महानिर्देशक अधिकारीलाई पुनः सोधियो तीनदिने स्पष्टिकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पर्यटनमन्त्री सुदन किरातीले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टिकरण सोधेका हुन् । ‘मन्त्रीज्यूले बुुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको हो, बिहीबार बिहान १० बजे नै पत्र पठाउने भन्ने तयारी थियो’, मन्त्रालय स्रोतले भन्यो, ‘यसअघि पठाईएको पत्रको जवाफ नदिनुको कारण सहित स्पष्टिकरणको जवाफ पठाउन दोस्रो पत्र पठाईएको हो ।’ बुधबार दिउसो र साँझ मन्त्री किराती र महानिर्देशक अधिकारीको मन्त्रालयमा भेटवार्ता समेत भएको थियो । उनीहरु दुई जना गोप्य भेट गरेको भन्दै भेटमा के कुरा भयो त्यसको जानकारी कसैलाई नभएको स्रोतले दाबी गर्याे । ‘उहाँहरुको कुरा हुँदा यसअघिको विवाद समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर पुनः स्पष्टीकरण सोध्ने निर्णय भएसँगै समाधान नभएको हाम्रो बुझाइ हो’, स्रोतले भन्यो । महानिर्देशक अधिकारीले तीन दिनको समयमा पुनः स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नपठाए थप निर्णय हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मूलपानी र धर्मस्थलीसँगै उपत्यकामा थपिए पाँच ट्राफिक पोष्ट
काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौंको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ । पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौं उपत्यकाभित्र एक हजार आठ सय १४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार एक सय १३ जनाको रहेको प्रवक्ता भट्टले बताए । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको सङ्ख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । हाल बागमती प्रदेशभित्र १८ लाख ३५ हजार एक सय ८१ सवारीसाधन दर्ता छन् ।
काम र चर्चा दुवैमा एक कदम अगाडि बालेन
काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहमध्ये एक वर्ष यता काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सबैभन्दा धेरै चर्चामा छन् । काठमाडौं महानगरकाे प्रमुखमा निर्वाचित भएपछि सञ्चार माध्यमसँग टाढा रहेका बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले भने सञ्चार माध्यममा प्राथमिकताकासाथ स्थान पाउने गर्छ । त्यस्तै, सामाजिक सञ्जालमा व्यक्त बालेनकाे अभिव्यक्तिले सामाजिक सञ्जालमा सेलिब्रेटी र राजनीतिक नेतृत्वको विचारले भन्दा धेरै प्रतिक्रिया पाउने गरेकाे छ । यसको मुख्य कारण भनेको उनले अगाडि बढाएको कार्यक्रम र क्रियाकलाप नै हो । महानगर प्रमुखमा निर्वाचित भएपछि बालेनले महानगरमा कार्यरत कुनै पनि कर्मचारी परिवर्तन गरेका छैनन् । उनीसँग काम गर्ने उप–प्रमुखदेखि कार्यपालिकाका सबै सदस्य राजनीतिक दलमा आबद्ध व्यक्तिहरु नै छन् । तर, पुरानै कर्मचारी र ठूला राजनीतिक दलसँग आवद्ध वडा अध्यक्षहरुसँगकाे सहकार्यमै बालेन चर्चाको शिखरमा छन् । बालेनले पहलकदमी लिएका कतिपय कामको विषयलाई लिएर अदालतमा मुद्दा पर्ने गरेको छ । कतिपय कामकाे विरोध पनि हुने गरेकाे छ । तर, बालेले मुलतः विद्यमान कानूनलाई नै उच्चतम प्रयोग गर्ने कोसिस गरिरहेको देखिन्छ । पूर्व सचिव रामेश्वर खनालले पनि बालेनले मुलतः कानूनलाई परिपालना