काम र चर्चा दुवैमा एक कदम अगाडि बालेन

<p>काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहमध्ये एक वर्ष यता काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सबैभन्दा धेरै चर्चामा छन् । काठमाडौं महानगरकाे प्रमुखमा निर्वाचित भएपछि सञ्चार माध्यमसँग टाढा रहेका बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले भने सञ्चार माध्यममा प्राथमिकताकासाथ स्थान पाउने गर्छ । त्यस्तै, सामाजिक सञ्जालमा व्यक्त बालेनकाे अभिव्यक्तिले सामाजिक सञ्जालमा सेलिब्रेटी र राजनीतिक नेतृत्वको विचारले भन्दा [&hellip;]</p>

काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहमध्ये एक वर्ष यता काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सबैभन्दा धेरै चर्चामा छन् । काठमाडौं महानगरकाे प्रमुखमा निर्वाचित भएपछि सञ्चार माध्यमसँग टाढा रहेका बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले भने सञ्चार माध्यममा प्राथमिकताकासाथ स्थान पाउने गर्छ ।

त्यस्तै, सामाजिक सञ्जालमा व्यक्त बालेनकाे अभिव्यक्तिले सामाजिक सञ्जालमा सेलिब्रेटी र राजनीतिक नेतृत्वको विचारले भन्दा धेरै प्रतिक्रिया पाउने गरेकाे छ ।

यसको मुख्य कारण भनेको उनले अगाडि बढाएको कार्यक्रम र क्रियाकलाप नै हो । महानगर प्रमुखमा निर्वाचित भएपछि बालेनले महानगरमा कार्यरत कुनै पनि कर्मचारी परिवर्तन गरेका छैनन् । उनीसँग काम गर्ने उप–प्रमुखदेखि कार्यपालिकाका सबै  सदस्य राजनीतिक दलमा आबद्ध व्यक्तिहरु नै छन् । तर, पुरानै कर्मचारी र ठूला राजनीतिक दलसँग आवद्ध वडा अध्यक्षहरुसँगकाे सहकार्यमै बालेन चर्चाको शिखरमा छन् ।

बालेनले पहलकदमी लिएका कतिपय कामको विषयलाई लिएर अदालतमा मुद्दा पर्ने गरेको छ । कतिपय कामकाे विरोध पनि हुने गरेकाे छ । तर, बालेले मुलतः विद्यमान कानूनलाई नै उच्चतम प्रयोग गर्ने कोसिस गरिरहेको देखिन्छ ।

पूर्व सचिव रामेश्वर खनालले पनि बालेनले मुलतः कानूनलाई परिपालना गराउने र अनुशासन कायम गर्ने प्रयास गरिरहेकाे  टिप्पणी गरेका छन् । आफैँ अनुशासनमा रहेको मान्छेले मात्रै अरुलाई पनि अनुशासित राख्न सक्ने र काठमाडौंका अहिलेसम्मका मेयरहरुमध्ये बालेन मात्रै घुस नखाने मेयर भएको भनेर कर्मचारीहरुले समेत प्रतिक्रिया दिएको आफुले सुनेकाे खनालले बताए ।

‘काठमाडाै‌ महानगरभित्र कानून, नियम पालना गराउन खोजेको देख्छु । जो आफू नै अनुशासित छ उसले मात्रै यस्ताे काम गराउन सक्छ’, खनालले भने, ‘आफू अनुशासित भएन भने त कर्मचारीले नै टेर्दैन नि ।’

बालेनले गरिरहेका कामहरु लोकप्रिय भन्दा पनि शुसासनमा आधारित रहेको पूर्व सचिव रामेश्वर खनालको भनाइ छ । ‘उनले गरेका कामहरु चर्चामा आउनका लागि गरिरहेका छन् जस्तो मलाइ लाग्दैन, चर्चामा आउनको लागि पैसा वितरण गर्ने, चटके कामहरु गर्ने, कसैलाई साडी वितरण गर्ने, बालबालिकाहरलाई चकलेट वितरण गर्ने जस्ता कामहरु भएको देखिँदैन’, उनले भने, ‘अहिलेसम्म जे जति काम भएका छन् ती कामहरुले अव्यवस्थित व्यवस्था, नियम पालना नगर्ने प्रवृत्ति र काठमाडौंको सांस्कृतिक पूर्वाधारहरुमा क्षति पुर्याउने कामलाई रोक्ने जस्ता काम भएका छन् । याे सस्तो लोकप्रियताका लागि गरिएका काम हाे जस्ताे मलाई लाग्दैन ।’

