विकासन्युज

खडेरी परेपछि मन्दिरमा पूजादेखि भ्यागुताको बिहे

काठमाडौं । लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए । हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो । स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए । सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो । लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन् । यो सँगै जिल्लाको विभिन्न स्थानमा इन्द्र भगवान्को पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ । पानी माग्न भ्यागुताको बिहे असार लाग्न थाल्यो । किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बीउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् । केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताए । वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । ‘पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे, ४ वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, उक्त दिन पानी आएको पनि थियो, यसपटक आकाश त गर्जियो तर पानी परेन,’ उनले भने । रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उनी बताउँछन् । ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताए । स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताए । भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ । भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले २ भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । भ्यागुता/भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ । लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ । तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ । दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन् ।

नाला सफाइ गर्दा बन्दुकका गोली फेला

काठमाडौं । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आज ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा पर्साको पोखरिया नगरपालिका–४ पोखरिया बजारस्थित पोखरिया अस्पतालको स्तरोन्नति गरिने भएको छ । मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाइने उल्लेख छ । पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतिका लागि प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहले सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने योजना समावेश गराएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पतालसँगै सर्लाहीको बरहथवा अस्पताल, धनुषाको डुमरिया अस्पताल र सप्तरीको भारदह अस्पताललाई पनि ५० शय्यामा स्तरोन्नति गरिने उल्लेख छ ।

पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान

काठमाडौं । गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गरिने उल्लेख छ । निजी तथा समुदायस्तरमा कृषि, पशुपन्छी तथा मत्स्य स्रोत केन्द्र स्थापना गर्दै बीउ, बेर्ना, माछा भुरा तथा पशुपन्छीका विभिन्न नश्लको उपलब्धता सुनिश्चितताका लागि आवश्यक व्यवस्था गरिने भनिएको छ । उच्च हिमाली भेगमा चौँरीगाई, भेडा, बाख्रा, च्याङ्ग्राजस्ता पशुबस्तुको व्यावसायिकपालनलाई प्रोत्साहन गरिने सरकारको कार्यक्रम छ । कृषकको गुणस्तरीय उत्पादन सामग्री प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न मल, बीउबिजन, बिरुवा, विषादी र पशुपन्छीका नश्ल, औषधि, दाना तथा जैविक पदार्थको गुणस्तर नियमन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । पशुपन्छी तथा बालीनालीका रोग किराको अग्रिम पहिचान तथा स्वस्थान नियन्त्रणका लागि रोग पहिचान तथा निगरानी प्रणाली विकास गरी लागू गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा आकस्मिक बाली संरक्षण तथा महामारी रोग नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । पशुको पूर्ण खोप कार्यक्रमलाई विस्तार गरिने र विभिन्न समयमा आउने महामारी तथा आपत्कालीन रोगको निदानका लागि आवश्यक व्यवस्था गरिने सरकारले जनाएको छ । सम्झौतामा आधारित कृषि उत्पादन प्रणाली कार्यक्रमलाई प्रोत्साहन गरी बजारीकरणलाई सुनिश्चित गरिने उल्लेख छ । प्रदेशमा हुने कृषिउपजको निकासी तथा पैठारीको योजना तर्जुमा गर्न तथा स्वस्थ र गुणस्तरीय बिरुवा तथा पशुपन्छीको ओसारपसार सुनिश्चित गर्न तनहुँ जिल्लाको आँबुखैरेनी र स्याङ्जा जिल्लाको मालुङ्गामा स्थापित कृषि तथा पशुपन्छी नियमन एकाइको सुदृढीकरण गर्दै अन्य आवश्यक स्थानमा विस्तार गरिने सरकारले जनाएको छ ।

आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न सिविफिनको माग, यसले अर्थतन्त्र ध्वस्त पार्ने निष्कर्श

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न माग गरेको छ । परिसंघले आइतबार विज्ञप्ति जारी गरेर ती बुँदाहरु तत्काल खारेज गर्न सरकार समक्ष माग गरेको हो । आर्थिक विधेयकको दफा २६ को फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था, दफा २७को मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्थ र दफा २९ को धतोपत्र जग्गा तथा घर जग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था तत्काल खरोज गर्न परिसंघले सरकार समक्ष माग गरेको हो । यी व्यवस्था लागू गरेमा अर्थतन्त्रमा गम्भीर असर पर्ने र अर्थतन्त्रको हालको आर्थिक मन्दिलाई झन् गहिराउने र अन्तत्वगत्वा समग्र अर्थतन्त्र नै धराशायी बनाउने देखिएकोले तत्काल खारेज गर्न आग्रह गरेको हो । यस्तो छ परिसंघको धारणा १. उपरोक्त उल्लेखित बुँदाहरु मार्फत नेपाल सरकारले गरेको व्यवस्थाहरु देहाय वमोजिमको प्रमुख आधारमा गैरकानुनी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता विपरित भएकोले सोलाई कुनै पनि हालतमा स्वीकार नगर्ने । (क) भुतदर्शी कुनै पनि नियम कानुन भुतदर्शी हुन नहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यताहरुको विपरित दशकौं अघि नै भए गरेका कार्यहरुलाई समेत प्रभाव पार्ने गरी आर्थिक विधेयकमा गरिएको व्यवस्थाहरुको नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकको ठाडो हनन हुन जाने । (ख) पूँजी योगदानमा कर नलाग्ने अन्तराष्ट्रिय मान्यता अनुरुप नै एफपिओ बाट प्राप्त हुने प्रिमियम तथा मर्जर तथा प्रप्तिबाट सिर्जना हुने बार्गेन पर्चेज जेगलाई कुनै पनि कानुनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानी कर लगाउने व्यवस्था आयकर सम्बन्धी नेपालको कानुनले गरेको व्यवस्था विपरित हुने गरी आयकर ऐन २०५८ को दफा ५६(३) को अपव्याख्या गरिएको । २. यदि जर्बजस्ति कुनै कानुनी धरातल बिना र राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास विपरित कर दायित्य थोपर्ने हो भने यसले बैंकिङ्ग, बिमा लगायतका सबै क्षेत्र र अर्थतन्त्रमा नै अकल्पनिय क्षति पुग्ने, यसबाट पूँजी बजारमा आबद्ध ५६ लाख भन्दा बढी लगानीकर्ताहरुको हकहित कुण्ठित भई यसबाट देशको पूँजी बजार धाराशायी हुने निश्चित देखिएको । ३. देशको कुल ग्राहस्थ्य उत्पादनमा ८० प्रतिशत भन्दा बढी र देशको कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत भन्दा बढी योगदान गर्ने निजि क्षेत्रको कानुनी राज्य प्रतिको विश्वास टुट्ने र यसबाट देशमा पूँजी पलायन हुने, औद्योगिक गतिविधिहरुको विस्तार नहुने, रोजगारी सिर्जना नहुने, देशको नागरिकहरुको सामान्य गाँस, वास र कपासको लागि पनि विदेश पलायन हुनुपर्ने अवस्था झन् विकराल हुने र प्रत्यक्ष वैदेशिक लगानी ठप्प हुने देखिएको र अन्ततोगत्वा देश गम्भिर आर्थिक संकटमा झनै फस्ने देखिएको । तसर्थ, यस सम्बन्धमा भोली मुलुकलाई पर्न सक्ने गम्भिर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक २०८० को बुँदा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।

अमेरिका र माल्टा पठाउने भन्दै १५ लाख ठग्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छाँयानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् । श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक तीन लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा छ लाख २१ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी निज पीडिहरुतबाट पटकपटक गरी जम्मा नौ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा आज काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । रासस

बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका हुन् । उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् ।साथै, नेकपा एकीकृत समाजवादीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपी नेकपा एकीकृत समाजवादीकाे दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकता अनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

झापामा विपन्न आदिवासी आवास निर्माणका लागि २ करोड विनियोजन

बनियानी । झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । उक्त रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने उनले बताए । प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागितासमेत गरी घर निर्माण गर्ने योजना रहेको उनले बताए । ‘कम लागतमा स्तरीय घर निर्माणका लागि नाप–नक्सा, स्टिमेट तयार गर्छौँ,’ उनले भने । भद्रपुर नगर क्षेत्रमा ६ सय ३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको नगरप्रमुख गणेश पोखरेलले बताए । उनले एक महिला, आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताका आधारमा घर निर्माण गरिने बताए । नगरपालिकाले चालु आवमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । रासस

असारमा बैंकको ब्याजदर घट्ने, तरलता सहज हुँदै

काठमाडौं । असारमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न सक्ने बैंकरहरुले बताएका छन् । उच्च रहेको ब्याजदर निरन्तर ओरालो लाग्दै आएकोमा असारमा पनि घट्न सक्ने संकेत बैंकरहरुले गरेका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार तरलता सहज हुँदै गएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ । ‘अहिलेको स्थिती हेर्दा असारमा ब्याजदर घट्नु पर्ने प्रक्षेपण छ, समग्रमा अहिलेको स्थिती सहज छ, ब्याजदर घट्नु पर्ने देखिन्छ, पहिला भन्दा अहिले सहज स्थिती भएकाले १ प्रतिशतसम्म ब्याजदर घट्न सक्छ, यदि १ प्रतिशत नै नघटाएपनि ०.५ प्रतिशत प्रतिशत घट्नै पर्छ,’ उनले भने, ‘तर, एउटा बैंकको स्थिती हेरेर मात्रै त्यो भन्न सकिँदैन ।’ उनका अनुसार आगामी असार महिनाका लागि ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघले मंगलबार बैठक बोलाएको छ । निक्षेपको ब्याजदर स्थीर राख्ने वा घटाउने भन्ने विषयमा सोही बैठकले निर्धारण गर्नेछ । स्थानीय तहको निक्षेपलाई असारसम्म मात्रै गणना गर्न पाउने भनिएकाले स्थीर पनि रहन सक्छ । ‘निक्षेप तर्फको ब्याजदर बढ्दैन, अब घट्दै जान्छ, अधिकांश बैंकहरुको सहज स्थिती छ, ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने भनिएको छ, स्थानीय तहको निक्षेपलाई असारसम्म मात्रै गणना गर्न पाउने भनिएकाले यो महिना स्थीर रहन पनि सक्छ, घट्ने सम्भावना बढी छ,’ उनले भने । जेठमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थीर राखेका थिए । हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन् ।