बिमस्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक० को छैठौं शिखर सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान गरेका हुन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्दन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो । तिन दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् ।
बजाजको मोटरसाइकल शुन्य प्रतिशत ब्याजमा किन्न सकिने
काठमाडौं । बजाज मोटरसाइकलले फाइनान्स जात्राको सुरुवात गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरुको लागि फाइनान्स सेवाको सुरुवात गरेको हो । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको छ । उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक वर्गहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ । यस फाइनान्स जात्रा अन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा ० प्रतिशत ब्याजदरको फाइदा लिन सक्नेछन् । यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिनको लागि लागुहुनेछ ।
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा आइतबार शाहीले प्रधानमन्त्री प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने तर्क गर्दै राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘नैतिकताको आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अदालतलाई काममा असर नगर्नेगरी मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने।
सिटिजन्स बैंकले दियो रंगेली अस्पताललाई पोस्ट अपरेशन मनिट
काठमाडौं । सिटिजन्स बैंकले कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ । आइतबार एक कार्यक्रममा बैंकले प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई ती सामान प्रदान गरेको हो । उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसको साथै बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीलाई पठानपाठनमा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ । बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरु बाट करिव १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिदै
गण्डकी । नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार । विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मा रहेको यस दरबारलाई पछिल्लो समय संरक्षणसँगै पर्यटकीयरुपमा उपयोग गर्ने लक्ष्य लिइएको छ । दरबारलाई मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशताब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोड्दै यसलाई ऐतिहासिक गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ संरक्षण एवं पूर्वाधार निर्माणमा जोड दिइएको ढोरदरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताए । नेपालका बाइसे तथा चौबिसे राजाका समयमा पहिलो राजा कृति खाड र अन्य राजाले राज्य गरेको ढोर राज्य विसं १८३७ मा गोरखा राज्यमा विलय भएको थियो । अहिले पनि यस दरबारमा तत्कालीन समयका भग्नावशेष पाइन्छ । दरबार, गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, जेल घर, टक्सार घर, रानीकुवा आदिको भग्नावशेष तत्कालीन समयको दरबारका जीवन्त अवशेष हुन् । पुरातत्व विभागको सहयोगमा दरबार संरक्षणको प्रयाससँगै दरबार परिसरलाई व्यवस्थित गर्ने काम भइरहेको उनले बताए । दरबार क्षेत्रको संरक्षणका लागि परिसरमा तारबार गरिएको छ । दरबार हेर्न आउने पर्यटकलाई लक्ष्य गरी नजिकैको रजस्थल गाउँमा रजस्थल सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको रजस्थल सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव डिलश्री गुरुङले जानकारी दिए । ‘होमस्टेमा प्रत्येक दिन ५० जनासम्म पर्यटक राख्नसक्ने व्यवस्था छ’, उनले भने ‘फाट्टफुट्ट पर्यटक आउने गरे पनि अपेक्षितरूपमा उनीहरूको आगमन बढाउन सकेका छैनौँ । पछिल्लो समयमा गाउँबाट बढ्दो बसाइँसराइका कारण पनि होमस्टेलाई व्यवस्थित सञ्चालन गर्न पनि जनशक्ति अभाव चुनौतीका रुपमा देखिएको छ।’ कोरोनाफैलिएका बेलामा सहर बजार लकडाउनका कारण ठप्प हुँदा ढोरदरबार क्षेत्रमा दैनिक ठूलो सङ्ख्यामा मानिस घुम्न आउने गरेको स्थानीयवासीको भनाइ थियो। ढोरदरबार तनहुँको दुलेगौँडाबाट सवारी साधनमार्फत आउन सकिन्छ । पछिल्ला समयमा रजस्थलसम्म जीप आउन थालेकोे र त्यहाँबाट १०र१५ मिनेटकै दूरीमा दरबार क्षेत्र पुग्न सकिन्छ । दरबार क्षेत्रबाट नाङ्गो आँखाले धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै उत्तरतर्फ कास्कीको भरतपोखरीको कोटभैरव, हुँडिकोट, बर पाण्डेथुम, निर्मल पोखरी बरसाम्मी र तलको सुरौदी फाँटको मनोरम दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ भने दक्षिततर्फ नवलपुरको देबचुली, बरचुली, तलतिर देखिने मान्द्रे, फिर्दी फाँट आदिको रमणीय दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । दुलेगौँडाबाट सेती नदी किनाराको रक गार्डेन हुँदै हाइकिङ गरी करिब चार पाँच घण्टाको हिँडाइमा दरबार पुग्न सकिने भएकोले एक दिने हाइकिङका लागि पनि यो उपयुक्त गन्तव्य रहेको स्थानीयवासीले बताए। दरबारलाई अझै व्यवस्थित गरी मिलेनियम ट्रेकमा आउने पर्यटकको सङ्ख्या बढाउन सकेमा होमस्टे सञ्चालन पनि त्यहीरुपमा अघि बढाउने अपेक्षा गरिएको छ। समितिले होमस्टेमा आउने पर्यटकका लागि दुई छाक खाजा तथा एक छाक खाना र सुत्ने विस्तारासहित एक हजारको प्याकेज निर्धारण गरेको छ । आगन्तुक पर्यटकलाई सकेसम्म स्थानीयरूपमा उत्पादित वस्तु नै खुवाउने गरिएको होमस्टे सञ्चालक समितिका गङ्गाकुमारी मल्लले बताए । रजस्थलमा हाल १० घरमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ । घरबासलाई व्यवस्थित सञ्चालनका लागि आफूहरूलाई तालिमलगायत सहयोगको खाँचो रहेको उनको भनाइ थियो । कच्ची बाटोका कारण पनि पर्यटकको आगमन बढ्न नसकेको बताउँदै सञ्चालक मल्लले बाटोलाई यथासक्य चाँडो स्तरोन्नती एवं कालोपत्र गर्नुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्या बढ्दै गएमा होमस्टेलाई पनि व्यवस्थित गर्दै यही नै रोजगारीका अवसर सिर्जना गर्न सकिन्थ्यो’, उनले भने, ‘युवा शक्ति दिनदिनै गाउँ छोड्दा बस्ती उजाड बनिरहेको अवस्थालाई पनि गम्भीरताका साथ लिनु अपरिहार्य छ ।’ शताव्दीऔँ पुरानो ऐतिहासिक महत्वको ढोरमूलकोट दरबार संरक्षण गरी यसको प्रवर्द्धन गर्न सकेमा बर्सेनि रित्तिदै गएका बस्तीमा मानिस फर्किएर पुनः भरिभराउ हुने विश्वास लिइएको मिलेनयम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । दरबारलाई मिलेनियम ट्रेकको नक्सामा समावेश गरिएको बताउँदै उनले यस पदमार्गमा आउने पर्यटकलाई दरबार अवलोकन गराउँदै नजिकै रहेको रजस्थल सामुदायिक होमस्टेमा बस्ने व्यवस्था मिलाउन सकिने जानकारी दिए ।समितिले पदमार्ग क्षेत्रका ऐतिहासिक मन्दिर, गुफा आदिको संरक्षण एवं प्रवर्द्धनमा जोड दिएको उनले बताए । रासस
सबै पालिकाका प्रशासनिक केन्द्रसम्म कालोपत्र सडक निर्माणको तयारी
काठमाडौं । देशभरका सबै पालिकाका प्रशासनिक केन्द्रसम्म कालोपत्र सडक निर्माणका लागि तयारी अघि बढाइने भएको छ । सङ्घीय सरकारले प्रदेश सरकारमार्फत स्थानीय तहको केन्द्रसम्म जोड्ने कालोपत्र सडकको निर्माण गर्न लागेको हो । सरकारले स्थानीयस्तरसम्म सडक विस्तार गरी नागरिकको दैनिक जीवन सजिलो बनाउन पालिका केन्द्रसम्मको सडक निर्माण गर्न लागेको हो । पालिका जोड्ने सडक पहिले सङ्घीय सरकारले नै निर्माण गर्ने गरी छलफल भएको थियो । पालिकाका प्रशासनिक केन्द्रसम्मका सडक सङ्घ सरकारले हुँदैन भनेपछि अहिले प्रदेशले गर्ने निर्णय भएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए । विश्व बैंकसँगको ऋण सहयोगमा सडक निर्माण अघि बढाउन लागिएको हो । ऋणका लागि अहिले छलफल भइरहेको र सम्झौता भएपछि निर्माणको तयारी हुने उनले बताए । उनले भने, ‘अर्थ मन्त्रालयबाट सम्झौता भएपछि विभागले समन्वय गर्छ र प्रदेशमार्फत योजना कार्यान्वयनमा जानेछ ।’ कुनकुन पालिकामा सडक सञ्जाल पुग्न बाँकी छन्, कहाँ कालोपत्र र कहाँ कच्ची सडक छ भनी प्रदेश सरकारमार्फत यसअघि नै अध्ययन गरिसकिएको छ । पहिले पहिचान गरिएका योजनाकै आधारमा सडक निर्माण हुने उनको भनाइ छ । जिल्लाको केन्द्रबाट पालिका केन्द्रसम्म जोड्न सम्भावित मार्गमध्ये छोटो छानेर निर्माण हुने उनले बताए । अझै झन्डै २० पालिकाको केन्द्रमा सडकका लागि ट्र्याक खुल्न बाँकी रहेको विभागले जनाएको छ । यी पालिकासम्म अझै हिँडेर पुग्नुपर्ने अवस्था छ । पालिका जोड्नका लागि दुई सय किमी सडकको ट्र्याक खोल्नुपर्ने उपमहानिर्देशक साहले जानकारी दिए । सडक पुगेर पनि कालोपत्र हुन बाँकीभन्दा सडक नै नपुगेका पालिकालाई प्राथमिकता दिइने उनले बताए । उनले भने, ‘पहिलो चरणमा सडक नपुगेको ठाउँमा हुनेछ, बाँकीमा सडक जोडिएको भए पनि कतै धुले त कतै ग्राभेल सडक रहेकामा ती सबैलाई कालोपत्र स्तरमा स्तरोन्नति गरिनेछ ।’ जग्गा प्राप्तिका लागि मुआब्जा दिने तथा नदिने टुङ्गिएपछि बल्ल ऋणका लागि प्रक्रियामा जाने विभागले जनाएको छ । ऋण स्वीकृत भएर आएपछि निर्माणका लागि पहिले तयारीका काम हुने उनले बताए । जग्गा प्राप्ति, वातावरणीय अध्ययन गरेर सकिएपछि निर्माणका लागि ठेक्का प्रक्रिया हुने उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहले पहिले जग्गा प्राप्त गर्छ, जग्गा उपलब्ध भएपछि नै निर्माणमा अघि जान सकिनेछ ।’ देशभरका ७७ जिल्लामध्ये एउटा जिल्ला हुम्लाको सदरमुकामसम्म सडक सञ्जाल जोडिन बाँकी रहेको छ । तीबाहेक सबै जिल्लाका सदरमुकाममा सडक सञ्जाल जोडिएको छ । सुगम जिल्लाका पालिका केन्द्रसम्म सडक पुगेको छ । दुर्गम जिल्लामा भने सदरमुकामभन्दा टाढाका पालिकामा कतै सडक नै नपुगेको र कतै पुगेको सडकको अवस्था खराब रहेको छ ।
सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार
जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए । हिमाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिञ्जाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयलाई निकै राहत भएको छ । विद्युत्को अभावले काम गर्न कठिन हुने गरेको थियो । प्राधिकरणको जुम्ला वितरण केन्द्रले सिञ्जाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकामा अब काम गर्न सहज हुने उपाध्यक्ष सितली रोकायाको भनाइ छ । नराकोटमा रहेको ट्रान्सफर्मरमा बिजुली चार्ज गरी सेवा शुभारम्भ गरिएको छ । सिञ्जा क्षेत्रका ग्रामीण ठाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । केही दिनपछि कनकसुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पुर्याउने लक्ष्य रहेको प्राधिकरणका प्रमुख रावलले बताएका छन् । सिञ्जासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।
भुजीखोलामा ७ वर्षसम्म पुल नबन्दा किसान मर्कामा
ढोरपाटन । ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको यहाँका किसान बताउँछन् । पश्चिम बागलुङमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गाउँ हो, अधिकारीचौर । हरेक वर्ष यहाँका कृषकले तरकारी बेचेरै ५० लाख रुपैयाँ गाउँमा भित्र्याउँदै आएका छन् । ’हिउँदको समयमा गाउँमै गाडी पुग्ने हुँदा सहजै तरकारी बजार पु¥याउन सकिने भन्दै बर्खामा भारिया लगाएर बजार पु¥याउनुपर्ने बाध्यता छ’, स्थानीय कृष्णलाल कँडेलले भने । उनका अनुसार मोटरेबल पुल समयमै निर्माण नहुँदा कृषकले बर्खाको समयमा उत्पादन भएका सबै तरकारी बेच्नबाट वञ्चित हुने गरेका छन् । भुजीखोलामा पुल बन्न थालेको सात वर्ष भएको छ । हालसम्म ४० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुलको दुईतिर पिल्लर उठाउने काम मात्र भएको छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी वाइटी रफिना जेबी कन्स्ट्रक्सनले विसं २०७३ असोज ४ मा सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेको थियो । पटकपटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरिरहेपछि केही महिना अगाडि मात्रै ठेक्का तोडिएको कार्यालयका इञ्जिनियर नवीन खरालले जानकारी