गराउने र अनुशासन कायम गर्ने प्रयास गरिरहेकाे टिप्पणी गरेका छन् । आफैँ अनुशासनमा रहेको मान्छेले मात्रै अरुलाई पनि अनुशासित राख्न सक्ने र काठमाडौंका अहिलेसम्मका मेयरहरुमध्ये बालेन मात्रै घुस नखाने मेयर भएको भनेर कर्मचारीहरुले समेत प्रतिक्रिया दिएको आफुले सुनेकाे खनालले बताए । ‘काठमाडाै महानगरभित्र कानून, नियम पालना गराउन खोजेको देख्छु । जो आफू नै अनुशासित छ उसले मात्रै यस्ताे काम गराउन सक्छ’, खनालले भने, ‘आफू अनुशासित भएन भने त कर्मचारीले नै टेर्दैन नि ।’ बालेनले गरिरहेका कामहरु लोकप्रिय भन्दा पनि शुसासनमा आधारित रहेको पूर्व सचिव रामेश्वर खनालको भनाइ छ । ‘उनले गरेका कामहरु चर्चामा आउनका लागि गरिरहेका छन् जस्तो मलाइ लाग्दैन, चर्चामा आउनको लागि पैसा वितरण गर्ने, चटके कामहरु गर्ने, कसैलाई साडी वितरण गर्ने, बालबालिकाहरलाई चकलेट वितरण गर्ने जस्ता कामहरु भएको देखिँदैन’, उनले भने, ‘अहिलेसम्म जे जति काम भएका छन् ती कामहरुले अव्यवस्थित व्यवस्था, नियम पालना नगर्ने प्रवृत्ति र काठमाडौंको सांस्कृतिक पूर्वाधारहरुमा क्षति पुर्याउने कामलाई रोक्ने जस्ता काम भएका छन् । याे सस्तो लोकप्रियताका लागि गरिएका काम हाे जस्ताे मलाई लाग्दैन ।’ शिक्षा क्षेत्रमा बालेनका नवीन पहलकदमी काठमाडौं महानगरले शिक्षा क्षेत्रमा विद्यमान कानूनलाई कार्यान्वयन गराउने र सुधार गर्ने अभियानलाई अगाडि बढाएको छ । सामुदायिक विद्यालयहरुलाई सुधार गर्ने र निजी विद्यालयहरुलाई नियमन गर्ने विषयलाई काठमाडौं महानगरले श्रृंखलाबद्ध रुपमा अगाडि सारेको छ । सामुदायिक विद्यालयहरुमा बुक फ्रि फ्राइडे र विद्यार्थी संगठन निर्माण गर्न नपाइने विषय महानगरले नवीन कार्यक्रमको रुपमा अगाडि बढाएको छ । त्यस्तै, निजी शिक्षण संस्थाले दिनुपर्ने १० प्रतिशत विद्यार्थीको विवरण सार्वजनिक गर्नुपर्ने, कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थीको सिफारिस महानगरले गर्नुपर्ने, कक्षा ११/१२ को शुल्कको विवरण पनि महानगरलाई बुझाउनुपर्ने र निजी विद्यालयमा कार्यरत शिक्षकहरुले पनि सरकारी सरह तलब सुविधा पाउनुपर्ने सूचना जारी गरेकाे छ । महानगरले शिक्षा क्षेत्रको सुधारका निम्ति अगाडि बढाएका कामहरुमध्ये पछिल्लो पटक प्रमुख बालेनले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुले सरकारी सरह तलब सुविधा पाउनुपर्ने विषय विवादित बनेको छ । काठमाडौं महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले निजी स्कुलमा कार्यरत शिक्षकहरुले विद्यमान संघीय शिक्षा ऐनअनुसार नै तलब पाउनुपर्ने बताएका छन् । उनले केही समयमा सो विषयलाई लिएर महानगरले आधिकारिक विज्ञप्ति जारी गर्ने समेत बताएका छन् । मुलुकभरीका ७५३ वटा स्थानीय तहमध्ये काठमाडौं महानगरका प्रमुख बालेनले शिक्षा क्षेत्रमा सुधारको नवीन काम शुरुवात गरेका हुन् । शिक्षा क्षेत्रलाई कमै मात्र स्थानीय तहले विशेष प्राथमिकतामा राखेका छन् । शिक्षा क्षेत्रमा बालेनले गरेको कामको विषयलाई लिएर राजनीतिक नेतृत्वदेखि धेरै विज्ञहरुले समेत प्रशंसा गरेका छन् । पूर्व सचिव रामेश्वर खनालले बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको काम उनले केही मान्छेहरु रुष्ट हुने भएपनि साहस गरेर पहल गरेको बताउँछन् । ‘शिक्षकहरुलाई जिविकोपार्जन गर्न पुग्नेगरी तलब दिनुपर्छ, श्रमको शोषण हुनुहुँदैन भन्दाखेरी एउटा शक्तिशाली पुँजीपती वर्ग रुष्ट हुन्छ’, खनाल भन्छन्, ‘जसले लगानीबाट प्रतिफल लिइरहेको छ, श्रमको शोषण गरिरहेको छ त्यो त रुष्ट हुन्छ, विद्यालयमा तालाबन्दी गर्न पाईंदैन कक्षा सूचारु हुनुपर्छ, भन्दा कर्मचारी र विद्यार्थी संगठन आन्दोलित होलान् ।’ बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको शुरुवातले आगामी केही वर्षमा नै सकारात्मक नतिजा दिने धेरैले अपेक्षा गरेका छन् । स्वास्थ्य क्षेत्रमा गरिबलाई सुविधा काठमाडौं महानगरले अन्य महानगर र स्थानीय तहहरुको तुलनामा स्वास्थ्य क्षेत्रमा पनि नवीनतम पहलकदमीलाई अगाडि बढाएको छ । सोही अन्तर्गत महानगरले छेत्रपाटी निःशुल्क चिकित्सालय सञ्चालनको शुरुवात गरेको छ । जहाँ वृद्धभत्ता प्राप्त गर्ने सबै जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ । त्यस्तै, महानगर प्रमुख बालेनले अग्रसरता लिएर संघीय सरकारले नै कार्यान्वयन गर्नुपर्ने स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गराउन दबाब दिएर काठमाडौं महानगरभित्र कार्यान्वयन गराउन सफल भएका छन् । जसको कार्यान्वयनपश्चात काठमाडौं महानगरभित्रका सम्पूर्ण सरकारी अस्पतालमा १० प्रतिशत बेड गरिबहरुका निम्ति निःशुल्क भएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान सार्वजनिक सम्पत्तिको संरक्षणमा बालेनले लिएको पहलकदमी काठमाडौं महानगरको चर्चाको अर्को महत्वपूर्ण विषय हो । महानगरमा निर्वाचित भएको केही समयपछि नै उनले सडकपेटीमा अनधिकृत ढंगले व्यवसाय गर्ने, नाप-नक्सा विपरित भवन बनाउने तथा प्रयोग गर्ने र सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्नेहरुका विरुद्धमा अभियान नै सञ्चालन गरेका थिए । विभिन्न तथ्यांकहरुलाई हेर्दा सार्वजनिक सम्पत्ति सम्बन्धी समस्या देशैभरी नै छ । तर, बालेनले आफूलाई डोजर मेयरको पहिचान नै बनाएर नाप-नक्सा विपरित भवन निर्माण गर्ने र अव्यवस्थित बसोबासीहरुलाई कानूनको दायरामा ल्याउने काम गरे । विश्व पुरातत्विक सम्पदाको सूचिमा रहेको बसन्तुपर हनुमानढोका क्षेत्रलाई मेयर बालेनले सवारी साधन निषेधित क्षेत्रकोरुपमा घोषणा गरेका छन् । सफा काठमाडाैंकाे पहल काठमाडौं महानगरमा लामो समयदेखिको महत्वपूर्ण मध्येको एउटा मुद्दा हो सरसफाइ । सामान्यतया सबै ठूला सहरहरुमा यो विषय महत्वपूर्ण हुने गर्छ । काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भइसकेपछि बालेनले फोहोर व्यवस्थापनको निमित्त निकै पहलकदमी गरेका थिए । तर, फोहोरको प्राविधिक रुपमा दीर्घकालिन समस्या समाधान नभएपनि एकवर्ष अगाडिको तुलनामा अहिलेको अवस्थामा काठमाडौंं महानगर तुलनात्मकरुपमा सफा भएको छ । त्यस्तै, महानगर भित्रको विभिन्न क्षेत्रमा वृक्षारोपण र गमलामा फुल राखेर सजावट गरिएको छ । गल्लीहर खाली भएकाले काठमाडौं महानगर यात्रुहरुका लागि समेत सहज बनेका छन् । संघीयताको अभ्यासमा पहल अहिलेको अवस्थामा संघीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार क्षेत्र मिचेर काम गरिरहेको विषयलाई विभिन्न पार्टीका नेता, सांसद, वित्त आयोग र स्थानीय सरकारहरुले विरोध गरिरहेका छन् । कतिपय विषयहरुलाई लिएर स्थानीय सरकारले अदालतमा