प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैंठकले उनलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । श्रेष्ठलाई ४ वर्षको लागि नियुक्त गरेको हो । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने अनिल श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन् । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौं भन्ने विश्वास व्यक्त गरे । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक डीजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
सुख्खा पहिरोले रोकिएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु
फाइल फोटो काठमाडौं । पहिरोको कारणले अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु भएको छ । बिहीबार दिउँसो साढे १२ बजेदेखि बन्द भएको उक्त सडक खण्ड शुक्रबार साँझदेखि खुलेको हो । इच्छाकामना गाउँपालिका(६ मुग्लिन(नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै माथिबाट सुख्खा पहिरो खसेसँगै उक्त सडकखण्ड दुबै तर्फबाट अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाई शुक्रबार अपरान्ह करिब साढे ५ बजेबाट दुईतर्फी बाटो सुचारु गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो । पर्सा क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका रौनियारविरुद्ध बाँकेको जिल्ला प्रहरी कार्यालयमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आर्थिक मुद्दालाई प्राथमकितामा राख्न देउवासँग सीएनआईको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा देउवासँग छलफल गरेका हुन् । उक्त छलफलमा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउँदै राजनीतिक दलहरुले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले जोड दिए । सो अवसरमा कांग्रेस सभापति देउवाले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । उक्त भेटमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।
सहकारीका ठूला माछा प्रहरीको बल्छीमा
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न सहकारीका ३४ जना सञ्चालक लगायत व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समय सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेका आरोपमा उनीहरु पक्राउ परिरहेका छन् । सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्थाका १२ जना, भरोसा सहकारीका तीन जना, प्रज्ञान सहकारीका ८ जना, सशवशिखर बहुउद्धेश्यिय सहकारीका चार जना र एकताबुद्ध बचत तथा ऋण सहकारीका ७ जनालाई पक्राउ गरिसकेको छ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै १ हजार ५०३ जनाले २०७ जाहेरी दिएका दिए । सो सहकारीको अनुसन्धान गरेपछि सीआईबीले ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो माग गरेको थियो । अहिले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य लगायत अन्य सञ्चालकहरु हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले २०७८ पुस १४ गतेको आदेशले २ जना पुर्पक्षका लागि थुनामा गएको र बाँकीको हकमा धरौटीमा छोडेको छ । बचतकर्ताको पैसा हिनामिना गरेको आरोपमा भरोसा सहकारीका तीन जना पक्राउ परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्था ठगी प्रकरणमा सलंग्न भएको आरोपमा उक्त संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिवनाथ पाण्डे पक्राउ परेका थिए । ५२ बचतकर्ताको १० वटा जाहेरीको आधारमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुबाट १२ करोड ५६ लाख २४ हजार रुपैयाँको बिगो माग गरिएको छ । जिल्ला अदालत काठमाडौंको २०७८ चैत ६ गतेको आदेशले तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् । यस्तै, काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्टकुमार महर्जन र लेखा परीक्षकद्वय हिमालयराज जोशी र दीपक रानामगर छन् । एक जनाले ८ जाहेरी गरेपछि सीआईबीले उनीहरुलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि उनीहरुबाट सीआईबीले १५ करोड २१ लाख ३३ हजार रुपैयाँको बिगो माग गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २४ गतेको आदेशले ८ जनामध्ये तीन जना पुर्पक्षको लागि थुनामा गएको बुझिएको छ । यस्तै, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्देशीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् । शिबशखिर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् । शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । सीआईबीका अनुसार उनीहरुले ४३ वटा कम्पनीमा सहकारीको लगानी गरेको बुझिएको छ । यस्तै, सीआईबीले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका सात जनालाई पक्राउ गरेको छ । बचतकर्ता ठग्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका कार्यकारी अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यूरोका अनुसार सहकारीका कार्यकारी अध्यक्ष भानु शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ , सदस्य (ऋण संयोजक) विर बहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की पक्राउ परेका छन् । बूढानीलकण्ठ-९ एकता बस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत हिनामिना गरेको भन्दै २१३ जनाले उजुरी दिएका थिए । यस सहकारीको विषयमा अहिले अनुसन्धान भइरहेको छ । सीआईबीले ११ करोड रुपैयाँ बढीको बिगो माग दाबी गरेको छ । यी पाँच सहकारीका कुल २ हजार ९८१ जनाको जाहेरीले ३४ जना पक्राउ परेका हुन् । उनीहरुबाट कुल ६ अर्ब ७२ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ । यस्तै, अहिले देउराली बहुउद्देशीय सहकारीको विषयमा अनुसन्धान गर्न भन्दै सहकारी विभागले सीआईबीलाई पत्र पठाइसकेको छ । सीआईबी स्रोतका अनुसार सीआईबीले सो सहकारीका सञ्चालकहरुलाई खोज्दैछ । देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसहित सञ्चालकहरु सीआईबीको निगरानीमा छन् । २०७९ साल असारबाट समस्यामा परेको सहकारी संस्थाका सञ्चालक लगायत अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । सातदोबाटो ललितपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले बचतकर्ताको रकम घरजग्गामा लगानी गरेको बुझिएको छ ।
सनराइज क्यापिटलका ग्राहकलाई समाज डेण्टलमा छुट
काठमाडौं । सनराइज क्यापिटल, काठमाडौं तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौं बिच सहकार्य गर्ने सम्बन्ध सम्झौता भएको छ । शुक्रबार एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजनाहरु सहित सनइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा, आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था लगायतका सुविधा प्रदान गरिने जनाएको छ । त्यस्तै, समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट दिने जनाएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले दोषी ठहर गरेको हो । खड्का माथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाखको गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो । दोषी ठहर भएसँगै विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो ।
बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : रेनु दाहाल
रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको बताएकी छिन् । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उनले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी हुन् । ‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ’, उनले भने, ‘धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन हामीले काम गरिरहेका छौँ ।’ अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पुर्याइरहेको बताइन् । ‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ’, उनले भने, ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’ आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताइन् । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुग्नुभएको छ । महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले बताइन्। पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पुर्याएको भन्दै उनले सिँचाइका लागि मात्रै चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले कृषिको विकास गर्न निरन्तर काम गर्दै आइरहेको बताइन्। ‘भरतपुर कृषिको आकर्षणको केन्द्र बन्दै गइरहेको छ’, उनले भने, ‘यहाँको कृषि र पशु विकासको काम देखेर अहिले केन्द्रीय नेताको समेत आकर्षण भएको छ ।’ महानगरपालिकाले आन्तरिक बजेटबाट १५ करोड कृषि र पशुपन्छीका लागि विनियोजन गरेको अधिकारीले बताइन् ।