शिक्षा क्षेत्रमा बालेनका नवीन पहलकदमी
काठमाडौं महानगरले शिक्षा क्षेत्रमा विद्यमान कानूनलाई कार्यान्वयन गराउने र सुधार गर्ने अभियानलाई अगाडि बढाएको छ । सामुदायिक विद्यालयहरुलाई सुधार गर्ने र निजी विद्यालयहरुलाई नियमन गर्ने विषयलाई काठमाडौं महानगरले श्रृंखलाबद्ध रुपमा अगाडि सारेको छ ।

सामुदायिक विद्यालयहरुमा बुक फ्रि फ्राइडे र विद्यार्थी संगठन निर्माण गर्न नपाइने विषय महानगरले नवीन कार्यक्रमको रुपमा अगाडि बढाएको छ । त्यस्तै, निजी शिक्षण संस्थाले दिनुपर्ने १० प्रतिशत विद्यार्थीको विवरण सार्वजनिक गर्नुपर्ने, कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थीको सिफारिस महानगरले गर्नुपर्ने, कक्षा ११/१२ को शुल्कको विवरण पनि महानगरलाई बुझाउनुपर्ने र निजी विद्यालयमा कार्यरत शिक्षकहरुले पनि सरकारी सरह तलब सुविधा पाउनुपर्ने सूचना जारी गरेकाे छ ।

महानगरले शिक्षा क्षेत्रको सुधारका निम्ति अगाडि बढाएका कामहरुमध्ये पछिल्लो पटक प्रमुख बालेनले निजी शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षकहरुले सरकारी सरह तलब सुविधा पाउनुपर्ने विषय विवादित बनेको छ ।

काठमाडौं महानगर शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले निजी स्कुलमा कार्यरत शिक्षकहरुले विद्यमान संघीय शिक्षा ऐनअनुसार नै तलब पाउनुपर्ने बताएका छन् । उनले केही समयमा सो विषयलाई लिएर महानगरले आधिकारिक विज्ञप्ति जारी गर्ने समेत बताएका छन् ।

मुलुकभरीका ७५३ वटा स्थानीय तहमध्ये काठमाडौं महानगरका प्रमुख बालेनले शिक्षा क्षेत्रमा सुधारको नवीन काम शुरुवात गरेका हुन् । शिक्षा क्षेत्रलाई कमै मात्र स्थानीय तहले विशेष प्राथमिकतामा राखेका छन् । शिक्षा क्षेत्रमा बालेनले गरेको कामको विषयलाई लिएर राजनीतिक नेतृत्वदेखि धेरै विज्ञहरुले समेत प्रशंसा गरेका छन् ।

पूर्व सचिव रामेश्वर खनालले बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको काम उनले केही मान्छेहरु रुष्ट हुने भएपनि साहस गरेर पहल गरेको बताउँछन् । ‘शिक्षकहरुलाई जिविकोपार्जन गर्न पुग्नेगरी तलब दिनुपर्छ, श्रमको शोषण हुनुहुँदैन भन्दाखेरी एउटा शक्तिशाली पुँजीपती वर्ग रुष्ट हुन्छ’, खनाल भन्छन्, ‘जसले लगानीबाट प्रतिफल लिइरहेको छ, श्रमको शोषण गरिरहेको छ त्यो त रुष्ट हुन्छ, विद्यालयमा तालाबन्दी गर्न पाईंदैन कक्षा सूचारु हुनुपर्छ, भन्दा कर्मचारी र विद्यार्थी संगठन आन्दोलित होलान् ।’

बालेनले शिक्षा क्षेत्रमा गरेको सुधारको शुरुवातले आगामी केही वर्षमा नै सकारात्मक नतिजा दिने धेरैले अपेक्षा गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा गरिबलाई सुविधा 
काठमाडौं महानगरले अन्य महानगर र स्थानीय तहहरुको तुलनामा स्वास्थ्य क्षेत्रमा पनि नवीनतम पहलकदमीलाई अगाडि बढाएको छ । सोही अन्तर्गत महानगरले छेत्रपाटी निःशुल्क चिकित्सालय सञ्चालनको शुरुवात गरेको छ । जहाँ वृद्धभत्ता प्राप्त गर्ने सबै जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

