्न लागेको हो । जुन २१ का लागि बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा भव्य पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम गरी विशेष रात्रिभोजको पनि आयोजना गरिएको संघले जनाएको छ । बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिने विश्वास संघले लिएको छ । साथै उक्त अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । साथै उक्त अवसरमा टोलीले बंगलादेशका सरकारी प्रतिनिधि तथा पर्यटनसँग सम्वद्ध निकायहरुसँग भेटघाट गरी द्विपक्षीय पर्यटन अभिवृद्धि गर्न र बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

‘अधिकांश कलेज ट्युसन सेन्टर बने, शिक्षा बिगार्ने शिक्षक नै हुन्’

एसईई दिएर बसेका विद्यार्थीको नतिजा आउने समय नजिकिँदैछ । एसईईपछि कक्षा ११/१२ कहाँ पढ्ने, कस्तो विषय पढ्ने र कस्तो स्कुल/कलेज पढ्ने भन्ने विषयमा विद्यार्थीहरु तथा उनका अभिभावकहरु यतिबेला निकै छलफलमा केन्द्रित भएको पाइन्छ । भोलिको उच्च शिक्षा र जीवनकै करिअरको मूल आधार कक्षा ११/१२ भएकाले यसरी छलफल हुनु  पनि स्वभाविक हो । यस्तो बेलामा विद्यार्थी तथा अभिभावक दुबैलाई सकारात्मक सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । प्रस्तुत छ, सोही विषयमा केन्द्रित भएर युवा राजनीतिकर्मी तथा शैक्षिक क्षेत्रका अभियन्ता मिलन पाण्डेसँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । कक्षा ११/१२ भनेको विद्यार्थीको खास आधार तयार गर्ने शिक्षा हो भनिन्छ, तर, १५/१६ वर्षको उमेरको विद्यार्थीमा आफ्नो क्षमता र रुचीको विषय के हो भनेर सही ढंगले पहिल्याउन गाह्रो भइरहेको हुन्छ भनिन्छ, त्यसैले सो परिस्थितिमा विद्यार्थीले कसरी आफ्नो रुची र क्षमतालाई पहिचान गर्ने ? कक्षा ८ पछि नै विद्यार्थीहरुले आफ्नो रुचीको विषय के हो भनेर विद्यार्थीले पहिचान गरिसकेको हुन्छ भनिन्छ । विदेशतिर ८ कक्षापछि नै उ एकेडेमिक, प्राविधिक वा गायन वा नाच्ने विधामा लाग्ने हो अभिभावक र शिक्षक बसेर कुन विधामा जाने हो भन्ने कुरालाई प्रवद्र्धन गर्ने काम हुन्छ । तर, नेपालमा चाहिँ ठ्याक्कै उल्टो जब तपाईं एसईई दिएर बस्नुहुन्छ यदि ३.५ जिपिए भन्दा राम्रो आएको छ भने साइन्सको कलेज आएर साइन्स पढ्नुपर्छ भनेर कन्फ्युज बनाइदिन्छ । आमाबुवा छिमेकी आन्टी उहाँहरुले मेरो साइन्स पढेको छ भन्ने हुन्छ । विषयलाई वर्ग जस्तो बनाउने काम भयो, शैक्षिक क्लास नै बनाइदियो । त्यसले पनि प्रभाव पार्ने काम गर्छ । यो विषय गाह्रो पनि छ । आफ्नो रुची पहिचान गर्नुस् भन्न पनि गाह्रो छ । मैले नै अहिलेसम्म आफ्नो रुची पहिचान गरेको छु की छैन, किनकी मैले ८ कक्षा पढ्दा पाइलट बन्छु भन्ने उद्देश्य राखेँ । १० कक्षा पुग्दा बिल गेट्सको चर्चा थियो, मलाई धनी बन्ने भुत सवार भयो, दाई पनि व्यवसायी भएको हुँदा बिजनेसम्यान बन्छु भन्ने भो । मेरो एसएलसीमा विशिष्ट श्रेणी आयो । त्यसपछि यत्रो विशिष्ट श्रेणी ल्याएको साइन्स पढ्नुपर्छ भनेर सबैले भने । त्यसपछि ११/१२ मैले साइन्स पढेँ । मसँगै पढेका साथीहरु हुल बाँधेर नेम इन्स्टिच्युटमा गएर भर्ना भए र डाक्टर बन्ने भनेर लागे। म पनि डाक्टर बन्छु भनेर अगाडि बढेँ । दुई वर्ष प्रयास गरेँ तर नाम निस्कन सकेन । त्यसपछि मैले बिएसस्सी फिजिक्स पढेँ । बिएस्ससी फिजिक्स सक्नै लाग्दाखेरी यो पढेर पनि केही नहुने रहेछ भनेर इन्जिनियरिङ भर्ना भएँ । इन्जिनियरिङको फाइनल एयरमा पुग्दाखेरी अब राजनीति गर्छु भन्ने भो । त्यसपछि टिचिङ पेसा र राजनीतिमा संलग्न भएँ । यदि राम्रो शैक्षिक प्रणाली हुन्थ्यो भने सानैदेखि गणित, नेतृत्व, विज्ञान, सञ्चार क्षमता लगायतका विषयमा पहिचान गर्न सहयोग