झापामा २० आयोजनाका लागि २१ करोड बजेट विनियोजन
झापा । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले २१ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो । योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताए । यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लगाईंले बताए । सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ । भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तीनवर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने जनाइएको छ । सोही गाउँपालिको विजयपुरस्थित आदर्श मावि.कोे भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएको छ । दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । गौरादाहनगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु) खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्याइएको हो । गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो । यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई ७० लाख रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो । हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए । झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्तहुने अध्यक्ष साहको भनाइ थियो । कचनकबल गाउँपालिकामा खानेपानीका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाको वडा नं ३, ६ र ७ मा खानेपानीको पाइपलाइन बिस्तारकालागि सो रकमविनियोजन भएको हो । कमल गाउँ पालिकामा महेन्द्ररत्न मा वि को भवननिर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । कमलगाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन भएको छ । कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ । यसबाट जामुनबारी चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्याल यभवन निर्माणका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । रासस
खर्च घटाउन राष्ट्रपतिदेखि सांसद सबैको सुविधा काट्नु पर्छ : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताएका हुन् । ‘यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक अर्कासँग अन्तरसम्बन्धित हुनुपर्नेमा नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता र अर्कैतिर र बजेट झन् अर्कैतिर गएका छन्’, उनले भने, ‘हिउँदमा ३० र वर्षायाममा ५० युनिटसम्म बिजुली छुट दिने, गेटा मेटिकल कलेजलाई दशरथचन्द्र चिकित्सा विश्वविद्यालय बनाउनेलगायतका कार्यक्रमबाट बजेटमा पछि हटेको छ ।’ बजेटले मुलुकका वर्तमान आर्थिक समस्यालाई बेवास्ता गरेको, चुनौती र सम्भावनालाई ठीक ढङ्गले पहिचान गर्न नसकेको र समाधानका उपाय अघि सार्न नसकेको उनले बताए । ‘दुई दशमलव १६ प्रतिशतभन्दा न्यून आर्थिक वृद्धिदर, नौ दशमलव १५ प्रतिशतको कुल गार्हस्थ्य उत्पादनको बजार मूल्यमा आधारित मुद्रास्फीतिदर, सात दशमलव पाँच प्रतिशतको उपभोक्ता मुद्रास्फीतिदर, ५४ अर्बभन्दा बढीको चालुखाता घाटा, चालु आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चित कोष करिब दुई अर्बले ऋणात्मक हुने अवस्थालाई सम्बोधन गर्न सकेको छैन’, उनले भने । पौडेलले सात दशमलव ९६ प्रतिशतका सीमित निजी क्षेत्रमा प्रवाह हुने बैंकिङ कर्जा, आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादनको ऋणात्मक वृद्धिदर, आर्थिक क्रियाकलापमा संकुचन, रोजगारीका अवसरमा ठूलो मात्रामा ह्रास, आकासिँदो मूल्यवृद्धिलगायतका नकारात्मक आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्र मन्दीको मारमा परेको बताए । चालु आर्थिक वर्षको ३८.