बैंकबाट डेढ लाखले लिए सस्तो ब्याजमा २ खर्ब बढी ऋण
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट करिब डेढ लाख जनाले सस्तो ब्याजमा कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म १ लाख ४६ हजार ८६६ जनाले सहुलियत ब्याजमा २ खर्ब ३ अर्ब २४ करोड ८० लाख रुपैयाँ कर्जा लिएका हुन् । विभिन्न १० वटा क्षेत्रका सो रकम लगानी भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । यस क्षेत्रमा चालू आवको १० महिनासम्म १ खर्ब ३८ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । कृषि क्षेत्रमा गत वर्ष १ खर्ब ३९ अर्ब २३ करोड ४० लाख र अघिल्लो आर्थिक वर्ष १ खर्ब ६ खर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा लगानी भएको थियो । यस्तै, महिला उद्यम क्षेत्रमा ६१ अर्ब ३० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा ८३ हजार ३५८ जनाले लिएका छन् । गत वर्ष ७० अर्ब र अघिल्लो आर्थिक वर्ष ५० अर्ब रुपैयाँ बढी यस क्षेत्रमा कर्जा लगानी भएको थियो । शिक्षित यूवा स्वरोजगारमा पनि ४ करोड ६० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा ल गानी भएको छ । यो कर्जाको उपयोग १७८ जनाले गरेका छन् । शिक्षित यूवा स्वरोजगारतर्फ गत वर्ष ७ करोड ६० लाख र अघिल्लो वर्ष ६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । ९ सय ९ जनाले परियोजना धितोतर्फ ४४ करोड ८० लाख रुपैयाँ ऋण सस्तो ब्याजमा लिएका छन् । गत वर्ष यो क्षेत्रमा ५६ करोड ४० लाख र अघिल्लो वर्ष ५९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो । दलित समुदाय व्यवसाय विकासतर्फ पनि ४६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो क्षेत्रका १ हजार ३९ जनाले कर्जा लिएका छन् । यस्तै, उच्च प्राविधिकतर्फ ३ करोड १० लाख, टेक्सटाइल उद्योगतर्फ अर्ब २ करोड ६० लाख रुपैयाँ, भुकम्प पीडिततर्फ २ करोड, यूवा स्वरोजगारतर्फ १ करोड र सिटीईभीटी तालिम–तर्फ २ लाख रुपैयाँ कर्जा लगानी भएको देखिएको छ ।
४० अंकले बढ्यो नेप्से, साढे तीन अर्बको कारोबार
काठमाडौं । आइतबार सेयर बजार ४०.४८ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार बढेर १९८०.९० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ९५ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी नागरिक लगानी कोषको ११ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।
बजेट अभावले पर्वतमा खानेपानी आयोजना अलपत्र
पर्वत । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा प्राप्त नहुँदा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाको काम रोकिएका हुन् । खानेपानीको चरम समस्या बेहोरिरहेका विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा निर्माणाधीन खानेपानी आयोजनाका लागि बजेट अभाव हुँदा आयोजनाको काम रोकिएको हो । निर्माण बीचमै अलपत्र परेपछि यहाँका स्थानीयले यसवर्ष पनि खानेपानी उपभोग गर्न नपाउने भएका छन् । विहादी गाउँपालिकाका पूर्व अध्यक्ष कमल भुषालले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान हुन नसकेको बताए । उनले खानेपानी जस्तो संवेदनशील क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन बेवास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए विहादीमा लिप्टिङ खानेपानी आयोजना सम्पन्न हुने बताए । रकमको अभावका कारण निर्माणाधीन आयोजना पलपत्र परेका छन् भने विहादीको शालिग्राममा नयाँ निर्माण गरिएको ट्याङ्कीसमेत चर्किएर भत्कने जोखिम बढेको स्थानीयको भनाइ छ । खानेपानी आयोजनाका लागि सङ्घीय सरकारबाट बजेट उपलब्ध नहुँदा रकम उपलब्ध गराउन नसकिएको सङ्घीय खानेपानी तथा सरसफाइ आयोजना पोखराका प्रमुख कुलप्रसाल पौडेलले जानकारी दिए । ‘पर्वतमा साना र ठूला गरी झण्डै दुई दर्जन खानेपानीका आयोजना संघ र प्रदेश सरकारमार्फत निर्माणाधीन अवस्थामा छन्’, उनले भने, ‘आयोजनामध्ये लिफ्ट खानेपानी रानीपानी, बर्राचौर, शालिग्राम, तिलाहार र दुर्लुङका आयोजना सङ्घ सरकारअन्तर्गत सञ्चालित छन् ।’ बजेट अभावले यी सबै आयोजनाको काम तीन महिनादेखि रोकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वत इकाइले जनाएको छ । अन्तिम चौमासिकका लागि बजेट उपलब्ध नहुँदा आयोजनाका काम प्रभावित भएको कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताए । उनका अनुसार हाल जिल्लाभर तीन करोड रुपैयाँदेखि २० करोड रुपैयाँ लागत अनुमान गरिएका ७६ खानेपानी आयोजना छन् । ‘सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब तीन अर्ब रुपैयाँ बजेट आवश्यक पर्दछ । मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशत भन्दा बढ्न सकेको छैन’, इन्जिनियर शाहले भने । उनका अनुसार सबै आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न हुनुपर्ने हो । आयोजनाको लागत अनुमानका आधारमा काम गर्न बर्सेनि कम्तीमा ५० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै चालु वर्ष झण्डै १३ करोड रुपैयाँ मात्रै अख्तियारी आएको शाहले बताए । ‘यस आवमा आवश्यक बजेटको पाँच प्रतिशत बजेट पनि छैन,’ उनले भने, ‘हामीले सबै काम द्रुतगतिमा गर्छौँ भनेर मात्रै भएन । रकम अभावले काम रोकिएका छन् । सबै आयोजना पाइपलाइनमै छन् ।’ बजेट अभावका कारण काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नुहँदै भग्नावशेषमा परिणत भएका शाहको भनाइ थियो । फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता र तलब दिन नसकिएको उनले बताए । असार मसान्तसम्म निर्माण सम्पन्न हुने आयोजना बजेट अभावले अलपत्र परेकाले बजेट उपलब्ध गराउन प्रयास भइरहेको सङ्घीय सांसद पदम गिरीले बताए । ‘खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । खानेपानी आयोजनामा बजेट अभाव देखाएर काम रोकिनु दुःखद् छ’, उनले भने । समयमा नै बजेट उपलब्ध नगराउँदा आयोजनाको निर्माण प्रभावित भएको उनको भनाइ थियो । रासस
राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन् । आईतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे । उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए । उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने धारणा राखे । मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको उल्लेख गरे । उनले विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।
साउन १ गतेदेखि स्वचालित रुपमा पूर्व र अन्तिम श्रम स्वीकृति पाइने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनी श्रम तथा रोजगार कार्यालयमा धाउने अवस्थाको अन्त्य हुनेछ । मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाए हुने गरी निर्णय गरिएको जनाएको छ । यसैगरी अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिए । यसअघि ‘फेमिस सिस्टम’मार्फत दिएका आवेदन विभिन्न तहमा कर्मचारीले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गर्दथ्यो । पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन थालेपछि अब भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्नु पर्दैन । यसअघि श्रम स्वीकृति लिँदा ‘बायोमेट्रिक’ नभएकाले मात्र पुनःश्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिनाझन्झट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्यरुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकामा वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत कामदारले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ । हाल एफइआइएमएसलाई समायानुकुल परिमार्जन गरी पूर्व÷अन्तिम श्रम स्वीकृतिसम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने र कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीलाई एफइआइएमएसको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो । सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटाइने वैदेशिक रोजगार विभागको सुरक्षार्थ नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षाकर्मीको टोली खटाइने भएको छ । विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकसहितको टोली खटाइने विषयमा आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । उनले भने,’विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षक खटाइने विषयमा गृहकार्य र छलफल भइरहेको छ, कहिलेसम्म राखिने यकिन तय हुन बाँकी छ ।’ विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको जनाइएको छ । विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मीको टोली खटाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय नगरेको बताइएको छ । गृह मन्त्रालयबाट लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको जनाइएको छ । दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक होहल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिक दिनप्रतिदिन ठगिदै आएका घटनाका उजुरी विभागमा दिनहुँ बढ्दै गएको विभागले जनाएको छ । रासस