त्यस्तै, महानगर प्रमुख बालेनले अग्रसरता लिएर संघीय सरकारले नै कार्यान्वयन गर्नुपर्ने स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गराउन दबाब दिएर काठमाडौं महानगरभित्र कार्यान्वयन गराउन सफल भएका छन् । जसको कार्यान्वयनपश्चात काठमाडौं महानगरभित्रका सम्पूर्ण सरकारी अस्पतालमा १० प्रतिशत बेड गरिबहरुका निम्ति निःशुल्क भएका छन् ।

सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान
सार्वजनिक सम्पत्तिको संरक्षणमा बालेनले लिएको पहलकदमी काठमाडौं महानगरको चर्चाको अर्को महत्वपूर्ण विषय हो । महानगरमा निर्वाचित भएको केही समयपछि नै उनले सडकपेटीमा अनधिकृत ढंगले व्यवसाय गर्ने, नाप-नक्सा विपरित भवन बनाउने तथा प्रयोग गर्ने र सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्नेहरुका विरुद्धमा अभियान नै सञ्चालन गरेका थिए ।

विभिन्न तथ्यांकहरुलाई हेर्दा सार्वजनिक सम्पत्ति सम्बन्धी समस्या देशैभरी नै छ । तर, बालेनले आफूलाई डोजर मेयरको पहिचान नै बनाएर नाप-नक्सा विपरित भवन निर्माण गर्ने र अव्यवस्थित बसोबासीहरुलाई कानूनको दायरामा ल्याउने काम गरे ।

विश्व पुरातत्विक सम्पदाको सूचिमा रहेको बसन्तुपर हनुमानढोका क्षेत्रलाई मेयर बालेनले सवारी साधन निषेधित क्षेत्रकोरुपमा घोषणा गरेका छन् ।

सफा काठमाडाै‌ंकाे पहल
काठमाडौं महानगरमा लामो समयदेखिको महत्वपूर्ण मध्येको एउटा मुद्दा हो सरसफाइ । सामान्यतया सबै ठूला सहरहरुमा यो विषय महत्वपूर्ण हुने गर्छ । काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भइसकेपछि बालेनले फोहोर व्यवस्थापनको निमित्त निकै पहलकदमी गरेका थिए । तर, फोहोरको प्राविधिक रुपमा दीर्घकालिन समस्या समाधान नभएपनि एकवर्ष अगाडिको तुलनामा अहिलेको अवस्थामा काठमाडौंं महानगर तुलनात्मकरुपमा सफा भएको छ ।

त्यस्तै, महानगर भित्रको विभिन्न क्षेत्रमा वृक्षारोपण र गमलामा फुल राखेर सजावट गरिएको छ । गल्लीहर खाली भएकाले काठमाडौं महानगर यात्रुहरुका लागि समेत सहज बनेका छन् ।

संघीयताको अभ्यासमा पहल
अहिलेको अवस्थामा संघीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार क्षेत्र मिचेर काम गरिरहेको विषयलाई विभिन्न पार्टीका नेता, सांसद, वित्त आयोग र स्थानीय सरकारहरुले विरोध गरिरहेका छन् । कतिपय विषयहरुलाई लिएर स्थानीय सरकारले अदालतमा मुद्दा दायर समेत गरेको अवस्था छ ।

तर, काठमाडौं महानगरका प्रमुख बालेनले भने आफ्नो अधिकार क्षेत्रको विषयलाई लिएर सिधै कार्यान्वयनमा उत्रिने गरेका छन् । उनका कतिपय कामको विषयमा आलोचना हुने गरेपनि स्थानीय सरकारको वास्तविक अभ्यास गर्न खोजेको र त्यसले अरुको लागि समेत प्रेरणा मिलेकाे धेरैको बुझाइ छ ।

बालेनको सार्वजनिक सम्पत्तिको संरक्षणको पहलकदमीलाई पूर्व सचिव खनालले लोकप्रिय नभएर कानूनको कार्यान्वयन भनेर टिप्पणी गरेका छन् । बालेनले सबै क्षेत्रमा गर्न खोजेको कामहरु सुधारको काम भएको खनालको टिप्पणी छ । तर, कतिपय काम गर्ने तौरतरिकामा राम्रोसँग पूर्व तयारी गरेर, मर्का पर्ने वर्गलाई जानकारी गराएर, खासगरी ठेलागाढा हटाउने वा अव्यवस्थित वस्ती हटाउने सन्दर्भमा निजी सम्पत्ति अनाहकमा क्षति नहुनेगरी गरिदिएको भए राम्रो हुन्थ्यो भन्नेसम्म आफ्नो टिप्पणी रहेको उनको भनाइ छ ।

Share News