काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।
हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।