गर्दथ्यो । मुख्य कुरा आफ्नो रुची नै हेर्ने हो । अहिलेको अवस्थामा पहिला भन्दा सजिलो छ । पहिला स्वर्णिम वाग्लेले साइन्स छोडेर इकोनोमिक्स पढ्दाखेरी प्रतिस्पर्धा गर्नुपरेको थियो । जमाना अलिकति बद्लिएको छ । म स्ट्यान्डअप कमेडियन बन्छु र पैसा कमाउँछु भन्दा पनि वातावरण छ । पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा मज्जा आउँछ ? के काम गर्दा सामाजिक सञ्जाल चलाउन पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षकको र अभिभावकको सहयोग लिन पनि सक्नुहुन्छ । रुची सँगसँगै दोस्रो नम्बरमा पेसालाई पनि हेर्नुपर्छ । तपाईंलाई राम्रो तरकारी काट्न आउँछ भने भोलिको दिनमा यो तरकारी काट्ने कलालाई तपाईंले पेसाको रुपमा ढाल्न सक्नुहुन्छ की सक्नुहुन्न ? म एकदिन सोल्टी होटलमा गएको थिएँ, मैले त्यहाँ रमाइलो पारामा सोधेँ ‘खाना चाखेको पैसा आउँदैन ?’ मैले जोसँग संवाद गरिरहेको थिएँ उहाँ फुड टेस्टर हुनुहुँदो रहेछ । उहाँले एउटा होटेलमा गएर खाना चाखेको १० हजार लिनु हुँदोरहेछ । मलाई लाग्यो यो पनि पेसा बन्न सक्ने रहेछ । ‘फुड स्टाइलिस’ले अमेरिकामा ८६ हजार डलरसम्म कमाउने रहेछ । पेसामा यति धेरै विधाहरु आएका छन्, म आँफैले अध्ययन गर्दा करिब दुई हजार पेसा रहेछन् । तपाईंमा जुन रुची छ, त्यसलाई पेसामा रुपान्तरण गर्न सक्नुहुन्छ की सक्नुहुन्न ? यदि सकिन्न भने चाहिँ सोच्नुपर्छ । यदि सकिन्छ भने तपाईंको रुचीलाई पेसामा ढाल्नुस् । मैले ‘टु पी’ भन्ने गरेको छु, एउटा प्यासन अर्को प्रोफेसन । यो दुईवटा कुरामा स्कोप छ भने आँफूलाई जे लाग्छ, त्यो गर्नुस् । जे विधामा राम्रो हुन्छ तपाईं त्यो गर्नुस् । अलिकति बजार अध्ययन गर्नुपर्छ । यसको क्षेत्र छ की छैन ? क्षेत्र नै छैन भोलिको दिनमा त्यो काम सजिलैसँग रोबोटले गर्छ भने मान्छेले गर्नुपरेन, तर, भोलिको दिनमा यसको सम्भावना छ भने तपाईंले आफ्नो रुची र पेसा हेरेर निर्णय लिन सक्नुहुन्छ । तर, यो सजिलो विषय होइन । तरपनि मैले भाइबहिनी र अभिभावकहरुलाई के भन्छु भने थाहा छैन कुन बिन्दुमा गएर के गरिन्छ । तर, आफ्नो रुचीमा काम गरियो भने चाहिँ मज्जा आउँछ । खासगरी पढाईको विषय रोज्ने सन्दर्भमा आफ्नो रुची थाहा पाउनको लागि आफ्ना अभिभावक, शिक्षक, साथीभाई वा क–कसको सहयोग कसरी लिन सकिन्छ ? हामीकहाँ अभिभाकहरुमा त्यो लेबलको प्रशिक्षण त छैन । विदेशमा प्यारेन्ट्स ट्रेनिङ भनेर अभिभावकलाई पनि तालिम दिइन्छ । यहाँ त ‘म डाक्टर बन्न खोजेको थिएँ छोरा म डाक्टर बन्न सकिन तँ चाहिँ डाक्टर बन्नुपर्छ’ भन्ने मनोविज्ञान अधिकांश अभिभावकहरुमा छ  उदाहरणको रुपमा विद्यार्थीमा गणितमा रुची कति छ ? उसले गणित पढ्दा कत्तिको रमाउँछ ? एकदमै रमाउँछ भने सम्भवतः उसको लागि स्टाटस्टिक्स विषय उपयुक्त हुनसक्छ, अथवा एक्च्युरी साइन्स भन्ने हुन्छ । सबैभन्दा पहिले उसले करिअर काउन्सिलरको सहयोग लिनुपर्यो, जुन हाम्रोमा छैनन् । यो विधाको बारेमा छलफल नै हुन्न । आफ्नो क्षमता के मा हो ? मलाई डाक्टर पढ्न मन लाग्छ तर, बायोलोजी छुन पनि मन लाग्दैन भने त मिलेन । यो भनेको त इच्छा मात्रै रह्यो । मलाई बायोलोजी मनपर्छ, जीव जनावरहरुको अध्ययनमा मजा आउँछ । दोस्रो भनेको लक्ष्यको निर्धारण हो । उसलाई भोलिसम्मको बाटोको विषयमा भन्दिनुपर्यो । तिमी डाक्टर बन्ने हो भने तिम्रो बाटो यो हो है । दुई वर्ष साइन्स पढ्नुपर्यो । त्यसपछि यति छात्रवृत्तिको लागि सिट छ, नाम ननिकाल्ने हो भने यति पैसा लाग्छ । त्यसपछाडि ५ वर्ष संघर्ष गर्नुपर्छ । त्यसपछाडि दुई वर्ष तिमीले बाहिर गएर काम गर्नुपर्छ । त्यसपछाडि एमडी गर्नुपर्छ । एमडी गरिसकेपछि यो क्षेत्रमा काम गर्न सकिन्छ । यसरी बाटो देखाइदिन सक्यो