विकासन्युज

बैंकले एकतर्फी रुपमा ब्याजदर बढाउनु मिटरब्याजी हो : अध्यक्ष ओली

फाइल तस्बिर काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैंकले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गरेका छन् ।  चितवनका उद्योगी व्यवसायीले शुक्रबार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले सो बताएका हुन् । ‘गाउँको लेनदेन मिटरब्याज भयो तर बैंकको किन हुँदैन ?’ अध्यक्ष ओलीले प्रश्न गरे । बैंकहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उनले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। अध्यक्ष ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने भन्दै उनले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताएका हुन्। ‘बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पु¥याएका गुनासो सुनेको छु’, ओलीले भने, ‘यसरी बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।’ बैंकले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उनले ऋणी र बचतकर्ताप्रति बैंक उत्तरदायी हुनुपर्नेमा जोड दिए। ‘ऋण लगानी ग¥यो, ब्याज आउँछ भनेर बैंक तथा वित्तीय संस्था बस्ने गरेका छन्’, उनले भने, ‘ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठीक होइन ।’ छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले सरकारको नीति र बैंकको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यावसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गरे । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले राज्यले उद्योगी व्यावसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल फोटो काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।

थप सात स्थानमा औद्योगिक ग्राम स्थापना हुने, कहाँ कहाँ ?

काठमाडौं । सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्न लागेको हो । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन् । यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले ती औद्यौगिक ग्राम स्थापना गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणापत्र अनुसार कानून तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताइन् । त्यस्तै संयुक्त राष्ट्रसङ्घको आयोजनामा न्यूयोर्कमा आयोजना हुने दिगो विकासका लागि उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल गठन गरिएको छ । यस्तै, चीनको राजधानी बेइजिङमा आयोजना हुने विकास प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय अनुभव विषय सम्मेलनमा भाग लिनसमेत उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई नै स्वीकृत प्रदान गरिएको मन्त्री शर्माले बताइन् । आगामी साउन ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को क्षेत्रीय समितिको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिइएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहेकीका मन्त्री शर्माका अनुसार सरकारले रुपन्देहीको साविक खुदाबागर गाविसमा अवस्थित सरकारी जग्गा खुदाबागर आदर्श कलेजलाई लिजमा दिन स्वीकृति दिने तथा सिरहाको साविक लवटोली गाविसको जग्गा कर्जन्हा नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् । ललितपुरको साबिक झरुवाराशीको सरकारी जग्गा तथा सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा नगरपालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ । त्यस्तै, बैठकले अजरबैजानको बाकुमा यही असार २० देखि २१ गतेसम्म आयोजना हुने असल राष्ट्रको मन्त्रिस्तरीय बैठक र असार १८ देखि १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । सरकारले यही असार २० देखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले उल्लेख गरिन् । रासस

नबिल बैंकले जिडब्लुएमका गाडी किन्न लोन दिने, ७ वर्षसम्म पाइने

काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स-जि.डब्लु. एम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको हो । त्यस्तै, कम्पनीले सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले १२.९० प्रतिशत ब्याजदरमा आईसीई मोडललाई ५० प्रतिशतसम्म र ईभीको लागि ८० प्रतिशत अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

ट्राफिक प्रहरीको मापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा, प्रहरी वृत्तमा राखेर अनुसन्धान हुँदै

फाइल फोटो भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जिवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४ १२ नम्बरको पिक अप चालक काठमाडौ महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् । नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले आज‍ २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए । लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी ‘नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका हुन् । बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट-पानीपोखरी-महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरि रहेको बताए । उनले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए । अध्यक्ष पौड्यालले बैंक रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए । ‘हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ’ पौड्यालले भने । नबिल सस्टेनेबल बैंकिङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैंकले जनाएको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैंकले आफ्नो भूमिका देखाउँदै गएको बताए । यो ग्रीन विक सप्ताहले बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ । सीईओ ढुंगानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैंकिङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए । नबिल सस्टेनेबल बैंकिङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पुर्याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो । बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ । विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैंकिङ सेवा विस्तार रहेको छ । त्यसका साथै बैंकले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सीपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिदैँ आएको छ । नबिल सस्टेनेबल बैंकिङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ । जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैंकले जानएको छ। ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पुर्याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो ।

