इसेवाले ल्यायो आइफोन १४ जित्न सकिने अफर
काठमाडौं । इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यास ब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो । इसेवाका अनुसार यस योजनामा सहभागी हुन सेन्ड मनि बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड फस्ट१० प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशत (२० रुपैयाँसम्म) को क्यासब्याक समेत पाउन सकिनेछ । इसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्ने इसेवाले जनाएको छ । प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिने इसेवाले जनाएको छ ।
कनेक्ट आईपीएस प्रयोग गर्दा २० हजारसम्मको क्यासब्याक अफर
काठमाडौं । कनेक्ट आईपीएसले असार ३ देखि ३० सम्म लागू हुने गरी इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम २ हजार ८० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० क्यासब्याक प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्ससम्बन्धी प्रिमियम भुक्तानीमा मात्र अफर लागू हुने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्म भुक्तानी गर्न सकिन्छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कनेक्ट आईपीएसका ५२ सदस्य बैंक वित्तीय संस्थामार्फत ३ हजार ६२६ अर्बबराबरको ४ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फछर्याैट भइसकेको छ ।
हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो
किमाथांका । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर-४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् । त्यस्तै गरी सभापोखरी गाउँपालिका-३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता हुनुभएको छ । चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका-४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका -७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन पक्की पुलमा क्षति पु¥याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । रासस
गण्डकीमा ३०० किमी सडक कालोपत्रे हुने
पोखरा । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र-एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ । सडक पूर्वाधार निर्माणका लागि रु ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ । बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए । प्रदेशको प्राथमिकतामा रहेका उत्तर-दक्षिण द्रुतमार्गअन्तर्गतको भिमाद-डेढगाउँ-झ्यालबास-चोरमारा-दुम्कस्वास-त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उनले बताए । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ । त्यसको कार्यान्वयनका लागि १९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले विश्वास लिएको छ । रासस
एक विद्युत कम्पनीले ८ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्दै
काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले ८ सय प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले १ः८ को अनुपात अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने बताएको छ । कम्पनीको सो सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको प्रति कित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ । सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले असार ११ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सामुदायिकसँगको मर्जर प्रस्ताव पारित गर्न बिपिडब्लु लघुवित्तद्वारा साधारण सभा आव्हान
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले चौथों वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको असार ३ गते बसेको बैठकले असार २६ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । लघुवित्तको सभाले सामुदायिक लघुवित्तसँग मर्जर गर्ने सम्झौतापत्र, सहमति पत्र, संयुक्त मर्जर समिति गठन एवमे संयुक्त मर्ज समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, दुवै लघुवित्तबीचको मर्जर प्रक्रियाको स्वाप रेसियो निर्धारण गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, अन्तिम सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण प्रस्ताव पारिछ गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १२ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन पाउने छन् ।
समाजवादी मोर्चाको आज घोषणा गरिने, कसले गर्छ नेतृत्व ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ४ दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ । आइतबार बसेको ४ दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ‘समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता आज तय भएको छ, भोलिको कार्यक्रममा घोषणा गरिने छ, दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति भएको छ,’ उनले भने । यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि सहभागी गराउने निर्णय भएको जनाइएको छ । आइतबार तय भएको १५ बुँदे प्रतिबद्धतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने, नेपालमा सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने रहेको छ । त्यसका लागि निरन्तर जनपहल र जनदबाब सृजना गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने रहेको छ । यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरुको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने नीति मोर्चाको रहेको छ । जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाजको निर्माण गर्ने मोर्चाले प्रतिबद्धतामा उल्लेख गरेको छ । वित्तीय एकाधिकार तथा दलाल पूँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने नीति मोर्चाको छ । प्रगतिशील कर प्रणाली लागू गर्ने, देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने मोर्चाले जनाइएको छ । मोर्चाले तय गरेको प्रतिबद्धतामा भनिएको छ, ‘आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने, गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने, वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यवसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रुपमा विकास गरिनेछ ।’ त्यसैगरी शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने र शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता मोर्चा रहेको छ । त्यसैगरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाले जनाएको छ । गुणस्तरीय सेवाप्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, सामग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखापरेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्रजस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धतामा उल्लेख गरिएको छ । त्यसैगरी मोर्चाले तय गरेको प्रतिबद्धतामा भनिएको छ –सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरुबीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधनहरु सन्तुलित र न्यायोचित रुपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवासुविधाहरू जनतामा पु¥याउन प्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने, देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने उल्लेख गरेको छ । विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरुका कारण विभिन्न दलका नेतारकार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरुको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने, समाजको विविधतायुक्त चरित्रअनुरुप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरुको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ ।
छिमेक लघुवित्तले एमडिएमएस खरिद गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद गर्ने भएको छ । लघुवित्तले ट्याबलेटका लागि विभिन्न विशेषता भएका एमडिएमएस खरिद गर्ने जनाएको छ । लघुवित्तका लागि सो एमडिएमएस खरिद गर्नका लागि इच्छुक ब्यक्ति वा कम्पनीले १५दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । प्राप्त भएका दरभाउ शिलबन्दी १६ औं दिनमा खोलिने लघुवित्तले जनाएको छ ।