ईप्पानको चुनावी रौनक : बाउछोरी फरक-फरक कित्तामा, अधिकांश उम्मेदवार साझा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को निर्वाचन नजिकिएसँगै चुनावी माहोल पनि रोचक बन्दै गएको छ । जेठ ३२ गते वार्षिक साधारण सभापश्चात् हुने निर्वाचनमा जलविद्युत व्यवसायीहरु चुनावका लागि दुई धारमा विभाजन भएर मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका दावेदार संस्थापन समूहबाट गणेश कार्की र संस्थापन इतर समूहबाट किरण मल्लले छट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा छन् । तर, दुवै पक्षले छट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरेपनि अधिकांश उम्मेदवारहरु भने साझा देखिएका छन् । दुवै पक्षले अधिकांश पदमा साझा उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा उत्रिएको भएपनि अर्को रोचक विषय पनि चुनावी रौनाकमा देखिएको छ । किरण मल्ल आफै अध्यक्षका उम्मेदवार भएपनि उनकी छोरी अविज्ञा मल्ललाई अध्यक्ष पदका अर्का उम्मेदवार गणेश कार्की समूहले उम्मेदवार बनाएकाे सूची सार्वजनिक भएकाे छ । अविज्ञा मल्ल किरण मल्लकी छोरी हुन् । उनलाई अध्यक्ष पदका उम्मेदवार कार्की समूहले सचिव पदमा उम्मेदवार बनाएको छ । स्रोतका अनुसार उनी आफ्नै बुवाको समूहबाट उम्मेदवार बन्दा विवाद आउन सक्ने भएकाले कार्की समूहबाट उम्मेदवार बनेकी हुन् । ‘अविज्ञा मल्ललाई गणेश कार्कीको समूहबाट सचिव पदमा उम्मेदवार बनाइएको छ, जबकी अविज्ञा मल्ल किरण मल्लकी छोरी हुन्, उहाँ आफ्नो बुबाको टिममा उम्मेदवार छैनन् किनभने बाउछोरी कन्ट्रोभर्सी वा विरोध आउँछ भनेर उहाँ उठ्नु भएको छैन तर, संस्थापन टिमले उहाँलाई उम्मेदवार बनाएको छ,’ उनले भने । अध्यक्ष पदका उम्मेदवार मल्लले अहिलेको विधान अनुसार एउटै टिम बनाउनु पर्ने भएकाले साझा उम्मेद्वार रहेको बताए । केही पदका लागि मात्रै फरक भएपनि अधिकांश उम्मेदवार साझा रहने उनको भनाइ छ । आफ्नो छोरीको नाम राखेर चुनावी स्टण्ट गरेको उनले आरोप लगाए । ‘यो चुनावी स्टण्ट हो, उहाँले गलत प्रचारप्रसार गर्नु भएको हो, उहाँ (छोरी अविज्ञा) कुनै पनि समूहबाट उम्मेदवार बन्नु हुँदैन, एउटै संस्थामा बाउ र छोरी पनि उम्मेदवार हुन्छ ?, के लुट्न जाने हो र ? योगदान दिन जाने हो,’ उनले भने । अध्यक्ष पदका अर्का उम्मेदवार कार्कीले भने अविज्ञा मल्ललाई आफ्नो समूहले उम्मेदवार नबनाएको बताए । अहिले सहमतिका लागि पहल भइरहेको उनको भनाइ छ । यदि सहमति नभएमा चुनाव हुने उनको भनाइ छ । साझा भनिएका उम्मेदवारहरुले गणेश कार्की समूहबाट उम्मेदवार बनेको बताउँदै आएको उनले बताए । महासचिव र कोषाध्यक्ष पदहरुमा उम्मेदवारले कार्की समूहबाटै उम्मेदवार रहेको भनेर प्रेस वक्तव्य जारी गरेको उनको भनाइ छ । ‘हामीले अविज्ञा मल्ललाई उम्मेदवार बनाएको भन्ने त छैन, उहाँलाई बस्नुस् भनेको मात्रै हो तर, अहिलेसम्म उहाँ उम्मेदवार बननु भएको छैन, उहाँ अहिलेसम्म उम्मेदवार भनेर आउनु भएको छैन,’ कार्कीले विकासन्युजसँग भने, ‘उहाँ आउनु हुन्छ की भनेर हामीले प्रस्ताव गरेको हो, उहाँ उठ्न त मिल्छ नी ।’ केही दिनअघि कार्की समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो टीम घोषणा गरेको थियो । त्यसलगत्तै सो समूहले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समूहमा रहेका उम्मेदवारहरुको नामावली पनि सार्वजनिक गरेको थियाे । सो सूचीमा सचिव पदको उम्मेदवारको रुपमा अविज्ञा मल्लको पनि नाम थियो । मल्ल र कार्की समूहबाट उपाध्यक्ष पदमा हिम प्रसाद पाठक, आशिष गर्ग, उत्तम ब्लोन लामा, भरतबहादुर खत्री र राम प्रसाद आचार्य साझा उम्मेदवार बनेका छन् । यस्तै, महासचिव पदमा बलराम खतिवडा र उप महासचिव पदमा प्रकाश दुलाल साझा उम्मेदवारका रुपमा दुवै समूहले अघि सारेका छन् । यस्तै, भरत खड्का, विक्रम विष्ट र कविता कँडेललाई सचिव पद र नरेन्द्र वल्लब पन्तलाई कोषाध्यक्ष पदका लागि साझा उम्मेदवार बनाएका छन् । सदस्य पदमा उत्तर कुमार श्रेष्ठ, कदम केसी, सिताराम तिमिल्सिना, दिपक पौडेल, महिला सदस्यमा इशा श्रेष्ठ, इन्दिरा पन्त, सुमन जोशी र सुसन कर्मचार्यलाई दुवै