दिए । उनका अनुसार म्याद थप गर्दा पनि हालसम्म पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । ’सडक डिभिजन कार्यालयले पटकपटक ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशनपछि निर्माण कम्पनीले काम गर्छौँ भनेर आउने तर काम भने नगरिदिँदा यतिका समयसम्म पुल निर्माण हुन नसकेको हो । अहिले निर्माण कम्पनीलाई कालोसूचीमा राखी ठेकेदारबाट बैंक जमानत असुलउपर गर्न लागेका छौँ’, इञ्जिनियर खरालले भने । उक्त ठेकेदारले अहिलेसम्म गरेको कामको मूल्याङ्कन गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । ’निर्माण कम्पनीले विसं २०७४ माघ १० गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्धारित समयसम्म काम सम्पन्न नभएपछि पटकपटक गरेर विसं २०७८ वैशाख २७ मा काम सक्ने गरी म्याद थप गरिएको थियो । कामै नभएपछि अहिले ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाएका छौँ’, इञ्जिनियर खरालले भने, ’हालसम्म बनेका संरचना केकस्ता छन्, त्यसको मूल्याङ्कन गरेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।’ निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग तीन करोड ५० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । उनका अनुसार पुलको दुवैतिर निर्माण गरेको पर्खाल भुजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ । निर्माण सुरु भएको सात वर्षसम्म पनि पुल आधा पनि नबन्दा स्थानीय आक्रोसित भएका छन् । भुजीखोलामाथि निर्माण थालिएको उक्त पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय कँडेलले हिउँदको समयमा गाडी वारपार गर्नसक्ने हुँदा यात्रा गर्न र तरकारी ओसारपसारमा सहज भए पनि खर्बामा बढी सास्ती खेप्नु परेको गुनासो पोखे । गाउँका अधिकांशले तरकारी उत्पादन गरेपनि बर्खामा उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । सरोकारवाला निकायलाई बारम्बार पुल निर्माण गर्न आग्रह गरे पनि सुनुवाइ नभएको कँडेलको भनाइ छ । उनका अनुसार ठेकेदारले लामो समयदेखि काम नगर्दा निर्माण भएका संरचना पनि बेवारिसे बनेका छन् । ’माथि गाउँका बारीभरि तरकारी फलेका छन्, हिउँदमा उत्पादन भएका सबै बजारमा लगेर बेचियो, अब फेरि बारीमा तरकारी तयार भएका छन्, बर्खा लाग्न थाल्यो, खोला बढ्छ, गाउँमा गाडी आउँदैनन्, बोकेर बजार पु¥याउन सकिँदैन’, कँडेलले भने, ’अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दालगायत तरकारी बारीमा कुहिएर नष्ट हुन्छन्, पुल बन्न थालेको १० वर्ष हुन थाल्यो अहिलेसम्म दुईतिर पिल्लर मात्रै उठाएको छ, अरु कामै गरेको छैन, हामी यो पुल नबन्दा निकै समस्यामा परेका छौँ ।’ बर्खाको करिब चार महिना गाडी ठप्प हुँदा स्थानीय मार्कामा पर्ने गरेको स्थानीय शिवराज कँडेलले बताए । मोटरबाटोले गाउँ नजोडिँदा हिउँदका समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरिया लगाएर बुर्तिबाङ बजारसम्म पु¥याउँदा कृषकले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । हिउँदमा तरकारी लिन व्यापारी बारीमै पुग्ने गरे पनि बर्खामा वैकल्पिक सडक तथा पुल नहुँदा समस्या हुने गरेको कँडेलले बताए । उनका अनुसार पुल नबन्दा स्थानीयले दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य छन् । ’गाउँभन्दा पारी मोटरबाटो भए पनि बर्खाको समयमा वारी गाउँबाट पारीसम्म तरकारी बोकेर पु¥याउन सास्ती भएको छ । तरकारी बोकेर मोटरबाटोमा पुग्दा धेरै समय लाग्छ, पुल बन्थ्यो भने वारीबाट पारी सडकमा पुग्न दुई मिनेट पनि लाग्ने थिएन् । अहिले एक घन्टा लगाएर पारी तर्ने गर्छौँ, बजारबाट सामान लिन प¥यो भने दिनैभरि लाग्छ’, कँडेलले भने । उनले गाउँमा बिरामी पर्दा अस्पताल लैजान पनि पुलका कारण सास्ती हुने गरेको बताए । दुई वर्ष अघि नै पुलको ४० प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ । दुई वर्षको अवधिमा भुजीखोलामा आएको बाढीले पुलको ग्याविन, पर्खाल बगाएको छ भने पुलका अन्य संचरना पनि जीर्ण बनेका छन् । रासस