भने उसले लक्ष्य निर्धारण गर्ने काम गर्छ । मान्छेले एउटा सपना देखेर आँफूलाई हिँडाउने हो । तर, मान्छेको मन धेरै विचलित भइरहेको हुन्छ । यसो हेर्यो कहिले राजनीति गरौं भन्ने लागिरहेको हुन्छ, अर्कोले बाहिर गएर तैंले पिएचडी गरिस् भने अलिक राम्रो प्रोफाइल पनि हुन्छ, त्यसपछि सेटिङ पनि हुन्छ, बाहिर जाउँ क्या हो जस्तो पनि लाग्छ । फेरि अर्कोले भन्छ, किताब लेख न किताब लेख, अनि किताब लेखौं जस्तो पनि लाग्छ । कन्फ्युज हुनु ह्युमन नेचर नै हो । कन्फ्युज हुँदैमा बर्बाद भयो भनेर आत्तिन पनि पर्दैन । तर, लक्ष्य निर्धारण गरेर १० वर्षपछि म यो ठाउँमा पुग्ने हो भन्ने भयो र त्यसमा अभिभावक र शिक्षकहरुले सहयोग गर्नुभयो भने त्यसले उर्जा दिन्छ । मैले भोलि कुनै दिन सांसद बनेर शिक्षा नीति लेखिरहेको मैले अनुभव गर्ने गर्छु । मैले सोच्छु, यसले मलाई उर्जा आउँछ, मैले काम गर्छु । यसरी लक्ष्य निर्धारण चाहिँ गर्नुपर्छ । सबैभन्दा बढी माया गर्ने र उनीहरुको भविष्यप्रति सबैभन्दा धेरै चिन्तित हुने बाबुआमाहरुले अब के पढ्ने भन्ने समयमा उभिएका आफ्ना छोराछोरीलाई कसरी सहयोग गर्न सक्छन् ? यो निकै महत्वपूर्ण विषय हो । आफ्ना बाबुआमाहरुले छोराछोरीमाथि निकै ठूलो लगानी गरेका हुन्छन् । लगानी भनेको पैसाको मात्रै लगानी होइन, सपनाको लगानी गरेका हुन्छन् । पहिला ४/५ जना छोराछोरी हुन्थे, जेठाले नगरे माइलाले गर्ला नी भन्ने हुन्थ्यो । अहिले एउटा वा दुइटा छोराछोरी हुन्छन् । बाबुआमालाई उनीहरु यो विधामा सफल होउन भन्ने लाग्छ । तर, अभिभावकहरुले पनि बुझ्नुपर्ने विषय चाहिँ के हो भने अहिले यति धेरै विधाहरु आउँदैछन् की तपाईंहरुले नोकिया मोबाइल चलाउनुहुन्थ्यो, तपाईंहरुलाई के लाग्थ्यो भने नोकिया जस्तो बलियो मोबाईल नै छैन । यदि तपाईंहरुलाई ख्याल छ भने कसैले १०/१५ वर्ष अगाडि नोकिया बाहेकको ब्राण्डको मोबाइल बोक्छु भने भने बर्बाद हुन्छ भन्ने हुन्थ्यो । आज नोकिया फेज आउट भएको छ । राजनीतिकै कुरा गर्ने हो भने पनि हिजो कांग्रेस–एमाले बाहेक नेपालमा केही पनि छैन भन्थे । अहिले तपाईंहरुको छोराछोरीको निर्णयअनुसार नयाँ–नयाँ पार्टीहरु आएका छन् । जमाना र प्रवृत्ति फरक भएको छ । हिजोको दिनमा हामी पेजर बोकेर हिँड्थ्यौं आज टिकटकको जमाना छ । स्वीकार गर्न गाह्रो लाग्छ होला, तर अहिलेको पुस्ता हामी भन्दा स्मार्ट छन् । १५ वर्षको भाइबहिनीसँग कुरा गर्दा मलाई आउटडेटेड जस्तो लाग्छ । अहिलेका हाम्रा छोराछोरीहरु, भाइबहिनीहरु र भतिजहरु हामीभन्दा स्मार्ट छन्, यति स्वीकार गरियो भने धेरै सजिलो हुन्छ । तर, यिनीहरुलाई केही पनि थाहा छैन भन्ने हो भने त संवाद नै गर्नुपरेन । यदि उनीहरु हामीभन्दा स्मार्ट छन् भनेर मान्ने हो भने हामीले उनीहरुलाई सहयोग गर्ने हो । तैंले सक्छस्, तैंले सक्नुपर्छ भन्यो भने उनीहरुले उत्प्रेरणा पाउँछन्, तैंले सक्दैनस्, तँबाट हुँदैन, तैंले के गरेर खान्छस् भनेर भन्यो भने उनीहरुले चाहेको पनि गर्न सक्दैनन् र उनीहरुले चाहेको जस्तो पनि हुँदैन । आफ्नै रुची समेत अनुसन्धान गर्नु पर्ने अवस्थाका विद्यार्थीहरुले आफूले अध्ययन गर्ने विषयको स्कोपको विषयमा चाहिँ कसरी थाहा पाउन सक्छन् ?  