ईसेवा मनि ट्रान्स्फर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका थिए। ईसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् । लुलु मनी बाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु। ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ। यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान गरेको छ र यसैगरी धेरै भन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिट्यान्स सेवा पुर्याउन हाम्रो प्रयास जारि रहनेछ’। साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताईन् । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सगरमाथाको काखको शिक्षाको ज्योति
खुम्जुङ। सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गराएको खुम्जुङ माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याउनुका साथै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। शिक्षाको अवसरबाट बञ्चित जिल्लाको विकट खुम्जुङमा सन् १९६१ ( विसं २०१८) मा हिलारीले सो विद्यालय स्थापना गराएका थिए । सन् १९५३ मा हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पा यतैबाट सगरमाथा आरोहण गरेको स्थानिय मान्यता रहेको छ । स्थानीय लाक्पा गेलु शेर्पाका अनुसार सुरुमा दार्जिलिङ तर्फबाट आरोहण गर्ने प्रयास गरेका हिलारी उताबाट आरोहणमा नसकेपछि नेपाल तर्फबाट सफल आरोहण गरेका थिए। सोही क्रममा हिलारीलाई यहाँको अशिक्षाले प्रभावित बनाएपछि सो विद्यालयको स्थापना गरे । तत्कालीन समयमा प्रि-प्राइमरी (कक्षा ४) सम्म पढाई हुने गरी विद्यालयको स्थापना भएको थियो । ‘विद्यालय स्थापना हुँदा यहाँ शिक्षकसमेत थिएनन्, दार्जिलिङबाटै शिक्षक झिकाएर पढाइ हुन्थ्यो ।’ सोही विद्यालयका विद्यार्थीसमेत रहेका शेर्पाले भने, ‘कडा अनुशासनको बीच भारतीय शिक्षकको पढाई हुन्थ्यो ।’, ‘हिउँ पन्छाएर खाली खुट्टा नै पढ्न आउने गरेका थियौँ’ पुराना दिन सम्झँदै शेर्पाले भने, ‘हुने खाने परिवारका दुई/तीन जना विद्यार्थीको खुट्टामा मात्र जुत्ता हुन्थ्यो ।’ विद्यालय स्थापना भएको पहिलो ब्याचका विद्यार्थी नै २०२७ सालमा नेपाल प्रथम भएको शेर्पा बताउँछन् । पहिलो ब्याचका बिद्यार्थी आङ्गरिता शेर्पा खुम्जुङ्गमा ४ कक्षा पढेपछि त्यहाँबाट गोरखा र पछि आनन्दकुटी विद्यापीठ हुँदै २०२७ सालको एसएलसीमा नेपाल प्रथम भएको उनले बताए । यस विद्यालयले अहिले भौतिकरुपमा काँचुली फेरेको छ । अहिले यहाँ हिउँ पन्छाउँदै पढ्नु पर्ने बाध्यता छैन, विद्यालयको आफ्नै भवनसहित सुविधायुक्त कक्षाकोठा निर्माण भइसकेका छन् । बाहिर सामान्य हिमपात भए पनि यहाँ पढाई रोकिन्न। उनै हिलारीको नाममा स्थापित हिमालय ट्रस्ट र अन्य मध्यवर्ती संस्थाको सहयोगमा विद्यालयका भवन भूकम्प प्रतिरोधी तथा न्यानो कक्षाकोठा निर्माण गरिएको छ । २०६८ सालदेखि विद्यालयमा अङ्ग्रेजी भाषामा पठनपाठन हुँदै आएको छ । स्थानीय भाषाअन्तर्गत तिब्बतीयन मस्लको ‘सम्बोटा लिपि’ को पढाइ हुन्छ । कक्षाकोठा प्रविधिमैत्री छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पढ्नका लागि पर्याप्त सहयोगी तथा शैक्षिक सामग्रीहरु कक्षाकोठामा नै राखिएको छ । पुस्तकालय भवन छुट्टै बनाइएको छ । विद्यालयमै सुविधा सम्पन्न इ-लाइब्रेरी छ । कक्षा ९ र १० का विद्यार्थीलाई स्मार्टबोर्डमा पढाई हुँदै आएको छ। वार्षिक परीक्षाहरुमा पनि यस विद्यालयले जिल्लामै अब्बल नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक नवाङ दोर्जे राईले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यालयमा खुम्जुङ्गको मात्र नभई नाम्चेलगायतबाट पनि अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । अहिले विद्यालयमा एक सय ४९ जना छात्रा र एक सय ४७ जना छात्र गरी दुई सय ९६ जना बिद्यार्थी रहेको राईले बताए । विद्यालयमा हाल शिक्षक शिक्षिका गरी २१ जना कार्यरत छन् । निजी स्रोतमा कार्यरत शिक्षकलाई पनि दरबन्दीका शिक्षकलाई जस्तै सेवा सुविधा दिइएको छ। भौगोलिक विकटताका कारण शिक्षक टिकाउनै गाह्रो छ । स्थायी शिक्षकबाहेक पाँच जनालाई हिमालयन ट्रष्टको आर्थिक सहयोगबाट र अन्यलाई निजी स्रोतबाट पारिश्रमिक व्यवस्थापन गरिएको उनले बताए । भौगोलिक विकटता एवम उच्च हिमाली क्षेत्रमा रहेको कारण विद्यालयमा विद्यार्थी टिकाउनै गाह्रो रहेको प्रधानाध्यापक राईको भनाइ छ। ‘वर्षामा त ठीकै छ, हिउँदमा शौचालयको कठिनाई हुने गरेको छ।’ उनले भने, ‘धेरै हिमपात भयो भने विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार बिदा दिने गरेका छौँ।’ चालीस जना क्षमता रहेको छात्रावासमा अहिले ११ जना मात्र विद्यार्थी रहेको उहाँले जानकारी दिए। छात्रावासमा बस्ने विद्यार्थीबाट न्यूनतम् शुल्कमा राम्रो खाने बस्ने सुविधासहित कपडा पनि विद्यालय नै व्यवस्थापन गर्ने गरिएको छ। जेठ महिनामै सगरमाथा आरोहणको ७० औं बर्षगाँठ मनाइएको छ। यस अवसरमा न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लर्क, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, नाती एलेक्जेण्डर हिलारी, तेन्जिङ्ग नोर्गे शेर्पाको छोरा ज्याम्लिङ्ग तेन्जिङ्ग नोर्गे लगायत दर्जनौ बिदेशी पर्यटकहरु खुम्जुङ्गमा जु्टेका थिए। यसै अवसरको फाईदा खुम्जुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि उठाए। विदेशी पर्यटकहरुलाई लक्षित गरी उनिहरुले विभिन्न उपहारहरु तयार पारेका थिए। जसलाई विदेशी पर्यटकहरुलाई रुचीपूर्वक अवलोकन मात्र गरेनन्, राम्रै दाम दिएर खरिद पनि गरे। उपहार बिक्रीबाट आएको रकमलाई विद्यालयको शिक्षकको तलब तिर्न र विद्यालय मर्मतका अन्य काममा प्रयोग गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। ‘हिमाली क्षेत्र भएको कारण यहाँ शिक्षकहरु र कर्मचारीहरुलाई रोक्नु हाम्रो लागि ठूलो चुनौती हो, यही कारण बिद्यालयलाई जोगाई राख्न पनि गाह्रो भइरहेको छ।’ अधिकारीले भने, ‘हिमालयन ट्रष्ट, स्थानीय तह लगायतको सहयोग त छ नै हामीले पनि आफ्नै तरिकाबाट आयआर्जनको पहल गरिरहेका हुन्छौँ।’ विद्यालयले आजयआर्जनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको उनी बताउँछन् । पर्यटक आइरहने गाउँ भएको कारण कार्यक्रमहरुको आयोजना गर्ने र त्यहाँ विद्यार्थीहरुले बनाएका हस्तकलाका सामाग्रीहरु बिक्री गरी आम्दानी गर्ने गरेको उनले बताए। यसरी गरिएको आम्दानी विद्यालय व्यवस्थापन समिति र शिक्षक, विद्यार्थीहरुको संयुक्त सहकार्यमा शिक्षकलाई तलब, विद्यार्थीलाई उपहार एवम् विद्यालयको अन्य कामको लागि खर्च गर्ने गरिएको छ। नाम्चेबाट करिब २ घण्टाको हिडाईपछि स्याङबोचे कट्ने बित्तिकै सबैको मुखबाट ‘आहा’ शब्द निस्किन्छ। कारण हो टाढैबाट देखिने हरियो गाउँ खुम्जुङ्ग।सेतो गुराँसले स्वागत गर्दै यो उपत्यका प्रवेश गर्नेको सबै थकान र पिडा मेटाइदिने गरेको छ। चारैतर्फ हिमालले घेरिएको खुम्जुङ्ग, खुम्बु क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल पनि हो। प्रायः सबै घर हरियो जस्ता पाताले छाएको कारण यसले हरित गाउँको नामले समेत पहिचान कमाएको छ। खुम्बिह्यूला, आमादम्बलामलगायत हिमालका काखैमा रहेको यो गाउँ पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ। खुम्जुङ्ग गाउँ खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका-४ मा पर्दछ । यही वडामा विश्व सर्वोच्च शिखर सगरमाथा पनि पर्दछ। सगरमाथा आधार शिविरमा गोक्यो क्षेत्र हुँदै जानेहरु यही गाउँ हुदै जाने गर्दछन् । खुम्जुङ्ग र खुन्दे गउँमा गरी करिब तीन सय घरधुरी रहेका छन्। तीन हजार आठ सय मिटर उचाइमा रहेको यो गाउँका प्रायः सबै घरहरु हरियो जस्तापाताले छाइएका छन् । रासस
१३औं काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुने छ । फेयरको मूख्य उद्देश्य सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसंगको सम्पर्क संजाल अभिवृद्धि गर्ने रहेको छ । त्यसैगरी बाह्रय विश्वसंग खुला हुने मंचहरुलाई मजबुत पार्ने तथा बाह्रय विश्वसंगको खुलापनलाई बढाउने रहेको छ । मन्त्री रिजालसंगै भ्रमण टोलिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ । पाँच दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कनेछन् ।
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताए । ’यसै खेलमा करिअर बनाउन चाहेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ’, उनले भने, ’अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।’ कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य आठ सय रुपैयाँ तोकिएको छ भने अन्य दिनमा भने पाँच सय रुपैयाँ तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ । खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उनको भनाइ छ । फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ । रासस
योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहमा गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अङ्गको रूपमा लिँदै आएको चर्चा गरे । योग भनेको योग अभ्यास मात्र नभइ यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भने, ‘योग अभ्यास एवम् ध्यानले शारीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, सन्तुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रक्रियामा योगदान पु¥याउँछ ।’ सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको उनले बताए । गृहमन्त्रालयमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागारसमेतमा योग शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । एकै दिनमा योगसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उनले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे । प्रहरी प्रधान कार्यालयमा उक्त कार्यक्रम भएको थियो ।
ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै
गण्डकी । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो । यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ’चीन नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो’, उनले भने, ’ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रवद्र्धनको काम गर्नेछ ।’ फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उनले बताए । फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता गरिनेछ । पाँच सय र एक हजार मिटरको दौडमा प्रतिष्पर्धा हुनेछ । बोट रेसका लागि गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ । फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ । गत पुस १७ गते(सन् २०२३ को जनवरी १ तारिख) उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा असार ६ गते पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ टोली अवतरण गर्नेछन् । पोखरा चिनियाँ पर्यटकको राम्रै्र रोजाइमा पर्ने गन्तव्य हो । यहाँ आउने चिनियाँ पर्यटक विशेषतः प्राकृतिक सुन्दरताको अवलोकन र प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायतका साहसिक पर्यटनमा रुचि राख्ने गर्दछन् । नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए । ’कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैँमा विशेष छ’, उनले भने, ’यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।’ फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उनले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको बताए । पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सयको सङ्ख्यामा होटेल रहेको होटेल एशोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा होटेल पूर्वाधारमा मात्रै चार खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको उनले बताए । ’यहाँ नेपालीका साथै चाइनिजले सञ्चालन गरेका रेष्टुरेन्ट पनि छन्’, उनले भने, ’चिनियाँ भाषा जानेका पर्यटक गाइडको सङ्ख्या पनि राम्रै छ ।’ पोखरा आउने चिनिया पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उनले बताए । रासस
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
काठमाडौं । पूर्वाधार विकास समितिले देशभर बाढीपहिराबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले बाढीपहिरामा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उद्धार गरी उपचारको प्रबन्ध गर्न र विस्थापित परिवारको गाँस, बासको उचित व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिका सभापति लालवीर चौधरीले क्षति पुगेका सडक, पुल, बेलीब्रीज लगायतका भौतिक संरचनालाई तत्काल मर्मतसम्भार गरी अवरुद्ध सडक सञचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिए । कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा अविरल वर्षाका कारण बाढी पहिराले मानवीय क्षतिका साथै सडक, पुल, बेलीब्रीज विविध विकास आयोजना र मानव बसोबास क्षेत्रमा ठूलो क्षति भएका सम्बन्धमा समितिले ध्यानाकर्षण प्रकट गरेको हो ।
एसिएन पेन्ट्सको व्यापारमा उछाल, एक वर्षमा पौने ११ अर्ब आम्दानी
काठमाडौं । एसिएन पेन्ट्सले एक वर्षको अवधिमा पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा कम्पनीले ७ अर्ब ३० करोड ३० लाखको ब्यापार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ३१ करोड र सन् २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीलाई विस्तार गर्नका लागि ९९ करोड ९० लाख रुपैयाँ ऋण लिँदैछ । त्यसका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले एवान प्लसको रेटिङ प्राप्त गरेको छ । एशिएन पेन्ट्स नेपालमा एशिएन पेन्ट्स इण्डियाको ५३ प्रतिशतर रवि एसोशिएट इण्डियोको ९ प्रतिशत र ३८ प्रतिशत विभिन्न २६ जना सेयरहोल्डरहरुको स्वामित्व छ । हाल कम्पनीको अध्यक्ष लक्ष्मी गोपाल श्रेष्ठ छन् ।