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्ने गरी कारण देखाउ आदेश भएको जानकारी दिए । प्रहरीको सीआईबीले पक्राउ गरेपछि यही असार १३ गते पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो । उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले भनेको छ- ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र कागज प्रमाणसहित महान्यायाधिक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्नू ।’ अर्का गोपाल कार्कीसहित चार जनालाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । १३ गते अदालतमा पेश गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । त्यही दिन नै उनीहरु बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत पुगेका थिए । सर्वोच्चबाट ‘स्टेअडर’ ल्याएको पाइएपछि पक्राउ परेका अन्य कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि सोही प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विचाराधीन रहेको छ । रासस

५ मिनेटमै धितो र कागज बिना ऋण, बैंकमा गएर कर्जा लिने दिनको अन्त्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो ।’ एक अर्ब रुपैयाँ भन्दा बढी बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने । बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए । ‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने । किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर कृषि कर्जा प्रदान गर्ने उनको भनाइ छ । नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक सबैभन्दा कम लागतमा सहुलियतपूर्ण कर्जाबिना व्यवसायीक रुपमा कर्जा प्रवाह गरेको उनले बताए । ‘नेपालमा पहिलो पटक किसान, कृषिसँग सम्बन्धीत व्यवसायी, प्राविधिकलाई सँगै लिएर एनएमबि खेती कर्जा प्रडक्ट ल्याएका छौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम लिने व्यवस्था भएपनि यस प्रडक्टमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछौं, सहुलियतपूर्ण कर्जा नभइकन व्यवसायीक रुपमा कम दरमा कर्जा प्रवाह गरेको नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक हो,’ उनले भने, ‘धितो बिना कर्जा पाउन सकिँदैन भन्ने भाष्य स्थापित हुन थालेको छ, त्यसलाई चिर्नका लागि यो प्रडक्ट ल्याएका हौं, किसानसँगको सीप, पूँजी र बजारलाई एउटै ठाउँमा ल्याएका छौं ।’ उनका अनुसार बैंकहरु कृषिमा लगानी गर्न तयार रहेको भएपनि आयोजनाको अभाव रहेको छ । बैंकहरुले कृषि कर्जा लिन सक्ने ग्राहकको खोजी गर्दै हिँड्नु परेको उनको भनाइ छ । कृषि, उर्जा, पर्यटन र साना व्यवसायलाई प्राथमिकतामा राखेर बैंक्हरुले कर्जा प्रवाह गरिरहेको उनको भनाइ । ‘अहिले बैंकहरुले ६ सय अर्ब रुपैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्, थप २/३ सय अर्ब कृषि क्षेत्रमा कर्जा लगानी गर्नु पर्नेछ, बैंकले कृषिमा लगानी गर्नका लागि प्रोजेक्ट खोज्नु परेको छ तर, त्यो पाउन सकिरहेको छैन,’ उनले भने, ‘हामीलाई कर्जा लिन सक्ने क्षमता भएको ग्राहक चाहिएको छ । १ रुपैयाँ निर्यात गर्दा १० रुपैयाँ आयात गर्नु परेको उनको भनाइ छ । दीगो व्यवसायको लागि बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । गत वर्ष ५ सय अर्बभन्दा बढीको कृषिजन्य सामाग्रीको आयात गरेको तथ्याङ्क रहेको उनको भनाइ छ । ‘१० महिनाको तथ्याङ्क हेर्दा १३० अर्बको निर्यात गर्दा १२/१३ अर्ब आयात गर्नु परेको छ, १२० अर्बको ब्यापार घाटा छ, त्यो ब्यापार घाटा रेमिट्यान्सले धानिरहेको छ, यदि भोलिका दिनमा रेमिट्यान्स पनि ठप्प भयो भने हामीले कृषि क्षेत्रलाई नै जोड दिनु पर्छ,’ उनले भने, ‘५ सय अर्बको आयात हुँदा नेपालमा कृषिको बजार ठूलो रहेको बुझिन्छ, अब कृषिमा लगानी गर्न सबै तत्पर हुनु पर्छ ।’ एनएनबि बैंकले नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित भएर बिना धितो एनएमबि खेती कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैंकका म्यानेजर सुजन ढुंगानाले बताए । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको उनको भनाइ छ । ‘किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ता बन्दिमा बिना धितो प्राप्त गर्न सक्नु हुन्छ, कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झण्झट ब्यहोर्नु पर्दैन,’ उनले भने, ‘किसानहरुले खेतीसँग पहिला गरेको कारोवारको मूल्याङ्कन गरेर स्विकृति गरिनेछ, ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।’ बैंकले किसानलाई १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने उनले बताए ।