आम आद्मी पार्टीले दिल्लीमा बिजनेस ब्लास्टर भन्ने कार्यक्रम सञ्चालन गरेको थियो । त्यहाँ उसले प्लस टु दिएर बसेका विद्यार्थीहरुलाई बिजनेसको आइडिया लिएर आउ भन्यो, त्यसमध्ये एकजना विद्यार्थीले के गरेछ भने बिग्रेको मोबाईलहरुबाट राम्रो मोबाइल बनाएर बेच्ने आइडिया ल्याएको थियो । साइग्रेस भन्नेलाई तपाईं हामीले चिनेका छौं, उनले घुम्न थालेका छन्, कविता बाचन गर्छन्, कथा बाचन गर्छन् । कथा बाचन गरेर घुमेर पैसा कमाइरहेको छ मान्छेले । टिकटकमा लाइभ बसेर पैसा कमाइरहेका छन् मान्छेले । यदि औसत भन्दा हामी राम्रो हुने हो भने चाहिँ एउटा ग्राफ चाहिँ खिच्नुपर्यो । पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला । विगतमा फिल्म समिक्षक निकै चलेको थियो । सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला । आइटीमा सबैभन्दा बढी राम्रो छ । धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ । ग्रामिण क्षेत्रमा हेर्यो भने त धेरै कलेजहरु हुँदैनन् । तर, सहरी क्षेत्रमा भने धेरै कलेजहरु हुन्छन् । काठमाडौंलाई हेर्ने हो भने यो कलेजहरुको सहर पनि हो । गुणस्तरीय शिक्षाको निम्ति कलेजहरुको पनि भूमिका हुन्छ होला, यस्तो अवस्थामा विद्यार्थीहरुले कसरी कलेज छान्नुपर्छ भन्ने सुझाव तपाईंले दिनुहुन्छ ? काठमाडौंमा जतिपनि कलेजहरु छन्, यसमध्ये अधिकांश ट्युसन सेन्टर हुन् । तिनीहरु कलेज होइनन् । कलेजले विद्यार्थीलाई परीक्षा पास गर्ने भनेर पढाउँदैन, स्कीलफूल बनाउन पढाउने हो । यहाँ मैले केही कलेजहरुमा पढाएँ पनि र पढाउँदै पनि छु । त्यहाँ हेर्दाखेरी परीक्षामा ३२ नम्बर कसरी ल्याउने भनेर उत्तर रटाउने त कलेज होइन नी, स्कुल होइन नी । भनेपछि तपाईं हामीले कलेज स्कुल छान्दाखेरी चाहिँ लगभग सबै उस्तै छन् । जहाँ पढेपनि आफैले पढ्ने हो । मैले राम्रो गर्ने विद्यार्थीहरुसँग संवाद गर्दाखेरी चाहिँ कलेजको कारणले भन्दापनि विद्यार्थी आफ्नै कारणले सफल भएका छन् । नाम चलेको कलेजका विद्यार्थी बरु कम सफल भएका छन् । सामुदायिक विद्यालयमा संघर्ष गरेर आएका नै सफल भएका छन् । मन्त्री, प्रधानमन्त्री हेरौं, बिजनेसमेन, बैंकरहरु हेरौं । हामीले खोतल्दै गयौं भने उहाँहरु अहिले हामीले विज्ञापनमा देखेका कलेजमा होइन सामान्य स्कुलमा पढेर आएका छन् । तर, के स्कुल कलेजको केही भूमिका नै हुँदैन भन्ने विषयमा भने हुन्छ, स्कुल कलेजको भूमिका भनेको वातावरण बनाइदिने हो । किताबहरु छान्नलाई सहज गरिदिने हो, पढ्नलाई सहज गरिदिने हो । राम्रो–राम्रो शिक्षकलाई भेट्न केन्द्र बनाइदिने हो । जसले तपाईंलाई उत्प्रेरणा गरोस, बाटो देखाउन सकोस, दिशानिर्देश गर्न सकोस । अर्को चाहिँ राम्रो साथीहरुको सर्कल पनि बनाइदिने हो । किनभने सिकाइ भनेको सामूहिक काम पनि हो । मलाई चाहिँ कलेज छान्दाखेरी दुई तीनवटा कुरा हेर्नुपर्छ जस्तो लाग्छ, पहिलो चाहिँ शिक्षक नै हेर्ने हो, संकाय कस्ता छन् त्यो हेर्ने हो । त्यस्तै, त्यो कलेजको लिगेसी, व्यवस्थापन र ट्रयाक रेकर्ड कस्तो छ, जस्तो त्यो स्कुल कलेज पैसा कमाउने उद्देश्यले खोलेको हो अथवा सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको छ ? त्यो महत्वपूर्ण हुन्छ, त्यसमा ध्यान दिनुपर्छ । निजी स्कुल पढ्दा शुल्कको पनि कुरा हुन्छ । तपाईं हामीले धान्न सक्ने शुल्क छ की छैन ? आफ्नो क्षमताले धान्ने कलेज पढ्नुपर्छ । यिनै कुराहरुमा ध्यान दिनुपर्छ भन्ने लाग्छ । पेशा र कामका धेरै क्षेत्रहरु छन्, तर कक्षा ११/१२ सम्मको अवस्थामा हेर्ने हो भने छानेर अध्ययन गर्नको लागि धेरै पाठ्यक्रम बनाइदिएको अवस्था छैन । विद्यार्थीको भविष्य निर्धारण गर्ने तहमा तिम्रो क्षमता अनुसारको क्षेत्र यी छन् भनेर राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न सकेन नी ? साँच्चीकै शैक्षिक प्रणाली ध्वस्त भैसकेको अवस्था छ । २/४ व्यक्ति यो शिक्षा प्रणाली भएको भए पनि नभएपनि सफल हुन्थे । यो प्रणालीले धेरै क्रेडिट पनि लिनुपर्दैन । हामी यो अवस्थामा छौं । १२ कक्षा पढिसकेपछि एकजना मान्छेले जागिर खानको लागि के–के गुण चाहिन्छ भन्दा त्यसमा नेतृत्व क्षमता हुनुपर्छ, बोल्न सक्ने सञ्चार क्षमता