पक्षले आफ्नो उम्मेदवार भनेर घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा कार्की समूहबाट मोहन डाँगी र मल्ल समूहबाट गोरे शेर्पाबीच प्रतिस्पर्धा हुने भएको हो । साथै, उपाध्यक्ष पदमा ५ जना साझा उम्मेदवार बनेको भएपनि कार्की समूहबाट आनन्द चौधरी र मल्ल समूहबाट भरत नेपाल रहेका छन् । सदस्यहरूमा कार्की समूहबाट मिथुन पौडेल, सुवास बराल, पुस्कर ढुङ्गेल, गोपाल निउरे र जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन् । महिला सदस्यमा रजनी थापाले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने छिन् । यस्तै, मल्ल समूहबाट सदस्य पदमा हुमाकान्त चौलागाई, विकास श्रेष्ठ, पदम गुरुङ, श्याम श्रेष्ठ, तारा शुब्बा, अर्जुन बन्धु रेग्मी र विनोद देवकोटा प्रधिस्पर्धामा उत्रिएका छन् । दुवै समूहले महासचिव, उपमहासचिव र कोषाध्यक्षमा एउटै उम्मेदवारलाई अघि सारेका छन् । उम्मेदवारी दर्तामा अन्यको दाबी नपरेमा महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल र कोषध्यक्षका उम्मेदवार नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित हुने देखिन्छ । जेठ २५ गतेसम्म नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन् । निर्वाचन समितिले जेठ २७ गते मतदाता नामावली प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चिरञ्जीवी खतिवडाले जानकारी दिए । २७ गतेदेखि नै इप्पानको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय रहने छ । मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इप्पानको २१ औं वार्षिक यहि जेठ ३२ गते बौद्ध स्थित हायात होटलमा हुँदैछ । विद्यान अनुसार पदाधिकारी बन्नका लागि एक कार्यकाल सदस्य भएर काम गरेको हुनु पर्ने छ । जसले २ वटा समूह बनाउँदा मान्छेहरु नपुग्ने भएकाले साझा उम्मेदवार नै खडा गरेको बताइएको छ । साथै, पुराना सदस्यहरु चुनावी मैदानमा आउन इच्छा जाहेर गरेका छैनन् ।
तराई–मधेसमा ४२ डिग्रिसम्म पुग्यो तापक्रम, दैनिक ८ गिलास पानी पिउन सुझाव
धनुषा । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, ‘खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँंदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।’ मिथिला नगरपालिका–६ ढल्केवर निवासी आरती कुमारी भन्छिन्, ‘घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु न बाँच्नु हुन्छ । घाम सहनुभन्दा अर्को विकल्प नै के छ र ?’ महेन्द्रनगरका युवा सोनु मण्डलको भनाइ छ, ुजसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ । गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ । अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ ।ु ‘आजभोलि त असाध्यै गर्मी छ, बिहान बेलुका मात्रै अटो चलाउँछु । दिउँसो त कोही बाहिर निस्कँदैन । दिउँसो अटो चलाउन पनि सकिँदैन । बिहान बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ । घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान–बेलुकाको छाक टार्न पनि अटो चलाउनै प¥यो,’ अटोरिक्सा चालक जगदीश पासवान बताउँछन् । बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका घुरन महतो भन्छन्, ‘एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभर घमौरा आएका छन् । मलाई पनि अलि अलि घमौरा आएको छ ।’ अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ । जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई गर्मीमा काम गर्न निकै कठिन भएको वर्दिवास– ३ का दुर्गा परियार बताउँछिन् । विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी उनी पछिल्ला वर्षमा बर्खायाममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउँछिन् । अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काम गर्न जान पनि कठिन भएको सेवाग्राहीहरू बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणको भनाइ छ । दस दिनदेखि गर्मी बढेकाले जनजीवन अस्तव्यस्त हुनाका साथै मधेश क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएका छन् । गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । गर्मी बढिरहेकै बेला विद्युत् पनि छिनछिनमै आउने–जाने गरेकाले जनजीवन झन कष्टकर बनेको छ । विद्युत् प्राधिकरण जनकपुर शाखाका अनुसार गर्मीमा विद्युतीय उपकरणको प्रयोग बढेकाले विद्युतलाई स्थिर राख्न सकिएको छैन । जनकपुर–९ का विमल मण्डल प्राधिकरणले जानीजानी विद्युत् सेवा अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिइरहको आरोप लगाउँछन् । ‘गर्मीले सीमा नाघिसकेको छ । भोल्टेज नहुँदा पङ्खा घिस्रीघिस्री घुम्छ,’ उनी भन्छन्, ‘आपतका बेला त विद्युत सेवा यथावत हुनुपथ्र्यो ।’ मौसम विज्ञान विभागले तातो हावाबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न र पानी तथा झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ । तातो हावाका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम बढ्न सक्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भैरहवादेखि पूर्व सप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन् । मनसुनी वर्षा सुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने विभागले जनाएको छ । सामान्यतया नेपालमा मनसुन आठ जुनमा सुरु हुन्छ तर यसपटक मनसुन सुरु हुन सकेको छैन मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गतवर्ष एकसाताअघि नेपालमा मनसुन भित्रिए पनि वर्षा यामका बेलामा भने समयमै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् झा बताउँछन् । उनी भन्छन्, ‘अरू बेला भारतको केरेलामा जुन १ मा मनसुन सुरु भइसक्थ्यो । त्यहाँ अझै मनसुनी प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमै मनसुनी वर्षा हुने सम्भावना न्यून छ ।”अहिले जेठ महिना सकिन लाग्योे उखरमाउलो गर्मी छ । गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन नपाउँदा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त नहुने भएकाले गर्मी या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्नेमा डा नितेश मण्डल जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गर्मीमा शरीरको तापमान नियन्त्रत गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो बेला पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्यासमेत बल्झिने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्या चाहिँ ‘डिहाइड्रेशन’ नै हो ।’ जनकपुर प्रादेशिक अस्पतालका फिजिसियन डा दिग्विजय ठाकुर पनि गर्मीबाट जोगिन पर्याप्त पानी पिउनुपर्ने सुझाव दिनुहुन्छ । ‘हावा चलेकाले लु रोकिएको हो,’ उनी भन्छन्, ‘४० डिग्रीभन्दा माथिको तापक्रममा हावा तेज भए लुको खतरा हुन्छ । त्यसपछि त बिरामीको चाप थेग्नै नसक्नेगरी बढ्छ ।’ मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अवकास प्राप्त निर्देशक विजय झाका अनुसार पानीको कमीबाट शरीरमा बोसोको मात्रा बढ्ने, पाचनक्रिया कमजोर हुने, शरीरमा विषाक्तपन बढ्ने, जोर्नी र मांसपेशीमा पीडा हुने आदि समस्या निम्तन्छन् । यतिमात्र नभइ प्रतिदिन व्यायाम गर्ने मानिसको शरीरले पानीको खपत बढी गर्छ । यस्ता मानिसका लागि पानीको कमी हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तिर्खा नलागे पनि समय–समयमा पानी पिउनुपर्छ । दिनको आठ गिलास पानी पिउने हो भने डिहाइड्रेशनको समस्याबाट सजिलै बँच्न सकिन्छ । चिकित्सकहरुका अनुसार कतिपय मानिस पानीको साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडाजस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भए पनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने तथा चिजलाई सन्तुलिन गर्ने क्षमता र रक्त सन्चारआदिमा कमी आउन सक्छ । मदिरा पिउने व्यक्तिलाई पनि डिहाइड्रेशन हुनसक्छ । रासस
थाल ठटाउँदै विद्यालयका कर्मचारीले भने : असार १ गतेदेखि विद्यालय बन्द गर्छौं
काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतबार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको विरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो । बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताए । उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्नेपनि बताए । ‘आज थाल बजाएर विरोध गरेका छाैं, थाल बजाउनुको अर्थ सरकारले थाल किन्ने पैसा दियो तर थालमा राखेर खानेकुरा दिएन, त्यसैले विरोध गरेका हौँ, २ गतेदेखि विद्यालय बन्द गर्ने कार्यक्रम अनिश्चितकालीन बन्द गर्नेछौँ, माग पूरा नहुन्जेलसम्म,’ उनले भने । उनीहरुले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरुा गर लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।