१२ प्रतिशतमा सीमित पुँजीगत खर्च, लक्ष्यको तुलनामा १० प्रतिशत भन्दा कमको वैदेशिक अनुदान परिचालन, गत वर्षको तुलनामा १२ प्रतिशत कम र लक्ष्यको तुलनामा ५६ प्रतिशतको राजश्व संकलनले सरकारको आम्दानी र खर्च गर्ने क्षमतको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । आगामी आर्थिक वर्षको कूल गार्हस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षको भन्दा कम प्रक्षेपण गरिनु र कूल विनियोजन गत वर्षको भन्दा कम हुनुले अर्थतन्त्रका उपलब्ध स्रोत साधनहरुलाई पूर्ण क्षमतामा परिचालन गर्न सरकार असक्षम छ भन्ने पुष्टि भएको उनको भनाइ छ । ‘अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने बताएको छ । विसं २०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको थियो । दैनिक २० अर्बसम्म कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कूल गार्हस्थ उत्पादको हाराहारी अर्थात ४५ खर्ब पुगेको थियो । तर अहिले नेप्से परिसूचक १९५० को वरीपरी झरेको छ । दैनिक कारोबार २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ । तर, पुँजीबजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन’, उनले भने । बजेट वक्तव्यमा चालु खर्च घटाउने भनिए पनि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी भएको उनको भनाइ छ । पौडेलले विगत ६ वर्षमा कूल बजेटको औसत २० प्रतिशतको हाराहरीमा रहेको पुँजीगत खर्चतर्फको विनियोजन यसपाली १७ प्रतिशतमा झारिएको टिप्पणी गरे । ‘बजेटमा एकातिर वित्तीय सङ्घीयताको कार्यान्वयनमा जोड दिने भनिएको छ, अर्कोतिर प्रदेश र स्थानीय तहका लागि गरिने वित्तीय हस्तान्तरण चालु आर्थिक वर्षको तुलनामा २९ अर्ब ७५ करोड न्यून विनियोजन गरिएको छ । यसरी यो बजेटको स्रोत व्यवस्थापन र चालु तथा पुँजीगत खर्चका निमित्त गरिएको विनियोजन अवास्तविक, अविश्वसनीय, अन्तरविरोधी र कार्यान्वयन हुन नसक्ने प्रकृतिका छन्’, उनले भने । विगतका प्रधानमन्त्री रोजगार, राष्ट्रपति शैक्षिक सुधार, राष्ट्रपति महिला सशक्तिकरण, प्रधानमन्त्री कृषि आधुनिकरण, तराईका जिल्ला सदरमुकामहरुको शहरीकरण, औद्योगिक क्षेत्रको पूर्वाधार, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने लगायतका कार्यक्रम हटाइनु र क्षमता कटौती गरिनुले बजेट ‘गेम चेञ्ज’मा नभइ कार्यक्रम र आयोजनाको ‘नेम चेञ्ज’मा रमाएको उनको टिप्पणी छ । बजेटले स्वास्थ्य बीमाको शोधभर्ना दिन रकम नछुट्याएको, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने व्यवस्थालाई सङ्कुचित तुल्याइएको, वडा र पालिकाबाट कार्यान्वयन भएका आयोजनामा पनि बजेट छरिएको लगायतका विषय पनि उनले संसदमा राखे । जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा सम्भावना रहेकोमा त्यसलाई बजेटले सम्बोधन गर्न नसकेको पौडेलको भनाइ छ । बजेटमा नयाँपन नरहेको र विगतकै कार्यक्रमको निरन्तरता रहेको पनि उनको टिप्पणी छ । त्यस्तै केही कार्यक्रम निकै विरोधाभाषपूर्ण रहेको पनि पौडेलले बताए । चुरे उत्खनन गरेर ढुङ्गा गिट्टी विदेश निर्यात गर्ने कार्यक्रमको विगतमा विरोध भएकोमा अहिले कुन जगमा उभिएर आएको भनेर उनले प्रश्न गर्नुभयो । त्यस्तै, बजेटमा राखिएको नागरिक पेन्सनको लाभग्राही त्यसको कार्ययोजना र स्रोतबारे पनि पौडेलले असहमति जनाए । खर्च कटौतीका लागि सरकारले बजेटमार्फत विभिन्न २० वटा सरकारी निकायहरू खारेज गर्ने र गाभ्ने निर्णय गरेकोमा त्यो उपयुक्त नरहेको पनि पौडेलको भनाइ छ । खर्च घटाउनका लागि सरकारले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का सदस्य, सांसदलगायतको सुविधा कटौती गर्नुपर्ने उनले धारणा राखे । संसदीय पूर्वाधार क्षेत्र विकास कार्यक्रममार्फत् सांसदलाई पाँच करोड बराबर दिने बजेटको व्यवस्थाबारे पनि पूर्वअर्थमन्त्री पौडेलले विमति जनाए । उनले आफूले सांसदका रुपमा पाउने उक्त कार्यक्रमको रकम सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालयबाट खर्च गर्न चाहेकोसमेत संसदमा बताए । करका दर हेरफेर पनि तर्कसंगत नभएको उनको दाबी छ । सरकारले गरेको कर प्रस्तावप्रति निजी र सहकारी क्षेत्र, सेयर बजारका लगानीकर्ता असन्तुष्ट रहेकाले उनीहरुका जायज माग सम्बोधन गरिनुपर्ने पनि उनको भनाइ छ । त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा सांसद दीपक गिरीले बजेटलगायतका नीति निर्माणमा सत्तापक्ष र प्रतिपक्षका रुपमा विभाजित नभएर सामुहिक रुपमा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए । त्यस्तै, नागरिकले स–साना समस्या पर्दा पनि सांसदलाई गुहार्ने भएकाले उनीहरुप्रति आफू जिम्मेवार हुनुपर्ने उनले बताए । उनले संसदमा बजेट प्रस्तुत गर्ने समयबारे पुनर्विचार गर्नु आवश्यकता रहेको पनि बताए । रासस