मुद्दा दायर समेत गरेको अवस्था छ । तर, काठमाडौं महानगरका प्रमुख बालेनले भने आफ्नो अधिकार क्षेत्रको विषयलाई लिएर सिधै कार्यान्वयनमा उत्रिने गरेका छन् । उनका कतिपय कामको विषयमा आलोचना हुने गरेपनि स्थानीय सरकारको वास्तविक अभ्यास गर्न खोजेको र त्यसले अरुको लागि समेत प्रेरणा मिलेकाे धेरैको बुझाइ छ । बालेनको सार्वजनिक सम्पत्तिको संरक्षणको पहलकदमीलाई पूर्व सचिव खनालले लोकप्रिय नभएर कानूनको कार्यान्वयन भनेर टिप्पणी गरेका छन् । बालेनले सबै क्षेत्रमा गर्न खोजेको कामहरु सुधारको काम भएको खनालको टिप्पणी छ । तर, कतिपय काम गर्ने तौरतरिकामा राम्रोसँग पूर्व तयारी गरेर, मर्का पर्ने वर्गलाई जानकारी गराएर, खासगरी ठेलागाढा हटाउने वा अव्यवस्थित वस्ती हटाउने सन्दर्भमा निजी सम्पत्ति अनाहकमा क्षति नहुनेगरी गरिदिएको भए राम्रो हुन्थ्यो भन्नेसम्म आफ्नो टिप्पणी रहेको उनको भनाइ छ ।
नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य
काठमाडौं । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिए । नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताए । उनले नेपालमा विद्यमान लगानीका अवसरबाट लाभ लिन उपस्थित उद्योग व्यवसायीलाई आग्रह गरेको त्यहाँस्थित दूतावासले जनाएको छ । अरब वुमन्स इन्भेस्टर्स युनियनकी अध्यक्ष डा होडा यास्साले नेपाल इजिप्टका लगानीकर्ताका लागि नयाँ तर प्रशस्त सम्भावनायुक्त गन्तव्य भएकाले आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । इजिप्टको वर्तमान व्यावसायिक वातावरण तथा वैदेशिक लगानीको नीतिबारे प्रकाश पार्दै उनले पौने तीन अर्ब जनसङ्ख्याको बजारको निकट र विशालतम अर्थतन्त्रको साँधमा अवस्थित नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हुने जानकारी गराए । ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले नेपाल इजिप्टका लागि भविष्यमा महत्वपूर्ण गन्तव्यकारुपमा विकास हुने सम्भावना रहेको धारणा व्यक्त गर्दै कायरो र काठमाडौँबीच सीधा हवाई उडानको आवश्यकता औँल्याए । कार्यक्रममा दूतावासका तर्फबाट नेपालको समग्र आर्थिक तथा लगानी नीतिबारे जानकारीसहित वैदेशिक लगानीका परियोजना तर्जुमा तथा सहजीकरण एवं लगानी स्वीकृतिलगायत विविध पक्षबारे प्रस्तुति गरिएको थियो । सो अवसरमा उद्योगी, व्यवसायी र सहभागी प्रतिनिधिले नेपालमा लगानीको सम्भावना भएका विभिन्न क्षेत्रबारे व्यक्तिगत र सामूहिकरुपमा उत्साहका साथ जिज्ञासा राखेका थिए । निजी तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत लगानीको विधि र प्रक्रिया, हालसम्म नेपालमा भएका ठूला लगानी परियोजना एवं लगानीयोग्य परियोजनाको सूचीबारे जानकारी गराइएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ७० जना सहभागी रहेको दूतावासले जनाएको छ ।