हुनुपर्छ, स्मार्टनेस हुनुपर्छ, सक्रिय हुनुपर्छ, प्रो–एक्टिभ भएर इनिसियसन लिनसक्ने हुनुपर्छ । ११/१२ कक्षामा पढ्दा कुन स्कुलले यो कुरा सिकायो ? छैन नी त । कुनै कम्पनी चलाउनुन्छ वा आफ्नै काम गरेपनि नेतृत्व त हुनुपर्यो नी । समाजमा आफ्ना सम्बन्धहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ । अभिभावकसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध, साथिभाईसँगको सम्बन्ध, काम गर्ने ठाउँमा स्थापित गर्ने सम्बन्ध, कन्फिल्क्टि म्यान्जमेन्ट कसले सिकायो ? एकजना अमेरिकन शिक्षाविद्ले १९६० तिर एउटा अध्ययन गरेका थिए । उनले ६ वर्ष लगाएर साढे ६ लाख विद्यार्थी र शिक्षकसँग संवाद गरेर एउटा मान्छेको जीवनमा सफल हुनको लागि स्कुलले खेल्ने भूमिका कस्तो रहेछ भनेर अध्ययन गरेका छन् । कोलम्यान रिपोर्ट भन्छ त्यसलाई । त्यो रिपोर्टको एउटा निश्कर्ष के हो भने स्कुलले खासै भूमिका निर्वाह गरेको छैन भन्ने हो । मलाई पनि के लाग्छ भने मान्छे सफल हुनुमा अहिलेका स्कुलहरुले पनि खासै ठूलो भूमिका निर्वाह गरेका छैनन् । मलाई सबैभन्दा धेरै लगानी गर्नुपर्ने शिक्षामा हो भन्ने लाग्छ । तर, आजको शिक्षा सबैभन्दा बिगार्ने पनि शिक्षक नै हुन् । दिनमा एउटा मान्छेले दुई सय वटा सम्म कापी जाँच गर्छ । त्यसरी शिक्षा सुध्रिन्छ ? शिक्षा सुधार्नको लागि अहिलेको अवस्थालाई भत्काउन नै पर्ने छ । एकजनाले भन्नुभएको थियो, हाम्रो एजुकेसनमा समस्या छ, अर्को प्रणालीमा समस्या छ । शिक्षक, पाठ्यक्रम र प्रणालीमा ठूलो लगानीको आवश्यता देखिएको छ । भिजन र प्राथमिकताको पनि लगानी चाहिएको छ । राजनीतिकर्मीहरुमा पनि ठूलो समस्या छ । यिनीहरुले बुझ्दै बुझेनन् । उहाँहरुसँग मैले शिक्षालाई प्राथमिकतामा राखौं न भनेर कुराकानी गर्दा उहाँहरु के भन्नुहुन्छ भने ९ महिना एक वर्षको कार्यकाल हो, बाटो बनायो भने मान्छेले देख्छ, भ्यु टावर ठड्यायो भने मान्छेले देख्छ । शिक्षामा लगानी गर्नु भनेको त एउटा एक कक्षामा पढिरहेको विद्यार्थीको परिवर्तन गरेर एसईई अथवा कक्षा १२ पछिको नतिजा हो, अर्थात १०/१२ वर्षको लगानी हो । यहाँ कुनैपनि राजनीतिक व्यक्तिलाई म १०/१२ वर्ष टिक्छु र मेरो पार्टी १०/१२ वर्ष टिक्छ भन्ने कन्फिडेन्स नै छैन । आजभोलि नै कुन काण्ड गरेको छ, कुन काण्डमा पर्ने हो भन्नेमा नै गइरहेको छ । राजनीतिमा आउँदै गरेको नयाँ पुस्ताले बुझ्नुपर्छ । मेरो मुद्दा रोजगारी हो भने मैले के बुझ्नुपर्यो भने रोजगारी दिनको लागि मान्छेलाई दक्ष बनाउनुपर्छ । जब मान्छेमा सीप र आत्मविश्वास हुन्छ र राज्यले उद्यम गर्ने नीति ल्यायो भने उसले सिप गरेर देशमा नै खानुसक्ने हुन्छ । त्यसको लागि शिक्षा नै सुधार गर्नुपर्छ । समाजमा समानता ल्याउनको लागि पनि शिक्षामा सुधार गर्न जरुरी छ । एउटा भिजनरी टिम र नेता आउने हो भने र १० वर्ष शिक्षामा फोकस गर्ने हो भने ९० प्रतिशत समाजको समस्या समाधान गर्न सकिन्छ । शिक्षा क्षेत्रमा जे जति समस्या छन्, ती समस्या समाधानको लागि कसले के भूमिका निर्वाह गर्न सक्छन् ? यो निकै महत्वपूर्ण विषय हो । मैले पनि यो विषयमा सोच्ने गर्छु । शिक्षा सुधारको लागि कहाँनेरबाट शुरु गर्ने भन्दाखेरी पहिला शुरुमा त प्राथमिकता निर्धारण हुनुपर्यो । प्राथमिकतामा पहिलो शिक्षा, दोस्रो शिक्षा र तेस्रो शिक्षा भन्ने प्रधानमन्त्री चाहियो । यदि त्यसो हुन सक्यो भने बाँकी विषय त एक्सपर्ट ल्याएर काम गर्न सकिन्छ । दिल्लीमा शिक्षामा कसरी सुधार भयो भने उसले शिक्षालाई प्राथमिकतामा राख्यो र विज्ञलाई ल्याएर काम गर्न दियो । यदि तपाईं किताबमा कमिसन खानुहुन्न भने राम्रो मान्छेले लेख्छ । इमान्दार विषय बुझेको नेतृत्व र टिम बनाउन सक्ने हो भने यो विषय सम्भव छ । बाँकी सबै तपसिलका कुरा हुन । बजेटको कुनै समस्या हुँदैन । भ्यु टावर सांसद विकास कोषको रकम शिक्षामा लगाउन सकिन्छ । हरेक पालिकामा एउटा नमूना स्कुल बनाउन सकिन्छ । पहिला पाइलट प्रोजेक्ट गरौं, त्यसपछि त्यहि ठाउँमा अरु स्कुल थप्न सकिन्छ ।

राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ हुन कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै उनले कर्मचारीलाई निर्देशन दिएका हुन् । सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन तथा ब्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई आग्रह गरेका थिए । ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला, उनले भने, ‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो ।’ उनले आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी रहेकोभन्दै त्यो काम कर्मचारीबाट हुनुपर्नेमा जोड दिए । ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला, आम नागरिकलाई दुःख दिने काम नगर्नु होला’, उनले भने ।

बुटवलका बान्सिदालाई हाटबजारले दियो रोजगारी

बुटवल । बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ । बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन् । सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो । भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो । हाटबजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको बताउँछिन् । उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको बताउँछिन् । हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनी बताउँछिन् । आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरी मात्र एक सन्तानका रुपमा नाति रहेको बताउँछिन् । ‘नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको दुई महिना भयो’, उनले भनिन्, ‘नातिनीहरु भने विवाह भएर आ–आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाटबजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन् ।’ अहिले आफ्नो सहारा भनेकै नातिनीहरु रहेको उनी बताउँछिन् । हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाटबजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनी बताउँछिन् । ‘घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसंँग कुराकानी गरेर दिन कट्छु’, उनले भनिन्, ‘व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन् ।’ बुटवल उपमहानगरपालिका–११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरिन् । उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ । उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताउँछिन् । उनको एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको बताउँछिन् । वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो । बुटवलको उपमहानगरपालिका–११ मजुवामा बस्दै आएकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन भएका अहिलेसम्म फर्केका छैनन् । चार सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर दुई वर्षअघि कमाउन भारत पसेको छोरोक पनि अहिलेसम्म कुनै पत्तो छैन । दैनिक जीवन चलाउने विकल्प नभएपछि हाटबजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनी बताउँछिन् । “पहिला अलि व्यापार हुन्थ्यो, दिनमा दुई हजार रुपैयाँसम्म बचत हुन्थ्यो । अहिले दिनमा चारदेखि पाँच सय रुपैयाँ मात्र बचत हुन्छ”, उनले भनिन् । बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका–४ मा साताको दुई दिन लाग्ने हाटबजारमा व्यवसायीले बजार लगाउने गर्छन । यहाँको बजारमा झण्डै तीन हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन् । रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसी बताउँछन् । यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसी बताउँछन् । यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनी बताउँछिन् । हाटबजारमा मङ्सिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् । यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल ५० देखि दुई सय रुपैयाँसम्म लिने गरेको अध्यक्ष जिसी बताउँछिन् तर व्यापार नहुँदाको अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ । वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी सङ्घले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसी बताउँछन् । ‘हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ’, उनले भने, ‘हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन ।’ बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताउँछिन् । उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुआत भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताउँछिन् । उनले लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बताउँछिन् । रासस

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए । भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराए । भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए । तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए ।

काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र आदिपुरुष प्रदर्शनमा रोक, निर्माण कम्पनीले माग्यो माफी

काठमाडौं । काठमाडौं र पोखरा महानगरले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएका छन् । उक्त चलचित्रमा रहेको विवादित संवाद नसच्चाइएको भन्दै सोमबार बिहानैदेखि दुई महानगरले प्रदर्शनमा रोक लगाएका हुन् । उक्त चलचित्रमा ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि काठमाडौं र पोखरा महानगरले फिल्म प्रदर्शनमा रोक लगाइएकाे बताएका छन् । पोखरा महानगर प्रमुख धनराज आचार्यले श्रीकृष्ण, विन्ध्यावासिनी, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र लेख्दै भारतीय फिल्म प्रसारणमा रोक लगाउन निर्देशन दिएका हुन् । पत्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ । रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ । निर्माण कम्पनीले माग्यो माफी नेपालमा चलचित्र प्रदर्शनीमा रोक लगाएपछि निर्माण कम्पनीले माफी मागेका छ । उक्त चलचित्र निर्माण कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेखेर माफी मागेको हो । निर्माण कम्पनी सुपर क्यासेट्सकी राधिका दासले फिल्मको संवादले नेपाली संवेदनामा पुगेको चोटप्रति माफी मागेकी हुन् । पत्रमा ‘जानकी भारतकी छोरी’ भन्ने संवाद सीताको जन्मस्थलबारे नभई आम महिला विशेषसँग जोडेर लेखिएको प्रष्टीकरण दिइएको छ ।

भरतपुरका २६ ठूला आयोजना सञ्चालित, ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

