सहकारीका ठूला माछा प्रहरीको बल्छीमा

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न सहकारीका ३४ जना सञ्चालक लगायत व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समय सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेका आरोपमा उनीहरु पक्राउ परिरहेका छन् । सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्थाका १२ जना, भरोसा सहकारीका [&hellip;]</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न सहकारीका ३४ जना सञ्चालक लगायत व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समय सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेका आरोपमा उनीहरु पक्राउ परिरहेका छन् ।

सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सहकारी संस्थाका १२ जना, भरोसा सहकारीका तीन जना, प्रज्ञान सहकारीका ८ जना, सशवशिखर बहुउद्धेश्यिय सहकारीका चार जना र एकताबुद्ध बचत तथा ऋण सहकारीका ७ जनालाई पक्राउ गरिसकेको छ ।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै १ हजार ५०३ जनाले २०७ जाहेरी दिएका दिए । सो सहकारीको अनुसन्धान गरेपछि सीआईबीले ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो माग गरेको थियो । अहिले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य लगायत अन्य सञ्चालकहरु हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले २०७८ पुस १४ गतेको आदेशले २ जना पुर्पक्षका लागि थुनामा गएको र बाँकीको हकमा धरौटीमा छोडेको छ ।

बचतकर्ताको पैसा हिनामिना गरेको आरोपमा भरोसा सहकारीका तीन जना पक्राउ परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्था ठगी प्रकरणमा सलंग्न भएको आरोपमा उक्त संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिवनाथ पाण्डे पक्राउ परेका थिए । ५२ बचतकर्ताको १० वटा जाहेरीको आधारमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुबाट १२ करोड ५६ लाख २४ हजार रुपैयाँको बिगो माग गरिएको छ । जिल्ला अदालत काठमाडौंको २०७८ चैत ६ गतेको आदेशले तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

यस्तै, काठमाडौंको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी मुद्दामा सञ्चालक तथा लेखापरीक्षकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्टकुमार महर्जन र लेखा परीक्षकद्वय हिमालयराज जोशी र दीपक रानामगर छन् । एक जनाले ८ जाहेरी गरेपछि सीआईबीले उनीहरुलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि उनीहरुबाट सीआईबीले १५ करोड २१ लाख ३३ हजार रुपैयाँको बिगो माग गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ असार २४ गतेको आदेशले ८ जनामध्ये तीन जना पुर्पक्षको लागि थुनामा गएको बुझिएको छ ।

यस्तै, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिबशिखर बहुउद्देशीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरु थुनामा छन् । शिबशखिर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड रुपैयाँ हिनामिना गरेको भन्दै उनीहरु पक्राउ परेका हुन् ।

शर्मा दम्पतीले संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । सीआईबीका अनुसार उनीहरुले ४३ वटा कम्पनीमा सहकारीको लगानी गरेको बुझिएको छ ।

यस्तै, सीआईबीले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका सात जनालाई पक्राउ गरेको छ । बचतकर्ता ठग्ने एकता बुद्ध ऋण तथा सहकारी संस्थाका कार्यकारी अध्यक्षसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यूरोका अनुसार सहकारीका कार्यकारी अध्यक्ष भानु शर्मा, उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ , सदस्य (ऋण संयोजक) विर बहादुर तामाङ र व्यवस्थापक शम्भु कार्की पक्राउ परेका छन् ।

बूढानीलकण्ठ-९ एकता बस्तीमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत हिनामिना गरेको भन्दै २१३ जनाले उजुरी दिएका थिए । यस सहकारीको विषयमा अहिले अनुसन्धान भइरहेको छ । सीआईबीले ११ करोड रुपैयाँ बढीको बिगो माग दाबी गरेको छ । यी पाँच सहकारीका कुल २ हजार ९८१ जनाको जाहेरीले ३४ जना पक्राउ परेका हुन् । उनीहरुबाट कुल ६ अर्ब ७२ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।

यस्तै, अहिले देउराली बहुउद्देशीय सहकारीको विषयमा अनुसन्धान गर्न भन्दै सहकारी विभागले सीआईबीलाई पत्र पठाइसकेको छ । सीआईबी स्रोतका अनुसार सीआईबीले सो सहकारीका सञ्चालकहरुलाई खोज्दैछ ।

देउराली बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंसहित सञ्चालकहरु सीआईबीको निगरानीमा छन् । २०७९ साल असारबाट समस्यामा परेको सहकारी संस्थाका सञ्चालक लगायत अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । सातदोबाटो ललितपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले बचतकर्ताको रकम घरजग्गामा लगानी गरेको बुझिएको छ ।

Share News