प्रभु र महालक्ष्मी लाइफले मागे विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । प्रभु र महालक्ष्मी लाइफले कर्मचारीको माग गरेको छ । प्रभु र महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । एक आपसमा मर्ज हुन लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीको अनुसार न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भारतमा सडक दुर्घटनामा परी ४ नेपालीको मृत्यु
काठमाडौं । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पु¥याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ । ‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन’, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने ।
लागूऔषध कारोबारीलाई प्रहरीले हान्यो गोली
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा एक जनामाथि गोली चलाएको हो । गोली लागेर घाइते भएका सो व्यक्तिलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल भित्रिने तयारीमा मनसुन
काठमाडौं । पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ । नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ । यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ । यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, ‘शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ ।’ आन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए । देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ । यस वर्षको मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आज यहाँ एक कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन समय (जेठ १८ देखि असोज १३ गते) को हावापानी आकलन प्रक्षेपण गरेको हो । विभागले सन् २०१३ देखि हरेक वर्ष मनसुनको समय सुरु हुनुपूर्व ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको हावापानी आकलन सरोकारवालालाई प्रवाह गर्दै आइरहेको छ । यसै सिलसिलामा विभागले आज सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा ‘राष्ट्रिय मनसुन फोरम’ आयोजना गरी मनसुन समयको वर्षा तथा तापक्रमको आकलनको जानकारी गराएको छ । आगामी मनसुन समयमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । कोशी प्रदेशका मध्य तथा उत्तरपूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेश प्रदेशका अधिकांश भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यसैगरी अधिकतम् तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ रहेको विभागले जनाएको छ । न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । धेरैजसो भू–भागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भू–भाग, कर्णाली प्रदेशका मध्यपश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी तथा पश्चिमी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस कार्यक्रमको प्रमुख उद्देश्य आगामी मनसुन समयको वर्षा तथा तापक्रमको ऋतुगत आकलनबारे जानकारी गराइनाका साथै छलफलमार्फत सरोकारवालाको आवश्यकता पहिचान गरी सोहीअनुसार विभागको सेवा प्रवाहको सुदृढीकरण, सरोकारवालालाई मौसम तथा जलवायु सूचनाका बारेमा जानकारी गराइ आ–आफ्नो क्षेत्रको आगामी योजना तर्जुमालगायत जलवायु सूचित निर्णय प्रक्रियामा सहयोग पु¥याउनु रहेको विभागको भनाइ छ । रासस
संसद बैठक : अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।
सहकारी समस्या समाधानका लागि डा. राउतको संयोजकत्वमा कार्यदल गठन
काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो । विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।