काठमाडौं । भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् । पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो । महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै चार अर्ब रुपैयाँ लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ । छ वर्षअघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए । त्यसो त महानगरपालिकाले मासिक सात हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा रु तीन करोड महानगरपालिकाले बिनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पु¥याउने गरी काम भइरहेको जानकारी दिइन । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ । उनले भनिन्, ‘हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्वनै शतप्रतिशत उपभोक्ताकोमा पानी पु¥याउँदै छौँ ।’ कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो । शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख रुपैयाँ, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख रुपैयाँ, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख रुपैयाँ, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख रुपैयाँ र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख रुपैयाँ खर्च हुँने जनाइएको छ । त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा पाँच करोड ५८ लाख रुपैयाँ, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख रुपैयाँ, भरतपुर १० मा एउटै ट्याङ्की नौ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो । कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख रुपैयाँ, पटिहानी खानेपानी आयोजनामा पाँच करोड ३५ लाख रुपैयाँ, मङ्गलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख रुपैयाँ, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख रुपैयाँ विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् । पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख रुपैयाँ, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख रुपैयाँ, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख रुपैयाँ, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख रुपैयाँ, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख रुपैयाँ, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख रुपैयाँ, भरतपुर खानेपानी विस्तार वडा नं २९ मा १० करोड दुई लाख रुपैयाँ, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख रुपैयाँ, विजयनगर खानेपानी आयोजना आठ करोड तीन लाख रुपैयाँ र भरतपुर महानगरपालि–१ मा एक करोड रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदैछ । देवघाट खनोपानी आयोजनामा एक करोड दुई लाख रुपैयाँ, चौकीडाँडा खानेपानी आयोजना भरतपुर २९ मा पाँच करोड ९५ लाख रुपैयाँ, ठिकुरा रामनगर–१ ७२ लाख रुपैयाँ र ढोडेनी खानेपानी आयोजना एक करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । गौरीगञ्जमा झण्डै ४० करोड रुपैयाँको लागतमा नयाँ आयोजना अघि बढाइँदै छ । महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । उनले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पु¥याउने काममा महानगर लागि परेको बताए । उनले भने, ‘जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ।’ महानगरपालिकाको पहलमा प्रदेश र सङ्घीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए । खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ । दीर्घकालीन आयोजना सङ्घीय सरकारमार्फत अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ । रासस

कर्णाली नदीमा जीप खस्यो

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ । हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए । जीपमा चालकसहित १३ सवार थिए । जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । हुम्लाको च्याछहरा भिरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो । उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ । उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए । रासस