प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए । उनले भने, ‘प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ । त्यस्तो प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो ।’ संसद् बैठक अवरोध गर्ने दलहरुले यो कुरालाई स्वीकार गरेर संसद् सञ्चालन गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने बताउँदै उनले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए । फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए । उनले भने, ‘अध्यादेशलाई प्रतिस्थापन गर्ने विधयक हिजो संसद्बाट पारित गरिनुपथ्र्यो । त्यो पारित नभएको कारणले हिजोकै दिनबाट अध्यादेश निष्क्रिय भएको छ तर मिटरब्याजी पीडितलाई न्याय दिने काम रोकिँदैन ।’ सरकारले गठन गरेको आयोग र जिल्लामा रहेको सहजीकरण समितिले आफ्नो कामलाई अघि वढाउने उनको भनाइ थियो । अध्यादेश निष्क्रिय हुने र विधेयक पारित नहुने स्थिति आउन नहुने भन्दै उनले पीडितलाई जुनसुकै अवस्थामा समेत न्याय दिइने बताए । उनले भने, ‘पीडितलाई न्याय दिने अभियान रोकिँदैन ।’ भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको भन्दै उनले प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको बताए । अनुसन्धान र प्रमाणले भेटे जति सबैलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो । व्यक्ति हेरेर फाईल नखोलिने भन्दै उनले भने ‘प्रहरीलाई दिएको निर्देशन के हो भने अपराध नियन्त्रण गर्न, ठगि नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र अपराधी एवं भ्रष्टाचारीलाई कारबाही गर्न प्रहरी सङ्गठनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष अनुसन्धानको प्रक्रिया अघि बढाइन्छ ।’ दोषी फेला परे त्यसलाई कानुनको दायरामा ल्याउन सरकारपछि नहट्ने उनको भनाइ छ ।
गोरु पाल्ने किसानलाई प्रोत्साहन भक्ता, खेतबारी जोतेर राम्रै कमाउन सकिने
पाल्पा । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार रुपैयाँ भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो । ‘घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने आदत बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ’, वडाध्यक्ष पोखरेलले भने । कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेल बताउछन् । गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ । गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो । अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक दुई हजार पाँच सयसम्म ज्याला रहेको छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ । रासस
आज १० वर्षयताकै लामो दिन
काठमाडौं । आज १० वर्षयताकै सबैभन्दा लामो दिन रहेको छ । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताए । उनका अनुसार पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन्छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर रहेको छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । डा. शर्माले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताए । पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने उनको भनाइ छ । पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुने गरेको उनले बताए । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जाने र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुने उनले बताए । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।
प्रभु बैंकले एकैपटक ३० वटा एटीएम मेसिन खरिद गर्दै
काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ । बैंकले एटीएम मेसिन आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।